सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुस्त « Khabarhub

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुस्त



काठमाडौँ– सरकारले सबै सवारी साधनमा हालका साधारण नम्बर प्लेट ‘इम्बोस्ड नम्बर प्लेट’ मा रूपान्तरण गराइरहेको छ । आदालतमा परेको रिट, लकडाउन र सीमित सेवाका कारण रूपान्तरणको गति भने निकै सुस्त छ ।

इम्बोस्ड नम्बर प्लेटप्रति सवारी साधन प्रयोगकर्ताको चासो भने देखिएको छैन । अहिले देशभर करिब ३६ लाख सवारी साधन दर्ता भएको यातायात व्यवस्था विभागको तथ्याङ्क छ । इम्बोस्ड नम्बर प्लेट जडान भने काठमाडौँका चार ठाउँमा मात्रै हुन्छ ।

विभागको महानिर्देशक नमराज घिमिरेका अनुसार यीमध्ये बढीमा ५ प्रतिशतमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान भएको छ ।

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने काम नयाँ भने होइन । इम्बोस्ड नम्बर प्लेट आपूर्ति तथा प्लेट छपाइका लागि विभाग र भारतीय कम्पनी डेकाटुर (टाइगर आइटी द कोर्पेरेसन) बीच २०७३ सालमा सम्झौता भएको थियो ।

सम्झौताअनुसार डेकाटुरले ४ अर्ब ९० करोड २० लाख रुपैयाँमा ५ वर्षमा २५ लाख नम्बर प्लेट दिनुपर्ने थियो । त्यति वेला २०७४ भदौ ४ गते इम्बोस्ड नम्बर जडान शुरू गर्ने भनिएको थियो ।

नम्बर प्लेट देवनागरी लिपिमा हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि काम रोकियो । रिट परेको २२ महिनापछि गत चैतमा सर्वोच्च अदालतले रिट खारेज गर्‍यो ।

गत साउनमा फैसलाको पूर्णपाठ आएपछि विभागले इम्बोस्ड नम्बर जडानको काम फेरि अघि बढायो । कोरोना नियन्त्रणका लागि देशमा लकडाउन भएपछि फेरि काम रोकियो ।

नयाँ आर्थिक वर्ष (२०७८/७९) शुरूमै इम्बोस्ड नम्बर प्लेट जडान प्रभावकारी ढङ्गले अघि बढाउन काम थालेको महानिर्देशक घिमिरेको भनाइ छ ।

सबैभन्दा धेरै टेकुमा

हाल सबैभन्दा धेरै इम्बोस्ड नम्बर प्लेट जडाननको काम यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुमा भइरहेको छ ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भनेपछि साना तथा मझौला सवारी साधन लिएर आउनेको संख्या ह्वात्तै बढेको कार्यालय प्रमुख मणिराम भुसालको भनाइ छ ।

उनले भने, ‘अहिले दैनिक ४० देखि ४५ वटा सवारीसाधनमा इम्बोस्ड नम्बर जडान भइरहेको छ ।’ उनका अनुसार टेकुमा इम्बोस्ड नम्बर प्लेट माग्नेको संख्या बढे पनि दैनिक ५० वटाभन्दा बढी जडान गर्ने क्षमता छैन ।

हालसम्म प्रदेश १ र प्रदेश २ का नाम तोकिएको छैन । अहिले जडान भएकामा ‘प्रदेश १’ र ‘प्रदेश २’ लेखिएको छ ।

दुई वटा प्रदेशको नाम टुङ्गो नभएकोले केही फरक पर्छ कि पर्दैन ? भुसाल भन्छन्, ‘त्यसले केही फरक पर्दैन, नाम नराखुन्जेल प्रदेश नम्बर लेखिएको इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ ।’

यी हुन जडान हुने ठाउँ

हाल काठमाडौँका चार ठाउँमा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानको काम हुने गरेको छ ।

सरकारी गाडीको काम यातायात व्यवस्था विभाग, मीनभवनमा हुन्छ । ठूला गाडीको यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा र दुई पाङ्ग्रेको यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा हुन्छ । तीन पाङ्ग्रे तथा साना र मझौला चार पाङ्ग्रे गाडीको सवारी परीक्षण कार्यालय, टेकुमा हुन्छ ।

साधनअनुसारको शुल्क

इम्बोस्ड नम्बर प्लेट लिन सवारी साधनअनुसार शुल्क तोकिएको छ ।

मोटरसाइकल र स्कुटरका लागि २ हजार ५०० रुपैयाँ, तीन पाङ्ग्रेका लागि २ हजार ९०० रुपैयाँ, चार पाङ्ग्रेका ३ हजार २०० सय रुपैयाँ र ठूला साधनका लागि ३ हजार ६०० रुपैयाँ तोकिएको छ ।

इम्बोस्ड नम्बरबाट व्यवस्थापन सहज

सवारी परीक्षण कार्यालय, टेकुका कार्यालय प्रमुख भुसालका अनुसार इम्बोस्ड नम्बर सवारी साधन व्यवस्थापनको नयाँ प्रविधि हो । नम्बर प्लेटमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन भन्ने नम्बर सेट गरिएको हुन्छ । यो नम्बरले कुन गाडी, कति नम्बरको गाडी कहाँ कस्तो अवस्थामा छ भनेर एउटै नियन्त्रण कक्षबाट थाहा पाउन सकिन्छ ।

नम्बर प्लेट रेकर्ड हुने हुँदा गल्ती गरेर भाग्ने भाग्नेलाई पक्राउ गर्न सजिलो हुन्छ । सवारी साधनको चोरीका घटनामा नियन्त्रण गर्न सजिलो हुन्छ । कर नतिरेका सवारीधनीको पहिचान पनि सहज हुन्छ ।

भुसालले भने, ‘अहिले धेरैले कर नबुझाई सवारी साधन चलाइरहेका छन् । इम्बोस्ड नम्बर जडान गर्दा हालसम्मको कर बुझाउनुपर्छ ।’

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा देशभित्र दर्ता भएका सबै सवारी साधनमा इम्बोस्ड नम्बर सबै प्रदेशबाट वितरण गर्ने उल्लेख गरिएको छ । इम्बोस्ड नम्बर प्लेट जडान गर्न सातै प्रदेशमा कार्यालय स्थापना गर्ने सरकारको तयारी छ ।

यो पनि पढ्नुहोस्

सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : १० बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट