नवदुर्गाको पूजा आराधना गरी चैते दशैँ मनाइयो « Khabarhub

नवदुर्गाको पूजा आराधना गरी चैते दशैँ मनाइयो


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व मंगलबार नेपालीले शक्तिपीठसहित घरघरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट जारी गरिएको स्वास्थ्य मापदण्डबमोजिम भौतिक दूरी कायम गरी शक्तिपीठमा पूजा आराधना एवं दर्शन गरिएको थियो । मन्दिरसम्म नजाने भक्तजनले भने घरघरमै देवीको आराधना गरी मीठामीठा परिकार बनाएर भोजन गरी परिवारका सदस्यबीच रमाइलो गरेर चैते दशैँ पर्व मनाइएका छन् ।

बडादशैँजस्तै चैते दशैँको पूजा उपासनाको मुख्य उद्देश्य पनि यो लोकमा सुख, शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो । बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । यस अवसरमा उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत शक्तिपीठमा चैते दशैँका अवसरमा विशेष पूजा गरिएको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिएको जनाइएको छ ।

आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्छ । चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन ।

हनुमानढोको दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेषरुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाइन्छ ।

हनुमानढोकामा दिइयो बलि

प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन पनि बलिसहित पूजा गरिन्छ । हनुमानढोकाको मूल चोकमा ५४ बोका र ५४ राँगाको बलिसहित पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । यसैगरी दशैँ घरमा नौवटा बोका बलिसहित पूजा गरिएको उनले बताए ।

चैत्र शुक्ल प्रतिपदादेखि नै हनुमानढोकास्थित दशैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ गरिएको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबारअन्तर्गत रहेको दशैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत छ । गत वर्ष भने चैत्र नवरात्रको अष्टमीका दिन हनुमानढोका दरबारको दशैँ घरमा बन्दाबन्दीका कारण बलिसहितको पूजा रोकिएको थियो । बन्दाबन्दीले पशु, चौपाया ल्याउन समस्या भएकाले रोकिएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ५० बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र