बाँकेका कोभिड विशेष अस्पताल बिरामीले भरिभराउ, अवस्था भयावह बन्दै | Khabarhub Khabarhub

बाँकेका कोभिड विशेष अस्पताल बिरामीले भरिभराउ, अवस्था भयावह बन्दै


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशको प्रवेशद्धार मानिने लुम्बिनी प्रदेशको बाँकेमा कोरोनाले भयावह अवस्था निम्त्याएको छ ।

अस्पतालमा रहेका बेड भरिभराउ भएका छन् भने, अक्सिजन आवश्यक पर्ने बिरामीको व्यवस्थापनमा अस्पतालले निकै चुनौती सामना गर्नुपरेको छ ।

जिल्लामा रहेका दुई अस्पताल कोरोना संक्रमितको उपचार गर्नका लागि तोकिए पनि पछिल्लो समयमा त्यहाँ रहेका सबै बेड भरिभराउ भएका कारण उपचारमा नागरिकले सास्ती खेप्न थालेका छन् । जिल्ला सदरमुकाम नेपालगञ्जमा रहेका नेपालगन्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पताल बाँकेलाई कोरोना संक्रमितको उपचार गर्ने भनेर तोकिएको छ । मेडिकल कलेज कोहलपुरमा १ सय १० वेड क्षमता छ भने भेरी अस्पतालमा १ सय ४२ बेड क्षमता मात्रै छ ।

अहिले दैनिक रुपमा ठूलो संख्यामा कोरोना संक्रमित थपिएपछि अस्पताल र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमितको उपचार गर्न सकस हुन थालेको हो । कर्णाली र सुदुरपश्चिम प्रदेशका नागरिकले समेत नेपालगञ्जका यी अस्पतलामा उपचार गर्ने गरेकाले उपचारमा थप समस्या परेको अस्पताल र स्वास्थ्यकर्मीको भनाइ छ ।

भेरी अस्पताल बाँकेमा अहिले १ सय ८१ जनाले कोरोनाको उपचार गराइरहेका छन् । ती मध्ये सबैजसोलाई अक्सिजन दिइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म एक सय ८१ जना विरामी भर्ना भइसक्नुभएको छ । १ सय ४२ वेडमा उनिहरुको उपचार गरिरहेका छौं । ६ जना भेन्टिलेटरमा, ५२ जना आइसीयुमा उपचाररत छन् । वेडको संख्या अत्यन्तै कम भइरहेको छ । उपचारमा संलग्न ४० जना स्वास्थ्यकर्मी पनि कोरोना संक्रमित भइसकेका छन् । जनशक्ति अपुग छ ।’

डा. थापा भन्छन्, ‘अहिले दैनिक २ सय ५० किलो देखि ३ सय किलो अक्सिजन खपत भइरहेको छ । हाललाई अक्सिजनको कमि छैन ।’ दुइ वटा अस्पताललाई मात्रै कोभिड अस्पताल भनेर बनाइएको खण्डमा उपचार गर्न नसकिने उनले बताए ।

‘नेपालगन्जमा रहेका हरेक अस्पतालमा कोभिड वेड छुट्याएर उपचार गर्न आवश्यक छ । दुइ वटा अस्पतालले मात्रै धान्न सक्ने अवस्था छैन ।’ उनी भन्छन्, ‘अहिले जनशक्ति थप गर्ने प्रक्रिया हामीले सुरु गरिसकेका छौं । अन्यत्र पनि कोभिड वेड राख्ने र अस्पतालमा पनि वेड थप्न सकिएको खण्डमा मात्रै कोरोनाको उपचार गर्न सकिने अवस्था छ । नभए समस्या हुन्छ ।’

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा अहिले ५६ जना उपचाररत छन् । ती मध्ये एक जनाको भेन्टिलेटर, २६ जनाको आइसीयूमा राखेर उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट दिनेश श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘यहाँ रहेका सबै वेड भरिएका छन् । सुदूरपश्चिक र कर्णाली प्रदेशबाट अधिकांश नागरिक सेवा लिन आइरहेका छन् । कोरोना संक्रमतिलाई सेवा दिन जनशक्ति अभाव भइरहेको छ ।’ उनी भन्छन्, ‘एक हप्तासम्म ३२ जना स्वास्थ्यकर्मी निरन्तर खटाइरहेका छौं । त्यसपछि उनीहरुलाई एक साताका लागि होम आइसोलेसनमा राख्ने गरेका छौं । यसले अन्य सेवा प्रवाहमा कर्मचारीको अभाव देखाइरहेको छ ।’

उनले अहिलेसम्म प्रदेश वा अन्य कुनै पनि निकायले सहयोग नगरेको गुनासो गरे । ‘गतवर्ष प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दिने भनेको पौने २ करोड रुपैंया पनि अहिलेसम्म नपाएको गुनासो गरे । उनले भने, ‘अहिलेसम्म हामी आफैले आफ्नै स्रोतबाट कोभिडका विरामीको उपचार धानिरहेका छौं । यहाँ आएका ९५ प्रतिशत कोभिडका विरामीलाई अक्सिजन दिनुपर्ने अवस्था छ ।’ यसरी नै दैनीक रुपमा कोरोना संक्रमण तीव्र भइरहने हो भने हामीलाई सम्हाल्न गाह्रो हुन्छ ।’

बाँकेमा मात्रै कोरोना संक्रमणका कारण अहिलेसम्म ७७ जनाको मृत्यू भइसकेको कोभिड १९ सम्पर्क व्यक्ति तेज ओलीले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘अहिले कोरोनाको उपचार गराउन आएका नागरिक कहिले वेड खाली होलान भनेर कुरिरहेको अवस्था छ । सबैतीरका वेड भरिभराउ छन् । अक्सिजनको अभाव हुने स्म्भावना बढिरहेको छ ।’ उनी भन्छन्, ‘बाँकेमा मात्रै अहिले १ हजार ८ सय २४ जना सक्रिय संक्रमित छन् ।’ बाँकेमा कोरोना संक्रमणबाट उपचार नपाइरहेका नागरिकलाई वेड खाली भएको ठाउँमा तत्काल स्थानान्तरण गर्नुपर्छ ।’

दैलेख, सुर्खेत, सल्यान, दांङलगायतका जिल्लामा बेड खाली भएको खण्डमा बाँकेबाट विरामी पठाउनुपर्ने अवस्था आएको उनले बताए । उनका अनुसार यसका लागि सबैले पहल गर्न आवश्यक छ । उनले भने, ‘अहिले बाँके कोभिडका कारण रोइरहेको छ । अन्य जिल्लामा यस्तो समस्य छैन भनेर हास्ने समय होइन यो ।’ उनी भन्छन्, ‘अन्य अस्पतालमा बेड खाली भएको खण्डमा विरामीलाई उपचार गर्न दिल खोलेर वेड उपलब्ध गराइदिन म सबैसँग अपिल गर्दछु ।’

बाँकेमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताएका छन् । उनले भने, ‘कोरोना संक्रमण तीव्ररुपमा बढिरहेको छ । संक्रमित विरामीको सकेसम्म व्यवस्थापन कार्य गरिरहेका छौं । अझै संक्रमित बढने त्रास उच्च छ ।’ उनि भन्छन्, ‘अहिले भेरी अस्पतालमा १ सय ४२ र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ सय १० वेड रहेकोमा ती सबै भरिएका छन् । आएका अन्य विरामीलाई बाहिरै राखेर भए पनि अक्सिजन दिने काम भइरहेको छ । एक दुइ दिनमा हामी दुवै अस्पतालमा २÷२ सय वेड पु¥याउने गरी अघि बढिरहेका छौं । अहिले त्यति आत्तिहाल्नुपर्ने अवस्था नभए पनि केहि दिनपछि भने स्थिति भयावह हुने सम्भावना बढेर गएको छ ।’

अहिले पनि धेरै मानिसलाई बेड नपुगेको गुनासो आइरहेको बताउँदै आवश्यक सहयोगका लागि प्रदेश सरकारसँग सहयोग मागिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले नेपाल प्रेससँग बताए ।

‘यहाँ बाँके र बर्दिया बाहेकका कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पनि विरामी आउने गरेका छन् । कर्णालीको यो मुख्य नाका भएका कारण कर्णाली प्रदेश सरकारले सहयोग गर्छ कि भन्ने आशा गरिरहेका छौं ।’ उनले भने, ‘कोरोना संक्रमितको संख्या बढदो छ । अक्सिजन अस्तिसम्म फालाफाल थियो । अक्सिजनसहितका बेड अहिले कम भइसकेका छन् । खासमा भन्ने हो भने अहिले गुजारा मात्रै भइरहेको छ । होटलमा पनि आइसोलेसन निर्माण गर्ने योजना बनाएका छौं । कम्तिमा ५० वेडको आइसोलेसन सेन्टर होटलमा बनाउने कि भन्ने सोच छ ।’ उनले यही अनुपातमा कोरोना संक्रमित आएमा बाँकेमा उपचार गर्न असहज हुने बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : ५२ बजे

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन

उत्पीडित जनता अझै अधिकारको पर्खाइमा छन् : प्रचण्ड

भजनी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम 

लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या

आजका समाचार : सांसदलाई एमाले-कांग्रेसको ह्विप, अड्कियो भूमिसम्बन्धी अध्यादेश र युक्रेनको सैन्य सहयोग रोक्दै ट्रम्प

अध्यादेश पेश हुने भएपछि सांसदहरूलाई एमालेको पनि ह्विपप्रमुख सत्तारूढ नेकपा

फेवातालमा फसेका तीन जनाको सकुशल उद्धार 

पोखरा– सशस्त्र प्रहरीले कास्की जिल्लाको पोखरा महानगरपालिका–६ बाट हावाहुरीमा फसेका