काठमाडौँ– सफा, निलो र खुलेको आकाश । उल्लासमय वातावरण । आजभोलि रङ्गीचङ्गी चङ्गा उड्न थालेका छन् ।
सामान्यतया दशैँ सुरुभएसँगै मानिसहरुले आफ्नो घरआँगन, बाटोघाटो सरसफाई गरेर चिटिक्क बनाउँछन् ।
घरघरमा खसी–बोका, राँगा, कुखुरा काटिन्छ र सबैको भान्छामा मिठो मसिनो पाक्छ ।
केटाकेटीहरु नयाँ लुगा लगाएर पिङमा झुम्मिन्छन् र विभिन्न आकारका रङ्गीचङ्गी चङ्गा उडाउन व्यस्त हुन्छन् ।
दशैंमा स्कूल कलेजहरु धेरै दिन बिदा हुनाले पनि केटाकेटीहरुलाई पढाईलेखाईको चाप हुँदैन । फुर्सदमा रङ्गीबिरङ्गी चङ्गा उडाउन पाँउदा उनीहरुको खुसीको सीमा नै हुँदैन । दशैँको घटस्थापना सुरु हुनासाथ रमाउँदै खुला स्थान र घरका कौशीमै भएपनि उनीहरु रमाउने गर्छन् ।
काठमाडौँ उपत्यका बाहिरका शहर र गाँउहरुमा पनि दशैंमा चङ्गा नउडाइने होइन तर विशेषगरि काठमाडौँ उपत्यकामा यो प्रचलन बढि छ।
दशैँमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने एकिन तथ्य नै त छैन तर, जेष्ठ नागरिकहरुका अनुसार दशैँमा चङ्गा उडाउने प्रचलन धेरै पुरानो हो ।
दशैँमा चङ्गा उडाउने प्रचलन धार्मिक आस्थासँग जोडिएको पाइन्छ । वर्षा र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्याउन चङ्गा उडाउने प्रचलन सुरु भएको सँस्कृतविद्हरु बताउँछन् ।
यस्तो छ साँस्कृतिक महत्व
एसियामै पहिलो पटक चीनले कागजको उत्पादन गर्यो । कागजकै प्रयोगबाट चीनमा पहिलो पटक चङ्गाको प्रयोग भएको मानिन्छ । त्यसपछि नेपालमा पनि चङ्गा उडाउन थालिएको बताइन्छ ।
हर्ष उल्लासका साथ मनाउन चङ्गा उडाइन्छ । पिङ जतिकै प्राचिन महत्व नभएता चङ्गा युवापुस्ताको रुची बनेको छ ।
मानवले धेरै कुराको विकास गरेपछि चङ्गाको सुरुवात भएको सँस्कतविद् निर्मला पोखरेल बताउँछिन् ।
चङ्गासँगै डोरी, धागो र लट्याई जोडिएर आउँछ । जसलाइ विकसित स्वरुपको उपज लिइन्छ ।
पछिल्ला समय शहरमा मात्र नभई तराइ पहाडका अग्ला डाँडापाखातिर पनि चङ्गा उडाइन्छ ।
वर्खामा पानीको कारण चङ्गा उडाउन सकिँदैन । धेरै हावा चल्दा पनि उडाउँन सकिदैन । त्यसबखत चङ्गा चेट हुन्छ । टुक्रिएर जान्छ । यसका लागि अनुकुल मौसम चाहिन्छ ।
मौसम मिल्दो, बिदाका समय, हर्षउल्लासमय अन्न भित्र्याएको, मिठो खाने राम्रो लगाउने र साथमा चङ्गा उडाउने परम्परा रहेको उनको भनाइ छ। ‘मौसमी हिसाबले उचित किसिमको देखियो । मनोरञ्जनका लागि मौसमले साथ दिएको समय हो यो’ उनी भन्छिन्, ‘त्यसकारण दशैँसँग चङ्गा जोडिएर आएको हो ।’
तर प्रविधिको विकाससँगै यस्ता मनोरञ्जनको साधनहरुमा धक्का पुर्याएको छ । नयाँ प्रविधिले पुराना मनोरञ्जनका साधन विस्थापित हुँदै गएको उनी बताउछिन् । राज्यले सँसकृतिसँग जोडिएर आएका यस्ता मनोरञ्जनका साधनलाइ विस्थापित हुनबाट जोगाउन आवश्यक रहेको उनको भनाइ छ ।
‘चङ्गा उडाउनका लागि काइट फेस्टिबल तथा प्रतिस्पर्धा गराउनुपर्छ’ उनले खबरहबसँग भनिन्, ‘चङ्गा भनेको एउटा खेलकुद पनि हो यसमा स्किल पनि आवश्यक छ ।’
व्यवसायी भन्छन्, : चङ्गाको व्यापार खस्किदै गयो
विगतका वर्षहरुमाभन्दा पछिल्ला केही वर्षयता चङ्गाको व्यापार खस्किदै गएको व्यापारीहरु बताउँछन् । प्राय वैशाख जेठको समयमा हावा लाग्ने र मौसम सफा हुने हुँदा कतिपयले त्यो बेला पनि चङ्गा उडाउछन् ।
तर दशैंकै समयमा भने लाखौँ रुपैयाँको चङ्गाको कारोबार हुने गरेको असनका अजय चित्रकार बताउँछन् ।
‘३ रुपैयाँदेखि ३ सय रुपैयाँसम्मका चङ्गा छन्’ उनले भने, ‘त्यसमा लटाइ पनि ७० रुपैयाँदेखि हजारसम्म पर्छ ।’
वैशाखबाट चङ्गा भित्रन थाल्छ । तर दशैंका समयमा भने अत्याधिक विक्री हुने गरेको उनी बताउँछन् ।
उनकाअनुसार एउटा कार्टुनमा १७ हजार चङ्गा प्याकिङ गरेर आउँछ । एक सिजनमा उनीहरुले ५ कार्टुनसम्म विक्री गर्छन् । उनको पसलमा चङ्गा किन्न आउने पुराना ग्राहकहरु छन् । जो हरेक वर्ष आउँछन् । ‘उपत्यका बाहिर चङ्गा र लटाइ बोकेर जानेहरु यही किन्न आउँछन्’ उनी खुसी हुदै भन्छन्, ‘सोलुखुम्बु, जोमसोम, नारायघाट लगायतका स्थानमा हाम्रोबाट चङ्गा उडाउन किनेर लैजान्छन् ।’
दशैँको चहलपहल सुरु भइसकेको छ । चङ्गा पसलमा पनि केही फाट्टफुट्ट मानिसहरु पुगिरहेका छन् । यद्यपी विगतको तुलनामा व्यापार भने खस्किदै गएको उनको भनाइ छ ।
‘८० वर्षअघि हामी सानो छँदा हाम्रा बाआमालाइ यो बेला चङ्गा बेच्न भ्याइनभ्याई हुन्थ्यो’उनले विगत सम्झदैँ भने, ‘तर अहिले फाट्टफुट्ट व्यापार भइरहेको छ ।’
प्रतिक्रिया