माझी बस्ती निर्माण : विवादमा नायिका श्वेता खड्का | Khabarhub Khabarhub

माझी बस्ती निर्माण : विवादमा नायिका श्वेता खड्का

चन्दा रकम र खर्च अपारदर्शी



काठमाडौँ— चलचित्र नायिका श्वेता खड्काको चर्चा फिल्मको पर्दाबाट भन्दा बढी माझी बस्ती पुनर्निर्माण गरिदिने प्रचारबाट भयो । माझी बस्ती निर्माणको घोषणापछि श्वेता एकाएक समाजसेवी कहलिइन् ।

अभिनेता श्रीकृष्ण श्रेष्ठसँग बिहे गरेको एक महिना नपुग्दै उनले पति वियोगको पीडा खेप्नु पर्‍यो । त्यसछिको एक्लो र निरस जीवनकै समयमा उनले माझी बस्ती निर्माणको घोषणा गरेकी थिइन् । फिल्मी नायिकाका रूपमा लोकप्रियता कमाएकी श्वेतालाई यतिबेला भने नैतिक संकट परेको छ ।

उनले चार वर्षअघि घोषणा गरेको माझी बस्ती निर्माण आर्थिक अभावका कारण अलपत्र परेको छ । यही समयमा उनले पाँच वर्षको वैधव्य त्याग्दै निकै ठूलो खर्च गरेर बिहे गरिन् । दुईपटक त उनले रिसेप्सन पार्टी नै दिइन् ।

बिहेमा ठूलो रकम खर्च गरेर माझी बस्तीका लागि अरूसँग चन्दा याचना गरेको भन्दै उनको विरोधमा टिप्पणी हुन थालेको छ ।

२०७४ साल माघमा श्वेताले माझीबस्ती निर्माणको औपचारिक घोषणा गरेकी थिइन् । घोषणाको तीन वर्ष बितिसकेको छ तर उनले बस्ती हस्तान्तरण गर्न सकेकी छैनन् ।

माझीबस्ती निर्माणको घोषणा गर्दै श्वेताले भनेकी थिइन्, ‘शुभकार्य श्रीगणेशको नामबाट गरिन्छ, श्रीकृष्ण श्रेष्ठको नाममा समर्पित गर्दछु, सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदी किनारका ५६ घर माझीका लागि एकीकृत बस्ती बनाउने घोषणा गर्दछु ।’

उनले ‘श्वेता श्री फाउण्डेसन’ का नाममा सहयोग रकम जुटाएर बस्ती निर्माणको काम अघि बढाइन् । सबै किसिमका सञ्चार माध्यममा उनको प्रशंसा भयो । श्वेता माझी बस्ती निर्माणका लागि सामाजिक सञ्जालमार्फत रकम जुटाउन सक्रिय भइन् । विदेशमा बस्ने नेपालीलाई पनि आह्वान गरिन् ।

श्वेताले सबैले गौरव गर्न लायक बस्ती निर्माण गर्ने घोषणा गरेकी थिइन् । यता माझी बस्तीका बासिन्दाहरूले आफूहरूको थाप्लोमा उल्टै चार लाख रूपैयाँ ऋण थोपरिएको भन्दै गुनासो गरेका छन् ।

फिल्मी नेपालले तयार पारेको एक रिपोर्टअनुसार श्वेताले निर्माण गरिरहेको भनिएको माझी बस्ती उनले नभएर बरु आफूहरूले नै बनाएको बस्तीका बासिन्दाहरूको जिकिर छ ।

माझी बस्तीकी माझी । तस्वीर सौजन्य– फिल्मी नेपाल ।

सामाजिक सञ्जालमा श्वेताले उठाएको रकमको हिसाब हुनुपर्ने माग हुन थालेको छ । फिल्मी नेपालको टिमले उक्त माझी बस्तीमा पुगेर रिपोर्ट तयार गरेको छ ।

उक्त रिपोर्टमा सीताराम माझीले भनेअनुसार सरकारी अनुदानमा पाएको ३ लाख रूपैयाँले केही राहत त भएको हो तर त्यसबाहेक प्रत्येक घरलाई ४ लाख रूपैयाँ ऋण लागेको छ । सीतारामले भनेका छन्, ‘माझी बस्तीको अवस्था अत्यन्त नाजुक छ ।’

‘श्वेता श्री फाउन्डेनले ऋण मिलाइदिएको हो, तिर्नपर्ने चाहिँ आफैँले हो, मिडियामा नाम चाहिँ उहाँको आएको छ, बरु नक्सा पास र डिजाइनहरू उहाँले गर्नुभएको हो तर आर्थिक पाटोमा उहाँहरूले कुनै सहयोग गर्नुभएको छैन,’ सीतारामले भनेका छन् ।

श्वेताले हालै केही पत्रकारहरूलाई स्थलगत अवलोकन गराउँदै तीव्र गतिमा काम भइरहेको र अझै आर्थिक सहयोग आवश्यक रहेको बताएकी थिइन् ।

बस्ती निर्माण थालनीले माझी समुदायमाझ ‘साच्चैकी नायिका’ बनेकी श्वेतामाथि अहिले रकम हिनामिना गरेको आरोप लागेको छ । श्वेताले स्वदेश र विदेशबाट सहयोग मागेकी भए पनि माझीहरूले भने आफूहरूले सहयोग नपाएको गुनासो गरेका छन् । घर साँघुरा भएको पनि उनीहरूको गुनासो छ ।

बस्तीकी बासिन्दा कमला माझीले घरमा खानलाई पाँच महिना पुग्ने अन्न नभए पनि आफ्नो थाप्लोमा चार लाख रूपैयाँ ऋण थोपरिएको बताएकी छन् । उनले भनेकी छन्, ‘घर पनि फेद न टुप्पाका बनेका छन् । घरमा न राम्रोसँग बस्न सकिन्छ । न त थोरै भए पनि अन्न राख्ने ठाउँ नै छ । हामीले मरेर दुःख गरेर यत्रो पर्खाल लगाएका छौँ, पैसा त खै कसले खाएको छ, हामी के जानूँ !’

अहिले माझीहरू श्वेतालाई नमुना बस्ती निर्माणको जस दिन तयार छैनन् ।

स्थानीय झमलादेवी आधारभूत विद्यालय, साँगाचोकगढीकी शिक्षिका मनिका माझी पनि माझी बस्ती श्वेताले नबनाएको बताउँछिन् । उनी भन्छिन्, ‘सुरुमा सरकारले दिएको तीन लाखले घर बनाउँछौँ भनेका थियौँ, त्यसले नपुगेपछि फेरि चार लाख रूपैयाँ ऋण लिएर बस्ती निर्माणको काम थालेका छौँ ।’

मनिकाका अनुसार प्रत्येक घर माझीले मासिक सात हजार रूपैयाँका दरले ऋणको किस्ता तिरिरहेका छन् । ‘बस्तीमा पर्खाल लगाउने काम भइरहेको छ, सोही पर्खाल निर्माणमा खटेर माझीहरूले बैंकलाई तिर्ने किस्ता जुटाइरहेका छन्,’ मनिका भन्छिन्, ‘अहिलेसम्म त जसरी पनि किस्ता तिरिरहेका छन्, यो रकम जुटाउन सकस पर्छ ।’

श्वेताले माझी बस्ती निर्माण नगरेको मनिकाको भनाइ छ । उनी भन्छिन्, ‘यी घर हामीले नै बनाएको हो, हाम्रै मेहनत परेको छ, हामीले नै दुःख गरेका छौँ ।’ उनले श्वेताले साझेदारी र सहयोगीको भूमिका निर्वाह गरेको बताइन् ।

श्वेताले माझी बस्ती निर्माणका लागि कति सहयोग रकम जुट्यो र त्यो कसरी खर्च भयो भन्ने खुलाएकी छैनन् । चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर जानुका पराजुली श्वेताश्री फाउन्डेसनले समन्वयको काम मात्र गरेको बताउँछिन् ।

श्वेताले सुरुमा ६० लाख रूपैयाँ सहयोग गरे पनि उक्त रकम माझी बस्तीलाई सरकारी सहयोग आएपछि फिर्ता गर्ने शर्त रहेको उपमेयर पराजुलीको भनाइ छ । उनका अनुसार बाटो बनाउने र पर्खाल लगाउने जस्ता कामका लागि केन्द्रीय सरकारबाट पनि बजेट छुट्याइएको छ ।’

उपमेयर पराजुलीका अनुसार फाउन्डेसनका तर्फबाट एकजना इन्जिनियर उपलब्ध गराइएको छ । अरू काम नेपाल सरकारबाटै भइरहेको छ । निर्माणमा केन्द्रीय सरकार र बाग्मती प्रदेश सरकारले सहयोग गरेका छन् ।

यता श्वेताले सामाजिक सञ्जालमार्फत बस्तीको काम अन्तिम चरणमा पुगेको दाबी गरेकी छन् । उनले माझी बस्तीलाई लिएर आफूमाथि लागेका आरोपबारे विस्तृत जानकारी दिने बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘हिजो माझी बस्तीले आर्थिक अभावले झेलेर निर्माणको काम रोकिँदै गर्दा चुइँक्कसम्म नबोल्नेहरू अहिले मतिर फर्किएर प्रश्न गर्दैछन्, तैँले यो बस्तीमा के योगदान गरिस् ?’

श्वेताले आफूले कसैसँग पनि जबरजस्ती सहयोग नलिएको जिकिर गरेकी छन् । उनले लेखेकी छन्, ‘जीवनमा कसैसँग हात फिँजाएर भिख नमाग्ने प्रण गरेकी मैले माझी टोलको लागि हात फैलाएकी छु, सहयोगको अपील गरेकी छु तर आजका दिनसम्म कोही कसैलाई जोर जबरजस्ती गरेर सहयोग दिन लगाएकी छैन ।’

उक्त कुराले उनले माझी बस्ती निर्माणका नाममा रकम संकलन गरेको पुष्टि हुन्छ । उनले दाताहरूलाई कहिल्यै पनि श्वेता श्री फाउन्डेसनको खातामा नभई सोझै उपभोक्ता समितिको खातामा रकम पठाउन आग्रह गरेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘स्थानीय उपभोक्ताहरूको बैंक खाता र हाम्रो बैंक खाता केलाएर हेर्दा हाम्रो खातामा लाखको कारोबार भएको देखिएला तर उपभोक्ता समितिको खातामा करोडौँको कारोबार भएको देखिन्छ ।’

झ्याडी टोल विकास उपभोक्ता समितिका सचिव तथा झ्याडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझी भने श्वेताकै अगुवाइमा बस्ती निर्माण भइरहेको बताउँछन् ।

खबरहबसँग कुरा गर्दै दिनेश भन्छन्, ‘उपभोक्ता समितिको तर्फबाट माझी बस्तीमा निरन्तर काम भइरहेको छ । श्वेता म्यामले हामीलाई निरन्तर सहयोग गरिरहनुभएको छ ।’

दिनेशले श्वेता माझी बस्ती निर्माणबाट अलग भएको हल्ला फैलिएको तर साँचो नभएको बताए । उनले भने, ‘उहाँकै अगुवाइमा ७ लाख बराबरको डिजाइन श्वेता श्री फाउन्डेसनका तर्फबाट भएको हो, उहाँले पूर्णरूपमा सहयोग गरिरहनुभएको छ । ६३ लाख बराबरको रकम पछि फिर्ता गर्ने शर्तमा उपभोक्ता समितिलाई दिनुभएको हो ।’

सरकारले अनुदान उपलब्ध गराएपछि कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न नमिल्ने प्रावधानका कारण श्वेताले आर्थिक सहयोग नगरेको दिनेशको भनाइ छ । बस्ती नर्माणमा केन्द्रीय सरकार र प्रदेश सरकारबाट आर्थिक जुटाउने पहल श्वेता नै गरेकी हुन् ।

दिनेश भन्छन्, ‘विदेश जाने युवाहरूले यहीँ काम पाएका छौँ, हामीलाई बैंकले ऋण दिने थिएन होला, यो सबै श्वेता म्यामले नै मिलाइदिनु भएको हो ।’

उनका अनुसार श्वेताले माझीहरूको थाप्लोमा ऋण लागेकोमा चिन्ता प्रकट गर्दै साथ नछाड्ने प्रण गरेकी छन् । माझी बस्तीको एउटा घर श्वेता श्री फाउन्डेसनको कार्यालयका लागि दिएको उनले बताए । उनका अनुसार नमुना बस्तीको निर्माणको अवधारणा श्वेता श्री फाउन्डेसनकै हो ।

आफू विवादमा परेकोबारे श्वेताले लेखेकी छन्, ‘सरकारी अनुदान बाहेक अन्य नपुग रकम चार लाख रूपैयाँ ऋण स्वरूप लक्ष्मी बैंकबाट लिने भनेर साझा समहति जुटाउने पनि स्थानीय उपभोक्ता समिति नै हो । याद रहोस्, सरकारी अनुदान प्राप्त गरेका उपभोक्ताहरूलाई घर निर्माणको कार्यमा कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न नपाउने प्रावधान छ ।’

संस्थाले आर्थिक सहयोग गर्न नपाइने प्रावधान भए आफूले किन रकम उठाएको भन्नेबारे श्वेता मौन छिन् ।

आफूले ३२ लाख रूपैयाँ दिएर माझी बस्ती निर्माणको काम चालु गरेको श्वेताको भनाइ छ ।

उनले लेखेकी छन्, ‘मैले बस्ती निर्माणको काम रोकिँदै गर्दा व्यक्तिगत रूपमा ३२ लाख रूपैयाँ दिएर काम सुचारु गरेकी छु । विभिन्न दाताले घर बाहेकका पूर्वाधार निर्माणका लागि प्रदान गर्नुभएको आर्थिक सहयोगलाई पनि रिस्क लिएरै उपभोक्ता समितिको खातामार्फत घर निर्माणकै कार्यमा उपलब्ध गराएकी छु ।’

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङ पनि नमुना बस्ती बनाउने भिजन श्वेताकै भएको बताउँछन् । खबरहबसँग कुरा गर्दै यनले भने, ‘नमुना बस्ती बनाउने भिजन श्वेता खड्काले नै ल्याएको हो तर माझी बस्ती उहाँले मात्र बनाइदिएको भन्न मिल्दैन ।’

उनका अनुसार श्वेताले प्राविधिक पाटोमा खर्च गरे पनि पैसा हालेर बस्ती बनाएको होइन । उनले भने, ‘उहाँहरूले प्राविधिकहरू खटाउँदा पनि खर्च भएकै होला । अरू पनि खर्च भएको होला तर सबै खर्च उहाँले गरेको भन्न मिल्दैन । उहाँले हात नहालेको भए नमुना बस्ती बन्ने थिएन, अहिले उहाँले हात झिकेको भन्ने होइन ।’

श्वेता श्री फाउन्डेसनले हिसाबकिताब नदेखाएको पनि तामाङको भनाइ छ ।

घर साँघुरा भएको भन्ने बारेका पनि श्वेताले स्पष्टीकरण दिएकी छन् । ‘बस्ती निर्माण पूर्व नै आठ वटा घरको डिजाइनबाट हालको डिजाइन रोज्ने स्थानीयवासी नै हुन् ।’
श्वेताले माझी बस्ती निर्माणमा आर्थिक सहयोग र आफ्नो आलोचनाबारे प्रष्ट पार्ने प्रयास गरेकी छन् ।

‘दान, धर्म र कर्म भनेको मनदेखि प्रस्फुटन हुने कुरा हो, हामीले त सहयोगको अपीलसम्म गर्ने हो, बलजफ्ती गर्ने होइन,’ उनले लेखेकी २० माघमा सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आफ्नो प्रतिबद्धता र कटिबद्धतालाई भुलेर गरिबहरूको आशा र भरोसामाथि खेलवाड गर्नु पक्कै राम्रो होइन, पूरा गर्न नसक्ने वाचा, पूर्ति गर्न नसक्ने आश्वासन र दिन नसक्ने सहयोगको कुनै अर्थ छैन । अतः आफूलाई समाजसेवीका रूपमा चिनाउन कोही कसैको भरोसामाथि खेलवाड नगरौँ ।’

श्वेतालाई सम्पर्क गर्न पछिल्लो तीन दिन खबरहबले गरेको प्रयास सफल हुन सकेन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १ : १३ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः