संविधान दिवस : नेताहरूमा सद्बुद्धि पलाओस् | Khabarhub Khabarhub

संविधान दिवस : नेताहरूमा सद्बुद्धि पलाओस्


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज संविधान दिवसको उत्सव मनाउने दिन; समावेशी जनप्रतिनिधिहरूको संविधानसभाले बनाएको संविधान कार्यान्वयनको छ वर्ष पूरा भएको छ । हामीले बितेको छ वर्षमा संविधानका धेरै प्रावधानहरू प्रयोग गरेका छौँ । निर्वाचनबाट संघीय संसद र प्रादेशिक संसदहरू खडा गर्‍यौँ । संघीय, प्रादेशिक र स्थानीय सरकारहरू बनायौँ ।

निर्वाचनले मतको दृष्टिले संघ र प्रदेशमा बलिया सरकारहरू बनायो । संघमा दुई तिहाई बहुमत नजिकको सरकार गठन भयो । प्रदेशहरूमा पनि झन्डै यस्तै सरकारहरू गठन भए । स्थानीय सरकारहरू पनि बलिया देखिए । निर्वाचनले एउटा उत्साह दियो ।

संविधान जारी हुँदाका बखत केही असन्तुष्टिहरू थिए, अद्यापि छन् तर असन्तुष्ट दलहरू पनि समयक्रममा संविधान संशोधन र परिमार्जन हुने अनि आफ्नो असन्तुष्टि सम्बोधन हुने अपेक्षामा संविधानले निर्धारण गरेका गतिविधिमा समावेश छन् । उनीहरू निर्वाचनमा सहभागी भए, सरकारमा सहभागी भए, सरकार बनाए । अत्यन्त सकारात्मक परिस्थिति बन्दै गयो ।

वर्ष दिन नपुग्दै सरकार बदलिने अस्थिरताबाट मुलुकले पार पाउने अपेक्षा बलियो भयो । संघीय र प्रादेशिक सरकारहरूलाई उपलव्ध अधिकतम बहुमतको सुविधाले आमनागरिकलाई ढुक्क हुने वातावरण दियो । देश साँच्चै समृद्धिको बाटोका अघि बढ्छ भन्ने विश्वास बलियो हुँदै गयो । एक दलीय शासनमा विश्वास राख्ने भनिए पनि बहुदलीय लोकतन्त्रमा अभ्यस्त कम्युनिस्ट पार्टीको सरकार बन्नुले देशमा निश्चिन्त राजनीतिक वातावरण बनेको विश्वास भयो ।

नेताहरू संविधानको अक्षर र भावनाको कुरा गर्छन् । यी दुवै थाहा पाउने काम संविधानका प्रयोगकर्ताको हो अर्थात मुख्यरूपमा प्रधानमन्त्रीको, सरकारको ।

विश्वासको यो वातावरण सरल रेखामा अघि बढेन । एकीकरण नसकिँदै, सरकार गठनको तीन वर्ष नबित्दै सत्तारुढ दल नेकपा (नेकपा) मा बढेको चरम अविश्वास र विवादको परिणामस्वरूप प्रधानमन्त्रीले प्रतिनिधिसभा भङ्ग गरे, एक पटक होइन, दुई पटक । दुवै पटक सर्वोच्च अदालतले विघटन असंवैधानिक ठहर गरेर सर्वसम्मतिले पुनस्र्थापन गरिदियो । संविधान कार्यान्वयनको असल संस्कृति बसाल्नु पर्ने संवेदनशील समयमा प्रधानमन्त्रीले राजनीतिक निर्णयका नाममा संविधानका प्रावधानहरूको चरम दुरुपयोग गरे । कतिसम्म भने राष्ट्रपतिलाई समेत विवादमा पार्ने काम भयो ।

सरकार चलाउने नेताको भित्री आकाङ्क्षासँग, अझ बढी अतिमहत्वाकाङ्क्षासँग संविधान मेल खाएन । प्रतिनिधिसभा विघटन गर्ने खास अवस्था छ, प्रष्ट छ, द्विविधा हुने ठाउँ छैन तर अकालमै सात्तारूढ दलको आन्तरिक विवादको सिकार भयो । एक पटक होइन, दुई पटक । प्रतिनिधिसभा पुनर्स्थापनत भयो तर नेताहरूको चरित्र उही रह्यो । यति बेला प्रतिनिधिसभा विपक्षी दलको बन्दी भएको छ, त्यो पनि अदालतमा विचाराधीन मुद्दाका विषयमा ।

नेताहरू संविधानको अक्षर र भावनाको कुरा गर्छन् । यी दुवै थाहा पाउने काम संविधानका प्रयोगकर्ताको हो अर्थात मुख्यरूपमा प्रधानमन्त्रीको, सरकारको । उनीहरूले नजानेका होइनन् भित्री आकाङ्क्षा र संविधानले देखाएको बाटो नमिलेको हो, संविधानको बाटो हिँडन नचाहेको हो । बितेका छ वर्षमा प्रधानमन्त्री, सरकार आफ्नो आकाङ्क्षाको, अझ बढी अति महत्वाकाङ्क्षाको बाटो बाटो हिँडे, संविधानको बाटो हिँडेनन् ।

यसैको परिणाम हो सत्तरूढ दलभित्र चरम विवाद, प्रतिनिधिभा विघटन, छ जनाको संवैधानिक परिषदमा तीन जनाको निर्णयले संसदीय सुनुवाइ बिनै नियुक्ति, राजनीतिक दलका प्रत्येक निर्णय अदालतमा परीक्षण, अध्यादेश राज, संवैधानिक इजलासको निष्क्रियता इत्यादि । नेताहरू संविधानको बाटो हिँडेका भए दुई पटक प्रतिनिधिसभा विघटन हुने थिएन, चलिरहेको संसद अन्त्य गरेर २४ घण्टाभित्र अध्यादेश सिफारिस हुने थिएन । दलका नेता र सांसदहरू आफ्नो पद जोगाइपाउन अदालत धाउनुपर्ने थिए ।

नेताहरूले आफ्नै अनुभवका आधारमा राजनीतिमा देखिएका विकृति र विसङ्गतिहरू अन्त्य गर्ने उद्देश्यले वर्तमान संविधानमा केही विशिष्ट प्रावधानहरू राखेका हुन् । सरकार बन्न नसकेको अवस्थाबाहेक प्रतिनिधिसभा विघटन नहुने, प्रधानन्यायाधीशको संयोजकत्वमा संवैधानिक इजालास रहने, जेठ १५ गते नै बजेट पेश गर्ने इत्यादि । आज यिनै प्रावधानहरू नेताहरूले आफ्ना लागि घाँडो सावित गरिदिएका छन् ।

संविधान पालना प्रधान होइन, आफूअनुकूल व्याख्या र दुरुपयोग प्रधान भएको छ । सत्तारूढ नेतालाई संविधानको अक्षर र भावना होइन, आफ्नो अति महत्वाङ्क्षा प्रधान भयो । संविधाअनुसार हिँड्ने होइन, संविधानलाई आफूअनुसार हिँडाउनुलाई आफ्नो सत्ता हुने उपाय ठान्यो । परिणामस्वरूप संविधान क्षतविक्षत भएको छ । संविधानप्रति सबैको साझा अपनत्व बनाउँदै जाने र असल राजनीतिक संस्कार बसाउनेतिर होइन, झन विवाद सिर्जना गर्नमा सत्तारूढ नेतालाई आनन्द आयो । नयाँ संविधान प्रयोगका क्रममा व्यावहारिक कठिनाइ देखिएका ठाउँमा सुधार गर्ने उपाय पनि संविधानले नै दिएको छ । यतातर्फ ध्यान गएन, सत्तासीन अति महत्वाकाङ्क्षाको विवेकहीनताको सिकार बनाउने काम भयो ।

सत्तारूढ नेताहरूको अति महत्वाकाङ्क्षा र विवेकहीनताका कारण अभ्यासका छ वर्षमा संविधान प्रयोगमा सुखद अनुभव हुन पाएन । गल्ती स्वीकार गर्ने संस्कार भएन । नेताहरूलाई धन्यवाद भन्ने ठाउँ पनि रहेन । संविधान हामीले नै बनाएको हो, हाम्रै नेताहरूले बनाएको हो । यसको अक्षर र भावना दुवैको कदर गर्नु र सोहीअनुसार प्रयोग गर्नु नेताहरूको कर्तव्य हो । कठिनाइ परेका ठाउँमा अधिकतम समझदारी र सहमतिका साथ सुधार गर्ने उपाय छँदैछ ।

विकास र समृद्धि अपरिहार्य छ तर यही नारामा संविधानको दुरुपयोग र संविधानमाथि प्रहार स्वीकार्य छैन । आमनागरिकलाई आफ्नो महत्वाकाङ्क्षाको सपना बाँडेर, भुलभुलैयामा र प्रलोभनमा पारेर संविधान धुजाधुजा बनाउने हो भने या त कुनै तानाशाहको उदय होला या अर्को आन्दोलनको आँधीले दुराचारीलाई बढार्ला । इतिहासले प्रमाणित गरेको छ– यथास्थिति दीर्घकालीन हुँदैन ।

संविधान दिवसको आजको दिनले हाम्रा नेताहरूमा सद्बुद्धिको प्रेरणा प्राप्त होओस्, अति महत्वाकाङ्क्षाको भर्‍याङबाट ओर्लिने प्रेरणा प्राप्त होओस् । आफ्नो अति महात्वाकाङ्क्षाको पिच सडकको साटो संविधानको गोरेटो हिँड्ने सद्बुद्धि प्राप्त होस् । हार्दिक शुभकामना !

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ६ : ४७ बजे

गरिमा विकास बैंकको खराब कर्जा करिब पाँच प्रतिशत 

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१–०८२ को

१६ करोड बढीको कण्डम आयात

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

९ महिनामा नेपालको निर्यात ६५ प्रतिशतले वृद्धि, ठूलो हिस्सा सोयाबिन तेल

काठमाडौं– नेपालमा आयात गरेर आंशिक वा पूर्ण प्रशोधनपश्चात ठूलो मात्रामा

गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा र विश्व स्वास्थ्य सङ्गठन, ‘द