प्रतिनिधिसभा पुनर्स्थापनापछिको दायित्व | Khabarhub Khabarhub

प्रतिनिधिसभा पुनर्स्थापनापछिको दायित्व



काठमाडौँ— जनप्रतिनिधिको सर्वोच्च थलो प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम बदर भएकोमा अलिकति पनि नैतिकता बोध छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब राजीनामा गरेर नयाँ सरकार गठनको बाटो खुला गरून् ।

तर, यस्तो संकेत देखिएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ‘प्रधानमन्त्रीले तत्काल राजीनामा गर्नुहुन्न, संसद फेस गरेर अघि बढ्नुहुन्छ’ भन्ने निर्णय सुनाएका छन् । ओलीको स्वभाव र हालसम्मका उनका अभिव्यक्तिले उनीबाट आफ्नो घोर असंवैधानिक कदमप्रति नैतिक दायित्व बोध होला भन्ने अपेक्षा गर्नु व्यर्थ हुने संकेत गर्छन् ।

सर्वोच्चको आदेशअनुसार पुनर्स्थापित प्रतिनिधिसभाको बैठक दुई साताभित्रै सुरु हुनेछ । अबको स्वाभाविक प्रक्रिया प्रधानमन्त्री ओलीको राजीनामा, नयाँ सरकार गठन र संसद अधिवेशन नै हो । ओलीले राजीनामा गरेनन् भने उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुनसक्छ । ओलीले दाबी गरेझैँ ६४ प्रतिशत त के ५१ प्रतिशतकै पनि विश्वास प्रमाणित गर्न सके उनी नै प्रधानमन्त्री रहनेछन् ।

अर्को, अविश्वासको प्रस्तावबाट ओली पदच्युत गराइनेछन् र नयाँ सरकार बन्नेछ । यसो हुन नदिन ओलीले नैतिकताका सबै बन्धनहरू तोडेर अर्को कुनै असंवैधानिक कदम चाल्न सक्छन् वा संविधानको कुनै छिद्रको दुरुपयोग गर्ने प्रयास गर्न सक्छन् ।

अपेक्षा गरौँ, सर्वोच्च अदालतले प्रतिनिधिसभाको बैठक बोलाउन दिन नै तोकेर आदेश गरेको अवस्थामा ओलीले आफूलाई सजिलो हुने गरी तत्कालै अध्यादेश जारी नगराऊलान् । गराए भने फेरि पनि उनको कदम असंवैधानिक ठहर हुनेछ । राष्ट्रपति संस्था थप विवादमा पर्नेछ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको बहुमत कानुनी व्यवस्थाले मात्रै कायम छ । कानुनी व्यवस्थामा सत्तारुढ नेकपा विभाजित भएको छैन । नेकपा संसदीय दलको बैठकले अर्को नेता चयन गर्नासाथ ओली पदत्याग गर्न बाध्य हुनेछन् ।

नेकपाको प्रचण्ड—माधव समूहको संसदीय दलको बैठक आजै अपराह्न हुने भएको छ । यो बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउनेछ । ओलीकै जिकिरअनुसार पनि पार्टी फुटेको छैन ।

यसो हो भने उनको अनुपस्थितिमै पनि बहुमत सांसदको निर्णय मान्न उनलाई कर लाग्नेछ । मान्दिनँ भन्छन् भने उनको अहङ्कारको चरम सीमा प्रस्तुत भएको मानिने छ । ढिलोचाँडो मात्रै हो, कम्तीमा एकपटक उनको पतन अवश्यम्भावी छ ।

अब प्रधानमन्त्रीका रूपमा ओलीले आफ्नो पक्षमा हुने गरी हुने गरी कुनै आदेश जारी जारी गर्नु वा गराउनु सबैभन्दा बढी उनकै लागि हानीकारक हुनेछ ।

संसदीय दलमा आफ्नो बहुमत प्रमाणित गर्ने अवसर खोज्नुबाहेक सत्तामा टिक्ने वा केही दिन तन्काउने प्रयास नैतिकहीन हुनेछ । आफ्नो राजनीतिक भविष्य केही सुरक्षित गर्न पनि उनले हार स्वीकार गर्नु उचित हुनेछ ।

यो भयो प्रधानमन्त्री ओलीको कुरा ।

प्रतिनिधिसभा पुनर्स्थापित भएको छ । अब बैठक शुरू हुनेछ र प्रतिनिधिसभा आफ्नो स्वाभाविक प्रक्रियामा अघि बढ्नेछ तर राजनीतिक संकट समाधान भएको छैन । प्रतिनिधिसभा साधनमात्रै हो, साध्य होइन । विघटित प्रतिनिधिसभा अदालतबाट पुनर्स्थापना भए सांसद किनबेचको विकृति अनि सरकार बनाउने र ढाल्ने खेल सुरु हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

विगतमा यस्तो दृश्य देखिएको हो । एउटा सरकार एक वर्ष पनि नटिक्ने, मन्त्री हुनकै लागि दलहरू फुट्ने, सांसदहरूले आर्थिक लेनदेनमा गुट परिवर्तन गरेर आफ्नै सरकार ढाल्ने प्रवृत्ति निटकको इतिहास हो । यही प्रवृत्तिलाई बहुदलीय संसदीय पद्धतिको विकृति भनिएको हो, जो हाम्रो संसदमा लज्जाजनक रूपमा देखापर्‍यो । कुनै दिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नो सरकार ढल्दै गर्दा प्रतिनिधिसभामा उभिएर ‘मुसा प्रवृत्ति’ भन्दै आफ्नै पार्टीका सांसदहरूलाई कटाक्ष गरेका थिए ।

यही प्रवृत्ति दाहोरियो भने संविधानको कसीमा प्रतिनिधिसभा विघटन बदरभागी भए पनि राजनीति कदमको कसीमा उचित ठहर हुन सक्नेछ । यस्तो विकृति हुन नदिने दायित्व लोकतन्त्रमाथि आस्थावान नेताहरूको हो ।

नागरिकले खोजेको राजनीतिक स्थायित्वमा पाँच वर्षको सरकार पनि हो । दुई तिहाइ हाराहारी एकल बुहमत भए पनि राजनीतिक स्थायित्व दिन नेकपा असफल भएकै हो ।

पुनर्स्थापित प्रतिनिधिसभाले बाँकी कार्यकाल सफलताका साथ पूरा गर्नु र बलियो सरकार दिनु राजनीतिक दल र नेताहरूको दायित्व हुनेछ । यसो भएमात्रै प्रतिनिधिसभा पुनस्र्थापनाको राजनीतिक औचित्य सावित हुनेछ । पुनस्र्थापनबाट ओलीको अहङ्कार धुलीसात बनाउनु आत्मरति त होला तर जित मानिने छैन ।

चुनाव जित्न र सरकारमा पुग्न दलहरूले रणनीति बनाउँछन् । गठजोड गर्छन् । यो स्वाभाविक प्रक्रिया हो तर यस्तो प्रक्रिया केवल जसरी पनि सरकारमा पुग्ने दाउपेचमा सीमित भयो भने संविधान र राज्यव्यवस्थाको अधोगति हुन्छ ।

प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम प्रथम दृष्टिमै असंवैधानिक थियो, जो प्रमाणित पनि भयो । विघटन राजनीतिक रूपले पनि अनुचित थियो भन्ने प्रमाणित हुनु उत्तिकै आवश्यक छ ।

थोरै कुरा नागरिक अगुवाको आन्दोलनको पनि । प्रतिनिधिसभा पुनर्स्थापना सम्पूर्ण सफलता होइन । हाम्रो संविधान र हामीले अवलम्बन गरेको राज्यप्रणालीको रक्षा गर्न निरन्तरको नागरिक खबरदारी जरुरी छ । होइन भने ओलीले भनेझैँ निटक इतिहासको विकृतिको पुनरावृत्ति हुनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ६ : २८ बजे

ईश्वर पोखरेल भन्छन्- पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गर्ने मै हुँ, पेन्डिङमा छैन

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या देवी

इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु

जकार्ता- इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा आइतबार एउटा यात्रुबाहक पानीजहाजमा आगलागी

स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा

रसुवा– गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

काठमाडौं– सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा राष्ट्रिय

कर्ण थापा भन्छन्- पूर्वराष्ट्रपति राजनीतिमा आइसक्नु भयो, पार्टीले उचित निर्णय लिनेछ

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी