काठमाडौं – जितु नेपालको वास्तविक नाम जितबहादुर नेपाल हो । यी दुवै नामले भन्दा पनि उनी ‘मुन्द्रे’ उपनामले बढी परिचित छन् ।
आफ्नै निर्देशन रहेको टेलिसियल ‘जिरे खुर्सानी’ मा जितुले ‘मुन्द्रे’ पात्र निर्वाह गर्थे । त्यही पात्रले उनलाई ख्याति दिलायो, कलाकारितामा स्थापित गरायो ।
जितुलाई बहुसङ्ख्यक दर्शकले ‘जिरे खुर्सानी’बाट चिने । त्यसअघि नै उनले करिब आधादर्जन सिरियलमा अभिनय गरिसकेका थिए ।
जितुको निर्देशन रहेको पहिलो टेलिभिजन कार्यक्रम ‘गीताञ्जली’ हो । टेलिभिजन कर्ममा लागेको आधा दशकपछि मात्रै उनले ‘गीताञ्जली’ शुरू गरेका हुन् ।
कलाकार नै बन्ने सोचले जितु काठमाडौं छिरेका होइनन्, न उनलाई कलाकारिताप्रति खास मोह थियो ।
जितु वि.सं. २०४८ मा काठमाडौं पसेका थिए । केही समय काठमाडौं बसेपछि उनी रोजगारीका लागि भारत पुगे । करिब दुई वर्ष त्यतै काम गरे । घर फर्किए ।
परिवारले पुनः भारत फर्किन नदिएपछि नेपालमै बसे । यतै नोकरी गर्ने क्रममा टेलिसिरियल ‘हिजो आजका कुरा’मार्फत टेलिभिजनमा अनुहार देखाउन पाए ।
टेलिभिजनमा देखिइरहने इच्छा जाग्न थाल्यो । कलाकारितामै भविष्य खोज्ने क्रममा उनी जितबहादुरबाट जितु हुँदै मुन्द्रेसम्म बने ।
ज्यामिरेमा बाल्यकाल
जितु वि.सं. २०३२ सालमा सिन्धुपाल्चोकको ज्यामिरेमा जन्मिएका हुन् । उनी नेपाल दम्पत्तिका कान्छो सन्तान हुन् । उनीमाथि एक दिदी र पाँच दाइ छन् ।
निम्न–मध्यम वर्गीय कृषक परिवारमा जन्मिएका जितु आम ग्रामीण जीवनशैलीमै हुर्किए । भन्छन्, ‘ जग्गा जमिन चाहिँ हामीलाई पुग्नेजति थियो । खेती बाहेक हाम्रो अन्य आयस्रोत थिएन । त्यसकारण आमाबुवालाई खेतीपातीमा सहयोग गर्नैपर्थ्यो ।’
ज्यामिरे बसुञ्जेल घाँस, दाउरा र मेलापात नै जितुको दैनिकीमा प्रमुख हिस्सा थियो । जितु भन्छन्, ‘पढाइभन्दा घरको काम बढी प्राथमिकतामा हुन्थ्यो । घरमा गाई, भैँसी, बाख्रा र कुखुरा पालेको हुन्थ्यो । बिहान एक भारी घाँस काटेपछि स्कूल जाने हो । स्कूलबाट फर्किएपछि पनि एउटा काम गर्नैपर्थ्यो ।’
पहाडी क्षेत्रमा हिउँद र बर्खायाममा खेती गर्न गोठ गाउँबाट बेँसीमा सार्ने चलन हुन्छ । यो प्रचलन जितुको गाउँमा पनि थियो ।
गाउँको घर ज्यामिरेमा र बेँसी गोठ कोठे बजार छेउमा थियो । गाउँ–बेसी गोठ सारिरहनुपर्थ्यो । जितुले सुनाए, ‘गाउँ–बेसी दुबैतिर खेती थियो । वर्षभरलाई पुग्ने अन्न फलाउन हाम्रो परिवारले गाउँ–बेँसी गर्नैपर्थ्यो ।’
ठूलै भएपछि मात्र चप्पल लगाउन पाएका जब बाल्यकाल सम्झन्छन्, तुनावाला हात्तीछाप चप्पल खुबै याद आउँछ । उनी चप्पल नै नलगाइ पनि स्कूल गए । चप्पलमाथि खुट्टा पर्न अलिक ठूलै हुनुपर्यो ।
‘लोतावाला हात्तीहाप चप्पल निकै जोगाएर लगाउथेँ । लोता चुँडिए गाँस्ने, गाँस्न नमिल्ने भएपछि लोता किन्ने र चप्पल दुलो नपर्ने बेलासम्म लोता फेरेरै काम चलाउँथ्यौं । मलाई चप्पलको प्रसङ्ग निकै याद आउँछ ।’
भारी खेपेर स्कूल
कक्षा ४ सम्म परीक्षामा प्रथम/द्वितीय भए पनि जितु आफूलाई सामान्य विद्यार्थी मान्छन् ।
जितुकै अनुसार उनी पढाइमा अब्बल भएर होइन, कक्षाभर उनीभन्दा पनि नजान्ने साथी भएकाले अगाडी थिए ।
उमेर बढ्दै गएपछि जितुको हालत पनि साथीहरूकै जस्ता भयो । घरायसी कामको चाप छँदैथियो । कृषक परिवारको सन्तानले जति उमेर बढ्दै गयो – उत्ति नै बढी काम गर्नुपर्थ्यो । कामै कामको चापले पढाइमा ध्यान दिन पाएनन् । परीक्षामा नतिजा खस्कँदै गयो ।
भन्छन्, ‘बेँसीमा हाम्रो जग्गाजमिन भएको स्थानमा स्कूल थियो । घरबाट किताबमात्र बोकेर स्कूल गएका दिन कमै हुन्थ्यो । कि मल, कि पिस्नुपर्ने अन्नको भारी बोकेरै स्कूलतर्फ लाग्नुपर्थ्यो । स्कूलमा दिनभर पढेर फर्कंदा केही भारी भएन भने नुन/तेल भए पनि बोक्नैपर्थ्यो ।’
कक्षा पाँचदेखि माथिका कक्षामा पढाइ खस्किए पनि जितु फेल (अनुत्तीर्ण) भने भएनन् । ०४७ सालको एसएलसी (प्रवेशिका परीक्षा)मा उनी दोस्रो श्रेणी ल्याएर पास भएका थिए ।
जितुले एसएलसी दिने बेलासम्म दाइहरू रोजगारीमा शहर छिरिसकेका थिए । दिदीको विवाह भइसकेको थियो ।
खेतबारीको बाँझो फुटाउने र फसल उब्जाउने धेरैजसो जिम्मा अब जितुकै काँधमा आयो ।
‘दाइहरू शहर पसेपछि घरमा बुवा, आमा र ममात्र भयौं । म हुर्किसकेको थिएँ । हुर्किएको छोरोले खेतबारी जोत्नैपर्यो । ०४८ सालमा काठमाडौं आउनुअघि खेतबारी जोत्ने काम मेरै जिम्मामा थियो ।’
दाइको व्यवसायले काठमाडौं यात्रा
दाइहरू बेलैमा शहर पसेकाले जितु काठमाडौं आउने–जाने गर्न पाइरहन्थे । स्कूल पढ्दा काठमाडौं देख्न पाउने कमै साथीहरूमा उनी पर्थे ।
भन्छन्, ‘काठमाडौं देख्नु नै ठूलो कुरा थियो । साथीहरूका अघि शानसँग यतिपटक काठमाडौं पुगेँ भनिन्थ्यो ।’
एसएलसीको नतिजा आएपछि ०४८ सालमा जितु बस्ने नै गरी काठमाडौं आए । उनलाई काठमाडौं प्रवेश गराउने प्रमुख कारण भने दाइहरूले होटल सञ्चालन गर्नु थियो ।
जितुका दुई दाइले काठमाडौंको जडिबुट्टीमा होटल चलाएका थिए । व्यापार राम्रै हुन्थ्यो ।
‘होटल एकदमै चलेको थियो । भाइ आयो भने काम पनि गर्छ र सहयोग हुन्छ भनेर बोलाउनुभएको थियो’, जितुले सुनाए ।
काठमाडौं आए पनि उनी क्याम्पस भर्ना भएनन् । दाइहरूसँगै होटलको काममा व्यस्त भए ।
रोजगारी गर्न भारततिर
जितु खास उद्देश्य बोकेर काठमाडौं आएका थिएनन् । कलाकार बन्ने सोच त छँदै थिएन ।
सोच पलाओस् पनि कसरी ! उनी रहँदासम्म गाउँमा टेलिभिजन पुगेका थिएन । कलाकार बन्ने प्रक्रियाबारे त झन् कसले बुझाइदेओस् !
अँ ! काठमाडौं आउनुअघि नै उनले टेलिभिजन चाहिँ हेरेका थिए । नौ कक्षामा पढ्दा सिन्धुपाल्चोकको साँघुबजार गएका बेला । जितुले गाउँमा रहँदा टेलिभिजन हेरेको त्यही एकपटक हो ।
भन्छन्, ‘टेलिभिजनवालाले पैसा लिएर सिरियल देखाउने थाहा पाएँ । मैले डेढ रुपैयाँँ तिरेर महजोडीको १५ गते सिरियल हेरको थिएँ । टीभी हेर्नु ठूलो कुरा थियो । टीभीमा आउने त सोच नै थिएन नि !’
बरु काठमाडौं आएको केही महिनामै उनी भारत पसे । भारतको आग्रामा बस्ने काकाको छोरासँग घुम्न गएका उनी उतै भुले ।
जितु भन्छन्, ‘घुम्न भनेर गएको थिएँ, उतै काम पाएँ । एउटा नर्सिङ होमको रिसेप्सनमा काम गर्न थालेँ ।’
उनले जीवनमा पहिलोपटक गरेको जागिर त्यही हो । मासिक ८०० तलब भारु पाउँथे । एसएलसी पास गरेकाले त्यो जागिर पाएका थिए । नर्सिङ होम सञ्चालकले पनि माया गर्थे । बस्ने ठाउँ नै दिएका थिए । जितुलाई त्यहाँबाट फर्केर आएन मन थिएन ।
२३ महिना भारत बसेर जितु काठमाडौं फर्किए, तर फेरि उतै जानेगरी ! घर फर्कन चाहिने बाटो खर्च पनि उनलाई अफिसले नै दिएको थियो ।
‘काठमाडौं आएपछि दाइहरूले भारत फर्कन दिनुभएन, गाली गर्नुभयो,’ जितुले सुनाए, ‘हामीले यहाँ यत्रो व्यवसाय गरेका छौँ, तँ काम गर्न भारत जाने ? बरु गाउँ गएर हलो जोत् भनेर दाइहरूले गाली गर्नुभयो । आफूलाई नि हो जस्तो लाग्यो, अनि भारत गइनँ ।’
टेलिभिजनको चस्का !
एसएलसीपछि जितुको पढाइ टुटेको भएको थियो । भारतबाट फर्किएपछि उनले पढाइ अघि बढाउने निर्णय लिए । तर, उनी सहज विकल्पको खोजीमा थिए ।
जितुलाई निर्मल पौडेल भन्ने साथीले प्रवीणता प्रमाणपत्र तह (आइए)को परीक्षा प्राइभेट (कलेज नगइ परीक्षा फर्म भरेर सोझै) दिन पाइने कुरा सुनाए । कलेज नै जानुनपर्ने भएकाले जितुका लागि पढाइ अगाडि बढाउने उपयुक्त विकल्प प्राइभेट परीक्षा नै थियो ।
निर्मलले नै जितुललाई चाबहिलमा सहकारी पसलमा जागिरसमेत लगाइदिए । पसलमा काम गर्थे, परीक्षाका बेला गेसपेपर किनेर पढ्थे । त्यसरी नै आइए उत्तीर्ण गरे ।
सहकारी पसलमै काम गर्दा जितु टेलिभिजनको सहज पहुँचमा थिए । त्यसबेला सन्तोष पन्त निर्देशित टेलिसिरियल ‘हिजो आजका कुरा’ लोकप्रिय थियो । जितुलाई पनि टेलिभिजनमा अनुहार देखाउने इच्छा पलाउन थाल्यो ।
पसलमा काम गर्दागर्दै चिनजान भएकी दिदी सरस्वती शर्माले जितुलाई ‘हिजो आजका कुरा’मा अभिनय गर्ने अवसर दिलाइन् ।
जितु भन्छन्, ‘सरस्वती दिदीले भनिदिनुभएछ । हिजो आजको कुराको सुटिङस्थल धापासी गएँ । पहिलो दिन नै सन्तोष पन्त सरसँग एउटा संवाद भन्न पाएँ ।’
त्यही सानो भूमिका गर्दा पनि बाटोमा हिँड्दासमेत जितुलाई मानिसहरूले चिन्न थाले । त्यसैले अभिनयप्रति रुचि बढाइदियो ।
जितुले भने, ‘कार्यक्रम हिट थियो, सानो भूमिका गर्दा पनि मान्छेले चिन्थे । बाटोमा हिँड्दा मलाई पनि मान्छेहरूले तपाईंलाई हिजो टेलिभिजनमा देखेको थिएँ भन्न लागे । त्यसपछि त मलाई टेलिभिजनमा देखिइरहन मन लाग्न थाल्यो ।’
टेलिभिजनमा देखिने लोभले जितुलाई हरेक साता धापासीसम्म पुर्याउँथ्यो । तर, हिजो आजका कुराको छायाङ्कनस्थलमा जितु जस्तै टेलिभिजनमा देखिन खोजेका युवाहरू भीड लाग्थे ।
दोस्रोपटक टेलिभिजनमा देखिन उनी सात साता धाउनुपर्यो । त्यहाँ त पालो लाग्ने पो रहेछ । त्यसपछि चाहिँ जितुले अन्यत्र पनि अवसर खोज्न थाले ।
‘ट्वाक्क टुक्क’ मा तड्का !
टेलिभिनमा देखिने चाहले उनलाई तत्कालीन समयको एक मात्रै टेलिभिजन ‘नेपाल टेलिभिजन’ धाइरहने बनायो ।
धाइरहेपछि उनले दिनेश डीसी (हाल चलचित्र विकास बोर्डका अध्यक्ष)को निर्देशन र रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, सहकारी हिनामिना प्रकरणमा हाल हिरासतमा) सहायक निर्देशक रहेको कार्यक्रम ‘ट्वाक्क टुक्क’मा अभिनय गर्ने अवसर पाए ।
जितबहादुर नेपाल उनी सोही कार्यक्रमबाट ‘जितु नेपाल’ बनेका हुन् । ‘ट्वाक्क टुक्क’मा भूमिका सानो भए पनि सोही कार्यक्रमले जितुलाई कलाकारितामा भविष्य खोजिरहेका साथीहरूसँग परिचित गरायो ।
त्यतिखेरै जितुले दीपकराज गिरी र दमन रुपाखेतीजस्ता कलाकारितामा संघर्ष गरिरहेकालाई भेटे/चिनेका हुन् ।
जितु भन्छन्, ‘दीपकजी र दमनहरू रेडियो नेपालमा नाटक गर्नुहुन्थ्यो । त्यहाँ नाटक सकेर टेलिभिजनमा आउनुहुन्थ्यो । अनि त्यहीँ हाम्रो परिचय भएको हो ।’
दमन रुपाखेतीसँग चिनजान भएपछि जितुले आफूलाई पनि रेडियो नाटकमा सहभागी गराउन भने । दमनले नाटकमा जोडिदिए । काम गर्ने अवसर दिलाए ।
यता ‘ट्वाक्क टुक्क’मा पनि जितु अभिनयमै मात्र सीमित भएनन् । प्रोडक्सन (उत्पादन)का काम सिक्ने समेत अवसर पनि पाए । सोही कार्यक्रमको अनुभवले ‘विमान चालक’ सिरियलको सहायक निर्देशकसम्म बने ।
भन्छन्, ‘विमान चालकमा म अभिनय पनि गर्थेँ । पछि सहायक निर्देशक समेतको जिम्मेवारी पाएँ ।’
दीपराज र जितुले मिलेर सिरियल ‘काउकुती’ पनि निर्माण गरेका थिए । जुन ५२ भाग चल्यो ।
गीताञ्जली
जितुको निर्देशन रहेको पहिलो टेलिभिजन कार्यक्रम ‘गीताञ्जली’ हो । गीत बजाउने कार्यक्रममा कमेडी मिसाएर उनले उक्त कार्यक्रम चलाउँथे ।
यही कार्यक्रमले जितुलाई कलाकारितामा संघर्षरत सीताराम कट्टेल र केदार घिमिरेसँग भेट गरायो । यी दुई पनि उक्त कार्यक्रमका हिस्सा थिए ।
गीताञ्जलीबाट जितुले आफूलाई कलाकारितामा प्रमाणित नै गर्ने अवसर पाए । गीताञ्जली नेपाल टेलिभिजनको लोकप्रिय तेस्रो कार्यक्रम बन्यो ।
जितुका अनुसार गीताञ्जली लगातार दुई वर्ष नेपाल टेलिभिजनको तेस्रो लोकप्रिय कार्यक्रम बनेको थियो ।
गीताञ्जलीको सफलताले जितुमा अझै राम्रो गर्ने उत्साह पैदा गरेको थियो । सीताराम र केदारले ‘भूमिका सानो भयो’ भनी गनगन गरिरहन्थे । जितुमा ‘थप केही गर्नुपर्छ’ भन्ने सोच थियो ।
सीताराम र केदार दुवै लेख्नमा दख्खल राख्थे । जितुले उनीहरूसँग सल्लाह गरे । अनि नयाँ सिरियल बनाउने निर्णयमा पुगे ।
अनि बन्यो ‘जिरे खुर्सानी’
जिरे खुर्सानीको प्रसारण वि.सं. २०६० बाट शुरू भएको हो । त्यति बेलासम्म जितुले विभिन्न टेलिभिजन कार्यक्रममा सात वर्षभन्दा बढी समय बिताइसकेका थिए ।
गीताञ्जलीको सफलताले नेपाल टेलिभिजनको धेरै–थोरै विश्वास पनि जितिसकेका थिए । तर, नयाँ सिरियल शुरू गर्न उनलाई सहज भने भएन ।
टेलिभिजनका कार्यक्रम प्रमुख गम्भीरकान्त मैनालीले सक्दो सहयोग गरिदिए, जसप्रति जितु सदैव ऋणी रहनेछन् ।
आफूले नयाँ सिरियल ल्याउने योजना जितुले सबैभन्दा पहिले मैनालीलाई नै सुनाएका थिए । मैनालीले जवाफ दिए, ‘डमी बनाएर ल्याउनू ।’
‘डमी’ खिचेर बुझाउँदा टेलिभिजनले स्वीकृत गरेन । त्यसबेला कार्यक्रम प्रमुख मैनालीले जितुलाई भनेका थिए रे, ‘राम्रो भएन यार ! के बनाएको ?’
दोस्रो प्रयासमा सिरियल स्वीकृत भयो । कार्यक्रम प्रमुख मैनालीले १३ भाग प्रसारण गर्ने व्यवस्था मिलाउने वचन दिए ।
तर, कार्यक्रम प्रायोजक निर्माण पक्षले नै खोज्नुपर्ने थियो । जितुसामू प्रायोजक खोज्ने अर्को चुनौती खडा भयो ।
बजारमा नाम चलेको विज्ञापन एजेन्सी ‘सिन्क्रो मिडिया’ थियो । त्यहाँसम्म जितुको सीधा पहुँच थिएन ।
एजेन्सीसम्म पुग्न जितुलाई पत्रकार प्रकाश सुवेदी (अहिलेका रजतपट अङ्कल)ले सहजीकरण गरिदिए ।
जितु भन्छन्, ‘एजेन्सीसँग प्रकाश दाइको राम्रो थियो, उहाँलाई नै लिएर गएँ, उहाँले नै जितुको कार्यक्रम प्रायोजन गरिदिन प्रस्ताव राख्नुभयो ।’
एजेन्सीले जितुलाई सहजै पत्याएन । प्रकाश सुवेदीले ‘गीताञ्जलीलाई तीन नम्बरमा पुर्याउने केटो हो, विश्वास गर्नु !’ भनेपछि एजेन्सी ‘कन्भिन्स’ भयो ।
त्यसबेला एजेन्सी १३ भाग प्रायोजन गर्न तयार भएको थियो । सिरियलको टाइटल माग्यो । ‘फाइलन गरेर आउनू, म टेलिभिजनलाई पत्राचार गर्छु’ भन्यो । त्यही एजेन्सीकै अफिसमा फुरेको ‘जिरे खुर्सानी’ नाम तय भयो ।
जिरेखुर्सानीको न्वारानबारे जितुले सुनाए, ‘तल आएर एकछिन सोचेँ, जिरे खुर्सानी नाम फुर्यो । माथि गएर सुनाएँ । एजेन्सीले पनि नाम मन परायो ।’
फ्लपपछि हिट जिरे खुर्सानी !
प्रायोजक पाएपछि जिरे खुर्सानी प्रसारण भयो । प्रसारण समय सोमबार राति ९ बजेको समाचारपछि पाएको थियो ।
१३ भाग प्रसारण पूरा हुँदा पनि कार्यक्रमले चर्चा पाएन । गुमनामजस्तै भयो । त्यसबेला जितुलाई लागेको थियो, ‘९ बजे मान्छे सुतिसक्छन्, कसले हेर्ने टीभी ! पक्कै समय ढिला भएर सिरियल चलेन ।’
एजेन्सीले दिएको परीक्षण समयमा सिरियलले पिकअप लिएन । एजेन्सी बिच्कियो । प्रयोजन नगर्ने निर्णयमा पुग्यो ।
यता, टेलिभिजनका कार्यक्रम मैनालीले भन्न लागे, ‘एजेन्सीले प्रायोजन नगर्ने रे ! अब कार्यक्रम रोकिन्छ !’
‘कार्यक्रम रोकिने’ चेतावनी पाएपछि जितु छागाँबाट खसेजस्ता भए । मैनालीलाई गरेको अनुरोधले भने जितुलाई राहत दियो ।
जितुको आग्रह थियो, ‘सर ! सिरियलको प्रसारण समय राति भयो । साँझ ७ बजेलाई सारिदिनू ! अनि एजेन्सीलाई ७ बजेको समय दिन्छु । थप १३ भाग प्रायोजन गर्न लगाइदिनू । तपाईंको वचन एजेन्सीले काट्दैन ।’
मैनालीले जितुका लागि थप एकपटक सहजीकरण गरिदिए । प्रसारण समय पनि सात बजे नै मिलाइदिए । एजेन्सीलाई प्रायोजन गर्न पनि लगाइदिए ।
जितु भन्छन्, ‘७ बजेको समय मिलाइदिन्छु भनी गम्भीर सरले प्रस्ताव गरिदिनुभयो । उहाँको बोली हार्न नसकेर एजेन्सी पनि प्रायोजन गर्न तयार भयो ।’
सिरियल ७ बजे प्रसारण भएपछि जितुका सहज दिन आए । पहिल्यै भागबाट ‘जिरे खुर्सानी’ले पिकअप लियो ।
तेस्रो भागमा आइपुग्दा विज्ञापन बढेर ८ मिनेटसम्म पुग्यो । एजेन्सीले एकैपटक ५२ भागको सम्झौता गर्यो ।
‘जिरे खुर्सानी’ले बनाएको ‘मुन्द्रे’
‘जिरे खुर्सानी’ ०६० देखि ०७१ अर्थात् ११ वर्षसम्म निरन्तर चल्यो । अहिले पनि जितु सोही सिरियलको क्यारेक्टर ‘मुन्द्रे’ उपनामबाट चिनिन्छन् ।
सिरियलसँगै जितु पनि ‘मुन्द्रे’ बनेर हिट भए । मेला महोत्सव र विदेशका कार्यक्रममा प्रस्तुती दिन बोलाउन थाले । उनका लागि आर्थिक आर्जनको बाटो पनि खुल्यो ।
जितु भन्छन्, ‘टेलिभिजनबाट त खासै पैसा आउँदैन थियो । स्टेज कार्यक्रमबाट मैले त्यो बेला राम्रो पैसा कमाएँ ।’
मुन्द्रे बनेर पहिलोपटक हङकङकमा मञ्चमा चढेका जितुले स्टेज कार्यक्रम गरेरै काठमाडौंमा घर ठड्याए ।
भन्छन्, ‘देश/विदेशमा म यति व्यस्त हुन्थेँ कि समय मिलाउनै मुस्किल पर्थ्यो । सिरियलले नाम र दाम मात्रै दिएन, मलाई कलाकारितामा स्थापित नै गरायो ।’
फिल्मको यात्रा
०७१ सालमा ‘जिरे खुर्सानी’ सिरियल बन्द भयो । सीताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्ने बूढा’ले पनि ‘मेरी बास्सै’ छाडे । दीपकराज गिरीको ‘तीतो सत्य’ पनि बन्द भयो ।
सामाजिक सञ्जालको विस्तारसँगै टेलिभिजनमा आकर्षण कम हुँदै थियो । यी सिरियल बन्द हुनु र कलाकारले सिरियल छाड्नुमा बदलिँदो प्रविधि पनि एक कारण थियो ।
जितु, दीपक, केदार र सीताराम टेलिभिजनबाट स्थापित हास्य–कलाकार थिए । टेलिभिजन छाडेका यी सबै मिलेर फिल्म निर्माणमा हात हाले ।
जितुले टेलिभिजनमै रहँदा दुई दर्जनभन्दा बढी फिल्ममा सहायक भूमिकामा अभिनय गरिसकेका थिए ।
अब स्थापित हास्य–कलाकारको टिम नै पूर्णकालीन ठूलो पर्दाको काममा जोडिए । पछि यो टिमलाई ‘छक्का पञ्जा टिम’ भन्न थालियो ।
यो टिमले लगातर हिट फिल्म दियो । यो टिममा बनेका फिल्महरू ६ एकान ६, छक्का पञ्जा, छक्का पञ्जा २, छक्का पञ्जा ३, छ माया छपक्कै र वडा नम्बर ६ मा जितुको अभिनय छ ।
जितुले भने, ‘मलाई उक्त टिममा बसेर काम गर्दा धेरै फाइदा भयो । आर्थिक हैसियत अझ बलियो बन्यो । सबैकुरा राम्रो हुँदाहुँदै पनि विविध कारणले म त्यो टिमबाट बाहिरिएँ ।’
सोही टिममा रहँदा नै जितुले टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’ सञ्चालनमा ल्याए । जितुले अहिले चाहिँ सो कार्यक्रमबाट विश्राम लिएका छन् ।
छक्कापञ्जा टिमबाट अलग भए जितु फिचर फिल्ममै केन्द्रित छन् । पछिल्लो समय उनी केन्द्रीय भूमिकामा रहेर फिचर फिल्ममा अभिनय गरिरहेका छन् । ‘ह्यारी कि प्यारी’ र ‘ज्वाइँ साब’मा केन्द्रीय भूमिकामा देखिएका छन् ।
अहिले उनी मुख्य भूमिकामा रहेको फिल्म ‘कार्साङ प्रदर्शन संघारमा छ ।
प्रतिक्रिया