कनकाई नगरपालिकाले बनायो खुला व्यायामशाला | Khabarhub Khabarhub

कनकाई नगरपालिकाले बनायो खुला व्यायामशाला


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

झापा- कनकाई नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण गरेको छ ।

बिहान ‘मर्निङ वाक’ गर्ने नगरवासीका लागि खुला व्यायामशालाले सुविधा थपेको छ । ‘स्वस्थ जीवन प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत कनकाई–३ को सुरुङ्गा बजार नजिक पश्चिम बसस्टेण्डमा नगरपालिकाले सो व्यायामशाला निर्माण गरेको हो ।

व्यायामशालामा कुनै शुल्क तिर्नु पर्दैन । कनकाई सामुदायिक वनको चार कठ्ठा जग्गामा बाल उद्यान र खुला व्यायामशाला सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए ।

सो निर्माणमा नगरपालिकाको रु ४५ लाख र प्रदेश नं १ को सरकारको रु १२ लाख गरी कूल रु ५७ लाख खर्च भएको छ । व्यायामशालाका सामान सुरक्षित बनाउन कम्पाउड वालले घेरिएको छ ।

‘रोग लाग्नुभन्दा रोकथामको उपाय गर्नु ठीक हुन्छ भन्ने मान्यताका आधारमा हामीले व्यायामशाला बनाएका हौँ’, नगरप्रमुख पोखरेलले भने, ‘बढ्दो शहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला शारीरिक व्यायाम गर्ने स्थान छैन । निजीरूपमा व्यायामशाला निर्माण गर्न खर्चिलो हुने देखेर खुल्ला व्यायामशाला निर्माण गरेका हौँ ।’

व्यायामशालामा विभिन्न आधुनिक १२ वटा उपकरण राखिएको छ । व्यायामशाला युवादेखि बृद्धासम्मका लागि खुला गरिएको छ । झापामा स्थानीय तहले निर्माण गरेर सञ्चालनमा ल्याइएको यो पहिलो खुला व्यायामशाला हो ।

खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने नगरप्रमुख पोखरेलले बताए ।

उनले सुरुङ्गा ‘बन्द निषेधित क्षेत्र’ भएको हुँदा व्यायामशालामा त्यसको प्रतीक राखिने बताए । दश वर्षे जनयुद्धकालमा समेत सुरुङ्गाबासीले आफ्नो बजारलाई बन्द हुन दिएनन् । त्यसैले सुरुङ्गा बन्द निषेधित क्षेत्रको रूपमा चर्चित छ ।

खुला व्यायामशालामा सरसफाइ र छानाको अभाव छ । नगरपालिकाले सरसफाइ गर्ने व्यवस्था नमिलाएकामा स्थानीयवासीले गुनासो गरेका छन् । छानो नबनाइएका कारण पानी पर्दा असुविधा हुने स्थानीयवासीको भनाइ छ ।

यसैगरी झापाको बुद्धशान्ति गाउँपालिकामा आदर्श सामुदायिक वन उपभोक्ता समितिले स्थानीय पार्कमा खुला व्यायामशाला निर्माण गरेको छ ।

गाउँवासीले मर्निङ वाकमा जाँदा र उद्यान घुम्न आउने आन्तरिक पर्यटकले मनोञ्जनसँगै स्वास्थ्यका लागि व्यायाम गर्न सुविधा पुगोस् भन्ने उद्देश्यले सामुदायिक वनले व्यायामशाला निर्माण गरेको जनाइएको छ ।

 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ७ : २० बजे

प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

वाशिङ्टन – अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रोस्टेट क्यान्सरको सिकार

केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गुजरात, बंगलोरु र पन्जाब आईपीएलको प्ले अफमा

काठमाडौं – गुजरात टाइटानले दिल्ली क्यापिटललाई १० विकेटले हराएसँगै तीन