शेयर बजार दैनिक ओरालो : सोचेर लगानी गर्न सुझाव « Khabarhub

शेयर बजार दैनिक ओरालो : सोचेर लगानी गर्न सुझाव



काठमाडौँ – शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक (नेप्से) २.६५ प्रतिशतले ओरालो लाग्यो ।

बिहीबार २८८९.२१ विन्दूबाट सुरु भएको बजार ७६.६५ अंकले घटेर २८१२.३५ विन्दूमा रोकियो ।

दिनभर २२९ कम्पनीका १ करोड ६४ लाख ६८ हजार शेयर किनबेच हुँदा ९ अर्बको ३ करोड ३९ लाख बराबरको शेयर कारोबार भएको छ । बिहीबार सबै उपसूचकहरु घटेका छन् ।

शेयर बजार पछिल्ला केही दिन यता राताम्मे देखिना थालेको छ ।

२० अर्बभन्दा माथि कारोबार हुने शेयर बजार केही दिनयता ४/५ अर्बमा खुम्चिएको छ । बजार घटबढ हुनु नै शेयर बजारको सुन्दर पक्ष हो । राजनीनिक उत्तरचढाव, समय–समयमा ल्याइने नीति, प्राकृतिक प्रकोप लगायत कारणले शेयर बजार घटबढ भइरहन्छ ।

समय–समयमा निमायक निकायहरुले लिने नीतिले गर्दा पछिल्ला समय बजार धेरै उत्तरचढाव भएको लगानीकर्ता बताउँछन् ।

यसअघि नेपाल धितोपत्र बोर्डले शेयर बजारमा लगानी गर्न उच्च जोखिम रहेका ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेको थियो । व्यापाक आलोचना भयो बोर्ड नै विवादमा तानियो । उता लगानीकर्ता आत्तिए । त्यसको महिना दिन नबित्दै मौद्रिक नीतिमा १२ करोडको ‘क्याप’ लगाइयो ।

एक जनाले १२ करोडसम्म मात्र ऋण लिन पाउने भनेर ल्याएको नीतिविरुद्ध लगानीकर्ता आन्दोलित छन् ।

शेयर बजारमा उच्च अंकको गिरावट आएपछि लगानीकर्ता तथा पूँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा समेत मागेको छ । समितिका आदित्य शिवाकोटी अनशनमा बसेका छन् ।

पूँजी बजारमा प्रभाव पार्ने गतिविधि गरेको भन्दै राजीनामालाई मुख्य विषय बनाई उनीहरले विभिन्न माग राखे ।

समितिले नेपाल राष्ट्र ब्यांकले मौद्रिक नीति मार्फत ल्याएको शेयर कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीले दिने लाभांशमा लगाइएको ‘क्याप’ हटाउनुपर्ने, प्रोभिजनिङको व्यवस्था परिमार्जन गर्नुपर्ने लगायत माग राखेको छ ।

१२ करोडको ऋण लिने प्रावधानलाइ रिभ्यू गर्न अर्थमन्त्रालय र गभर्नरसँग कुराकानी भइरहेको पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउछिन् ।

‘एउटा कुराले लगानीकर्ता केही सम्हालिएका हुन्छन् फेरि अर्को नीति आइदिन्छ’ पोखरेल भन्छिन्, ‘यसले गर्दा पछिल्लो समय बजारमा उत्तरचढाव भइरहेको छ ।’

रिभ्यू नभएसम्म लगानीकर्ताको सेन्टिमेन्टमा बजार के होला भन्ने अवस्था रहेको छ ।

‘यो रिभ्यू भयो भने बजार ठिकै होला, रिभ्यू नगर्ने र लगानीकर्तालाई पेलेरै जाने अप्ठ्यारोमै पार्ने ब्याजदर पनि बढाउने जस्ता नीति ल्याइरहे बजारलाई ठूलै असर गर्छ’, खबरहबसँगको कुराकानीमा उनले भनिन् ।

अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितो पत्र बोर्डले लगानीकर्ताको मागलाई सम्बोधन गरेमा बजार सम्हालिने उनको भनाइ छ । त्यसो त राष्ट्र बैंकको नीति मात्रै होइन, निषेधाज्ञा हटेसँगै अन्य लगानीका क्षेत्र खुला हुँदा शेयर बजार घटेको बुझ्न सकिन्छ । हिजो बजार बढ्नुमा कोरोना महामारी र निषेधाज्ञा प्रमुख कारण थियो ।

निषेधाज्ञाको समयमा लगानीका हरेक क्षेत्र ठप्प रहे पनि शेयर बजार चालू रह्यो । अनलाइन कारोबार प्रणालीका कारण लगानीकर्ताले घरबाटै कारोबार गरे ।

लगानी गर्ने ठाउँ नहुँदा अधिकांशले शेयर बजारमा हात हाले । यही बीचमा नयाँ लगानीकर्ता ह्वात्तै भित्रिए ।

निषेधाज्ञासँगै लगानीका क्षेत्र खुम्चिँदा बैंकको ब्याजदर घट्यो । अन्य क्षेत्रमा कर्जाको माग घट्न थालेपछि बैंकहरूले पनि शेयर धितोमा लगानी बढाए । यसको परिणाम निषेधाज्ञाकै समयमा शेयर बजारको कारोबारमा ऐतिहासिक रेकर्ड बनायो ।

उच्च कारोबार भएपछि बैंकहरुमा कर्जाको माग बढ्यो । लगानी योग्य पूँजीको अभाव देखिएपछि यता बैंकहरुले बिहीवार ब्याजदर बढाएका छन् ।
शेयर बजारमा बुझेर लगानी गर्न आवश्यक

त्यस्तै बजार घट्नु सामान्य प्रक्रिया रहेको ब्रोकरहरु बताउँछन् । लगानीकर्ताले आत्तिएर बढी हल्ला गरेकाले बजारमा पहिरो नै गएको हो कि भन्ने देखाएको एक ब्रोकरले बताए ।

त्यसो त बजार अचानक बढ्दा कारण खोजिदैँन तर घट्दा विभिन्न कारण खोजिन्छन् र भेटिन्छन् पनि । ‘अझैं २/३ महिनासम्म यही अवस्था रहने देखिन्छ’, ब्रोकरले खबरहबसँग भने, ‘चाडपर्वपछि विस्तारै सम्हालिदै आउला ।’

विशेषगरी बजार घट्नुमा राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई शेयर किन्न नदिनु, ठूला लगानीकर्तालाइ ऋण नदिनु, बैंक तथा वित्तिय संस्थाले ब्याजदर बढाउनु रहेको उनले बताए ।

त्यस्तै बजारमा ९० प्रतिशतभन्दा बढी लगानीकर्ताहरु जसले शेयर बजारका विषयमा जानकार हुँदैनन् । तिनै लगानीकर्ताहरु अरुका लहलहैमा लागेर शेयर किन्ने र घटेपछि छटपटाउने गरेको उनी बताउँछन् ।

‘के हो शेयर बजार भन्ने विषयमा ठन्डा दिमागले सोचेर लगानी गर्नुस्’, उनले भने, ‘त्यस्ता लगानीकर्तालाई अहिले सामान्य ठेस लागेको मात्र हो सचेत हुन आवश्यक छ ।’

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ३ : ५६ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा