औषधिमा उपयोगी गाँजा मनोरञ्जनमा घातक | Khabarhub Khabarhub

औषधिमा उपयोगी गाँजा मनोरञ्जनमा घातक


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गाँजा र भाङ स्वास्थ्यका लागि उपयोगी हुन् कि घातक भन्ने बहस संसारभर जारी छ । यसका फाइदा र बेफाइदा दुवै छन् । हरेक नयाँ अध्ययन र अनुसन्धानपछि यसका फाइदा र बेफाइदाका थप पाटाहरू फेला पर्दै आएका छन् । नियमित गाँजा सेवन गर्ने युवाहरूमा पेट दुख्ने, वान्त हुने र वाकवाकी लाग्ने समस्या देखिएको छ । अमेरिकामा गाँजा प्रयोग खुला रहेका ठाउँका युवाहरूमा यस्तो समस्या देखिने गरेको छ ।

कोलोराडोका एउटा बाल अस्पतालका बालरोग विशेषज्ञ तथा विषविज्ञ साम वाङका अनुसार गाँजा सेवन गर्ने टिनएजरहरूमा पेट दुख्ने र वाकवाकी लाग्ने समस्या छ । उनी अहिले टिनएजरहरूको उपचारमा व्यस्त रहने गरेका छन् । वाङका अनुसार यस्ता व्यक्तिहरू पेट खाली नहुन्जेल बान्ता गरिरहन्छन् । कतिपय त इर्मेजेन्सीमा आउने गरेका छन् । उनीहरूले निकै तातो पानीको सावर लिने गरे पनि त्यसले काम नगरेको डा. वाङको भनाइ छ ।

सन् २००४ मा अस्ट्रेलियामा गाँजा र भाङ सेवन गर्ने १९ जनामा अध्ययन गर्दा क्यानबिस हाइपरमेसिस सिनड्रोम (सीएचएस) को समस्या देखापरेको थियो । यस्ता व्यक्तिमा लगातार वान्त हुने र तौल घट्ने समस्या हुन्छ । धेरै दुब्लो र पातलो हुने तथा शारीरिक रूपले धेरै कमजोर हुने समस्या पनि हुन्छ ।

यसका साथै उनीहरूमा पेट दुखिरहने र खकार आउने समस्या पनि थियो । चिकित्सकले नौ जनाको नियमित अनुगमन गर्दा गाँजा र भाङ सेवन गर्न छाड्दा समस्या घट्ने तथा सेवन गर्दा बढ्ने देखियो ।

चिकित्सकले निगरानीमा राखेका धेरै जनामा साँझपख तातो पानीले नुहाउने बानी रहेछ । तातो पानीले नुहाउँदा समस्या कम हुने र भोलिपल्ट फेरि बल्झिने उनीहरूको अनुभव रहेछ । सीएचएस समस्या देखिन थालेपछि तातोपानीले नुहाउनु त चलन नै हो । चिकित्सकका अनुसार यस्ता समस्या भएकाहरूमा तातोपानीले नुहाउनु आवश्यक हुन्छ ।

कोलोराडोको मेडस्कल क्याम्पसका प्राध्यापक समेत रहेका डा. वाङ तातोपानीले नुहाउने चलनले लाभ दिएको तर यसबारे वैज्ञानिक खोजी हुनुपर्ने बताउँछन् । हालसम्मको वैज्ञानिक मतअनुसार गाँजा र भाङमा रहेको टेट्राहाइड्रोक्यानोबियोल (टीएचसी) को रूपमा एक मनोवैज्ञानिक घटक हुन्छ । यसले सेवनकर्तालाई पेट दुखेको आभास दिन्छ । तातोपानीले त्यस्तो मनोवैज्ञानिक साइकल भङ्ग गर्छ ।

गाँजा खास गरेर पेन किलर (दुखाइनाशक) को रूपमा प्रयोग गरिन्छ । क्यान्सर भएर केमो थेरापी गराइरहेकामा पनि बान्ता र वाकवाकी रोक्न गाँजा नै प्रयोग हुनेगरेको छ । यसरी बान्ता र वाकवाकी रोक्न प्रयोग हुने पदार्थले पेट दुख्नुको कारण बायोलोजिकल भन्दा धेरै मानसिक रहेको चिकित्सकहरूको मत छ ।
डा. वाङको बुझाइमा टीएचएसीको समस्या तथा बान्ता र वाकावाकीबाट मुक्त हुने अवस्था यसको मात्रा अर्थात डोजमा निर्भर रहन्छ । डोज ठिक हुँदा उपयोगी हुनसक्छ तर डोज बढी भएमा घातक पनि हुनसक्छ ।

चिकित्सकहरूलाई आश्चर्य पार्ने अर्को तथ्य के हो भने एकदमै धेरै सेवन गर्ने सबैमा यो समस्या देखिएको छैन । केही प्रतिशतमा मात्र देखिने गरेको छ । कस्ता व्यक्तिलाई गाँजा र गाँजाजन्य पदार्थको सेवनले यस्तो समस्या देखापर्छ वा गाँजा सेवनको कति समयपछि देखापर्छ भन्ने विषयमा कुनै प्रस्ट डाटा अहिलेसम्म छैन ।

सीएचएस नयाँ खाले लक्षण भएका कारण यसबारे थुप्रै अध्ययन आवश्यक छ । थप डाटाहरू प्राप्त भएपछि धेरै कुरा भन्न सकिने डा. वाङ बताउँछन् । यसको मुख्य उपचार गाँजा र गाँजाजन्य पदार्थ सेवन नगर्नु नै हो । वाङले आफ्नो अध्ययनका लागि कोलोराडो नै छान्नुको कारण चाहिँ त्यो गाँजा खुला भएको क्षेत्र हो । सन् २००९ मा औषधिको रूपमा गाँजा प्रयोगमा अनुमति दिइएको थियो । सन् २०१४ पूरै खुला गरियो ।

जामा नेटवर्कको जर्नलमा प्रकाशित वाङको एउटा प्रतिवेदन अनुसार सन् २०१३ देखि २०१८ को बीचका कोलोराडोमा गाँजा र भाङ सेवन गर्ने ८ लाख जनामा बान्तको समस्या देखिएको थियो । त्यहाँ गाँजा खुला भएपछि यसरी बान्ता गर्ने मानिसको संख्या २९ प्रतिशतले वृद्धि भएको हो । गाँजा खुला नरहेका अन्य राज्यको तुलनामा कोलोराडोमा बान्ता गर्ने समस्या धेरै हो ।

यो समस्या देखिने तीन चौथाई व्यक्ति २५ वर्षभन्दा कम उमेरका थिए । वाङका अनुसार यो कुरा कोलोराडोमा सामान्यजस्तो भएको छ । वाकवाक र बान्ताको समस्या लिएर आउने टिनएजरहरूमा सोधपुछ गर्दा अधिक व्यक्तिले गाँजा वा भाङ सेवन गर्ने गरेको पाइयो । यो समस्या बढ्दा सुरुमा डिहाइड्रेसनको उपचार गर्ने गरिएको छ ।

थुप्रै टिएजरहरूमा रोगको कारण पत्ता लगाउन रगत र पिसाबको जाँच, सिटी स्क्यान लगायत अनेक परीक्षण गरेको पनि देखिएको छ । यस्ता लक्षण धेरै भएपछि धेरै टिनएजरहरू दुई महिनामा पाँच पटकसम्म पनि इमर्जेन्सीमा भर्ना हुन आएका छन् । झाडा र बान्ता एकै पटक भए त डिहाइड्रेसनले ज्यान नै लिने जोखिम हुने डा. वाङको भनाइ छ ।

सन् २००५ देखि २०१४ सम्मलाई आधार मान्दा अमेरिकामा गाँजा खुला गरिएका क्षेत्रको अवस्था साँच्चै भयावह देखिएको छ । दुई हजार जनामा गरिएको एउटा सर्वेक्षणमा २० प्रतिशत व्यक्ति बान्ताको समस्या लिएर अस्पताल गएको पाइयो ।

गाँजाबारे समाजमा अनेक दृष्टिकोण छ । परम्परागत औषधिको रूपमा प्रयोग गरिने गाँजा, भाङ लगायतका पदार्थ बिस्तारै लागु औषध सेवनको पहिलो खुड्किलो बन्न पुग्यो । यसै कारण सेवनमा प्रतिबन्ध लगाउन थालियो । अहिले स्थिति फेरिँदै आएको छ । विभिन्न क्षेत्रमा औषधिको रूपमा यसको उपादेयता तथा लाभलाई आधार मान्दै गाँजा सेवन अवैध मान्न छाडियो । पश्चिमा देशहरूले यसलाई मान्यता दिन थाले ।

गाँजामा रहेको कानाबिडियोल (सीबीडी) नशासम्बन्धी समस्यामा उपयोगी मानिएको छ । यसले शरीरका विभिन्न भाग सुन्निने समस्यामा नियन्त्रण राख्छ । नशासम्बन्धी कुनै समस्यामा चिकित्सकले गाँजाबाट बनेको औषधि सिफारिस गर्ने गरेका छन् । केमो थेरापी गरिरहेका बिरामीको हकमा पनि गाँजा प्रयोग गर्ने चलन छ ।

मानिसलाई एकदमै पीडा भएको समयमा गाँजाको सीबीडीका कारण दुखाइ कम हुन्छ । यसकारण क्रोनिक आर्थराइटिस भएकाले गाँजाजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ । एन्जाइटी हुने फाइब्रोमाइल्जियामा पनि यसको प्रयोग हुन्छ । टाउको दुखाइमा पनि उपयोगी मानिन्छ ।

लामो समयदेखि इबु प्रोफिन जस्ता औषधि प्रयोग गर्दै आएका बिरामीमा गाँजा सेवनले काम गरेको उदाहरण पनि छन् । नसाको समस्यामा त झन् धेरै उपयोगी मानिन्छ । एन्जाइटी, पार्किन्सन्स, पोस्ट ट्राउमाटिक स्ट्रेस, डिसअर्डर लगायत नशासँग सम्बन्धी रोगमा गाँजा लाभदायक मानिन्छ ।

यी यावत फाइदा पुष्टि भएपछि औषधिको रूपमा पश्चिमा देशसँगै अफ्रिकामा पनि गाँजा प्रयोगलाई वैधता दिने देशहरू थपिँदैछन् । मोरक्कोले गाँजालाई कानुनी मान्यता दिएको छ । त्यहाँको संसदले मतदान गरेर उक्त निर्णय गरेको हो ।

रुवान्डाले एक वर्षअघि गाँजा उत्पादनलाई बढवा दिने नीति लिएको थियो । दक्षिण अफ्रिकाको नीति पनि गाँजा उत्पादन गरेर देशको आर्थिक अवस्था उकास्ने थियो । लेसोथो, जाम्बिया र जिम्बाबेमा पनि गाँजा वैध छ ।

संसारमा कतिपय देशले गाँजालाई कानुनी वैधता दिने मात्र होइन, उत्पादन पनि बढाउने नीति लिने क्रम बढ्दै गएको छ । अमेरिकामा पनि धेरै राज्यले कानुनी मान्यता दिन थालेका छन् । गत १७ अप्रिल सम्ममा १७ राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियाले मनोरञ्जनको रूपमा गाँजा सेवनलाई अनुमति दिएका छन् । अन्य तीन दर्जन राज्य तथा केही जिल्लाले औषधिको रूपमा गाँजा प्रयोगमा अनुमति दिएका छन् ।

अमेरिकाको ‘प्यु’ नामक एउटा संस्थाले गरेको एक सर्वेक्षण अनुसार ६० प्रतिशत मानिसले औषधि वा मनोरञ्जनका लागि गाँजा प्रयोगमा अनुमति दिनु ठिक हो भन्ने धारणा राखेका थिए । यसकारण अबका केही वर्षमा अमेरिकाका सबै स्थानमा गाँजा खुला हुने सम्भावना छ । यसपछि पेट दुखाइ र बान्ताको समस्या झन् बढ्न सक्नेछ ।

हालसम्मको तथ्याङ्क हेर्दा देशमा औषधिमा उपयोगी गाँजा मनोरञ्जनका लागि भने घातक ठहरिएको छ ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ८ : ३० बजे

संसदीय समितिमा धाइरहेका छन् शिक्षामन्त्री, उपसमितिले नटुङ्ग्याएका विषयमा नेताहरूले सहमति जुटाउने

काठमाडौं– एक महिना आन्दोलन गरेपछि सरकारसँग वार्तामा बसेका शिक्षकहरू गाउँ

१४ अंककले घट्यो नेप्से 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अंकले घटेको छ

असुल गर्नुपर्ने बेरुजु ३० अर्ब बढी, सबैभन्दा धेरै संघीय सरकारको

काठमाडौं– तीनै तहको सरकार र विभिन्न निकायमा असुल गर्नुपर्ने बेरुजु

कतारको उपहार ट्रम्पलाई निल्नु न ओकल्नु

दोहा- अरब मुलुक कतारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक विलासी

सांसदको सङ्ख्या घटाऔँ, बाहिरबाट मन्त्री नियुक्त गरौँ : नारायणकाजी श्रेष्ठ

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता