अधिवेशन गर्न खोज्दा सामाजिक संस्थाका पदाधिकारी समातिए ! | Khabarhub Khabarhub

अधिवेशन गर्न खोज्दा सामाजिक संस्थाका पदाधिकारी समातिए !



नवलपुर– नवलपरासीपूर्व हुप्सेकोट गाउँपालिकास्थित खानेपानी संस्थाले विहीबार साधारणसभा तथा अधिवेशन गर्ने तयारी गर्दै थियो ।

सबै उपभोक्ताकै राय सल्लाहअनुसार देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेखबहादुर पुलामीमगर र सचिव भिमनारायण रेग्मीले तयारी थाले ।

जिल्ला प्रशासन कार्यालयले भने अगामी साउन २१ गतेसम्म निषेधाज्ञा जारी गरेको हुँदा उनीहरुले प्रशासनसँग अनुमति पनि मागे । तर प्रशासनले अनुमति दिएन । प्रशासनले अनुमति नदिएपछि उनीहरु हच्किए । सबै राजनीतिक दलको प्रतिनिधित्व हुने खानेपानी संस्थामा सबैको राय अनुसार नै उनीहरुले स्वास्थ्य सतर्कता अपनाएर अधिवेशन गर्ने तयारी गरे ।

पूर्ववत कार्यक्रमअनुसार नै विहीबार संस्थाको अधिवेशन गर्ने तयारी गर्दै गर्दा जिल्ला प्रहरी कार्यालयको टोली कार्यक्रमस्थल पुग्यो । स्थानीयले नै दिएको सुराकीका आधारमा प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा प्रहरीले संस्थाका अध्यक्ष र सचिव गरी दुई पदाधिकारीलाई पक्राउ गर्यो ।

आफूले यसअघि नै कार्यक्रम नगर्न लिखित निर्देशन दिएपनि अटेरी गरेका कारण नियन्त्रणमा लिनुपरेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् । स्थानीयले दिएको सूचनाकै आधारमा आफूले प्रहरी टोली पठाएको उनले बताइन् ।

बिहिबारलाई तोकिएको संस्थाको साधारण सभा तथा अधिवेशन स्थगित गर्न जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गरेको पत्रचारको अवज्ञा गरेको प्रशासनकको भनाइ छ ।

तीन हजार भन्दा बढी उपभोक्ता रहेको खानेपानी संस्थाको साधारणसभामा हुने भिडको कारण कोरोना संक्रमण जोखिम बढ्न सक्ने भएकाले रोक्न निर्देशन दिएको प्रजिअ पंगेनीले बताइन् । उनले राजनीतिक दलका कार्यक्रमहरु हुनुलाई भने स्वभाविक भएको प्रतिक्रिया दिइन् ।

विहान पक्राउ गरिएका अध्यक्ष पुलामी र सचिव रेग्मीद्वयलाई दिनभर जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखेर बेलुका छाडिएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केही दिनअघि मात्रै कावासोतीमा पत्रकार सम्मेलन गर्नुका साथै ५ सय भन्दा बढी कार्यकर्ता भेटघाट कार्यक्रम गरेका थिए । उनले गैडाकोटमा झण्डै २ सय जनालाई पार्टी प्रवेश नै गराएका थिए । दुई दिने नवलपुर भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेलले दर्जनौं कार्यक्रममा सहभागी भएका थिए ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले साउन २१ गतेसम्म निषेधाज्ञा जारी राखे पनि निषेधाज्ञा खुकुलो पारिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ८ : १२ बजे

सुरु भयो ‘कबड्डी ५’को सुटिङ, यसपटक विपीन र सिर्जनाको प्रवेश

काठमाडौं – हिट फिल्म ‘कबड्डी’को पाँचौ श्रृङ्खला ‘कबड्डी ५ :

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार 

काठमाडौं -कारागारबाट फरार भएकामध्ये एक सय १३ जना कैदीबन्दी आफैँ

हेटौँडा उपमहानगरपालिकाद्वारा प्लाष्टिकको फूल बिक्री वितरण तथा प्रयोगमा रोक

बागमती– मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले प्लास्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा

शिविरबाट एक हजार ३७५ लाभान्वित

गलकोट– जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

पानीको बोतल र जारको नयाँ मूल्य निर्धारण, बढी लिए कारबाही हुने

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको