जलवायु परिवर्तनले निम्तिएको क्यानाडाको संकट | Khabarhub Khabarhub

जलवायु परिवर्तनले निम्तिएको क्यानाडाको संकट


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुरी बताससहितको बाढी र भेलले क्यानाडाको जनजीवन आक्रान्त बनेको छ । रेलको लिग र सडकसमेत अवरुद्ध भए पछि क्यानाडाको पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियामा संकटकाल घोषणा गरिएको छ ।

आइतबार रातिदेखिको हुरी बतास र मुशल धारे वर्षापछि आएको बाढीको संकटमा परेका स्थानीयको उद्धार गर्न सुरक्षा निकायलाई सक्रिय पारिएको छ । वासिङ्टन डिसीको भ्रमणमा रहेका प्रधानमन्त्री जस्टिन ट्र्रडेउले सुरक्षा संयन्त्रलाई सक्रिय बनाउँदै जनजीवन सहज बनाउने घोषणा गरेका छन् । अहिलेसम्म पहिरो गएर एक जनाको ज्यान गएको छ भने दुई जना हराइ रहेका छन् ।

उस्णक क्षेत्रबाट उत्तरी ध्रुवतर्फ गई रहेको नदीको बहाव बढेको छ । तुवाँलो छाएको छ । लगातार २४ घण्टाको वर्षाले त्यहाँको जनजीवन यसरी प्रभावित बनेको छ कि स्थानीय बासी आत्तिएका छन् । स्थानीय अधिकारीहरूले जलवायु परिवर्तनको असरले यो संकट आएको प्रतिक्रिया दिएका छन् ।

वातावरणविद्का अनुसार समुद्री सतहको तापक्रममा वृद्धि भएसँगै वातावरणको हावा पनि तातिएको छ । जसका कारण क्युरेकन, साइक्लोन र टाइपोन निर्माणमा धेरै बल पुग्ने गरेको छ । वातावरणमा आएको यसै संकटले कुनै समय वर्षा नहुने र कुनै समय अत्याधिक वर्षा हुने समस्या देखिएको छ ।

प्री इन्डस्ट्रीयल समयभन्दा अहिले पृथ्वीको तापक्रम १.२ डिग्री बढेको छ । सबै खाले वातावरण प्रदूषण रोक्न र उत्सर्जन घटाउन नसके यसले क्यानाडा मात्र होइन, संसारभर नै गम्भीर संकट निम्त्याउन पनि सक्ने छ ।

ब्रिटिस कोलम्बिया राज्यका प्रिमियर जोन होर्गानले संकटकाल लागू भएको घोषणा गर्दै कुनै यातायात नचल्ने तथा अति आवश्यक सामग्री उपलब्ध गराउने बताएका छन् । उनले बाढीका कारण यो साता सबै प्रभावित भएको बताउँदै जलवायु परिवर्तनको संकट निम्तिएको बताएका छन् ।

होर्गानले क्यानाडामा आएको यो संकटपछि संसारमा रहेका अन्य ७ अर्ब मानिसले आफू असुरक्षित रहेको तथ्यलाई मनन गर्दै संकट निम्ति सकेको बुझ्न जरुरी भएको बताएका छन् । उनले यस किसिमको संकट बारम्बार निम्तिए यसले मानव जीवनलाई पूर्ण असर गर्ने चेतावनी दिँदै तत्काल कदम चाल्न आवश्यक रहेको कुरामा जोड दिएका छन् ।

युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका वातावरण वैज्ञानिक राचेल ह्वाइटले मान्छेको आफ्नै गतिविधिले वातावरणमा प्रतिकुल प्रभाव परेको तथा यस किसिमको संकट निम्तिएको बताएका छन् । ह्वाइटकै अनुसार हामीले वातावरणमा यसरी हेल चेक्र्याइ गरेकाले तापक्रम बढी रहेको छ ।

यसरी बढेको तापक्रमले अतिवृष्टि र अनावृष्टि दुवै समस्या निम्तिएको छ ।

जब वातावरण तातो हुन्छ, महासागर पनि तातो हुन्छ । त्यस्तो तातोले वातावरणमा बढी वर्षा हुने र वातावरणीय नदीहरूको बहाव बढी हुने समस्या देखिन सक्छ । ह्वाइटले पहाडी क्षेत्रमा यो समस्या अझ बढी हुन सक्ने बताएका छन् ।

तापक्रम बढेसँगै यसै वर्ष क्यानाडा र अमेरिकाका धेरै स्थानमा डढेलो लागेको थियो । डढेलोले बलिया जरा भएका रुख पूर्णरुपले जलेका छन् । यसरी रुखहरू जलेपछि अहिले पहिरोको जोखिम त्यत्तिकै बढेको छ । पानी सोस्ने व्यवस्था नभएको र यस्तो भताभुङ्ग अवस्थाको कृत्रिम विकासले दुर्घटनाको सम्भावना अझ बढाउने ह्वाइटको कथन छ ।

ग्लास्गोमा सम्पन्न विश्व जलवायु सम्मेलनमा संसारका शीर्ष नेताहरूको भेला सकिएको केही दिनपछि नै क्यानाडामा यो संकट आएको हो । क्यानाडाको संकटले सम्मेलनले तय गरेका कार्य तालिका र प्रतिबद्धतामा पुनर्विचार गर्दै धेरै हतार गर्नुपर्ने आवश्यकतालाई प्रस्ट पारेको विज्ञहरूको मत छ ।

ब्रिटिस कोलम्बियाको क्षेत्रमा आएको तातो हावाले गर्मी महिनामा ५ सय जनाको ज्यान लिएको थियो । त्यो समयको डढेलाले पनि त्यहाँको जीवनलाई प्रभावित पारेको थियो ।

मंगलबार साँझदेखि ब्रिटिस कोलम्बियामा भारी वर्षाको क्रम भने रोकिएको छ । यसका बाबजुद मानिशहरू आत्तिएका छन् । यो साताभर नै वर्षा भई रहने पूर्वानुमान छ । अधिकारीहरूले मर्नेको सङ्ख्या बढ्न सक्ने चेतावनी दिई सकेका छन् ।

बाढीले धेरै प्रभावित पारेका पहाडी क्षेत्रमा बुधबार सरकारले हेलिकोप्टरबाट खाद्यान्न उपलब्ध गराएको छ । पहाडी गाउँका बासिन्दा बन्दी झैँ भएका छन् । तुलीवान गाउँका ४ सय जना बाहिर निस्कनै नसक्ने अवस्थामा छन् ।

लेकमा बस्नेहरू जाडोले कठ्याङ्ग्रिन थालेका छन् । बेसीमा बस्ने किसानको समस्या पनि बढी रहेको छ । लगातारको भेलले थुप्रै वस्तुभाउ बगाएका छन् । समस्या यत्तिमा सीमित छैन । त्यहाँ घुम्न पुगेकाहरू पनि वातावरणको प्रतिकुलताले त्यही अडिएका छन् ।

होप शहरको सडक बन्द भएपछि १ हजार ५ सय पर्यटक त्यही रोकिएका छन् ।

त्यहाँको स्थानीय विद्यालयमा अहिले ७ सय जनालाई राखिएको छ । चर्चमा २ सय ५० जना राखिएको छ । अन्य थुप्रै पर्यटकलाई स्थानीयले आश्रय दिएका छन् । धेरै मानिस रातभर कारमै सुते ।

ग्रस वाप्टिस्ट चर्चका पास्चर जेप कुहानले अहिलेसम्म खाद्यान्नले थेगे पनि सरकारले तुरुन्त उपलब्ध नगराए संकट निम्तन सक्ने बताउँछन् । चर्चले अहिले ४ सय जनालाई खाना खुवाउँदै आएको छ । वर्षा सकिएसँगै सरकारले अति आवश्यक क्षेत्र खुला गर्ने तथा त्यस स्थानमा खाद्यान्न उपलब्ध गराउने उनी बताउँछन् ।

प्रिमियर होर्गान भने अझै कसैलाई पनि घर बाहिर ननिस्कनका लागि आह्वान गर्दै सरकारले लगातार खाद्य सामग्री उपलब्ध गराउने बताउँदै आएका छन् ।

एबोटर्फोड शहरको छेउमा रहेका केही घरहरू पानीको बहावसँगै असुरक्षित भएको महसुस भएको छ । उनीहरूको जीवन जोखिमको परेकाले सरकारले अन्यत्र सार्न प्रयास गरिरहेको छ । बुधबारको पत्रकार सम्मेलनमा मेयर हेन्री ब्रुनले पानीको सतह घटे पनि यसै साता फेरि भारी वर्षा हुने पूर्वानुमान गरेकाले जोखिम यथावतै बताएका छन् । आइतबार रातिको जस्तै अर्को वर्ष भए सो क्षेत्र गम्भीर संकटमा पर्नेमा उनले चिन्ता व्यक्त गरेका छन् ।

उनले उद्धारको क्रम जारी रहेको तथा अति आवश्यक सामग्री उपलब्ध गराइएको बताएका छन् । यसका बाबजुद त्यहाँ भत्किएको संरचना फेरि तयार गर्ने चुनौती त छदैँछ ।

रोयल क्यानेडियन माउन्टेन पुलिस(आरसीएमपी) ले मंगलबार हन्को भरको २५० किलो मिटर टाढा लियोटमा गएको पहिरोमा परी एक महिलाको ज्यान गएको पुष्टि गरेको छ । एक प्रत्यक्षदर्शीले माथिबाट आएको पहिरोले कार बगाएको दृश्य आफ्नै आँखाले देखेको बताए । धेरै जना कार छाडेर पहिले नै आफ्नो ज्यान जोगाउन भागेका थिए ।

बुधवार राति पनि अति आवश्यक खाद्यान्न लिएर एउटा रेल त्यस स्थानमा पुगेको थियो । क्यानाडाका सुरक्षा मन्त्री अनिता आनन्दले त्यस क्षेत्रको सहयोगका लागि थप केही जनशक्ति परिचालन गरिएको बताइन । क्यानाडाको एयर फोर्सका ४०८ हेलिकोप्टर पनि सहयोगका लागि आवश्यक पर्न सक्ने भन्दै तैनाथ गरिएको छ ।

यसलाई शताब्दीकै ठुलो बाढी हुनसक्ने भनिएको छ । त्यहाँको जनजीवन मात्र होइन, व्यापारिक क्षेत्रलाई पनि यसले प्रभाव पार्न सक्ने आँकलन गरिएको छ । क्यानाडियन राष्ट्रिय रेल वे र ‘क्यानाडियन प्यासिफिक रेल’ अन्तर्गतका रेलहरू यस क्षेत्रमा चल्ने गरेका छन् । दुवै कम्पनीले प्रस्ट जानकारी बाहिर ल्याएका छैनन् ।

अवरुद्ध बाटा मध्ये अमेरिकी सीमाको समानान्तर सडक ‘हाइवे ३’ पहिले खोलिन सक्ने त्यहाँका यातायात अधिकारीले जनाएका छन् । बाढीले बन्दरगाह र यससँग सम्बन्धित व्यापारलाई पनि प्रभावमा पारको छ । एसिया प्यासिफिक क्षेत्रसँग जोडिने बजार अहिले थप प्रभावित भएका हुन् ।

क्यानाडाका ती क्षेत्रका बासिन्दा अबका केही दिनपछि यस कठिन जनजीवनलाई पार गर्दै बाहिर निस्कने छन् ।

क्यानाडा र अमेरिका जस्ता संसारका समृद्ध देशहरू जलवायु परिवर्तन र प्रतिकुल वातावरणका डढेलो, अतिवृष्टि र अनावृष्टिको सामना गरी रहेका छन् । यस्तै संकट मध्यम तथा निम्न आय भएको देशमा देखिए सम्हाल्नै नसक्ने अवस्था पनि नआउला भन्न सकिन्न ।

क्यानाडाको अहिलेको अवस्थाले संसारका सबै देशलाई सचेत हुन बाध्य बनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ९ : १० बजे

गोरु जुधाइ प्रतियोगिता

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता सम्पन्न

चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह

चितवन – चिसोका कारण यहाँका अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको

युक्रेनलाई २.५ अर्ब डलर सुरक्षा सहयोग गर्ने अमेरिकाको घोषणा

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले सोमबार युक्रेनका लागि दुई अर्ब

सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई

कास्की – पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन