के हो नसा च्यापिने समस्या ? « Khabarhub

के हो नसा च्यापिने समस्या ?



जीवनको कुनै न कुनै कालखण्डमा हामी सबैले पिठ्युँ दुखाइको सामना गरेकै हुनुपर्छ। अझै हाम्रोजस्तो भौगोलिक विकटता भएको मुलुकमा त ढाड सड्किने समस्याबाट अधिकांश : पीडित हुने गरेका छौँ ।

अझ ढाड सड्किने भनेपछि, गरुङ्गो भारी ऊठाउँदा ढाड झसक्क हुँदा, हल न चल भई थलापर्नुपरेको स्थितिको अनुभव वा अरू कसैलाई भएको सम्झना आउँछ होला । यसरी ढाड सड्किँदा हुने पीडा ढाडका मांशपेसी, लिगामेन्ट र अन्य तन्तुहरूमा चोट (स्ट्रेन) पुग्न गई इन्टर भट्टेब्रल डिस्कुले स्नायु नसाहरूलाई थिची दिनाले हुने गर्छ । नसा च्यापिनु आफैँमा कुनै रोग नभएर ढाडको हड्डी, डिस्क, लिगामेन्ट, मांसपेसी तथा नसाको कमजोरीले गर्दा उत्पन्न हुने यान्त्रिक समस्या हो । नसा च्यापिने समस्यालाई बुझ्न, ढाड तथा मेरुदण्डको रचना र क्रियालाई थाहा पाउन जरुरी हुन्छ।

मेरुदण्डको बनावट

मेरुदण्ड ३३ वटा अलगअलग हड्डीहरूको दण्डाकार संरचना हो। यी हड्डीहरूलाई आपसमा इन्टर भट्टेब्रल डिक्सु भनिने लचकदार संरचनाले छुट्याएको हुन्छ भने लिगामेन्टले अलगअलग हड्डी तथा डिक्सहरूलाई बाँधेर एउटै लामो दण्ड बनाएर राख्छ । मेरुदण्डमा टाँसिएका मांसपेसीले ढाडलाई मोड्न तथा चलाउनलाई सहयोग गर्छ । यी ढाडका हड्डीमा स्पाइनल क्यानलु नामक लम्बबद्ध प्वाल हुन्छ जसबाट स्पाइनल कर्डु नामक मुख्य स्नायु नसा गुज्रिएको हुन्छ र हरेक हड्डीको दायाँ बायाँ स्पाइनल फोरामिन नामक प्वाल हुँदै स्पाइनल कर्डबाट स्पाइनल नर्भहरू (साना स्नायु नसा) निस्किएका हुन्छन् । यी नसाहरू ढाडको स्पाइनल कर्डबाट सुरु भएर शरीरका विभिन्न भागसम्म पुग्छन् । सामान्य भाषामा नसा भनेर रक्तवहाक नसालाई बुझिए झैँ यहाँ उल्लेखित नसा रक्तवहाक नसा होइनन् अपितु स्नायु प्रणालीसँग सम्बन्धित नाडी मण्डल हुन् जस्ले शरीरका विभिन्न अंग चलाउनका साथै तातो चिसो, दुखाइ, कम्पन, स्पर्स आदि थाहा पाउन मद्दत गर्छ ।

ढाडको हड्डीहरूका बीचमा रहेको इन्टर भर्टेवल डिक्सले हड्डीहरूलाई आपसमा घर्षण हुन नदिनुका साथै ढाडमा पर्ने झट्का तथा दबाबलाई नियन्त्रण गर्छ । जसरी मोटरसाइकलमा भएको स्प्रिङ (सक एर्ब्जवर)ले बाइक उफ्रिँदा, हुत्तिँदा उत्पन्न झट्कालाई चालकसम्म पुग्न नदिएर चालकलाई चोट पुग्नबाट बचाउँछ। त्यसैगरी यी डिक्सहरूले पनि मेरुदण्डमा पर्ने झट्का तथा दबाबलाई अवशोषण गरेर ढाडलाई चोट पुर्‍याउनबाट बचाउँछ । नसा च्यापिने समस्यामा पनि यिनै डिक्स, हड्डी र नसाको अन्तर्सम्बन्ध छ । यी डिक्सहरूले आफ्नो ठाँउ छाड्दा मेरुदण्डको मुख्य नसा (स्पाइनल कर्ड) तथा कर्डबाट निस्किएका नसाहरूलाई थिचिदिन्छ।

कारण तथा लक्षणहरू

नसा च्यापिने मूल कारण भनेकै खराब पोस्चर (आसन) हो । यसबाहेक अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीको पनि उत्तिकै योगदान छ । अचानक झुक्ने, भारी वस्तु अचानक उठाउने, गलत तरिकाले उठ्ने, बस्ने, हिड्ने, व्यायाम नगर्ने, अग्लो हिल भएको जुत्ता चप्पल लगाउने, खाल्डे बाटोमा वाइक चलाउने, कुप्रेर लामो समय कुर्सीमा बस्ने, सुर्ती जन्य वस्तु सेवन गर्ने तथा धुमपान गर्ने, मानसिक तनाव, डर चिन्तामा परेकाहरू, डाक्टर, प्रहरी, कार्यकारी अधिकृतहरू, बैंकर्सहरूजस्ता तनावग्रस्त पेसामा संलग्न पेसाकर्मी यस समस्यका जोखिममा हुन्छन् । धेरै बच्चा जन्माएकी आमा, मोटा तथा भुँडीलागेका व्यक्तिहरू, व्यायाम नगर्ने तथा लामो समयदेखि मोटरसाइकल चलाउनेमा यो समस्य ज्यादा देखिएको छ। यस्ता खराब जीवनशैली भएका व्यक्तिको डिक्स तथा हड्डी चाडै खिइने, सुनिने र घोटिने हुन्छ। फलतः डिक्स फुटेर यसभित्रको चिप्लो पदार्थ पोखिएर जानुका साथै डिक्सले आफ्नो ठाँउ छाडेर नसा च्याप्न पुग्छ । नसा च्यापिँदा मुख्यतः नसाको क्रिया अवरुद्ध हुन जाँदा कम्मर दुख्ने, च्यापिएको नसा गएको खुट्टा वा हाततिर दुख्ने, हातखुट्टा निदाउने, झमझमाउने, लाटो हुने र बिस्तारै हातखुट्टा तथा ढाँड चलाउन नसकिने, ढाडमा असहनीय पीडा हुने, उठ्दा बस्दा, हिँड्दा, खोक्दा र हाच्छिउँ गर्दा ढाड र हातखुट्टा दुख्ने गर्छ । समस्या बढ्दै गएमा, औलाहरूमा कमजोरी देखा पर्ने, हातखुट्टा सुक्दै जाने र प्यारालाइसिस पनि हुन सक्छ । समस्या गम्भीर भए मलमूत्र विसर्जनमै समस्या (क्वाडा इक्वाइना सिन्ड्रम) देखा पर्न गई तुरुन्त आपतकालीन व्यवस्थापन गर्नु पर्ने पनि हुन सक्छ ।

उपचार

नसा च्यापिएका रोगीमध्ये ९० प्रतिशतको उपचार प्राकृतिक तरिकाले गर्न सकिन्छ भने १० प्रतिशत रोगमा शल्यक्रिया गर्नु पर्ने हुनसक्छ । तर, आपतकालीन अवस्था छैन भने शल्यक्रिया नगराएकै राम्रो हो। गराउनु नै पर्ने अवस्था भएमा विज्ञ स्नायु शल्य चिकित्सकबाटै गराउनुपर्छ। प्राकृतिक उपचारमा विशेषतः पूर्ण बेड रेस्टुका साथ फिजियोथेरापीका विद्युतीय उपकरणले गरिने उपचार आइएफटी, अल्ट्रासाउन्ड, ट्रेक्सन, तातोको सेकाइआदि दिएर दुखाइ कम गराइन्छ । यसका साथै अकुपन्चर तथा अकुप्रेसरजस्ता चिनियाँ उपचार पद्धतिले पनि यो रोगमा फाइदा पुर्‍याउँछ। यी विधिले दुखाइ कम गर्नुका साथै हड्डी, डिस्क र लिगामेन्टको घाउ निको पारी च्यापिएको नसा छुटाऊन सहयोग गर्छ । ढाडको मालिस, अकुप्रेसर, कपिङ, अस्टियोपेथी, काइरोप्राक्टिसजस्ता उपचार पद्धतिले दुखाइ कम गराउनका साथै डिक्सलाई यथास्थानमा जान सहयोग गर्छ । दुखाइ कम भएपछि बिरामीलाई ढाडका व्यायाम, योग आसनहरू सिकाइन्छ। त्यसले मेरुदण्ड र आसपासका तन्तुलाई बलियो बनाउँछ र फेरि यही समस्या दोहोरिन दिँदैन। नसा हड्डी खिइनाले च्यापिएको भए हड्डी खिइनुको कारण पत्ता लगाएर उपचार अगाडि बडाऊनुपर्ने हुन्छ।

सावधानीहरू

  • नियमितरूपमा व्यायाम गर्ने बानी बसालौँ, अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातःभ्रमण जस्ता व्यायामले शरीरका हाड तथा जोर्नीहरूलाई बलियो बनाउनका साथै ढाडलाई तन्दुरुस्त राख्न मद्दत पुर्याइउँछ। श्रम र व्यायामबाट पन्छिने नगरौँ। नसा च्यापिइसकेको अवस्थामा भने चिकित्सकको सल्लाहअनुसारका व्यायाममात्र गर्नुपर्छ ।
  • लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर नबसौँ, बस्दा उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दबाब दिएर नबसौँ । एउटै आसनमा लामो समयसम्म रहने व्यक्तिमा यो समस्या हुन सक्छ ।
  • सामान वा गरुंगो वस्तु उठाउँदा सावधानी अपनाऔँ । हडबडमा बलपूर्वक भारी उठाउने कोसिस नगरौँ।
  • अग्लो हिल भएको जुत्ता वा चप्पलको प्रयोग नगरौँ ।
  • उकाली ओराली गर्दा, सिढी चढदा सावधानीपूर्वक बिस्तारै हिडौँ ।
  • अगाडि झुकेर सामान उठाउनु पर्दा कम्मरबाट नझुकौँ। निहुरिएर गर्नुपर्ने कुनै पनि काम गर्नु पर्दा घुँडा खुम्च्याएर कम्मरलाई नमोडी बिस्तारै उठाऔँ ।
  • खोक्दा वा हाच्छ्यिुँ गर्दा भित्ता वा टेबुलको साहायता लिऔँ।
  • शरीरको तौललाई आफ्नो उचाइअनुसार नियन्त्रणमा राखौँ। विशेषतः पेटलाई बढ्न नदिऊँ यसले ढाडमा अतिरिक्त दबाब दिन्छ।
  • गद्दा, फोम, डन्लपजस्ता बाक्ला र मुलायम ओछ्यानमा नसुतौँ। स्प्रिङ भएको लचकदार झोलुङ्गे ओछ्यान बढी आरामदायक लागे पनि ढाडका लागि राम्रो होइन।
  • साह्रै कडा ओछ्यानले पनि ढाडलाई राम्रो गर्दैन। सामन्यतः एक इन्च जति बाक्लो कपासको बिछ्यौनामा सुत्नु ढाडका लागि राम्रो हुन्छ।
  • सुत्दा सिधा सुत्ने बानी बसालौ । घोप्टो वा कोल्टेभन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो हो । नसा च्यापिइ सकेपछि भने खुट्टा खुम्च्याएर सजिलो हुने गरी गोडामुनि तकिया राखेर सुतौँ । सिरानी काँधको लमाइ बराबर अग्लो भए ढाडको लागि राम्रो मानिन्छ ।
  • लामो समयसम्म उभिरहने वा बसिरहने नगरौँ। गर्नैपर्ने भएमा बीचबीचमा अवस्था परिवर्तन गरिरहनु पर्छ। उभिएर गर्नुपर्ने काम गर्दा एक खुट्टालाई अर्को खुट्टाभन्दा ६ इन्च जतिमाथि कुनै वस्तुको आड लिएर राखौँ ।
  • ड्राइभिङ गर्दा सिटलाई अलि अगाडि नै सारेर बस्ने गरौँ। ड्राइभिङ सिटमा वा कुर्सीमा बस्दा ब्याक रेस्टका प्रयोग गर्ने गरौँ।
  • कम्मर वा गर्दन दुख्ने समस्या भएकाहरूले मोटरसाइकल नचलाऔँ । हिँड्दा ढाडको पेटी वा घाँटीको कलर लगाऔँ ।
  • हिँड्दा बूढो मान्छेजस्तो कुप्रेर होइन ठाडो शिर गरेर सोझो भएर हिडौँ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ५ : ५५ बजे

गुरू घिमिरेको दाबी : कांग्रेसले प्रत्यक्षमा सय सीट र समानुपातिकमा ३५ लाख भोट ल्याउँछ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी फागुन २१ गतेको

खारेज भयो रेशम चौधरीको उम्मेदवारी

काठमाडौं- कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका

वैशाखमा पार्टीको नियमित महाधिवेशन हुँदैन : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन

शुक्रबारदेखि मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

 काठमाडौं– पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपरान्हदेखि मौसम बदली हुने

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध