काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् ।
संसदको आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने सभामुख अग्नी सापकोटाले जानकारी दिए ।
संसद बैठक अघि सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले संसदको कार्यसूचीसमेत तय गरेको छ ।
संसदको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन्छु भन्ने प्रस्ताव पेश हुने सभामुख सापकोटाले जानकारी दिए ।
त्यस्तै आजको पहिलो बैठक राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बढेर सुनाउने, अध्यादेश पेश हुने र शोक प्रस्ताव पारित भएर समापन हुने र केहीबेरमा नै दोस्रो बैठक शुरू हुने सभामुख सापकोटाले बताए ।
सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन आइतबार ४ बजेदेखि शुरू हुँदैछ । करिब साढे तीन वर्ष सत्ता चलाएको एमाले सरकारबाट बहिर्गमनपछि प्रमुख प्रतिपक्षको हैसियतमा रहनेछ ।
सत्तामा कांग्रेस र माओवादी केन्द्र छन् । चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि प्रधानमन्त्री देउवाले संसद्को पहिलो बैठकमै विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिन देउवालाई १३६ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक), एमालेको १२१ जसमा माधव नेपाल पक्ष–२३ , जसपा ३२ जसमा उपेन्द्र यादव पक्ष–१९ तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एकएक मत छ ।
प्रतिक्रिया