काठमाडौँ– नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको आयात तथा खरिद–बिक्री सुचारु गर्न माग गरेको छ । सुनचाँदी रत्न तथा आभूषण व्यवसाय सुचारु भएको वर्तमान अवस्थामा बैंकबाट खरिद–बिक्री हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्नुपर्ने महासंघको माग छ ।
महासंघले सोको लागि सम्बन्धित निकायमा निर्देशन हुनका साथै साविकमा दैनिक २० के.जी. सुन खरिद–बिक्री हुँदै आएकोमा लामो समय पश्चात बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाड–पर्वहरुको समय पनि आउने भएकोले विगतमा खरिद–बिक्री नभएको सुनको परिमाण समेतलाई मनन् गर्दै दैनिक ३० के.जी. सुन खरिद–बिक्रीको अविलम्ब व्यवस्था गर्न नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको हो ।
कोभिड–१९ को महामारी नियन्त्रणका लागि बैशाख १६ गते देखि निषेधाज्ञा घोषणा गरिए पश्चात व्यापार, व्यवसाय लगायतका क्षेत्रहरु बन्द भएकोले वाणिज्य बैंकहरुले खरिद–बिक्री गर्ने सुनको आपूर्ति पनि बन्द भएको थियो ।
असार ८ गतेदेखि विभिन्न वस्तु र सेवालाई विभिन्न श्रेणीमा वर्गिकरण गरी दैनिक तालिका अन्तर्गत तोकिएको बार र समयमा व्यापार, व्यवसाय चालू गरिएकोले सोही तालिका अनुरुप सुन, चाँदी गहना आदि आभूषण क्षेत्र पनि चालू भएपछि महासंघले सो माग गरेको हो ।













प्रतिक्रिया