ठाडै सुकेका रुखका कारण वन नै उजाडियो | Khabarhub Khabarhub

ठाडै सुकेका रुखका कारण वन नै उजाडियो


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको कनकाई सामुदायिक वनमा अधिकांश सिसौका रुख ठाडै सुकेका छन् ।

सुकेका रुखले सामुदायिक वन नै उजाड देखिन थालेको छ । कनकाई नगरपालिका–२, ३ र ४ मा २७७ दशमलव ६ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा सिसौ र खयरका अधिकांश ठूला रुख वर्षौँदेखि ठाडै सुकेका छन् ।

कनकाई नदीको पूर्वी किनार र चुरेको फेदसँग जोडिएको यो प्राकृतिक वनमा सिसौ र खयरका प्रजाति छन् ।

एक दशकदेखि नै रुख सुक्ने क्रम शुरु भएको थियो । सुकेका रुख हटाउने र नयाँ बिरुवा लगाउने अभियान शुरु नगरिँदा मूल्यवान रुखहरु ठाडै पोचिएर खेर गइरहेको छ ।

कटानको अनुमति नहुँदा वनभित्र रु १६ करोड मूल्यका सुकेका ठाडा रुख वर्षौँदेखि पोचिएर खेर गइरहेको छ । सामुदायिक वनले गरेको अध्ययनले सुकेका ठाडा रुख कटान गर्दा करीब ८० हजार क्युफिट काठ सङ्कलन हुनसक्ने देखाएको छ ।

कनकाई वनमा दशकअघि सिसौका ठूला रुख सुक्ने रोग देखापरेको स्थानीयवासी बताउँछन् । सिसौमा लागेको अज्ञात रोगले रुख ठाडै सुक्ने क्रम बढ्यो । सुकेका रुख निकालेर काठ खेर जान नदिनेतर्फ अहिलेसम्म सरकारी निकायको ध्यान जान सकेको छैन ।

कनकाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ख्याम ओलीले सरकारी निकायले नै सुकेका रुख कटानको अनुमति नदिएको बताए ।

उनका अनुसार विसं २०७४ मा वन मन्त्रालयको सामुदायिक वन महाशाखामा सुकेका रुख कटानको अनुमति माग्दै निवेदन दिइएको थियो । हालसम्म मन्त्रालयले कटानको स्वीकृति दिएको छैन ।

वन मन्त्रालयले जैविक विविधतामा ह्रास आउने कारण देखाउँदै सुकेका ठाडा रुखहरु कटानका लागि स्वीकृति नदिएको ओलीले बताए । सुकेका रुख निकाल्दा जैविक विविधतामा के–कस्तो असर पर्छ भन्नेतर्फ मन्त्रालयले स्थानीय सामुदायिक वनलाई तथ्यपूर्ण जानकारीसमेत दिएको छैन ।

कनकाई नदीमा पानीको वहाब गहिरिएसँगै सो वन क्षेत्र चिस्यानको अभावले समेत सिसौका रुखहरु सुकेको हुनसक्ने स्थानीय वन पदाधिकारी बताउँछन् ।

नदीमा जथाभावी ढुङ्गा, बालुवा निकाल्ने क्रम बढेपछि कनकाईको बहाब गहिरिएको छ । खोला गहिरिएपछि किनारमा रहेको रुखहरु सुक्खा लागेर सुक्न थालेको समेत अनुमान छ ।

वर्षेनी हुने डढेलोले पनि वन पैदावार सुकाउँदै आएको छ । सो सामुदायिक वनले वार्षिक तीन हजार क्युफिट ढलापडा रुख मात्र कटान गर्न पाउने नियम छ ।

“वार्षिक कटान क्षमता तोकिएको हुन्छ”, अध्यक्ष ओलीले भने, “ढलेका रुख नै काफी छन् ठाडा काट्नै पर्दैन ।” अनुमति नपाएपछि सुकेका ठाडा रुख नकाटिएको उनको भनाइ छ ।

उनले वार्षिक सिसौका काठ दुई हजार ४०० क्युफिट र खयर ६०० क्युफिट गरी तीन हजार क्युफिट ढलापडा काठ घाटगद्दी गर्दै आएको बताए ।

डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले सामुदायिक वनको हैसियतअनुसार मात्र ढलापडा रुख कटान गर्न पाउने कानूनी प्रावधान रहेको बताए ।

झापाका अन्य सामुदायिक वनको तुलनामा कनकाईमा सुकेका रुख अत्याधिक रहेको जानकारी पाएको तर यसको विस्तृत अध्ययन नभएको उनले बताए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ७ : ५० बजे

कतारबाट आएका एक व्यक्ति सिनामंगलमा बन्धक, दुई जना पक्राउ

काठमाडौं– प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई

राज्यको प्राथमिकतामा उद्यमशीलता : मन्त्री भण्डारी

काभ्रेपलाञ्चोक– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यामशीलताका लागि राज्यले

आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं– ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको

एभरेष्ट बैंकको कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन 

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले मंगलबार मायादेवी गाउँपालिका-१ पकडी कपिलवस्तुमा तौलिहवा

गर्मी बढेसँगै रगतको अभाव

चितवन– गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले