शितलहरले तराईको जनजीवन कष्टकर « Khabarhub

शितलहरले तराईको जनजीवन कष्टकर


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- शितलहरले मध्यपूर्वी तराईको जनजीवन कष्टकर भएको छ ।

पछिल्लो एक सातायता घाम नलागेपछि जनजीवन कष्टकर बन्दै गएको हो । गत पुस २७ गतेयता महोत्तरीमा घाम देखिएको छैन । जताततै हुस्सुले डम्म ढाकेको छ ।

बेगले बहने चिसो हावा र लगातारजसो परिरहेको तुसारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको यहाँका बासिन्दा बताउँछन् ।

“बारीका तरकारीका बोट पहेँलिदै गए, टमाटर त बोटमै कुहिएर आफैँ भुइँमा झर्दैछन्”, महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका तरकारी किसान महेन्द्रसिंह कुशवाहा भन्छन्, “अन्य कोसे तरकारी (सिमी, केराउ, मटर) का बोट, लहरा, फुल र कोसा पनि कक्रक्क परेका छन् ।”

बाली देख्दा मन विरक्तिने स्थिति रहेको कुशवाहा बताउनुहुन्छ । कुशवाहाजस्तै यसै बस्तीका रामविनोद महतो, जवाहर महतो र भोला महतो पनि लगातार एक साताको शीतलहरले तरकारी बालीबाट हात धुने अवस्था आएको बताउँछन् ।

लगातार चिसो बढ्दै जाँदा दूध दिने गाई, भैँसी सुक्दै गएका छन् । अन्य पशु वस्तु पनि समुचित स्याहार नपाउँदा जिङ्राएका पशुपालक किसानको चिन्ता छ ।

“न हरियोपरियो घाँस खोज्न जान सकिएको छ, न वस्तु चरनमा लान सकिन्छ”, जिल्लाकै भङ्गाहा नगरपालिका–४ रामनगरका बासिन्दा किसान हीरादेवी दाहाल भन्छन्, “यी वस्तुको बिजोग हेर्दा मन थाम्न सकिन्न ।”

आफ्ना गोठका सात भैँसी, एक गाई र स–साना पाडापाडी बाच्छाबाच्छीले सात दिनदेखि पराल र पुरानो गहुँको भुसबाहेक खानेकुरा अरु देख्न नपाएको दाहालले बताए ।

लगातार मौसम चिसिँदै जाँदा बजारको चहलपहल स्वात्तै घटेको छ । किसानले फसल बजार पुर्‍याउन नसकेपछि बजारका स्थायी व्यापारीको भाउमा मनोमानी बढेको छ ।

मौसम जति बिग्रे पनि भान्सामा नभई नहुने वस्तु लिन जाँदा ल्याउनै पर्ने भएपछि आफूहरू मूल्यको मारमा परेको बजारु उपभोक्ता बताउँछन् ।

यता लगातारको चिसोले बस्तीबस्तीमा बिरामी हुनेको सङ्ख्या बढेको छ । दम, खोकी र हाडजोर्नी दुख्ने व्यथाका बिरामी ह्वात्तै बढेका छन् । खासमा गरिब बस्तीका वृद्धवृद्धा, स–साना केटाकेटी र सुत्केरी बढी जोखिममा परेका बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.विधानचन्द्र झा बताउँछन् ।

चिसो बढ्दै जाँदा यसबाट घरका परिवारजनलाई ठिक राख्नु पहिलो प्राथमिकता भएको चिकित्सक र स्वास्थ्यकर्मी बताउँछन् ।

विनाप्रयोजन घरबाहिर ननिस्कने, खानेकुरामा गेडागुडीको तातो झोल, तातोपानी र ताजा खानेकुरा खाने, धुँवा ननिस्कने दाउराको आगो ताप्ने, न्यानो ठाउँमा बस्ने र न्याना लुगा लगाएर चिसोबाट हुने मानवीय क्षति बढ्न दिनबाट जोगाउन सकिने स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउँछन् ।

यसैगरी घरपालुवा पशुवस्तुलाई पनि घरकै ढुटोपिठो पानीमा मिसाएर तताएर दिने, आङमा बोराचट्टी ओढाएर न्यानो गोठमा राख्ने, गोठ निरन्तर सफा राख्ने र घरवरपरकै पराल, भुसमा दाना मिसाएर ख्वाउने गरे चिसोबाट हुने पशु क्षति घटाउन सकिने जिल्लाका पशु चिकित्सक र पशु स्वास्थ्यकर्मीको सल्लाह छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १० : ४५ बजे

धनकुटामा हावाहुरीले सरकारी कार्यालय र घरमा क्षति

काठमाडौं– सोमबार रातीको हावाहुरीका कारण धनकुटामा सरकारी निकायका साथै निजी

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६० ग्राम

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन

टक्सार– सुक्खायाममा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि भोजपुरमा सचेतनामूलक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा– बर्जु गाउँपालिका–२ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको

रवि-बालेनबिनै सुरू भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम