‘टोकन’ लिन ५ दिनदेखि वैदेशिक रोजगारको कार्यालयमा | Khabarhub Khabarhub

‘टोकन’ लिन ५ दिनदेखि वैदेशिक रोजगारको कार्यालयमा

निरीक्षणमा पुगेका मन्त्री नै छक्क



काठमाडौँ– लामो समयको बन्दबन्दीपछि खुलेको रोजगारीका बाटो र चाडपर्व सकिएसँगै वैदेशिक रोजगारमा जानेको लर्को लाग्न थालेको छ।

वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति, पुनः श्रम स्वीकृतिर बायोमेट्रिकका लागि वैदेशिक रोजगार कार्यालयमा सेवाग्राही भीड बढेको छ।

ताहचलमा रहेको वैदेशिक रोजगारको कार्यालयमा दैनिक हजारौँको संख्यामा सेवाग्राही पुग्ने गर्छन् । नयाँ श्रम स्वीकृतिका लागि सहजै काम भए पनि पुनः श्रम स्वीकृतिका लागि घण्टौँ लाइन बस्न बाध्य छन् उनीहरु ।

त्यति मात्र होइन । कतिपय सेवाग्राही टोकनकै लागि ५ दिनसम्म कार्यालय धाइरहेका छन् ।

तीमध्य एक हुन्– ज्ञान सागर जिम्बा । सुकेधारामा बस्ने जिम्बा गत शुक्रवारदेखि ताहचल धाइरहेका छन् । आउने बिहीवार साउदी अरबका लागि उनको फ्लाइट छ । तर बुधवार दिउसोसम्म उनले टोकन नै पाउन सकेका छैनन् ।

‘शुक्रवारदेखि यही कार्यालयमा दैनिक आइरहेको छु’ उनी भन्छन्, ‘आज ५ दिन भयो तर टोकन पाएको छैन भोलिको फ्लाइट छ ।’
यो समस्या उनले पटकपटक कार्यालयका कर्मचारीसँग पनि राखे । तर, ‘सिस्टम नै यस्तै छ भन्दै भोलि आउनुस्’ भनेर फर्काइदिएको बताउँछन् उनी ।

कार्यालयले दिनमा २ पटक सरभरमार्फत टोकन छोड्ने गर्छ । अनलाइन सिष्टममार्फत टोकन नम्बर(सिरियल नम्बर) र मिति पाइन्छ । यस्तो सेवाका लागि सेवाग्राही आफैले फारम भर्न सक्छन् ।

कार्यलयबाहिर रहेका बीमा कम्पनीमार्फत पनि सेवा लिन सकिन्छ । सेवाग्राहीले फारम स्क्यानिङ गरेर आफ्नो युजर र आईडीबाट अनलाइन सिष्टममा अपलोड गर्नुपर्ने हुन्छ ।

बिहान ९ बजे र दिउँसोको १ बजे दुईपटकमा ४ सयवटा टोकन अनलाइनमार्फत दिइन्छ । तर कार्यालयको सफ्टवयरले टोकन अन गरेको ५ सेकेन्डमै टोकन सकिन्छ । देशविदेशबाट टोकन लिन मिल्ने हुँदा कार्यालयमा उपस्थित हुनेहरु हेरेको हेरेइ हुन्छन् ।

यो समस्या त्यहाँ आउने प्रायः सबै सेवाग्राहीको हो । उनीहरु घण्टौको प्रतिक्षासम्म पनि टोकन नपाएपछि निराश हुँदै घर फर्कन्छन् ।

त्यही भीडमा थिए धनगढीका राजीब बम । हातमा कागजपत्र बोकेर यताउता दौडिँदै थिएँ उनी । उनको पनि साउदीकै लागि बिहीवारको फ्लाइट छ ।

९ बजे खुलेको टोकनका लागि बुधबार बिहान ८ कार्यालय पुगे । टोकन खुल्यो तर उनको मोबाइलबाट टोकन आएन ।

त्यसपछि १ बजे फेरि टोकन खुल्यो । फेरि पनि उनले टोकन लिन भ्याएनन् । टोकन नपाएपछि उनको छटपटी बढ्यो ।

‘३ दिन भयो यो कार्यालय आइरहेको छु’ उनले खबरहबसँग भने, ‘फ्लाइट छुट्ने होकि भन्ने डर छ तोकेको समयभन्दा पछि पुग्दा उता पनि हाकिमले जागिरबाट निकाल्दिन्छ ।’

यो समस्या जिम्बा र बमको मात्र होइन । कार्यालयमा आउने र लाइन बस्ने प्रायः अधिकांशको समस्या हो । दिनभरमा मानिसको भीडभाड बढे पनि थुप्रै सेवाग्राहीले सेवा पाउन सकेका छैनन् ।

टोकन लिइसकेपछिको प्रक्रिया पूरा गर्न पनि उत्तिकै लाइन छ ।

श्रम कार्यालयको गेट बाहिर ‘श्रम अनलाइन फारम यहाँ भरिन्छ’ लेखिएका थुप्रै सटरहरु छन् । त्यहाँ पनि सेवाग्राहीको भीड उत्तिकै देखिन्छ ।

क्षमताअनुसार काम भइरहेको छ : कार्यालय

कार्यालयले अनलाइनमार्फत ४ सय र भौतिक रुपमा उपस्थित हुने (अफलाइन) का लागि ६ सय गरी दैनिक हजार टोकन दिने गर्छ ।
कम्युटर सिस्टममार्फत रिलिज हुने टोकन देशविदेशमा रहेका सबैले अप्लाई गर्न सक्छन् ।

प्रायः छुट्टी मनाउन र चाडपर्व मनाउन स्वदेश फर्किएकाहरु पनि पुनः श्रम स्वीकृति लिएर विदेश जाने हुँदा भीड बढेको कार्यालयका शाखा अधिकृत प्रदिप कुमार ढकाल बताउँछन् ।

‘सफ्टवेयरबाट सिस्टमले नै टोकन छोड्ने हुँदा देश अथवा विदेशमै रहेकाले पनि टोकन लिन सक्छन्’ ढकाल भन्छन्, ‘टोकन छोड्ने समय तोकिएको छ त्यो समय लिन सक्नुभएन भने त्यसमा कुनै विकल्प हुँदैन ।’

कार्यालयकै अगाडि टोकन नपाएर छटपटीरहेका युवाहरु छन् जसको फ्लाइट भोलि छ उनीहरुलाई कसरी हेर्नुहुन्छ त ? भन्ने प्रश्नमा ढकालले भने, ‘कुनै पनि व्यक्तिलाई छुट्टै टोकन दिने व्यवस्था छैन सफ्टवेयरमार्फत हुने हुँदा जतिसक्दो चाँडो सिस्टमबाट टोकन लिनुपर्छ ।’
उनकाअनुसार क्षमताले भ्याउन नसक्दा टोकन संख्या वृद्धि हुन नसकेको हो ।

‘सिस्टममा जति पनि टोकन खोल्न मिल्छ तर टोकन दिएका मान्छेहरुको काम बेलुकासम्म गसिक्नु प¥यो त्योअनुसार क्षमता छैन । अहिले जति काम भइरहेको छ कार्यालयको क्षमता त्यति नै हो’, उनी भन्छन् ।

सेवालाई छिटो छरितो बनाउन मन्त्रीको निर्देशन

बुधवार कार्यालय समयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ आकस्मिक निरीक्षणमा पुगे ।

सेवाग्राहीको भीड, समस्या र गुनासाहरु सुनेर मन्त्री छक्क परे ।

करिब ३ घण्टासम्म निरीक्षण र जनगुनासा सुने । केही सेवाग्राहीका समस्या प्रत्यक्ष सुने र तत्काल समाधानका लागि कार्यालयका कर्मचारीलाई निर्देशन पनि दिए ।

निरीक्षण सकिएसँगै मन्त्री श्रेष्ठले सेवालाई छिटो छरितो बनाउन र देखिएका समस्याहरुलाई हल गराउन निर्देशन पनि दिए ।

उनले महिला र पुरुषलाई छुट्टाछुट्टै लाइनमा राखेर श्रम स्वीकृति दिन, सेवाग्राहीको गुनासो सुन्न हेल्प डेस्क राख्न, कागजात पुगेका सेवाग्राहीको तत्काल आवेदन लिन र छिटो छरितो सेवाका लागि आवश्यक उपकरण थप्न निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ८ : ०५ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३