आज महानवमी, सिद्धिदात्रीको विशेष पूजा गरिँदै « Khabarhub

आज महानवमी, सिद्धिदात्रीको विशेष पूजा गरिँदै


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

देवी दुर्गाको नवौँ स्वरुपमा सिद्धिदात्रीको नामले चिनिन्छन्। यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुने शास्त्रमा उल्लेख छ ।

सिद्धिदात्रीले दाहिने भुजामा देवी जप माला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शंख धारण गरेकी छन् ।

देवी सिद्धिदात्रीको वाहन सिंह हो । सिद्धिदात्री कमलको फूलमा बिराजमान छन् । नवौँ दिनमा यस देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुन्छ ।

उनी अन्तिम देवी हुन् र उनको ध्यान गर्नाले सबै प्रकारको व्रह्माण्डिक र अन्य विश्वव्यापी इच्छाहरू पूरा हुन्छन् । भगवान शिवले सिद्धिदात्री देवीको अनुग्रहबाट धेरै उपलब्धिहरू पनि प्राप्त गरेका छन् ।

यी देवीको अनुग्रहले शिवको आधा शरीर देवीको थियो । यस कारणले शिव अर्धनारीश्वर नामले प्रख्यात छन् ।

सिद्धिदात्रीको स्मरण, ध्यान, आराधनाले यस संसारको जोखिमलाई महसुस गराउँदछ र मानवलाई अमृत पदमा पुर्‍याउँछ भन्ने विश्वास छ । देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्न सक्ने बताइन्छ ।

‘ॐ ह्रीं चामुण्डायै विच्चे नमो नमः’ देवीको यो बीज मन्त्र कम्तिमा १०८ पटक मन्त्र उच्चारण गरेमा शुभ हुने धार्मिक विश्वास छ ।

दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ६ : ०१ बजे

प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित

किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन

गण्डकी– पोखरा महानगरपालिकाले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा

कांग्रेस देउवा समूहको बैठक: निर्वाचन समीक्षादेखि महाधिवेशनको तयारीसम्म तीन एजेन्डा

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा) समूहले मंगलबारदेखि

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

खलङ्गा– ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

भोजपुर– जिल्लाको बोखिमस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा डा नरहाङ तामाङ र