यस वर्ष मनसुनमा १८ लाख मानिस जोखिममा रहेको अनुमान « Khabarhub

यस वर्ष मनसुनमा १८ लाख मानिस जोखिममा रहेको अनुमान



काठमाडौँ– यस वर्षको मनसुन शुरू भएको छ । समान्यतः यसअघिको भन्दा एक–दुई दिनअघि नै मनसुन भित्रिएको हो ।

जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष धेरै पानी पर्ने जनाएको छ । मनसुनमा हुने सरदरमा वर्षामै पनि बाढी पहिरोमा परेर देशभरमा चारसय जनासम्मको ज्यान जाने गरेको छ ।

यस वर्ष मनसुन अवधिमा जोखिम धेरै रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यो वर्ष मनसुनी विपद्बाट १८ लाखभन्दा बढी मानिस प्रभावित हुने पूर्वानुमान गरिएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले खबरहबलाई बताए ।

प्रभावित हुने सम्भावित जिल्लाहरू

प्राधिकरणका अनुसार २३ जिल्लाका १६ लाख ८५ हजार मानिस डुबानबाट र २६ जिल्लाका एक लाख २० हजार मानिस पहिरोबाट प्रभावित हुने पूर्वानुमान छ ।

विशेष गरी दार्चुला, बैतडी, डडेलधुरा, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, अर्घाखाँची, बागलुङ, भोजपुर, धादिङ, गोर्खा, गुल्मी, इलाम, काभ्रेपलाञ्चोक, कास्की, खोटाङ, लमजुङ लगायतका जिल्लामा पहिरोको जोखिम रहेको प्राधिकरणले जानकारी दिएको छ ।

यसैगरी कञ्चनपुर, कैलाली, बाँके, दाङ, रौतहट, सिरहा, सप्तरी, मोरङ लगायत तराईका अधिकांश जिल्लामा डुबानको जोखिम रहेको छ ।

के छ पूर्वतयारी

मुलुक अहिले कोरोना माहामारीको दोस्रो लहरको चपेटामा छ । शहरदेखि गाउँसम्म संक्रमण फैलिएको छ । एकातिर कोरोना महामारी छ भने अर्कोतिर वर्षात शुरू हुन लागेसँगै विपद्को जोखिम बढेको छ ।

प्राधिकरण प्रमुख पोखरेल जोखिम व्यवस्थापनका लागि तीन महिना अघिदेखि तयारी गरेको बताउँछन् । उनका अनुसार हिउँदमा लागेको डढेलोको कारण पहाडका वन सखाप भएकोले पानीको मात्रा बढ्न साथ त्यस्ता ठाउँमा पहिरो खस्ने सम्भावना बढी हुन्छ ।

सबै पक्ष दृष्टिगत गरेर प्राधिकरणले सम्बन्धित संघसंस्था, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरेर तयारी गरेको पोखरेलले बताए । ‘सातैवटा प्रदेश, बाढी पहिरोको उच्च जोखिममा रहेका जिल्ला र स्थानीय तहहरूलाई कार्ययोजना बनाउन अनुरोध गर्‍यौँ,’ उनले भने, ‘विज्ञहरूको समेत सहभागिता गराई भर्चअल माध्यमबाट छलफल गरिरहेका छौँ ।’

यस वर्ष पहिरोको पूर्वनुमान ‘प्रभावमा आधारित पूर्वसूचना प्रणाली’ शुरू गरेको पनि पोखरेलले बताए । उनका अनुसार यो प्रणाली नेपालमा पहिलोपटक नमुनाका रूपमा कार्यान्वयन गर्न लागिएको हो । यस वर्ष ९ जिल्लामा प्रयोग गरिनेछ । ‘बाढीको पूर्वसूचना प्रणाली राम्रो छ, मृत्युको घटना न्यूनीकरण सकेका छौँ,’ उनले भने, ‘पहिरोको पनि पूर्वसूचना प्रणालीको कार्यान्वयन राम्ररी भएमा क्षति कम हुँदै जानेछ ।’

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीका आधारमा उच्च जोखिममा रहेका जिल्लाहरूमध्ये कुन कुन ठाउँमा पहिरोको जोखिम बढी छ, कति घर छन् र कति मानिस बसोबास गर्छन् भन्नेबारे प्राधिकरणले नक्साङ्नका गरेको पोखरेलले बताए ।

प्राधिकरणले कतिसम्म पानी पर्दा कस्तो पहिरो जान्छ भन्ने कुराको अनुमान गर्ने गरी पूर्वसूचना प्रणाली शुरू गरेको जनाइएको छ । प्राधिकरणले देशभरका सूचना एकीकृत गरी राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र हुँदै जिल्ला र स्थानीय तहसम्म खबर पुर्‍याउने संयन्त्र तयार पारेको जनाइको छ ।

पूर्वतयारीका लागि उच्च जोखिम रहेका वडाहरूमा व्यवस्थापन तथा उद्धारका लागि आवश्यक सामग्री तैनाथ गरी राख्न आग्रह गरेको पनि पोखरेले बताए ।

त्यस्तै जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीको थप सूचना र जानकारीका लागि चौबिसै घण्टा चालु रहने टेलिफोन नम्बर ४११३१९१ (मौसम) र टोल फ्रि नम्बर ११५५ (बाढी) मा सम्पर्क गर्न आमसञ्चार माध्यमलगायत सबैलाई जानकारी गराएको छ ।

विभागले विगतका वर्षहरूझैँ यस वर्ष पनि डुबान हुन सक्ने स्थानमा मोबाइल फोन एसएमएसको माध्यमबाट समेत सूचना सम्प्रेषण गर्ने गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ३ : १० बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील