अपराध

२२ तोला सुन र १८ लाख नगदसहित दुई जना पक्राउ

By खबरहब

October 22, 2021

सुनसरी- सुनसरीको धरानबाट स्रोत नखुलेको २२ तोला सुनको बाला र १८ लाख नगदसहित दुई जना पक्राउ परेका छन् ।

रत्न रोडबाट धरान १५ का रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका-२ का चन्द्रप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । रामबहादुरका साथबाट सुन र चन्द्र प्रसादका साथबाट नगद १८ लाख फेला पारेको धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

सुनको बालाको तौल २२ तोला २ आना २ लाल छ । नगद १८ लाख भने जेब्रा झोला भित्र रातो ब्यागमा फेला परेको थियो । बरामद भएको सुनको ४ वटा बाला ५० ग्रामको र एउटा बाला भने ५८ ग्राम ३२० मिलिग्राम रहेको पाइएको छ ।

दुबै जना रत्न रोडस्थित न्यू सूर्य लक्ष्मी स्टोरमा सुन बिक्री गर्न खोजेर निस्किएका थिए । सोही क्रममा उक्त पसल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । डिएसपी कुँवरले भने ‘हामीले कहाँबाट आयो यो सुन र नगद भन्यौँ उनीहरूले कुनै खरिद गरेको बिल तथा प्रमाण देखाउन नसकेपछि पक्राउ गरेका हौँ । के हो भन्ने थप अनुसन्धानबाट खुल्ने छ ।’

-न्युज कारखानाबाट