हनी ट्र्याप अर्थात् सुन्दरताको आडमा ठगी धन्दा | Khabarhub Khabarhub

हनी ट्र्याप अर्थात् सुन्दरताको आडमा ठगी धन्दा



काठमाडौँ- युवतीहरूले सामाजिक सञ्जाललगायत माध्यमबाट सम्बन्ध बनाएर युवकहरूलाई ठग्ने घटना बढ्न थालेको छ । प्रहरीले ‘हनी ट्र्याप’ भन्ने गरेको यस्तो ठगीका केही घटना हेरौँ ।

घटना एक- केही दिनअघि दुई युवतीले कपन र इमाडोल बस्ने दुई पुरुषलाई चावहिलस्थित एक गेस्ट हाउसमा बोलाए । विभिन्न माध्यमबाट नजिकिएका ती पुरुष पनि उनीहरूलाई भेट्न गेस्ट हाउस पुगे ।

युवतीहरूले उनीसँग बसेको भिडियो गोप्यरूपमा खिचे ।

विडम्बना ! एकदुई दिनमै ती युवतीले म्यासेन्जरमा एउटा भिडियो पठाए । भिडियो हेरर युवकहरू छाँगाबाट खसे । ती युवतीले भेटको भिडियो गोप्यरूपमा खिचाएका रहेछन् ।

त्यही भिडियो देखाएर धम्क्याउँदै युवतीहरूले पटकपटक गरी ती युवकसँग आठ लाख रुपैयाँ असुल गरे ।

यति बुझाउँदा पनि उम्किने छाँट नदेखिएपछि दुवै युवकले प्रहरीको महानगरीय अपराध महाशाखामा उजुरी गरे । प्रहरी टोलीले दुवै युवतीसहित तीनजनालाई यही आइतबार पक्राउ गर्‍यो ।

महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार जाजरकोट घर भई काठमाडौँ गोंगबु बस्ने सङ्गीता शाह, सिन्धुपाल्चोक घर भई गोंगबु बस्ने सुस्मिता गिरी र नुवाकोट घर भई स्वयम्भू बस्ने २१ वर्षीय शंकर खनाल पक्राउ परेका छन् ।

घटना दुई- केही दिनअघि कोटेश्वर बस्ने एक पुरुषलाई चिनेजानेकै एक महिलाले आफू सुन्धारास्थित एउटा होटलमा बसेको समयमा सबै पैसा हराएकोले सहयोग चाहियो भन्दै होटलमा बोलाइन् ।

पुरुष हतार गर्दै होटलमा पुगे । पुरुष पुगेपछि ती महिलाले शारीरिक रूपमा नजिकिने अनौठो गतिविधि गरिन् । अर्की युवतीले भिडियो खिच्न थालिन् । त्यहाँबाट ती पुरुष उम्किए तर उनीहरूले म्यासेन्जरमा भिडियो पठाएर धम्क्याउँदै ब्ल्याकमेलिङ सुरु गरे ।

पुरुषले तीन लाख रुपैयाँ दिए । ती महिलाले थप आठ लाख रुपैयाँ मागेपछि पुरुष उजुरी लिएर प्रहरीमा पुगे । महानगरीय अपराध महाशाखाको टोलीले ती दुवै महिलालाई गत बिहीबार पक्राउ गर्‍यो । महाशाखाका प्रवक्ता एसपी कोइरालाका अनुसार पक्राउ पर्नेमा सुर्खेत घर भई घट्टेकुलो बस्ने लालसरी शाही र कल्पना हमाल छन् ।

घटना तीन- २०७५ कात्तिकमा महानगरीय अपराध महाशाखाले एक व्यवसायीको अन्तरङ्ग भिडियो बनाएर ‘ब्ल्याकमेलिङ’ गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा गोरखाको पालुङटारका ३१ वर्षीय वद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङकी २५ वर्षीया इन्दिरा उप्रेती थिए ।

सुन्दरी युवती इन्दिराले ललितपुरको कुपण्डोल क्षेत्रमा बस्ने एक जना व्यवसायीलाई ‘निशा अधिकारी’ नामबाट फेसबुकमा साथी बनाएर मायाजालमा पारेकी थिइन् । बिस्तारै इन्दिराले ती व्यवसायीसँग नजिक भएर गरेको कुराकानी र चुम्बनको भिडियो आफ्नो मोबाइलमा खिचिन् ।

त्यसपछि इन्दिरा र बद्रीनाथ मिलेर ब्ल्याकमेलिङ गर्दै ती व्यवसायीसँग एक करोड रुपैयाँ मागे । उजुरी परेपछि प्रहरीले भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने दुवै जनालाई पक्राउ गर्‍यो ।

घटना चार- यो घटना थोरै फरक छ । घटना २०७३ सालको हो । भक्तपुर बागेश्वरीका प्रकाश लामिछानेले आफ्नी २५ वर्षीया प्रेमिका, धादिङकी राधिका श्रेष्ठको सुन्दरता प्रयोग गरेर कमाउने योजना बनाए ।

प्रकाश र उनका केही साथीहरूले राधिकाको माध्यमबाट एक व्यवसायीलाई होटलमा डाकेर बन्धक बनाई १० लाख ७० हजार रुपैयाँ असुले । पोल खुल्ने डरले प्रकाशले राधिकालाई घर पुर्‍याएर हत्या गरे ।

के हो हनी ट्र्याप ?

जानकारहरूका अनुसार युवतीले आफ्नो सौन्दर्यमा लोभ्याएर वा यस्ता युवती प्रयोग गरेर धनाढ्यलाई फसाउने र पैसा असुल गर्ने अपराध हो हनी ट्र्याप ।

जसरी झिँगा मह खाने लोभमा त्यसमाथि बस्छ तर त्यसैमा टाँसिएर उड्न सक्दैन, त्यसैरी नै सुन्दरीले फसाउने काम हो हनी ट्र्याप ।

महानगरीय अपराध महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार प्रहरीमा आएका घटनामा हनी ट्र्यापमा पारी लुट्ने र रकम असुल्ने गरेको घटनाहरू धेरै छन् । उनी भन्छन्, ‘हामीकहाँ युवतीको प्रयोगबाट हुने अपराधका घटना थुप्रै आएका छन् । हामीले उनीहरूलाई पक्राउ पनि गरेका छौँ ।’

उनका अनुसार कतिपय घटनामा उच्च घरानीय र पैसावाल व्यवसायी फँसेका छन् । उनीहरू प्रहरीमा आउँदैनन्, आफैँ गुपचुप बनाउँछन् । कोइराला भन्छन्, ‘सामाजिक प्रतिष्ठा गुम्ने डरले कतिपय घटना प्रहरीसम्म आइनपुगेको पनि हुनसक्छ, उजुरी आएका घटनामा हामी सफल भएका छौँ ।’

नेपालमा ‘हनी ट्र्याप’ का घटना बाक्लै हुने गरे पनि प्रहरीले यसको आधिकारिक तथ्यांक राखेको छैन । नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर भन्छन्, ‘नेपालमा युवतीको प्रयोग गरेर विभिन्न घटना भएका छन् तर हनी ट्र्यापका मुद्दा कति छन् भन्ने ठ्याक्कै तथ्यांक राखेका छैनौँ ।’

प्रहरीका अनुसार प्रायः ठूला व्यवसाय गर्ने व्यक्ति तथा उच्च ओहदामा रहेकाहरूलाई युवतीहरूले आफ्नो सौन्दर्यमा फसाउने गरेको देखिन्छ ।

महाशाखामा एसपी कोइरालाका भन्छन्, ‘यस्ता गिरोहका महिलाहरूले सामाजिक सञ्जालमार्फत चिनजान बढाउँदै पुरुषहरूसँग मित्रता गर्छन् र भिडियो बनाएर फसाउँछन् ।’

अपहरणमा पनि युवतीहरूको प्रयोग हुने गरेको उनको भनाइ छ ।

अपराधशास्त्री माधव आचार्यका अनुसार अभियुक्तलाई अपराध गर्न मद्दत गर्ने वा अपराध गर्ने परिस्थिति सिर्जना गर्ने मतियारका रूपमा युवतीहरूको प्रयोग भएको देखिन्छ ।

अपराधशास्त्री आचार्यका अनुसार इन्टरनेटको सहज सुविधाका कारण सामाजिक सञ्जालको प्रयोग गरेर वैदेशिक रोजगारीमा रहेकाहरूलाई पनि फसाउने गरेको भेटिएको छ । युवतीले आफैँ वा आफ्ना पुरुष साथीको सहयोगमा ‘इजी मनी’ का यस्तो शैली अपनाउन थालेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ९ : ०५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को