वैदिक सनातनधर्ममा श्राद्धशास्त्र | Khabarhub Khabarhub

वैदिक सनातनधर्ममा श्राद्धशास्त्र



वैदिक सनातनधर्ममा पूर्वजहरूप्रतिको श्रद्धा तथा पूजा प्राचीनकालदेखि चल्दै आएको छ । मानिसले शरीर त्यागेपछि देव, मनुष्य या पशु तथा सर्प आदि योनि प्राप्त गर्दछ भन्ने मानिन्छ । जसलाई उद्देश्य गरेर उसका सन्तानले अन्नपानादि जे दिन्छन् ती वस्तु पितृहरू जसले जे जस्तो योनि प्राप्त गरेका छन् सोहीअनुसार उनीहरूलाई प्राप्त हुन्छ ।

वसु, रुद्र र आदित्यको माध्यमबाट पृथिवीमा पितृहरूलाई उद्देश्य गरेर दिएको वस्तु प्राप्त हुन्छ र सोहीअनुसार पुत्रादिहरूले आशीर्वाद प्राप्त गर्दछन् भन्ने शास्त्रीय विश्वास छ । यही श्राद्धसम्बन्धी विषयमा श्रुति (वेद), स्मृति (धर्मशास्त्र), पुराण आदिका आधारमा विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।

श्राद्ध :

यज्ञ, पूजा आदिमा जसरी कुनै देवताविशेषलाई उद्देश्य गरेर द्रव्य त्याग गरिन्छ त्यसै गरी श्राद्धमा पनि प्रेत या पितृलाई उद्देश्य गरेर आमान्न (काँचो अन्न) तथा पक्वान्न (पाकेको अन्न तथा द्रव्य) सहित त्याग गरिन्छ । देश, काल, पात्र, श्रद्धा र विधिपूर्वक पितृलाई उद्देश्य गरेर ब्राह्मणलाई दिइन्छ त्यसलाई श्राद्धको संज्ञा दिइएको छ

देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ।

पितृन्नुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुदाह्तम् ।

(ब्रह्मपुराण, पराशरस्मृति (माधवीयसहिता), पृ.३३६ ।)

श्राद्ध मुख्यतया एकोद्दिष्ट र पार्वण गरी दुई किसिमको हुन्छ । एक पुरुषलाई उद्देश्य गरेर गरिने श्राद्ध एकोद्दिष्ट हो । तीन पुरुषलाई उद्देश्य गरेर गरिने श्राद्ध पार्वण हो । नित्य, नैमित्तिक र काम्यका दृष्टिले श्राद्ध पुनः तीन भागमा हुन्छ । नित्यश्राद्धप्रत्येक दिन तथा नियतकाल अमावास्या, व्यतीपात (योग विशेष), पूर्णिमा एवं अष्टकामा गरिन्छ । नित्यश्राद्ध नगरेको अवस्थामा प्रायश्चित्तको भागी बन्नुपर्ने उल्लेख शास्त्रकारहरूले गरेका छन्

अमावास्याव्यतीपातपौर्णमास्यष्टकासु च ।

विद्वान् श्राद्धमकुर्वाणः प्रायश्चित्तीयते तु सः ।।

(पितामह, पराशरस्मृति (माधवीयसहिता), पृ.३४०)

विशेष निमित्तलाई मानेर नैमित्तिकश्राद्ध हो । एकोद्दिष्टश्राद्ध पनि नैमित्तिक मानिएको छ । कुनै फलविशेषको कामनाका साथ गरिने श्राद्ध काम्यश्राद्ध हो । यो श्राद्ध कृतिकादि नक्षत्र तथा विशेष तिथिमा विशेष कामनाका साथ गर्न सकिने कुरा शास्त्रकारहरूले उल्लेख गरेका छन् ।

फेरि श्राद्ध नित्य, पार्वण, एकोद्दिष्ट, वृद्धि र सपिण्डीकरण गरी पाँच प्रकारमा मानिएको छ । विश्वामित्रले नित्य, नैमित्तिक, काम्य, वृद्धि, सपिण्डीकरण, पार्वण, गोष्ठी, शुद्धि, कर्माङ्ग, दैविक, यात्रा र पुष्टी गरी बाह्य प्रकारकाका श्राद्धहरू उल्लेख गरेका छन्

नित्यं नैमित्तिकं काम्यं वृद्धिश्राद्धं सपिण्डनम् ।

पार्वणं चेति विज्ञेयं गोष्ठ्यां शुध्यर्थमष्टमम् ।।

कर्माङ्कं नवमं प्रोक्तं दैविकं दशमं स्मृतम् ।

यात्रास्वेकादशं प्रोक्तं पुष्ट्यर्थं द्वादशं मतम् ।।

(विश्वामित्र, पराशरस्मृति (माधवीयसहिता), पृ.३३६ ।)

यसरी श्राद्धका दुई, तीन, पाँच, बाह्र मात्र होइन, अन्य अनेक भेद पाइन्छन् । धर्मशास्त्रीय ग्रन्थहरूमा श्राद्धका ९६ भेद रहेको उल्लेख गरिएको छ । स्मृतिकारहरूले यस्ता श्राद्धहरूका लागि विशेष काल निर्धारण गरेका छन् ।

योगीश्वर याज्ञवल्क्यले अमावस्या, अष्टका (हेमन्त तथा शिशिर ऋतुका कृष्णपक्षका अष्टमी), वृद्धि (पुत्रजन्मादि अवसर), कृष्णपक्ष, दुवै अयन उत्तरायन र दक्षिणायन, द्रव्य तथा ब्राह्मण उपलब्ध भएको अवस्था, संक्रान्तिहरू, व्यतिपात योग, गजच्छाया योग, चन्द्र एवं सूर्यग्रहणको साथै श्राद्धप्रति जहिले रूचि हुन्छ त्यो समयलाई श्राद्धकालको संज्ञा दिएका छन्

अमावास्याद्रष्टका वृद्धिः कृष्णपक्षोद्रयनद्वयम् ।

द्रव्यं ब्राह्मणसंपत्तिर्विषुवत्सूर्यसंक्रमः ।।

व्यतीपातो गजच्छाया ग्रहणं चन्द्रसूर्ययोः ।

श्राद्धं प्रति रुचिश्चैव श्राद्धकालाः प्रकीर्तिताः ।।

(याज्ञवल्क्यस्मृति, १. २१७२१८ ।)

उपयुक्त ब्राह्मण :

जो ब्राह्मण सदाचार परायण छन्, वेदको अर्थ जान्दछन् तथा ऋग्यजुसाममध्ये कुनै एक वेदको ज्ञाता छन्, वेदोक्तकर्मअनुसार स्वयं आचरण पनि गर्दछन् भने यस्ता ब्राह्मण श्राद्ध गराउन उपयुक्त मानिन्छन्

वेदविद्याव्रतस्नाताञ्श्रोत्रियान्गृहमेधिनः ।

पूजयेद्धव्यकव्येन विपरीतांस्तु वर्जयेत् ।।

(अपरार्क, पृ. ४३८ ।)

योगीश्वर याज्ञवल्क्यले सम्पूर्ण वेदपाठीहरूमध्ये श्रेष्ठ, श्रुताध्ययन सम्पन्न, ब्रह्मज्ञानी, युवा, वेदको अर्थ जान्ने, ज्येष्ठसाम नामक सामवेदको कुनै एक प्रकरणको अध्येता, त्रिमधु नामक ऋग्वेदको कुनै एक प्रकरणको अध्येता, त्रिसुपर्ण नामक यजुर्वेदको एउटा प्रकरणको ज्ञाता बाह्मण श्राद्धमा निन्दित हुँदैन अर्थात् श्राद्धका लागि उपयुक्त हुन्छन् भनेका छन्

अग्र्‍या : सर्वेषु वेदेषु श्रोत्रियो ब्रह्मविद्युवा ।

वेदार्थविज्ज्येष्ठसामा त्रिमधुस्त्रिसुपर्णिकः ।।

(याज्ञवल्क्यस्मृति, १.२१९ ।)

यिनका अतिरिक्त ब्राह्मणको अनुकल्पको रूपमा मातामह, मातुल (मामा) स्वस्रीय, ससुरा, बन्धुबान्धव, ऋत्विग्, याजक, गुरु, दौहित्रादिलाई लिन सकिने बताइएको छ

एष वै प्रथमः कल्पः प्रदाने हव्यकव्ययो ।

अनुकल्पस्त्वयं ज्ञेयः सदा सह्मिरनुष्ठितः ।।

मातामहं मातुलं वा स्वस्रीयं श्वशुरं गुरुम् ।

दौहित्रं विट्पतिं बन्धुमृत्विग्याज्यौ च भोजयेत् ।।

(अपरार्क, पृ. ४३८ ।)

यस्तै भान्जा, ऋत्विक्, ज्वाइँ, यज्ञ गराउन योग्य, श्वसुर, मातुल, यजुर्वेदको त्रिणाचिकेत प्रकरण पढ्ने, छोरीको छोरा, शिष्य, सम्बन्धी तथा बन्धुबान्धवहरू पनि श्राद्धका लागि निन्दित मानिँदैनन्

स्वस्त्रीयऋत्विग्जामातृयाज्यश्वशुरमातुलाः ।

त्रिणाचिकेतदौहित्रशिष्यसंबन्धिबान्धवाः ।।

(याज्ञवल्क्यस्मृति, १.२२० ।)

वेदमा बताइएका ब्राह्मणका जुन कर्महरू छन् ती कर्महरूमा निष्ठा राख्ने कर्मनिष्ठ ब्राह्मण, तपोनिष्ठ, पञ्चाग्नि सेवक, दुबै किसिमका (नैष्ठिक एवं उपकुर्वाण) बह्मचारी, माता एवं पितामा निष्ठा राख्ने ब्राह्मणहरू श्राद्धका सम्पत्तिको रूपमा रहेका छन् । ब्राह्मणलाई भोजन गराउनाले र उनको पूजन गर्नाले श्राद्धको अक्षयफल प्राप्त हुने कुरा मत्स्य पुराणमा उल्लेख गरिएको छ

यश्च व्याकुरुते वेदं यश्च मीमांसतेद्रध्वरम् ।

सामस्वरविधिज्ञश्च पङ्क्तिपावनपावनाः ।।

(मत्स्यपुराण, अपरार्क, पृ. ४४१ ।)

योगीश्वर याज्ञवल्क्यले आफ्नो कर्ममा जसको निष्ठा छ, तपस्वी, पञ्चाग्नि (सभ्य, आवसथ्य, त्रेताग्नि) सेवन गर्ने तथा पञ्चाग्निविद्याध्यायी बह्मचारी, मातापिताको भक्त आदि सबै श्राद्धका अक्षय सम्पत्तिका कारण हुन् भनेका छन्

कर्मनिष्ठातपोनिष्ठाः पञ्चाग्निब्र्रह्मचारिणः ।

पितृमातृपराश्चैव ब्राह्मणाः श्राद्धसंपदः ।।

(याज्ञवल्क्यस्मृति, १.२२१ ।)

जुन दिन श्राद्ध गर्ने हो त्यसभन्दा पहिलो दिन श्राद्धका लागि ब्राह्मणहरूलाई निमन्त्रित गर्नुपर्ने विधान शास्त्रमा छ । श्राद्धमा निमन्त्रित ब्राह्मणहरू पवित्राचरणयुक्त, श्रोत्रिय, संयमितेन्द्रिय हुनुपर्दछ । श्राद्धकर्ता पनि पवित्राचरणमा बस्नुपर्ने कुरा वराहपुराणमा लेखिएको छ

वस्त्रशौचादि कर्तव्यं श्वः कर्ताद्रस्मीति जानता ।

स्थानोपलेपनं भूमिं कृत्वा विप्रान्निमन्त्रयेत् ।।

दन्तकाष्ठं च विसृजेद्ब्रह्मचारी शुचिर्भवेत् ।।

(वराहपुराण, अपरार्क, पृ.४५६ ।)

श्राद्धकर्ताले श्राद्धको एक दिनअघि आत्मालाई जानेका पवित्र ब्राह्मणहरूलाई निमन्त्रणा गर्नुपर्दछ । स्वयं आफू र निमन्त्रित ब्राह्मण मन, वचन र कर्मले समेत संयमित भएर बस्नुपर्ने योगीश्वर याज्ञवल्क्यले उल्लेख गरेका छन्

निमन्त्रयेत पूर्वेद्युब्र्राह्मणानात्मवाञ्शुचिः ।

तैश्चापि संयतैर्भाव्यं मनोवाक्कायकर्मभिः ।।

(याज्ञवल्क्यस्मृति, १.२२५ ।)

ब्राह्मणप्रार्थना :

यसरी विधिपूर्वक निमन्त्रित ब्राह्मणहरूका साथ श्राद्ध सम्पन्न गर्ने क्रममा ब्राह्मणहरूलाई भोजन गराइसकेपछि हाम्रो कुलमा सुन, चाँदी आदि दान गर्नेहरू उत्तरोत्तर बढ्दै जाऊन्, अध्ययन एवं अध्यापन तथा वैदिक अनुष्ठानको परम्परा हाम्रो कुलमा अक्षुण्ण रहोस्, यसैगरी पुत्रपौत्रादिहरूले पनि वैदिक परम्परा तथा धर्मानुष्ठानको परम्परालाई पालन गर्दै रहुन्, देवता एवं पितृसम्बन्धी श्रद्धा हाम्रो हृदयमा सधैँ रहिरहोस्, ब्राह्मण एवं अन्य याचकहरूलाई दिनका लागि हामीसँग पर्याप्त धन होओस् इत्यादि मन्त्रद्वारा यस्तो प्रकारको आशीर्वाद पितृब्राह्मण एवं वेदपाठी आमन्त्रित ब्राह्मणहरूका साथ माग्नुपर्दछ भन्ने कुरा योगीश्वर याज्ञवल्क्यले गरेका छन् ।

उनले भनेका छन्हाम्रो कुलमा दातारो नोतृभिवर्धन्ताम् दान दिनेवाला खूब होऊन्, वेद एवं सन्ततिको परम्परा अविच्छिन्न रहोस्, हाम्रो मनबाट श्रद्धा कहिल्यै पनि नहटोस्, हामीहरूका साथ दान दिने योग्य पदार्थहरू धेरै होऊन् ।

दातारो नोतृभिवर्धन्तां वेदाः सन्ततिरेव च ।

श्रद्धा च नो माव्यगमद् बहुदेयं च नोतृस्त्विति ।।

(याज्ञवल्क्यस्मृति, १.२४६ ।)

यसरी पूर्वोक्त प्रार्थनामन्त्र को जप गरिसकेपछि प्रिय वचन

धन्या वयं भवच्चरणयुगलरजःपवित्रीकृतमस्मन्मन्दिरं

शाकद्यशनक्लेशमविगणय्य भवह्मिरनुगृहीता वयमिति

अर्थात् हजुरहरूको चरणकमलको धूलोले हाम्रो घर पवित्र बन्यो हामीसँग जेजस्तो पदार्थ शाकादि थियो त्यसलाई ग्रहण गरिदिएकोमा हामी अनुगृहीत छौँ, आज हामी धन्य भएका छौँ । हजुरजस्ता पवित्र व्यक्तिको चरणरजबाट हाम्रो घर पवित्र भयो । बाटोमा पर्ने कष्टहरू सहेर हजुरहरू आउनुभयो हामी धन्य भएका छौँ आदि प्रियवचनहरूका साथ नमस्कार गर्नुपर्दछ भन्ने कुरा बृहस्पतिले गरेका छन्

अद्य मे सफलं जन्म भवत्पादाभिवन्दनात् ।

अद्य मे वंशजाः सर्वे गतास्तेद्रनुग्रहाद्दिवम् ।।

अत्र शाकादिदानेन क्लेशिता ये मयेदृशाः ।

तत्क्लेशजातं चित्तेन विस्मृत्य क्षन्तुमर्हथ ।।

(बृहस्पति, अपरार्क, ५१२ ।)

त्यसपछि बाजे वाजेवत वाजिनो नः इत्यादि मन्त्रपूर्वक पितृ पितामहादिलाई विसर्जन गर्नुपर्ने विधान शास्त्रमा गरिएको कुरा मत्स्य पुराणमा छ

ततस्ताननग्रतः स्थित्वा प्रतिगृह्मोदपादकम् ।

वाजेवाज इति जपन्कुशाग्रेण विसर्जयेत् ।।

(मत्स्यपुराण, अपरार्क, पृ.५११ ।)

यी सबै कुरा प्रणिपत्य (विनम्रतापूर्वक हातजोडेर) भनिसकेपछि वाजे वाजे… इत्यादि मन्त्रका साथ पहिले पितृ त्यसपछि विश्वेदेवाको विसर्जन गर्नुपर्ने कुराको योगीश्वर याज्ञवल्क्यले पनि गरेका छन्

इत्युक्त्वोक्त्वा प्रिया वाचः प्रणिपत्य विसर्जयेत् ।

वाजेवाज इति प्रीतः पितृपूर्वं विसर्जनम् ।।

(याज्ञवल्क्यस्मृति, १.२४७ ।)

त्यसपछि जलादि लिएर ऊज्र्वं वहन्तीमन्त्रका साथ पिण्डमा अवसिँञ्चन गर्नुपर्ने कुराको उल्लेख ब्रह्माण्डपुराणमा गरिएको छ

ततः संस्रावपात्रेभ्यो जलमादाय चार्पितम् ।

ऊज्र्वं वहन्तीश्च जपन्पिण्डांश्चाप्यवसिञ्चति ।।

(ब्रह्माण्डपुराण, अपरार्क, ५१२ ।)

आमन्त्रित ब्राह्मणहरूलाई भोजन गराइसकेपछि नजिकको सीमासम्म ती उनीहरूलाई पु¥याउन जानुपर्दछ । ब्राह्मणहरूले गम्यताम् अर्थात् अब फर्कनुस् र भोजन गर्नुहवस् भनिसकेपछि घरमा आएर श्राद्धको जो अवशिष्ट अन्न छ त्यो अन्न आफ्ना इष्टमित्रहरूका साथ भोजन गर्नुपर्दछ । श्राद्ध गरेपछिको रात श्राद्धकर्ता र श्राद्धभोक्ता ब्राह्मणले ब्रह्मचर्यव्रत पालन गर्नुपर्दछ भन्ने कुरा मत्स्यपुराणमा छ

बहिः प्रदक्षिणं कुर्यात्पदान्यष्टावनुव्रजेत् ।

बन्धुवर्गेण सहितः पुत्रभार्यासमन्वितः ।।

निवृत्य प्रणिपत्याथ पर्युक्ष्याग्निं स मन्त्रवित् ।

वैश्वदेवं प्रकुर्वीत नैत्यकं बलिरेव च ।।

(मत्स्यपुराण, अपरार्क,पृ. ५१२ ।)

मनुएवं कात्यायनको पनि यस्तै भावना रहेको छ । यसरी बलि वैश्वदेवादि कर्म सकेपछि श्राद्धकर्ताले पनि भोजन गर्नुपर्दछ, अन्यथा श्राद्धको फल प्राप्त हुँदैन भन्ने देवलको वचन छ

श्राद्धं दत्त्वा तु यो विप्रो न भुङ्क्तेद्रथ कदाचन ।

देवा हविर्न गृह्णन्ति कव्यानि पितरस्तथा ।।

(देवल, अपरार्क, पृ. ५१३ ।)

यसरी श्राद्ध सम्पन्न भइसकेपछि श्राद्धकर्ता र श्राद्ध भोक्ताले पुनः भोजन गर्न, टाढाको यात्रा गर्न, भारी बोक्न, अध्ययन गर्न, मैथुन गर्न, दान दिन, दान लिन, हवन गरी यी आठ कुराहरू गर्नु नहुने कुराको उल्लेख शातापतले गरेका छन्

पुनर्भोजनमध्वानं भाराध्ययनमैथुनम् ।

दानं प्रतिग्रहं होमं श्राद्धं भुक्त्वाद्रष्ट वर्जयेत् ।।

(शातातप, अपरार्क, पृ.५१४ ।)

योगीश्वर याज्ञवल्क्यको पनि यस्तै धारणा छ । उनका अनुसार प्रदक्षिणाका साथ पितृको सेवा गरिसकेपछि आमन्त्रित ब्राह्मणहरूलाई घरबाट केही परसम्म पुर्‍याएर उनीहरूको आज्ञाका साथ श्राद्धशेष अन्न भोजन गर्नुपर्दछ । त्यस राति श्राद्धभोजी ब्राह्मण र श्राद्धकर्ता दुवैले ब्रह्मचर्यव्रत पालन गर्नुपर्दछ भन्ने योगीश्वर याज्ञवल्क्यको मत छ

प्रदक्षिणमनुव्रज्य भुञ्जीत पितृसेवितम् ।

ब्रह्मचारी भवेत्तां तु रजनीं ब्राह्मणैः सह ।।

याज्ञवल्क्यस्मृति, १.२४९ ।

पिण्ड व्यवस्थापन :

श्राद्धमा पितृहरूलाई उद्देश्य गरेर दिइएको पिण्डहरू के गर्ने भन्ने सम्बन्धमा स्मृतिकारहरूले गाई, गोरु, बाख्रा, ब्राह्मणमध्ये कसैलाई दिन सकिन्छ भनेका छन् । मत्स्यपुराणमा पनि यही कुरा उल्लेख गरिएको छ

पिण्डांस्तु गोजविप्रेभ्यो दद्यादग्नौ जलेद्रपि वा ।

(मत्स्यपुराण, अपरार्क, पृ.५५० ।)

मनुले सन्तान नभएकी पत्नी जो पतिव्रता एव धार्मिक छन् तिनलाई मध्य (बीच) को पिण्ड खान दिएको अवस्थामा आयुष्मान्, यशस्वी, मेधावी, धनवान्, पुत्र एवं पौत्रादिले युक्त, सत्त्वगुणले सम्पन्न धार्मिक पुत्र जन्मने बताएका छन्

पतिव्रता धर्मपत्नी पितृपूजनतत्परा ।

मध्यमं तु ततः पिण्डमद्यात् सम्यक् सुताद्रर्थिनी ।।

आयुष्मन्तं सुतं सूते शयोमेधासमन्वितम् ।

धनवन्तं प्रजावन्तं सात्त्विकं धार्मिकं तथा ।।

(मनुस्मृति, ३.६२६३ ।)

यमले एउटा पिण्ड जलमा, एउटा पत्नीलाई र एउटा अग्निमा हवन गर्न निर्देश गरेका छन्

अप्स्वेकं प्लावयेत्पिण्डमेकं पत्न्यै निवेदयेत् ।

एकं च जुहुयादग्नौ त्रयः पिण्डाः प्रकीर्तिताः ।।

(यम, अपरार्क, पृ.५५१ ।)

ब्राह्मणादिलाई नदिएको अवस्थामा नदीमा पनि सेलाउन सकिन्छ, अग्निमा पनि जलाउन सकिन्छ भन्ने प्रतिपत्ति (विधान) रहेको छ । फलशून्य कर्मविशेषलाई प्रतिपत्तिको संज्ञा दिइएको छ । पिण्ड दिएको ठाउँको लिपपोत गर्ने कार्य ब्राह्मणहरू घरमा छँदै गर्नुहुँदैन मत योगीश्वर याज्ञवल्क्यको छ

पिण्डांस्तु गोब्रह्मजविप्रेभ्यो दद्यादग्नौ जलेह्मपि वा ।

प्रक्षिपेत्सत्सु विप्रेषु द्विजोच्छिष्टं न मार्जयेत् ।।

(याज्ञवल्क्यस्मृति, १.२५७ ।)

पितृहरूको तृप्ति :

श्राद्धमा जति राम्रो भोजन दियो दाताका लागि त्यति नै धेरै फल मिल्दछ, पितृहरू पनि त्यति नै बढी प्रसन्न हुन्छन् । हविष्यान्न अर्थात् तिल, जौ, चामल आदिबाट बनेको पक्वान्नदानबाट एवं कन्दमूल फल शाकादिबाट पितृहरू एक महिनासम्म तृप्त हुन्छन् । पायस दूध, दही, घ्यू आदिमा बनेका पदार्थहरूबाट पितृहरू एक वर्षसम्म तृप्त हुन्छन् भन्ने मनुको मत छ

संवत्सरं तु गव्येन पयसा पायसेन च ।

(मनुस्मृति, ३.२७१ ।)

यही परम्पराका कारण नेपाल र भारतका धेरै स्थानमा पितृश्राद्धको दिन पायस बनाएर त्यसबाट पिण्ड दिने प्रचलन रहेको छ । श्राद्धमा विभिन्न पशुपक्षीहरूको मासु दिने कुराको उल्लेख पनि कतिपय स्मृतिहरूमा गरिएको छ, त्यो युगान्तरका लागि हो । कलियुगमा श्राद्धादिमा मासुको प्रयोग निषेध गरिएको छ ।

माछा, हरिण, भेडा, पक्षी, बाख्रो, चित्रमृग तथा कृष्णमृग, रुरुमृग, बनेल, खरायो आदिको मासुबाट पितृहरू क्रमशः एकएक महिना बढी तृप्त हुन्छन् भन्ने कुरा याज्ञवल्क्यस्मृतिमा उल्लेख भएको छ

हविष्यान्नेन वै मासं पायसेन तु वत्सरम् ।

मात्स्यहारिणकौरभ्रशाकुनच्छागपार्षतैः ।।

ऐणरौरववाराहशाशैर्मांसैर्यथाक्रमम् ।

मासवृध्द्याभितृप्यन्ति दत्तैरिह पितामहाः ।।

(याज्ञवल्क्यस्मृति, १.२५८२५९ ।)

पुलस्त्यले मांसादिको व्यवस्थालाई यसरी व्यवस्थित गरेको देखिन्छ । उनका अनुसार ब्राह्मणका लागि केवल मुन्यन्न (नीवार आदि), क्षत्रिय एवं वैश्यका लागि मांसादिको व्यवस्था र शूद्रका लागि क्षौद्र, शहदको व्यवस्था गरेका छन् ।

भाद्रपद कृष्णत्रयोदशी, मघा आदिको साथै तीर्थादिमा श्राद्ध गर्नाले अनन्त फल प्राप्त हुने कुराको वर्णन विभिन्न स्मृति तथा पुराणहरूमा पाइन्छ । यही कुरा मनुले पनि उल्लेख गरेका छन्

यत्किञ्चिन्मधुना मिश्रं प्रदद्यात्तु त्रयोदशीम् ।

तदप्यक्षयमेव स्याद् वर्षासु च मघासु च ।।

(मनुस्मृति, ३.२७३ ।)

त्रयोदशी श्राद्धबाट जेठो छोराको मृत्यु हुने भएकाले त्रयोदशी श्राद्ध नगर्न बृहस्पतिले निर्देश गरेका छन्

कृष्णपक्षे त्रयोदस्यां यः श्राद्धं कुरुते नरः ।

पञ्चत्वं तस्य जानीयाज्ज्येष्ठपुत्रस्य निश्चितम् ।।

(बृहस्पति, अपरार्क, पृ.५५५ ।)

षट्त्रिंशन्मतादिमा पनि यही कुरा निर्देश गरिएको छ

त्रयोदश्यां तु वै श्राद्धं न कुर्यात्पुत्रवान्गृही ।

(षट्त्रिंशन्मत, अपरार्क, पृ.५५६ ।)

त्यस्तै गैँडाको मासु, महाशल्क (विशेष प्रकारको माछा) को मासु, मह, मुन्यन्न (निवार आदि), लौहामिष (राते) को मासु, महाशाक (कालशाक), वार्घीण (बूढो सेतो बाख्रो) को मासुबाट गया आदि तीर्थस्थलमा वर्षाकालको त्रयोदशी (भाद्रकृष्ण त्रयोदशी) एवं मघा नक्षत्रयुक्त कालमा जसले पिण्डदान गर्दछ उसका पितृहरू अनन्तकालसम्मका लागि तृप्त हुन्छन् भन्ने मत योगीश्वर याज्ञवल्क्यको छ

खड्गामिषं महाशल्कं मधु मुन्यन्नमेव वा ।

लौहामिषं महाशाकं मांसं वाघ्र्रीणसस्य च ।।

यद्ददाति गयास्थश्च सर्वमानन्त्यमश्नुते ।

तथा वर्षात्रयोदश्यां मघासु च विशेषतः ।।

(याज्ञवल्क्यस्मृति, १.२६०२६१ ।)

तर यो कर्म कलियुगमा निषेध रहेको कुरा धेरै जसो स्मृतिशास्त्रमा उल्लेख गरिएको छ ।

चतुर्दशी श्राद्ध :

कृष्णपक्षको चतुर्दशीमा केवल शस्त्रद्वारा मारिएका व्यक्तिहरूको श्राद्ध गरिन्छ । युवावस्थामा मरेका व्यक्तिको चतुर्दशीमा श्राद्ध गर्नुपर्ने कुराको उल्लेख वायुपुराणमा गरिएको छ

युवानस्तु गृहे यस्य मृतास्तेषां प्रदापयेत् ।

शस्त्रेण निहता ये वै तेषां दद्याच्चतुर्दशीम् ।।

(वायुपुराण, अपरार्क, पृ.५५९ ।)

यस्तै विष खाएर, घोडा, सर्प, ब्राह्मण आदिबाट मारिएका र शस्त्रबाट मारिएकाहरूको श्राद्ध पनि चतुर्र्दशीमा गर्नुपर्ने कुरा मरीचिले उल्लेख गरेका छन्

विषशस्त्रश्वापदाहितिर्यग्ब्राह्मणघातिनाम् ।

चतुर्दश्यां क्रियाः कार्या अन्योषां तु विगर्हिताः ।।

(मरीचि, अपरार्क, पृ.५५९ ।)

तिथिअनुसार श्राद्धफल :

श्राद्धकर्ताले जुनजुन कामनाले जुनजुन तिथिमा श्राद्ध गर्दछ त्यसले सोही अनुसारको फल पनि प्राप्त गर्दछ भन्ने कुरा शास्त्रहरूमा गरिएको छ । कृष्णपक्षको चतुर्दशीलाई छोडेर अन्य प्रतिपदादि तिथिहरूमा जसले श्राद्ध गर्दछ उसले क्रमशः सुन्दर कन्या, श्रेष्ठ ज्वाइँ, राम्रा पशु तथा राम्रा सन्तान, द्यूतादिमा विजय, कृषि एवं व्यापारादिमा राम्रो फाइदा, द्विशफ एवं एक शफ भएका पशुहरूको वृद्धि, तेजस्वी पुत्रपौत्रादि, सुवर्ण, रजत, काँसो, तामो, आदि धातुहरू प्राप्त हुनुको साथै आफ्नो जातिमा श्रेष्ठता प्राप्त गर्दछ ।

यसैगरी श्राद्धकर्ताका अन्य जो कामनाहरू छन् ती सबै पूर्ण हुन्छन् । कृष्णपक्षको चतुर्दशीमा शस्त्रले मारिएका व्यक्तिहरूको श्राद्ध गरिन्छ भन्ने कुराको उल्लेख पनि योगीश्वर याज्ञवल्क्यले गरेका छन्

कन्यां कन्यावेदिनश्च पशून्वै सत्सुतानपि ।

द्यूतं कृषिं वणिज्यां च द्विशफैकशफांस्तथा ।।

ब्रह्मवर्चस्विनः पुत्रान्स्वर्णरूप्ये सकुप्यके ।

ज्ञातिश्रैष्ठ्यं सर्वकामानाप्नोति श्राद्धदः सदा ।।

प्रतिपत्प्रभृतिष्वेकां वर्जयित्वा चतुर्दशीम् ।

शस्त्रेण तु हता ये वै तेभ्यस्तत्र प्रदीयते ।।

(याज्ञवल्क्यस्मृति, १.२६२२६४

नक्षत्र अनुसारको श्राद्धफल :

जुन मनुष्यले विधिपूर्वक आस्तिक बुद्धिले काम, क्रोध, लोभ, मोह तथा मात्सर्यादि शरीरभित्र रहने आन्तरिक शत्रुहरूलाई त्यागेर कृतिकादेखि लिएर भरणी नक्षत्रसम्म श्राद्ध गर्दछ उसले सोही अनुसारको फल प्राप्त गर्दछ ।

नक्षत्र विशेषमा विशेष फल बताइएको छ । सामान्यतया श्राद्धमा बाह्य एवं आभ्यान्तर गरी दुबै किसिमको शुद्धता चाहिन्छ । पितृहरूले थोरै पनि अशुद्धता स्वीकार गर्दैनन् । कृतिका नक्षत्रदेखि लिएर भरणी नक्षत्रसम्म जुन आस्तिकले मद एवं मत्सर छोडेर श्राद्ध गर्दछ उसले स्वर्ग, सन्तान, ओज, सौर्य, क्षेत्र, बल, पुत्र, श्रेष्ठत्व, सौभाग्य, समृद्धि, मुख्यता, शुभ, राज्य, वाणिज्य (व्यापार), प्रभुता, आरोग्य, यश, शोकनाश (शोकाभाव), परमगति, धन, विद्या, वैद्यिकविद्यामा सफलता, कुप्यसुन चाँदीका अतिरिक्त धातु तामा आदि गाई, बाख्रा, भेडा, घोडा, आयुष्य आदि सबै पदार्थहरू प्राप्त गर्दछ भन्ने मत योगीश्वर याज्ञवल्क्यको छ

स्वर्गं ह्यपत्यमोजश्च शौर्यं क्षेत्रं बलं तथा ।

पुत्रं श्रेष्ठ्यं च सौभाग्यं समृद्धिं मुख्यतां शुभाम् ।।

प्रवृत्तचक्रतां चैव वाणिज्यप्रभृतीनपि ।

अरोगित्वं यशो वीतशोकतां परमां गतिम् ।।

धनं वेदान्भिषक्सिद्धिं कुप्यं गा अप्यजाविकम् ।

अश्वानायुश्च विधिवद्यः श्राद्धं संपयच्छति ।।

कृतिकादिभरण्यन्तं स कामानाप्नुयादिमान् ।

आस्तिकः श्रद्दधानश्च व्यपेतमदमत्सरः ।।

(याज्ञवल्क्यस्मृति, १. २६५२६८ ।)

पितृहरूका अधिष्ठातृ देवता वसु, रुद्र, आदित्य हुन् । पितादि वसु भनिन्छन्, पितामहादि रुद्र भनिन्छन् र प्रपितामहादि आदित्य भनिन्छन् भन्ने कुरा मनुले पनि उल्लेख गरेका छन्

वसून्वदन्ति तु पितृन्न्रुद्रांश्चैव पितामहान् ।

प्रपितामहांस्तथाद्रद्रदित्याश्श्रुतिरेषा सनातनी ।।

(मनुस्मृति, ३.२८४ ।)

श्राद्धमा वसु, रुद्र र आदित्यका साथ पितृहरूको नामोच्चारण गरेर श्राद्धीय वस्तु दिने गरिन्छ । श्राद्धमा पितृहरूको नाम मात्र उच्चारण हुँदैन, ती शब्दहरूको माध्यमबाट उनीहरूको आत्माको पनि उच्चारण हुन्छ ।

यसरी शरीराविशिष्ट आत्माको नाम लिएर दानादि कर्म गरिन्छ । यसरी अधिष्ठातृ देवता सहित देवदत्तादि पितृ शब्दले उच्चारित हुन्छन् । यसरी आफ्ना मृत पितृहरूका साथ पितृहरूका अधिष्ठातृ देवता वसु, रुद्र र आदित्यको उच्चारण गरिन्छ जसले ती मृत पितृहरूलाई पनि तृप्त गर्दछन् र श्राद्धकर्तालाई पनि उल्लेखित श्राद्धको फलद्वारा पनि सम्पन्न गर्दछन् ।

वसु, रुद्र आदित्यादि पितृहरू श्राद्धका देवता हुन्, यिनीहरू श्राद्धमा तृप्त भएको अवस्थामा मनुष्यलाई चाहेको वरदान दिन्छन् । पितृहरू तृप्त भएको अवस्थामा पितृहरूले मनुष्यलाई आयु, प्रजा, धन, विद्या, स्वर्ग, मोक्ष, सुख एवं राज्य प्रदान गर्दछन् भन्ने कमत योगीश्वर याज्ञवल्क्यको छ

वसुरुद्रादितिसुताः पितरः श्राद्धदेवताः ।

प्रीणयन्ति मनुष्याणां पितृन्श्राद्धेन तर्पिताः ।।

आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च ।

पयच्छन्ति तथा राज्यं प्रीता नृणां पितामहाः ।।

(याज्ञवल्क्यस्मृति, १. २६९२७० ।)

वैदिक सनातन मान्यताअनुसार प्रत्येक दिन श्राद्ध तथा तर्पण गरेर आफ्ना पितृलाई तृप्त गर्नु पर्दछ तथापि आश्विन कृष्णपक्ष श्राद्ध पक्षको रूपमा लिइन्छ । यस पक्षमा आफ्ना दिवङ्गत पितृहरूलाई उद्देश्य गरेर आफ्नो क्षमताअनुसार स्मरण गर्ने परम्परा छ । आफ्ना पितृहरूलाई उद्देश्य गरेर जहिले पनि अन्नपानादि दिन सकिन्छ भन्ने कुरा उपर्युक्त विश्लेषणबाट स्पष्ट हुन्छ ।

आश्विन कृष्णपक्षलाई विशेष गरेर पितृपक्षको रूपमा लिइने धार्मिक मान्यताअनुसार जुन तिथिमा आफ्ना पिताको मृत्यु भएको हो सोही तिथिमा मघालाई छाडेर श्राद्ध गर्ने सनातन परम्परा छ । सन्तान हुने व्यक्तिले मघा श्राद्ध गर्नुहुँदैन ।

पितृहरू प्रसन्न रहेको अवस्थामा श्राद्धकर्तालाई मनोवाञ्छित फल प्राप्त हुने शास्त्रीय मान्यताका आधारमा यो परम्परा परापूर्वकालदेखि जीवित छ । श्राद्ध आफ्नो क्षमताअनुसार गर्ने कार्य हो । ऋण खोजेर श्राद्ध गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यता छ । आफ्नो घरमा जे जस्तो वस्तु प्राप्त हुन्छ त्यही नै पितृलाई समर्पण गर्नु नै श्राद्ध हो । अस्तु ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : ०४ बजे

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित (फोटोफिचर )

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना

पाकिस्तानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

वाशुक – बलुचिस्तानको वाशुकमा एक ट्रेलर र गाडीबीचको टक्कर हुँदा

महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा

मोरङ – नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय

९६ गड्डीको बहस : भाउजूको कथा कसले लेख्‍ने ?

काठमाडौं– भ्रष्टाचारकै कारण नेपालको विकास पछाडि परेको हो भन्ने विषयमा

सुर्खेतको इतिवृत–२’ विमोचित

कर्णाली – पत्रकार सुशीलराज शर्माद्वारा लिखित ‘सुर्खेतको इतिवृत्त–२’ विमोचन गरिएको