गत भदौ २० गते राति देशका विभिन्न भागलगायत काठमाडौँमा हाँडीघोप्टे पानी पर्यो । काठमाडौँमा तीन घण्टामा सरदर सय मिलिमिटर पानी पर्यो । यो परिमाण काठमाडौँमा यो वर्षकै सबैभन्दा ठूलो थियो । शहरबजार पानीमा डुब्यो । वागमती र यसका शाखा नदीहरू उर्लिंदा धेरै ठाउँमा किनाराका संरचनाहरू डुबानमा परे ।
बल्खुको तरकारी बजारमा वागमतीको पानी छिरेर हाम्रो भान्छामा पाक्ने एक करोड जतिकोे तरकारी नष्ट भयो । व्यवसायीहरूको नोक्सान भयो ।
नदीको पानी किनाराबाहिर आउँदा वा बाहिरको पानी नदीमा मिसिन नपाउँदा टेकु र मनहरा वरपरका सुकुम्बासी बस्तीको कन्तबिजोग भयो । काँडाघारी, परोपकार, सुन्दरीघाट, सानेपा र कालोपुलजस्ता ठाउँहरूको पनि यस्तै अवस्था भयो । कयौँ परिवारको धनमाल नोक्सानी भयो । काठमाडौँमा मात्र ३८५ घर डुबानमा परे ।
कोरोना संक्रमणले थला पारेका र बन्दाबन्दीको चपेटामा परेका काठमाडौँ शहरका बासिन्दालाई भदौको तेस्रोे हप्ता नेपाल सरकारले गरेको बन्दबन्दीको अन्त्यले केही राहत हुन थालेको थियो तर ठीक त्यही बेला शहरी बाढीले नोक्सान पुर्यायो ।
मौसमका जानिफकारहरूले भन्दै आएको जस्तै यसपालि साँच्चै अलि बढी नै पानी परेर हो कि मनसुन र भनसुनमा चलेको यो देशमा मनसुनले बढीले माया गरेको हो, बुझ्न कठिन भएको छ । भदौ निख्रिँदा पनि मनसुनको रुन्चे आँसु थामिएको छैन ।
गत महिना जलवायुमा विशेष चासो राख्ने र अध्ययन गर्ने राष्ट्र संघीय संस्था (आइपीसीसी) ले पनि आफ्नो छैठौँ मूल्यांकन प्रतिवेदनमा अहिले भइराखेका विपदका घटनाहरू मानिसहरूको कारणले भएको भन्ने ठोकुवा गरिदियो । त्यति ठूलो निकायको अध्ययन रिपोर्ट नै सार्वजनिक गरेपछि पत्याउनै पर्यो । आइपीसीसीले अबका दिनमा यस्ता घटनाहरू बढ्दै जान्छ भनेको छ । नेपालका लागि मुख्य चिन्ताको विषय यही हो ।
विपत्ति दिनदिनै आउने त होइन ! एक पटक टरेपछि अर्को विपत्ति नआउँदासम्म कसैको कानमा बतास लाग्ने होइन । पीडितको त अर्को उपाय हुने नै भएन ।
नेपाल एक जटिल र संवेदनशील भूभागमा भएको देश हो । यहाँ ठूला ठूला हिमशृङ्खला, नाजुक चुरे पहाड र मध्य पहाडहरू छन् । यी भूभागमा जलवायुको पनि विविधता छ । यो भूभाग सम्भावित भूकम्पको संवेदनशील क्षेत्र पनि हो ।
यी कारणले गर्दा नेपाल विभिन्न खालका विपत्तिको जोखिमयुक्त थलोका रूपमा रहेको छ । यस्तो क्षेत्रमा विपदका घटनाहरू अझ बढ्दै जानेछन् भन्ने निष्कर्ष हाम्रो चिन्ताको विषय हुनु स्वाभाविकै हो । जलवायु परिवर्तनले यो चिन्ता अझै बढाउँदै लेजाने देखिएको छ ।
विपदले धेरै जसो गरिब र निमुखाहरूलाई नै पिरोल्छ । यो वर्गमा मानिसहरू बस्ने ठाउँ नै त्यस्तो हो वा उनीहरूसँग विपदविरुद्ध लड्ने क्षमता नै नभएको हो भन्ने अर्को पाटो हो । त्यसो त उनीहरूसँग क्षमता भएको भए अलि बलियो र राम्रो ठाउँमा घर बनाउँथे होलान्, सुरक्षित ठाउँमा बस्ने थिए होलान् ! किन खोला किनार खोज्दै हिँड्ने थिए होला र ! उनीहरूको बाध्यता पनि होला ।
गतिलो र सुरक्षित ठाउँमा बस्न र बलियो घर बनाउन पैसा छैन । पैसा भएन भन्दैमा कालको मुखमा गएर बस्न पनि नहुने हो तर बाध्यता आफ्नो ठाउँमा छँदैछ । यस वर्गका नागरिकहरूको कुरा सुन्ने र सुरक्षित बसोबासको व्यवस्था मिलाउने जिम्मेवारी सरकारको हुन्छ । सरकार पनि झारा टार्ने जस्तो मात्रै गर्छ । रेडियो टेलिभिजनबाट राहत भनेर अलिअलि फुकिदियो, नियम कानून भन्यो, काम सकियो ।
विपत्ति दिनदिनै आउने त होइन ! एक पटक टरेपछि अर्को विपत्ति नआउँदासम्म कसैको कानमा बतास लाग्ने होइन । पीडितको त अर्को उपाय हुने नै भएन ।
अन्त टाढा किन जानु पर्यो र ! यही काठमाडौँ शहरकै मनोहरा र बागमती नदी किनारका सुकुम्बासी बस्तीमा गएर हेर्ने हो भने अस्तिमात्रै वाग्मतीले कति विध्वंश मच्चाएको थियो भन्ने थाहा हुन्छ । घरको भुइँतलामा रहेको सबै सामान पानीले डुबायो । माथिल्लो तलामा जान नसक्नेहरूले क्षति व्यहोर्नुको विकल्प नै भएन । कतिपय परिवार छिमेकीकोमा सहारा लिन बाध्य भए । डेरावालहरू एक तलामाथि बस्न पाउने घर खोज्नुपर्ने बाध्यतामा छन् ।
हालै बेलायतको योर्क विश्व विद्यालय र नेपालका केही संस्थाहरूको सहकार्यमा सीमान्तकृत वर्गको राजनीतिक उत्थानशिलता कार्यक्रमअन्तर्गत संयुक्त अध्ययन गरिएको थियो । यस क्रममा मनोहराको बस्तीमा वाग्मती नदीको शाखानदी मनोहराको पुरानो बाटोमा अवरोध आएको र भेलले बाटो खोज्दा बस्तीमा पसेको थाहा भयो ।
विकासका नाममा हामीले बनाएका यस्ता संरचना हेरौँ त ! बस्तीमा छिरेको पानी नदीमा जाने बाटो नै रहेनछ । पानीले बस्ती भरिन लागेपछि वडाअध्यक्षले डोजर बोलाएर ठाउँठाउँमा तटबन्ध भत्काउन लगाएछन् ।
भेल बस्तीमा छिरेपछि खुला ढल बाढीको पानीसँग मिसिएर घरभित्र पसेको थियो । यसले गर्दा विभिन्न किसिमका रोग लाग्ने सम्भावना पनि बढ्यो । यसो हेर्दा त्यति ठूलो तटबन्द बनाएको मनहराको सुकुम्बासी बस्ती त बाढीको चपेटामा नपर्नुपर्ने तर प्रकृतिको अगाडि कसको के लाग्छ र ! तटबन्धको मुखभन्दा माथिबाट नै पानी छिरेको रहेछ ।
विकासका नाममा हामीले बनाएका यस्ता संरचना हेरौँ त ! बस्तीमा छिरेको पानी नदीमा जाने बाटो नै रहेनछ । पानीले बस्ती भरिन लागेपछि वडाअध्यक्षले डोजर बोलाएर ठाउँठाउँमा तटबन्ध भत्काउन लगाएछन् । यसो नगरी बस्तीको पानी नदीमा नजाने भयो । अनुपयुक्त र अदूरदर्शी निर्माणको परिणाम थियो त्यो डुबान ।
यसरी अनुकूलन विपरीत गलत तरिकाले निर्माण गर्दा भविष्यमा दुःख पाइन्छ । मनोहराको सुकुम्बासी बस्तीमा यही परिणाम देखिएको थियो । पहिलेदेखि नै अनियन्त्रितरूपमा बालुवा र ढुङ्गा निकालिएका यस्ता नदीमा तटबन्धले पानीलाई प्राकृतिक नागबेली भएर बग्न नदिई बहाव सिधा बनाइदिन्छ । यसकारणले नदीभित्रको बालुवा र माटो बगाई अरू संरचना जस्तै पुल र बाटो भत्काउन सक्छ, भासिन सक्छ । वाग्मती नदीमा यस्ता संरचना भसिएका उदाहरण धेरै छन् ।
नदी किनारका गरिबगुरुवा र सुकुम्बासीका व्यथा कसले सुन्ने ! उनीहरूले आफ्नो आवाज उठाउन सङ्गठित टोल सुधार समिति बनाएका छन्, उनीहरूका लागि काम गर्ने थोरै संघसंस्था पनि छन् । यसो भए पनि उनीहरूको हितमा काम हुँदैन । उनीहरूप्रति सरकारको खास धारणा हुने गरेको छ । उनीहरूको सधैँ जोखिममा छन् । यो व्यथा स्थनीय सरकारले पनि बुझ्न सकेको छैन ।
जलवायु परिवर्तनले ल्याउन थालेका नकारात्मक परिणामका कारणले खोला किनारका यस्ता बस्तीहरू सधैँ सङ्कटासन्न अवस्थामा रहन्छन् । यस्तो जोखिम खोला किनारमा मात्रै नभई अव्यवस्थित बसोबास भएका बस्तीहरूमा पनि छ । यस्ता बस्तीहरूलाई मनसुनी दुर्घटनाबाट जोगाउन सरकार, नागरिक अगुवा र अव्यस्थित बसोबासीका लागि काम गर्ने निकायहरू समन्वयात्मक रूपमा अग्रसर हुन आवश्यक छ ।
प्रतिक्रिया