काभ्रेमा नेकपा ओली समूहका नेताको गाडीमा तोडफोड, कार्यक्रम नगर्न धम्की « Khabarhub

काभ्रेमा नेकपा ओली समूहका नेताको गाडीमा तोडफोड, कार्यक्रम नगर्न धम्की


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी आइतबार राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ ।

गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ पुगेका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो ।

करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्ने क्रममा राति १०:३० बजे गाडी तोडफोड गर्न शुरु गरेको थियो । गौतमका अनुसार चालकले पार्किङ गर्न नपाउँदै गाडी छोडेर भागेका थिए ।

‘पेट्रोल झिक आगो लगाउनुपर्छ भन्दै सोही गाडीबाट पेट्रोल निकाल्ने प्रयास गर्दा नेता र स्थानीयवासी प्रतिकारमा उत्रन थालेपछि उक्त समूह भागेको थियो’, गौतमले भने । केन्द्रीय सदस्यहरू आइतबार चौँरीदेउरालीकै धुसेनीमा कार्यक्रम गरेर नेता गौतमको घरमा बास बसेका थिए ।

उक्त घरमा नेकपाका केन्द्रीय सदस्यत्रय चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम तथा जिल्ला नेता लेखराज गौतम, इन्द्रबहादुर तामाङलगायतको १६ जनाको टोली बास बसेको थियो ।

आक्रमणकारी समूहले अर्को स्थान बिरुवामा समेत नेता बास बसेको तिलक गौतमको घरअघि राति पटकपटक मोटरसाइकल घार्रघुर्र पारेर धम्कीको आभाष दिलाएको नेता गौतमले बताए । उनका अनुसार चौँरीदेउरालीमा कुनै पनि कार्यक्रम नगर्न दाहाल–नेपाल समूहका नेताले धम्की दिइरहेका थिए ।

‘हाम्रो रगत बगेको ठाउँमा अरु कसैले कार्यक्रम गर्न पाउँदैन’ भन्दै धम्कीपूर्ण भाषामा दाहाल–नेपाल समूहका स्थानीय जनप्रतिनिधि एवं नेताले आफूहरुलाई धम्क्याउँदै आएको नेता गौतमले बताए ।

उनका अनुसार गाउँपालिका अध्यक्ष दीननाथ गौतम र स्थानीय नेता मुकुन्द गौतमले जिल्ला नेता इन्द्रबहादुर तामाङलाई समेत सोही भाषामा पटकपटक धम्की दिँदै आएका छन् ।

पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले आक्रमणकारीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

‘छापामार शैलीमा आक्रमण भएको छ, जनमत घटेपछि गरिएको यस्तो जङ्गली हर्कत सफल हुने छैन, विरोध गर्न पाइन्छ तर विरोधका नाममा आक्रमण हैन’, बाँस्कोटाले भने । उनले सामाजिक सञ्जालमार्फतसमेत नेकपाकै अर्को समूहलाई ‘नाङ्लो नठटाउन भन्छु, हामी सामना गर्छौँ भाग्दैनौँ’ भनेका छन् ।

कोशीपूर्वस्थित उक्त गाउँपालिकामा नेकपाले सङ्गठन विस्तार गरिरहेको अवस्थामा कार्यक्रम नगर्न केही हप्ता अघिदेखिनै धम्की आइरहेको चौँरीदेउराली गाउँपालिका निवासी एवं युवा सङ्घका जिल्ला संयोजक विक्रम चौलागाईंले बताए ।

उनका अनुसार गाउँपालिकाको कात्तिकेदेउराली र विर्तादेउरालीमा कार्यक्रम नगर्न र गरे आक्रमण हुने धम्की दिएका थिए । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पवनकुमार झाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।- रासस ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ९ : ४९ बजे

पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन देशभर खटिने

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धपछिको प्रक्रिया व्यवस्थापन

निर्वाचन बहिष्कार गरेका ६ कम्युनिस्ट दल सडकमा (तस्बिरहरू)

काठमाडौं – स्वाधीन जनसरकार र जनसंविधानको माग राख्दै आज उपत्यकामा

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न