जसको डिजाइनले दिन्छ बहुआयामिक संस्कृतिको झल्को | Khabarhub Khabarhub

जसको डिजाइनले दिन्छ बहुआयामिक संस्कृतिको झल्को



काठमाडौँ– लेखापाल (एकाउन्टेन्ट) सामरीया मोडली छोरालाई जन्म दिएपछि सुत्केरी विदामा घरमै बसेकी थिइन् । यसै समय उनमा फेसन डिजाइनर बन्ने इच्छा जाग्यो । उनले विदाको समयलाई सदुपयोग गर्दै ब्लग शुरु गरिन् ।

लानीरानी नामको सो ब्लगमा उनले आफ्नै तस्वीरहरू शेयर गरिन् । सो ब्लगमा फेसनसँग सम्बन्धित चित्रहरू सजाइएका हुन्थे ।  सामरियाकै विचारमा उक्त ब्लगले उनको जीवनकथा पनि भनिरहेको थियो ।

दक्षिण अफ्रिकाको पूर्वी केपसँगै रहेको इस्ट लन्डनमा जन्मिएकी उनले बाल्यकालमा आफ्नी हजुरआमाले सिलाइ मेसिनमा थुप्रै धागाहरू सँगाल्दै नयाँ डिजाइन तयार पारेको देखेकी थिइन् । हजुरआमाले परम्परागत शैलीले लुगा सिए पनि उनले यसलाई नयाँ ढङ्ग दिएर काट्ने र सोही अनुसार सिलाउने कुरा सोच्थिन् ।

‘मलाई त्यस समय प्राविधिक विषयमा कुनै कुराको ज्ञान थिएन । थियो त फगत, कलात्मक कुराको ज्ञान मात्र,’ बाल्यकालको स्मरण गर्दै उनले भनेकी छिन् ।

मोडली अन्ततः एक दिन एकाउन्टेन्टको जागीर छाडेर फेसन डिजाइनर बन्ने निर्णय गरिन् । एक वर्ष लगातार ब्लगमा लेखेपछि उनी लोकप्रिय भइन् । ४० वर्षीय उनलाई दक्षिण अफ्रिकामा हुने कैयन् फेसन डिजाइनका कन्टेस्ट र अन्य कार्यक्रममा आमन्त्रण गरिन्छ । उनलाई ती कार्यक्रममा सहभागिता जनाउन भ्याइनभ्याइ हुन थालेको छ ।

दुनियाँमा अहिले उनको औपचारिक परिचय गार्मेन्ट उद्योगसँग जोडिएको छ । दुई वर्षअगाडि भाङ्ग्राको स्कर्टका साथै पुरानो खालको बच्चालाई स्तनपान  गराउन मिल्ने भित्री पोसाकको साटो नयाँ पोसाकले धेरै चर्चा बटुलेको थियो । उनी यसै पोसाक लगाएर कार्यक्रममा प्रस्तुत भएकी थिइन् । यसको बारेमा उनले आफ्नो ब्लगमा धेरै कुरा उल्लेख पनि गरेकी थिइन् ।

योसँग मोडलीले परम्परागत खालका स्तन ढाक्ने पोसाकलाई त्यागेर नयाँ खालको पोसाकको  खोजी गर्न थालेकी छिन् । छोरालाई स्तनपान गराउँदाका केही सम्झना उनलाई अझै ताजै छ । यसकारण उनी यसमा सहजीकरण गर्न चाहन्छिन्  र नयाँ खालको पोसाक बजारमा ल्याउन चाहन्छिन् ।

उनको यस नयाँ सोचमा अहिले अन्तर्राष्ट्रिय क्षेत्रको समेत ध्यान गएको छ । फेसन समीक्षक सुजी मेन्कसले उनलाई दक्षिण अफ्रिकी फेसन इन्टरप्रेनर प्रेसियस मोलाइ र वोत्सेसँग भेट गराइसकेका छन् । यी दुवै महिलाले उनको आत्मबल बढाएका छन् । उनलाई दीर्घकालीन रूपमा चर्चामा ल्याउनका लागि प्रयास गर्ने पनि उनीहरूले बताइसकेका छन् ।

सन् २०२० मा अफ्रिकन फेसन इन्टरनेसलन (एएफआई) ले आयोजना गरेको फास्ट ट्रयाक कार्यक्रमको फाइनलका लागि छनोट भएका ६ जनामध्ये मोडली पनि एक थिइन् । यसै कार्यक्रम मार्फत मोडली जस्ता इमर्जिङ डिजाइनरहरूलाई फेसनको बजारमा स्थापित हुन सहज भएको थियो । वार्षिक रूपमै पुराना पुस्ताका डिजाइनर रिच मीन्सी र जेसिका रोसको पहलमा यो कार्यक्रम हुने गरेको छ  ।

यो कार्यक्रममा मोडलीको जिम्मेवारी फेब्राइस कपडाका ६ भिन्न लुक्सका डिजाइन तयार पार्नु थियो । यसका लागि उनले आफ्नै परिवारका विभिन्न सदस्यका १ सय ५० वटा टाई जम्मा गरेर नयाँ डिजाइन दिने सोच लिएकी थिइन् । यी सबै टाईहरू जम्मा गरेर उनी यसलाई पुनर्निर्माण गर्दै बहुरंगिन कपडा तयार गर्न सफल भइन् ।

‘यसका लागि हामीले हरेक टाईलाई फुकायौँ, त्यसपछि फेब्रिकका रूपमा प्रयोग गरेका थियौँ,’ उनले भनिन् ।

उनले उक्त टाईलाई प्रयोग गर्न नयाँ प्रविधि प्रयोग गरेकी थिइन् ।

यी डिजाइनर आफूलाई आइरिस, भारतीय र दक्षिण अफ्रिकी मूलकी हाइब्रिड भन्न रुचाउँछिन् । फास्ट ट्रयाक कलेक्सनमा उनको एक प्रस्तुति भारतीय झैँ देखिएको थियो । सो लुक्समा उनलाई धेरैले साह्रै सुन्दर भने प्रतिक्रिया दिएका थिए ।

‘मैले हजुरआमाको एउटा सारी पाएकी थिएँ । गुलाफी रङ्गको यो सारीको किनार सुनौलो थियो । मैले सोचेँ, मलाई चम्किलो सुहाउँछ । यसले महिलावादको सन्देश दिन्छ । बोल्डनेस दिन्छ  र यसले एक खालको भिन्न आनन्द पनि दिन्छ,’ पूर्वेली संस्कृति झल्कने आफ्नो पोसाकबारे मोडली भन्छिन् ।

‘फास्ट ट्रयाक’ कार्यक्रमपछि उनी संसारको धेरै देशमा कार्यक्रम गर्न सफल भएकी थिइन् । तीमध्ये एफआईले गत अक्टोबरमा दक्षिण अफ्रिकाको जोहन्सबर्गमा आयोजना गरेको फेसन सो पनि एक थियो । जुन सोमा उनको डिजाइनको व्यापक चर्चा भएको थियो ।

मोडलीका धेरै डिजाइन हातैले तयार पारेका तथा पुन:प्रयोग गर्न मिल्ने फेब्रिकबाट तयार पारिएका थिए । उनी यस्तो परिवारमा हुर्केकी थिइन्, जहाँ कुनै पनि कपडाको बारम्बार भिन्न रूपमा प्रयोग गर्नु सामान्य नै थियो ।

‘म आफैले आफैलाई भनेँ कि, तिमी फेसन ब्लग लेख्न सक्छौँ भनेर संसारलाई प्रमाणित गरेर देखाउन सक्छौँ । कुनै पनि कुरा विक्री नगरेर र कुनै पनि कुरा खरिद नगरेर आफैसँग भएका कुरालाई प्रयोग गरेर फेसनको संसारमा केही गर्न सक्छौँ,’ उनी भन्छिन् ।

अहिले मोडलीले आफूले तयार गरेको सामग्रीलाई आफ्नै इन्स्टाग्राममार्फत विक्री गरिरहेकी छिन् । कारखाना खोल्ने र थुप्रै सङ्ख्यामा निर्माण गर्ने काम अहिले उनको योजनामा छैन । ‘सबै कुरा घरमा नै बनाइएका हुन् । जे कुरा मेरो नियन्त्रणमा छ म त्यसैलाई प्रेम गर्छु । म आफैले तयार गरेको आफ्नै ब्रान्ड बेचिरहेकी छु,’ उनले आफ्नो कामबारे सन्तुष्टि व्यक्त गर्दै भनेकी छिन् ।

एकाउन्टेन्टबाट फेसनमा प्रवेश गरेकी उनी भविष्यमा लामो बाटो पहिल्याउने कुरामा ढुक्क छिन् । दक्षिण अफ्रिका सरकार, त्यहाँको समुदाय र फेसन दुनियाँका पुराना हस्तीको पनि उनले साथ पाइरहेकी छिन् ।

उनको एउटा मान्यता भने प्रस्ट छ । उनको कथन छ, “सिर्जनशीलता आत्माबाट धेरै आउने कुरा हो भने मस्तिष्कबाट कम ।”

यिनले फेसनबारे आफ्नो यात्रालाई वर्णन गरेको सुन्दा त धेरैलाई अचम्ममा लाग्छ । उनीसँग १२ वर्षअघि भएको कपडा अहिले पनि प्रयोग गरिरहेकी हुन्छिन् । उनको एउटा अचम्मको बानी समेत छ । कुनै पुरानो कपडा देख्यो कि, यसलाई कसरी नयाँ रूपमा प्रस्तुत गर्ने भन्ने बारेमा उनी सोच्न थालिहाल्छिन् ।

उनको शब्दावलीमा चार एफ प्रमुख रहे– फेसन, फुड, फाइनान्स र फेमीली । उनी यिनै चार एफको सेरोफेरोमा आफ्नो जीवन चलेको बताउँछिन् ।

फेसनकै हकमा उनले ह्यान्डब्याग, कपडा, जुत्ता र अन्य सामग्री उत्पादन गर्न पाएकोमा दङ्ग नै छिन् । कुनै नयाँ डिजाइनबारे सोच्ने उनको तरिका र खुबी प्रकृतिमुखी भएको दक्षिण अफ्रिकाका धेरै फेसन डिजाइनका विज्ञहरूले बताउने गरेका छन् ।

उनका लागि अहिले पनि प्रेरणाको श्रोत उनकी आफ्नै हजुरआमा र आमा नै हुन् । उनीहरूले लगाएको लुगालाई पनि अझ परिष्कृत रूप दिन सकिन्छ कि भनेर हेर्ने गर्छिन् । उनको रंगिन र चम्किलो र आकर्षक पहिरनका कारण सामाजिक सञ्जालमा उनलाई पछ्याउनेको ठूलो जमान नै बनिसकेको छ  ।

आयरल्यान्डमा बाल्यकाल बिताएकी उनको पारिवारिक पृष्ठभूमि दक्षिण अफ्रिकी र भारतीय दुवै हो । यसकारण नै उनी आफूलाई हाइब्रिड भनेर स्वीकार्छिन् । यी तीन संस्कार जानेकै कारण उनलाई यी तीन संस्कृतिकै परम्परागत पोशाकका बारे राम्रो जानकारी पनि छ ।

सामाजिक सञ्जालमा हेर्नेहरूले उनको यो यात्रा सहकर्मी विनाको एक्लो देखिए पनि उनी सामूहिक सहयोगकै कारण यो सम्भव भएको बताउँछिन् । युनिभर्सिटीमा अध्ययन गरिरहेकी उनकी दिदीले ब्लगको सम्पादन गर्ने गरेकी छिन् ।

उनका बच्चा र श्रीमानले उपयुक्त विकल्प छनोट गर्नमा सल्लाह दिने गरेका छन् । उनका श्रीमान् ट्रमा सेन्टरका चिकित्सक हुन् । जसले कार्यालयमा मान्छेको अंशलाई नयाँ स्वरूप दिन्छन् । घरमा पुरानो कपडालाई नयाँ स्वरूप दिन श्रीमतीलाई सहयोग गर्छन्  ।

यी दक्षिण अफ्रिकी भारतीय मूलकी महिलाको अहिले फेसनको दुनियाँमा दुई कारणले चर्चा छ  । एउटा पुराना कपडाको प्रयोगका कारण र अर्को बहुआयामिक संस्कृतिका कारण ।

बहुआयामिक यी सुन्दरीले तयार गरेका डिजाइन संसारको धेरै भू–भागमा अत्यन्त लोकप्रिय हुन आँकलन गरिएको छ । किनकि, उनको डिजाइनमा देखिने आकर्षण जो कोहीलाई पनि लठ्याउने खालको छ ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : १२ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले