कांग्रेसमा क्रियाशील सदस्यता विवादको चुरो कुरो | Khabarhub Khabarhub

कांग्रेसमा क्रियाशील सदस्यता विवादको चुरो कुरो


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको विवाद हालसम्मका महाधिवेशनमध्ये यस पटक सबैचन्दा चर्को भएको छ । विवादकै कारण २० जिल्लामा वडा अधिवेशन रोकिएको छ । यी मध्ये ८ जिल्लामा समाधान भयो भनिएको छ ।

क्रियाशील सदस्यता विवाद भएका जिल्लामा वडा अधिवेशनको मिति नै पर सारिएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला समितिले नै वडा अधिवेशन बहिस्कार गरेको छ । इतरपक्षका केन्द्रीय नेताहरूले पत्रकार सम्मेलन गरेर विरोध जनाउँदै क्रियाशील सदस्यता सच्याएर फेरि वडा अधिवेशन गराउन माग गरेका छन् ।

नेपाली कांग्रेसको स्थापनाकालदेखि नै साधारण र क्रियाशील गरी दुई प्रकारको सदस्यता प्रणाली रहेको छ । सातौँ महाधिवेशनसम्म क्रियाशील सदस्यताको निश्चित मापदण्ड र संख्या तोकिएको थिएन । नेताहरूको व्यक्तिगत निर्णय र विवेकमा आधारित थियो । नेताहरूले सोझै सदस्यता दिन्थे ।

आठौँ महाधिवेशन हुनुअघि मापदण्ड बनाएर क्रियाशील सदस्य वितरण गर्न थालियो । आठौँ महाधिवेशन २०४८ सालमा झापामा भएको थियो । यसपछि महाधिवेशनको मुखमा मात्रै क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण संस्थागत भयो ।

विधानमा हरेक वर्ष नवीकरण गर्ने भनिए पनि व्यवहारमा महाधिवेशन पर्खिने गरेका कारण क्रियाशील सदस्यता नवीकरण र वितरणमा विवाद हुने गरेको छ ।

आठौँपछि क्रियाशील सदस्यता विवादकै कारण महाधिवेशन एक वर्ष पर नधकेलिँदै आएको छ । एघारौँ महाधिवेशनमा पार्टी विभाजन भएका कारण विवाद भएन ।

क्रियाशील सदस्यताको मापदण्ड लिखतमा सीमित छ । मापदण्डका आधारमा भन्दा पनि गुटका अधारमा सदस्यता वितरण हुने गरेको छ । जुन पक्ष बलियो छ, उसैले आफूखुसी नयाँ क्रियाशील सदस्यता वितरण गर्ने गरेको छ ।

तेह्रौँ महाधिवेशनमा क्रियाशील सदस्यता विवाद निकै चर्केको थियो । छानविन समितिका संयोजक नरहरि आचार्यले सभापति पदका प्रत्यासीद्वय शेरबहादुर देउवा र रामचन्द्र पौडलबीच सहमति गराएर विवाद मिलाए ।

क्रियाशील सदस्यताको टुङ्गो लाग्न गाउँदेखि केन्द्रसम्मका सात तहका सङ्गठनहरूले अनुमोदन गर्नुपर्ने झन्झटिलो प्रावधान विधानमा छ । लामो प्रक्रियाका कारणले उजुरीको सुनुवाइ ठिक समयमा हुँदैन ।

तेह्रौँ महाधिवेशनमा चार लाख ७० हजार र विदेशस्थित जनसम्पर्क समितिबाट २० हजार क्रियाशील सदस्य थिए । कांग्रेससँग एकीकरण गरेका नेता विजयकुमार गच्छदारको पार्टीका २५ हजारलाई क्रियाशील सदस्यता दिने सहमति भयो । राप्रपाका सुनिल थापा, अखण्ड नेपाल पार्टी लगायतका पार्टी तथा विभिन्न व्यक्तिहरू कांग्रेस प्रवेश गर्दा सामूहिक क्रियाशील सदस्यता दिने सहमति भएको थियो ।

डेढ वर्षअघि क्रियाशील सदस्यता दोब्बर बनाउने निर्णय भयो । झन्डै पाँच लाख नयाँ सदस्य थपिने भए । जुन गुटले सदस्यता दिलायो उही बलियो हुन्थ्यो ।

गाउँपालिकाका वडामा कम्तीमा ४२ जना क्रियाशील सदस्य बनाउनुपर्ने प्रावधान छ । त्यस्तै नगरको वडामा कम्तीमा ४७ जना र महानगरको वडामा ६० जना सदस्य कम्तीमा हुनुपर्ने प्रावधान छ ।

वडा कार्यसमितिले क्रियाशील सदस्यताको सिफारिस गरी गाउँपालिका–नगरपालिका कार्यसमितिमा पठाउनुपर्छ । वडा कार्यसमितिको बैठकबाट निर्णय गरी वडाभित्रका क्रियाशील सदस्यसमेत आमन्त्रण गररेर बैठकमै क्रियाशील सदस्यता दिनुपर्ने नियम छ ।

यसरी सदस्यता पाएका व्यक्तिको नाम कार्यसमितिको बैठकबाट निर्णय गरी राय साथ गाउँपालिका–नगरपालिका कार्यसमितिमा पठाउनुपर्ने प्रावधान छ ।

त्यसैगरी वडा कार्यसमितिले योग्यता पुगेका क्रियाशील सदस्यको नाम सिफारिस नगरेमा गाउँपालिका–नगरपालिका कार्यसमितिले आफू मातहतका वडा कार्यसमितिसँग क्रियाशील सदस्यता प्राप्त भएको दुई हप्ताभित्र बैठक गरेर सिफारिस गर्नुपर्छ ।

यसरी सिफारिस भई आएका व्यक्ति योग्य ठहर भएमा मात्रै कार्यसमितिलाई क्रियाशील सदस्यताको फाराम उपलब्ध गराउने प्रावधान छ ।
गाउँपालिका–नगरपालिका कार्यसमितिले बैठक गरी क्रियाशील सदस्यताका लागि प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई विवरणको जानकारी गराई दुई हप्ताभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्नुपर्छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले सिफारिस प्राप्त भएको बढीमा एक महिनाभित्र सिफारिसमा योग्यता पुगेका व्यक्तिलाई कार्यसमितिको बैठकबाट निर्णय गरी क्रियाशील सदस्यता प्रदान गर्ने प्रावधान छ । यो निर्णय अन्तिम हुन्छ ।

यो तहगत प्रावधान पूरा नगरी गुटका आधारमा निर्णय गर्ने, संस्थापन पक्षका शीर्ष नेताहरूले आफूखुसी क्रियाशील सदस्यताका लागि नाम थप्ने र सिफारिस भइआएको नाम हटाउने गरेका छन् । यस्तो स्वेच्छाचारिताका कारणले विवाद चर्किने गरेको छ ।

चौधौँ महाविधेशनका लागि क्रियाशील सदस्यता दोब्बर गरेर नौ लाख भन्दा बढी पु¥याउने निर्णय भएपछि संस्थापन पक्षको स्वेच्छाचारिता बढेको हो । क्रियाशील सदस्यको मतको प्रभाव महाधिवेशनमा पर्ने भएकाले नयाँ सदस्यता गुटका आधारमा वितरण गर्ने काम सबैभन्दा बढी यस पटक भएको छ ।

कतिपयले यस्तो विवादकै कारण मंसिरमा हुने भनिएको महाधिवशेन रोकिन सक्ने र पार्टी विभाजन हुनसक्ने अनुमान समेत गर्न थालेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ९ : ०९ बजे

तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

‘चमेलीको पोइ’ चैत १३ मा आउने, मुकुन दोहोरो भूमिकामा हुन् ?

काठमाडौं – नायक मुकुन भुसाल र नायिका सुरक्षा पन्त अभिनीत

एघार आरोप लगाउँदै उपेन्द्रको निष्कर्ष- यो सरकार पूरै असफल भइसक्यो

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी