भिजिट भिसामा पठाएका नेपाली कामदार दुबईमा अलपत्र, उद्धारको आग्रह « Khabarhub

भिजिट भिसामा पठाएका नेपाली कामदार दुबईमा अलपत्र, उद्धारको आग्रह



दोहा– दुई साताअघि रोजगारीका लागि दुबई पुगेका तीन नेपाली युवा अलपत्र परेका छन् । विराटनगरका जरियसन, नवलपरासीका महमद जुबेर अन्सारी र नबाबुध अन्सारी स्थानीय एजेन्ट पैसा लिएर बेपत्ता भएपछि अलपत्र परेका हुन् ।

उनीहरूका अनुसार काठमाडौँका ललित लामा र नवलपरासीका रामु थापामगर नाम गरेका एजेन्टले दुबई पुर्‍याएर अलपत्र परेका हुन् ।

दुबई पुग्नेबित्तिकै त्यहाँको स्थानीय एजेन्टले विमानस्थलमा भेट गरेको र उनीहरूसँग पैसा लिएर सडकबाटै बेपत्ता भएको उनीहरूको भनाइ छ ।

दुबईमा रहेका एजेन्टले जरियसनबाट ८२० डलर, जुबेर अन्सारीबाट १०० डलर र नबाबुध अन्सारीबाट ३५ सय दिराम लिएर बेपत्ता भएको जुबेरले बताए ।

उनका अनुसार एजेन्टले दुबईको एक होटेलमा वेटरको काम लगाइदिने आश्वासन दिएर प्रतिव्यक्ति एक लाख ६० हजार रुपैयाँ लिएर भिजिट भिसामा पठाएका हुन् । दुबईको एजेन्टले सडकमा छाडिदिएपछि भोकै सडकपेटीमा बस्नुपर्ने अवस्था आएको अर्का पीडित नबाबुधले बताए ।

‘हामी १२ दिनदेखि दुबईको अलकोज भन्ने ठाउँको सडक पेटीमा बसेका छौँ,’ उनले भने, ‘खाने बस्ने केही छैन, एजेन्टले केही व्यवस्था नगरी तिमीहरू यहीँ बस्दै गर म कामको चाँजोपाँजो मिलाएर आउँछु भनेर बेपत्ता भयो, यतिका दिन बित्दा पनि आएको छैन ।’

उनीहरूले आफ्नो उद्धार गरिदिन आग्रह गरेका छन् ।

ती युवाहरू सडक छेउमा भोकै रातदिन बसेको देखिपछि आफूले केही खानेकुरा र केही पैसा दिएको एक जना नेपाली युवा अनिल राईले बताए । आफूले सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरूको उद्धारका लागि संघसंस्थाहरूलाई अनुरोध गरेको पनि अनिलले खबरहबलाई बताए ।

उनीहरूलाई दुबई पठाउने एजेन्टसँग सम्पर्क गर्दा प्रतिक्रिया दिन चाहेनन् ।

यसैगरी, सङ्खुवासभा पाँचखपनका घनिन्द्र बस्नेत र लक्ष्मण बस्नेतले पनि आफूहरूलाई गोकर्ण न्यौपाने (कावा) नामको दलालले जनही दुई लाख रुपैयाँ लिएर दुबईमा अलपत्र पारेको बताएका छन् ।

आफूलाई राम्रो काममा लगाइदिने भनेर गोकर्णले तीन महिनाअघि दुबई पुर्‍याएर अलपत्र पारेको घनिन्द्रले बताए । काम लगाइदिन वा फैसा फिर्ता गर्न आफूहरूले गरेको आग्रह एजेन्टले बेवास्ता गरेको र धम्की दिने गरेको पनि घनिन्द्रले बताए ।

‘हामीलाई एजेन्टले राम्रो कमाइ हुन्छ भनेर दुबई ल्याएर अलपत्र पार्‍यो । अहिले काम दिन सकेनौ, हाम्रो पैसा फिर्ता गर भन्दा जे गर्छौ गर भन्छ,’ उनले भने, ‘अहिले हामी साथीको सहयोगमा एउटा कम्पनीमा काम गरिरहेका छौँ, त्यो दलालसँग कसरी पैसा उठाउने थाहा छैन ।’

गोकर्णले दुबई पठाएर अलपत्र पारेका अरू साथीहरू पनि फेला परेको उनले बताए । घनिन्द्रले भने, ‘हामीलाई त फसायो, हामी जस्ता अरू नेपाली दाजुभाइ नफसून् भनेर हामीले कुरा बाहिर ल्याएका हौँ ।’

एजेन्ट भनिएका गोकर्णसँग सम्पर्क गर्दा उनले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

भिजिट भिसा जोखिमपूर्ण

युनाइटेड अरब इमिरेट्स् (यूएई) स्थित नेपाली दूतावासले भिजिट भिसामा यूएई पुगेका नेपालीहरू अलपत्र पर्ने क्रम बढेको जनाउँदै भिजिट भिसामा कामका लागि नआउन आग्रह गरेको थियो ।

भिजिट भिसामा आएर काम नपाएमा वा भने अनुसारको नपाएमा सम्बन्धित कम्पनी वा अन्य जिम्मेवार निकायलाई कारबाही गर्न समेत नसकिने हुनाले यसमा सजग रहन अनुरोध गरेको दूतावासले जनाएको छ ।

भिजिट भिसामा ल्याउनेहरूले ठगी गर्ने, युएई ल्याएर अलपत्र छाड्ने, नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरूमा लैजाने तथा मानव तस्करहरूको सञ्जालमा समेत पर्न सक्ने दूतावासले जनाएको छ ।

दूतावासले भिजिट भिसामा आएर अलपत्र परेमा सहयोग गर्न नसक्ने पनि स्पस्ट पारेको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १२ : २८ बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत