बारीबाटै गोलभेडा बिक्री हुँदा किसान दङ्ग « Khabarhub

बारीबाटै गोलभेडा बिक्री हुँदा किसान दङ्ग


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मलागिरीका कृषक सुरेन्द्र वाग्ले बारीबाटै गोलभेडा बिक्री हुन थालेपछि उत्साहित बनेका छन् ।

सर्वसाधारण गोलभेडा खरिदका लागि बारीमै पुग्न थालेपछि उनी उत्साहित बनेका हुन् ।

विचौलिया बिना टनेलबाटै प्रतिकिलो रु एक सयमा गोलभेडा बिक्री भइरहेको वाग्लेले जानकारी दिए । उनले भने, ‘पहिला प्रतिकिलो रु २५ मा बिक्री हुन गाह्रो भइरहेको थियो, दसैंका बेला बजारमा भाउ बढ्यो, अहिले टनेलबाटै खोसाखोस भइरहेको छ ।’

बजारमा मूल्य बढ्दा गाउँमै माग धेरै भएको वाग्लेको भनाइ छ । ‘बजारबाट पनि माग आएको छ । उत्पादन भएको सबै गाउँमै बिक्छ, माग अनुसार पुर्‍याउन सकेको छैन’, उनले भने । दसैंका बेला गोलभेडा राम्रो विक्री भएको वाग्लेले बताए । ‘गाउँमा आएकाले पनि फर्किदा गोलभेडा किनेर लग्ने गरेको छ’, उनले भने, ‘बारीबाटै गोलभेडा बिक्री हुँदा सहज भएको छ ।’

उनका अनुसार बारीमै आएर किनबेच हुँदा किसान र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ ।

टनेलबाट प्रतिकिलो रु ८० देखि रु एक सयसम्म बिक्री हुने गरेको चापस्वाँराका किसान इन्द्र आलेले बताए । अहिले पाएको मूल्यले किसानलाई राहत पुर्‍याएको उनको भनाइ छ । ‘मिहिनेत अनुसारको मूल्य पाउँदा किसानलाई निरन्तरता दिन हौसला मिल्छ । लगानीको प्रतिफल पाएपछि लगनशील समेत बनाउँछ’, उनले भने, ‘यो समयमा परिश्रम अनुसारको फल पाइएको छ । विगतका वर्षमा गोलभेडा निकै सस्तोमा बेच्नु परेको थियो ।’

बारीबाट बिक्री नहुँदा व्यापारीलाई कम मूल्यमा दिँदा लगानी पनि उठ्न गाह्रो हुने कृषक बताउँछन् । बजारबाट तरकारी व्यापारीले ठूलो परिणाममा गोलभेडाको माग गरेको छ । तर टनेलबाटै खुद्रा मूल्यमा बिक्री भएपछि बजारमा नपठाएको आलेले बताए । यही मूल्य कायम रहे यसपाली गोलभेडा खेती गरेका किसानले मनग्य आम्दानी गर्ने उनले बताए ।

गोलभेडाको उत्पादन कम हुँदा बजारमा यसको मूल्य बढेको तरकारी व्यवसायी रामनन्द चौधरीले बताए । उनका अनुसार यो सिजनमा तनहुँमा गोलभेडा भारतसँगै काठमाडौँ र धादिङबाट ल्याइन्छ ।

‘महङ्गो भएपछि यतिबेला भारतको गोलभेडा ल्याइएको छैन । काठमाडौको मात्रै बजारमा आएको थियो । त्यसैले महङ्गो भयो । अब धादिङमा पनि उत्पादन सुरु भएको छ । बजारमा आउन थालिसक्यो, विस्तारै मूल्य घट्दै जान्छ,’ उनले भने ।

अरु बेला भारतीय गोलभेडा सस्तो मूल्यमा बजारमा छ्यापछ्याप्ती हुँदा किसानले मिहिनेत अनुसारको मूल्य नपाएको गुनासो गर्दथे । तर, अहिले टनेलबाटै खोसाखोस हुन थालेपछि किसान दङ्ग छन् । गोलभेडा खेती गर्ने किसानलाई स्थानीय सरकारले अनुदान दिन थालेपछि गाउँ–गाउँमा टनेलबाट गोलभेडा खेती थालिएको छ ।

स्थानीय सरकारले महिला तथा युवा वर्गलाई उत्पादनसँग जोड्ने प्रभावकारी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिदैं उहाँले यस्ता उत्पादनमुखी कार्यक्रमको दीगोपनका लागि स्थानीय सरकार जिम्मेवार भएर लाग्नुको विकल्प नभएको बताए ।

‘तीनवटा प्लाष्टिक टनेल हुने हो भने गोलभेडा, साग, बन्दा, काउली, सिमी, धनीया, काक्रोलगायत विभिन्न जातका मौसमी तथा बेमौसमी तरकारी खेती गरेर मासिक रु ३० देखि ५० हजारसम्म आम्दानी गर्न सकिन्छ’, किसान आलेले भने, ‘यसले पर्यापर्यटनको वृद्धिसँगै कृषिको माध्यमबाट स्थानीय स्तरमा रोजगारी सिर्जनामा समेत टेवा पुर्‍याउँछ ।’

कृषि क्षेत्रको दिगो विकासका लागि जलवायु तथा वातावरणमैत्री प्रविधि र अभ्यासहरूको प्रयोग एवम् स्थानीय स्रोतसाधनको उचित व्यवस्थानमार्फत उत्पादन र गुणस्तर वृद्धि गर्ने लक्ष्यका साथ कृषिमा अनुदान कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

रासस

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ३ : १० बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ