उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८ « Khabarhub

उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ ।

वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा मनाइने प्राचीन परम्परा छ ।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले बताए ।

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि विक्रम संवत्मा भएको छ । कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गरेका छन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गती तथा इष्टमित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गरी नयाँ वर्ष मनाइएको छ ।

विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गरेर मनाउनेको लर्को सडकमा देखिन्थ्यो । मठमन्दिर, उद्यान, स्मारकजस्ता स्थलमा सामूहिक वनभोज गरी नयाँ वर्ष मनाएको दृश्य पनि देखिन्थ्यो ।

कोरोनाको जोखिम कायमै रहे पनि मानिस वास्ता नगरी नयाँ वर्ष मनाउन लालायित भएझैँ लाग्थ्यो । कोरोना जोखिमका कारण गत वर्ष चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएको विसं २०७७ यसरी खुलारुपमा मनाउन नपाएकाले हुनसक्छ आज मानिसको चहलपहल धेरै देखिन्थ्यो ।

पशुपतिनाथमा पाँच लाख दर्शनार्थी, १९७ गरे विशेष पूजा

पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको थियो ।

भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा दर्शन गर्न भक्तजन लाममा बसेका थिए । पशुपतिनाथ मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

बिहानैदेखि पशुपति क्षेत्रमा राष्ट्रदेवको दर्शन गरेर नयाँ वर्ष मनाउन चाहने भक्तजनको भीड लागेको थियो । बेलुकी ५ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिमा आई दर्शन गरेको उनले बताए ।

बेलुकीसम्म दर्शन गर्न चाहने भक्तजनका लागि व्यवस्था गरिएको कोषले जनाएको छ । पशुपतिनाथमा आज नयाँ वर्षका अवसरमा १९७ जनाले रसिद काटेर विशेष पूजा गरेका छन् ।

दुई जना रसिद काटेर पनि पूजा गर्न नआएको कोषबाट पशुपतिनाथ मन्दिरभित्र खटिनुभएका कर्मचारी बरुण खतिवडाले जानकारी दिए । एक जनाले रु ५६ हजार, चार जनाले रु ११ हजार, अन्य भक्तजनले रु पाँच हजार १००, रु दुई हजार १०० को रसिद काटेर पूजा गरेको कोषले जनाएको छ ।

काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा पनि यस वर्ष मानिसको भीड लागेको छ । गत वर्ष यी सबै मेला स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १० : १८ बजे

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको