‘होटेल रुवान्डा’ का वास्तविक हिरोको कारुणिक कथा  | Khabarhub Khabarhub

 ‘होटेल रुवान्डा’ का वास्तविक हिरोको कारुणिक कथा 


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओस्कार अवार्ड विजेता ‘होटेल रुवान्डा’ पउल रुसेसवागिनाको जीवनमा आधारित फिल्म थियो । फिल्मका ती वास्तविक पात्र रुसेसवागिनाले रुवान्डामा भएको नरसंहारको समयमा धेरैको ज्यान जोगाएका थिए । उनी फिल्ममा होइन, वास्तविक संसारमा हिरो अर्थात नायक थिए । तिनै रुसेसवागिनालाई अहिले आतङ्ककारीको अभियोगमा २५ वर्षका कैद तोकिएको छ ।

एक वर्षअघि पक्राउ परेका रुसेसवागिना जेलमै थिए ।

दुई दशकअघि रुवान्डामा भएको नरसंहारको समयमा होटेलका म्यानेजर रहेका उनले हजार जनाभन्दा बढीको ज्यान बचाएका थिए । सन् १९९४ को अप्रिलमा हुतु समुदायका अतिवादीले अल्पसंख्यक ८० हजार तुत्सी समुदायमाथि नरसंहार मच्चाउँदा रुसेसवागिना नायकको रूपमा देखिएका हुन् ।

हुतु समुदायका रुसेसवागिनाले तुत्सीसँग विवाह गरेका थिए । उनी एक सामान्य व्यक्ति थिए । होटेल ‘मिल्ने कालिन्स’ मा शरणार्थीलाई आक्रमण गर्न आउनेलाई मनाउन सफल भएका कारण सर्वत्र उनको प्रशंसा भएको थियो । माथिल्लो संयन्त्रसँग सम्पर्क रहेकाले उनले समन्वय गर्दै बजार आवतजावत गर्ने वातावरण समेत मिलाएका थिए ।

होटेलमा सयौँ आक्रमणकारीहरू बन्दुक बोकेर आएपछि उनले आफूसहित त्यहाँ रहेका तुत्सी समुदायको ज्यान जाने अनुमान गरेका थिए । प्रयासस्वरूप माथिल्ला एक अधिकारीसँग फोन गरेर अनुनय विनय गर्दा समस्या समाधान भएको थियो । उनले आफ्नो पुस्तकमा लेखेका छन्– आखिर बोली नै सबैभन्दा ठूलो शक्ति रहेछ ।

सन् १९९६ मा सत्ता परिवर्तन भएपछि उनी नायकबाट एकाएक ‘दुस्मन’ बनेका थिए । पछि उनी ‘रुवान्डा मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमआरसीडी)’ को नेतृत्व तहमा थिए । यसको सैन्य सङ्गठन ‘नेसनल लिबरेसन फ्रन्ट (एफएलएन)’ ले सन् २०१८ मा रुवान्डामा आक्रमण गरेको अभियोग थियो ।

रुवान्डाका राष्ट्रपति पाउल कागामेले विपक्षीमाथि कठोर व्यवहार गर्ने गरेका छन् । कागामे राष्ट्रपति भएपछि उनका धेरै आलोचकहरू मारिए या मार्ने प्रयास भयो । रुसेसवागिना भने लामो समय बेल्जियममा बसे । उनले बेल्जियममा ट्याक्सी चलाए । उनको कथा दशकसम्म पनि धेरैलाई थाहा भएन । उनी गुमनाम थिए ।

सञ्चारकर्मी फिलिप गुर्भोटिकको पुस्तकमा रुवान्डाको उक्त प्रसङ्ग लेखिएको थियो । पछि त्यही प्रसङ्गमा हलिउडमा फिल्म बन्यो । सन् २००५ मा उक्त फिल्म प्रदर्शन भएपछि पर्दाका नायक डान चिडलभन्दा यसका वास्तविक पात्र रुसेसवागिना प्रख्यात भए । उनीप्रति सबैको चासो जाग्न थाल्यो । अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले अमेरिकाले दिने प्रतिष्ठित ‘प्रसिडेन्सल मेडल अफ फ्रिडम’ अवार्ड प्रदान गरे ।

‘होटेल रुवान्डा’ रुवान्डाको राजधानी किगालीको रङ्गशालामा १० हजार जनामाझ प्रिमिय प्रदर्शन भएको थियो । सो कार्यक्रममा रुसेसवागिना उपस्थित हुने धेरेको अपेक्षा थियो तर भएनन् । धेरैले उनी अस्वस्थ रहेको अनुमान गरे । उनी त्यस बेला तुत्सी नेतृत्वको सरकारबाट हुतुमाथि आक्रमण भइरहेको बताउँथे । सन् २००९ मा आफू असुरक्षित रहेको तथा डकुमेन्ट पनि अरूले खोस्न खोजेको जनाउँदै उनी ब्रसेल्स छाडेर अमेरिका पुगे ।

सन् २००६ मा उनको पुस्तक ‘अर्डिनरी म्यान’ प्रकाशित भयो । पुस्तकमा रुसेसवागिनाले आफ्नो बाल्यकालको वर्णन गरेका छन् । हुतु बाबु र तुत्सी आमाका नौ सन्तानमध्येका एक रुसेसवागिनाको बाल्यकाल कठिनाइमा बितेको थियो । उनले आफ्नो पुस्तकमा कागामेलाई मुठीभरका तुत्सीबाट चल्ने बलियो अफ्रिकी राष्ट्रपतिको रूपमा वर्णन गरेका छन् ।

उनको बुझाइमा कागामे तानाशाह र वार्तामार्फत समस्या समाधान गर्न नचाहने व्यक्ति थिए । यसरी राष्ट्रपति कागामेसँग रुसेसवागिनाको विवाद बढेपछि राष्ट्रपतिका समर्थक उनीप्रति आक्रामक हुन थाले । सत्ताविरोधीका माझ भने उनी लोकप्रिय हुँदै गए । उनी हुतु समुदायका सामु सच्चा मानवअधिकारवादीको रूपमा चिनिए ।

रुसेसवागिनाले सन् २००७ मा कामागेका दलका केही सदस्य नरसंहारमा संलग्न भएको भन्दै राष्ट्र संघको सहयोगमा रहेको युद्ध अपराध अदालतले मुद्दा चलाउनुपर्ने आवाज उठाएका थिए ।

सन् २०१४ मा मिचिगनमा एक भाषणको क्रममा उनले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेका हजारौँ शरणार्थीमाथि रुवान्डा सरकारको इशारामा आक्रमण भएको र त्यसमा सयौँको ज्यान गएको बताए । यो भाषणपछि उनी सरकारको थप निशानामा परे ।

यसअघि नै सन् २०१० मा राष्ट्र संघले रुवान्डाको यथार्थबारे रिपोर्ट तयार गरेको थियो तर रुवान्डा सरकारले भ्रमपूर्ण भन्दै अस्वीकार गरेको थियो ।

सरकारलाई टाउको दुखाइ भइरहेका रुसेसवागिनाको एफएलएनसँगको सम्पर्क कागामे सरकारका लागि उनलाई गिरफ्तार गर्ने मुख्य आधार बन्यो । सन् २०२० अगस्ट ३१ मा अनेक आरोपसहित पक्राउ गरिए ।

रुवान्डामा हत्या र अपहरण लगायतको सरकारी अभियोग उनीमाथि थियो । रुवान्डा र बुरुन्डीको सीमामा सन् २०१८ मा भएको हमलामा दुई बच्चासहित नौ जानको ज्यान गएको थियो । उक्त घटनामा पनि उनी मुछिएका थिए ।

रुसेसवागिनाका परिवारजनका अनुसार उनलाई दुबईमा अपहरण गरेर विमानमा राखेर रुवान्डा लगिएको हो । सत्ता पक्ष भने यसमा सहमत छैन । सत्ता पक्षका वकिलहरूले अपहरण र हत्यामा संलग्न भएर भागेर बुरुन्डी जान लागेको आरोप लगाएका थिए ।

रुसेसवागिनाका परिवारजनले उनको न्यूनतम मानवअधिकार हनन भएको र अन्तर्राष्ट्रिय समुदायले पनि यसमा चासो देखाउनुपर्ने भन्दै आवाज उठाएका छन् । अदालतमा एक पटक एफएलएनको प्रसङ्ग उठ्दा उनले आफ्नो सम्पर्क रहेको कुरा नकारेनन् । उनले अदालतमा एफएलएन आतङ्कवादी समूह नभई सैन्य सङ्गठन भएको जिकिर गरे । साथमा उनले सो समूहले आपराधिक काम गरेको भए पनि आफ्नो सम्बन्ध कूटनीतिक मात्र रहेको र कहिले पनि नागरिकलाई आतङ्कित तुल्याउने सल्लाह नदिएको बताएका छन् ।

उनी हताश भएका थिए । कागामेको शासनमा अदालतले सही निर्णय गर्छ भन्ने उनलाई पत्यार थिएन । उनी सुनवाइमा उपस्थित हुन छाडेका थिए ।

उनकी छोरी क्यारिन क्यानिम्बा आफ्ना बाबु राजनीतिक बन्दी रहेको तथा अहिले केन्यामा कागामे एकमात्र न्यायाधीश रहेको भन्दै आक्रोश प्रकट गरेकी थिइन् । इतिहासको कुनै कालखण्डमा आफ्नो वाक क्षमताले हजारौँको ज्यान जोगाएका रुसेसवागिनाको क्षमता आफ्ना लागि भने उपयोगी हुन सकेन ।

सन् १९९४ को युद्धका धेरै बाछिटा छन् । सय दिन चलेको युद्धबारे अहिले पढ्दा पनि आङ सिरिङ्ग हुन्छ ।

हजारौँ महिला बलात्कृत भएको र बाबुविहीन सयौँ बच्चा जन्मिएको अनुमान छ । यिनै मध्येकी एक महिला आफ्नो पीडा सुनाउँछिन्, ‘छोराले कुनै दिन मेरो बाबु को हो भनेर सोध्दा म कसरी भनौँ कि मलाई बलात्कार गर्ने सयौँमध्येका एक हुन् भनेर ।’

रुवान्डामा हुतु समुदायका बासिन्दा लगभग ८५ प्रतिशत छन् । अल्पसंख्ययक तुत्सी समुदायको शासन सन् १९५९ देखि थियो । हुुतुले तुत्सी राजतन्त्रमात्र फ्याँकेनन् तुत्सी समुदायका हजारौँ मानिस छिमेकी युगान्डा र अन्यत्र शरण लिन बाध्य पारिए । तुत्सीले ‘रुवान्डा प्याट्रियोटिक फ्रन्ट (आरपीएफ)’ स्थापना गरेपछि सन् १९९० देखि १९९४ मा युद्ध विराम नभएसम्म गृहयुद्धकै अवस्था रह्यो ।

सन् १९९४ अप्रिल ६ मा राष्ट्रपति जुभेनेल ह्याबरिमाना र उनका समकक्षी बुरुन्डीका राष्ट्रपति साइप्रेन न्याटामिरामा माथि गोली प्रहार भयो । यी दुवै हुतु थिए । हुतुहरूले यसको आरोप आरपीएफलाई लगाए । आरपीएफले भने हुतुले विमानमा आक्रमण गरेको र फेरि गृहयुद्ध गर्न गर्न खोजेको आरोप लगाएको थियो ।

यस पछि सयौँ मारिए । सबैभन्दा बढी हिंसाको सिकार तुत्सी महिला भए, धेरै महिला यौन दासी बनाइए ।

बेल्जियम र राष्ट्र संघको पनि रुवान्डामा चासो रहेको थियो । यसको एक वर्षपछि सोमालियामा अमेरिकी सैनिकको हत्या भयो । अमेरिकाले अर्को अफ्रिकी देशमा चासो नलिने नीति लियो । बेल्जियमका १० जना सैनिक रुवान्डामा मारिएपछि बेल्जियम र राष्ट्र संघले पनि रुवान्डाबाट हात झिके । हुतु सरकारको सहयोगी मानिएको फ्रान्सले त्यहाँ रहेका आफ्ना नागरिकको उद्धार गरेपछि चासो दिन छाड्यो ।

युगान्डाको सहयोग पाएको आरपीएफले सन् १९९४ जुलाई ४ सम्म देशको धेरै भाग कब्जामा लिएको थियो । जुलाई ४ मा राजधानी किगाली कब्जामा लिएपछि धेरै हुतुहरू कङ्गो, तान्जानिया र बुरुन्डीमा शरणका लागि गए ।

यसपछि युद्ध जारी रहेको छ । हुतु सैन्य र कङ्गोका सेनासँग तुत्सी सरकारको भिडन्त अहिले पनि छ । रुवान्डाकै सहयोगमा कङ्गोमा विद्रोही समूहले सत्ता हत्याइसकेको छ । अहिले रुवान्डामा सत्तापक्षले प्राविधिक क्षेत्रमा विकास गर्ने तथा आर्थिक वृद्धि गर्ने कुरा गररेको छ । विपक्षीहरू भने मान्न तयार छैनन् । अझै युद्धको झल्को देखिन्छ ।

बितेको २५ वर्षमा युद्ध, हिंसा, बलात्कार र सत्ता परिवर्तनका समाचार प्रकाशमा आए । अहिले सत्तामा रहेको तुत्सी समुदायका धेरै मानिसको ज्यान जोगाएर नायक ठहरिएका ६७ वर्षीय रुसेसवागिनालाई २५ वर्ष कैद तोकिएको छ । शायद उनले अब बाहिर निस्कने आशा गर्नै त्यागेका छन् ।

‘होटेल रुवान्डा’ सिने क्षेत्रको उत्कृष्ट चलचित्र मानिएको छ । यसका रिलका नायकको बाँकी जीवन सम्भवतः जेलमै बित्नेछ । –एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ९ : ५६ बजे

अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा

दैलेख – जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६

हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने

काठमाडौं – वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट

आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान

काठमाडौं– सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को एघारौं पूर्ण

एक महिनामा भित्रिए १ लाख ७२ हजार स्मार्टफोन

काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को महिनामा नेपालमा ८

एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खर्बपति व्यवसायी तथा सामाजिक