कुल बजेटको आधा पनि खर्च गर्न सकेन काठमाडौँ महानगरले | Khabarhub Khabarhub

कुल बजेटको आधा पनि खर्च गर्न सकेन काठमाडौँ महानगरले



काठमाडौँ– काठमाडौँ महानगरपालिकासँग आर्थिक वर्ष २०७७/७८ मा १५ अर्ब ५६ कोड १५ लाख १४ हजार रुपैयाँको बजेट थियो । गत असारसम्ममा ५ अर्ब ७१ करोड १२ लाख ७० हजार रुपैयाँ खर्च भयो ।

महानगरको बजेटमा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ बचत भयो । अर्थात गत आर्थिक वर्षमा काठमाडौँ महानगरले कुल बजेटको एक आर्थिक वर्षमा महानगरले कुल बजेटको ३६ दशमलव ७ प्रतिशत मात्र खर्च गर्‍यो ।

महनगरले बजेट विनियोजन गरेका कतिपय शीर्षकमा खर्च नै भएको छैन । कुनै शीर्षमा लक्ष्यको १० प्रतिशत भन्दा पनि कम खर्च भएको छ । विनियोजित बजेट खर्च नहुनुमा कोरोना सार्वजनिक खरिद ऐन र नियमावली तथा कोरोना महामारी मुख्य कारण रहेको महानगरका अधिकारीहरूको भनाइ छ ।

कोरोनामा साढे १२ करोड खर्च

काठमाडौँ महानगरले कोरोना महामारी बढ्दै गरेको अवस्थामा आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गरेको थियो । बजेट पारित गर्दै गर्दा महानगरका मेयर विद्यासुन्दर शाक्यले कोरोना संक्रमण रोकथाम र असर न्युनीकरणका लागि विशेष कार्यक्रमहरू ल्याएको बताएका थिए ।

बजेटमा कोरोनाकै सन्दर्भमा २५ करोड रुपैयाँ विनियोजन गरिएकोमा आधाभन्दा मात्रै खर्च गरेको छ । कोरोनामा ‘उद्धार, राहत तथा पुनस्र्थापना खर्च’ शीर्षकमा २५ करोड ६८ लाख २५ हजार रुपैयाँ बिनियोजन गरेकमा १२ करोड ६६ लाख ५८ हजार रुपैयाँ खर्च भएको महानगरको वित्त विभागले जनाएको छ ।

विभागका प्रमुख बुद्धरत्न मानन्धरका अनुसार महानगरले करिब ७ करोड रकम अस्पतालका लागि खर्च गर्‍यो । महानगरले क्षत्रपाटी चिकित्सालयमा कोभिड अस्पताल सञ्चालन गर्‍यो ।

सबै, ३२ वटै, वडामा महानगरवासीको कोरोना परीक्षण, मास्क स्यानिटाइजर वितरण, महानगरभित्र डिसइन्फेक्सन, स्थानमा आइसोलेसन बेड लगायतका कार्यक्रमहरूमा बजेट खर्च भएको मानन्धर बताउँछन् ।

बजेट अर्बमा खर्च न्यून

काठमाडौँ महानगरले सडक तथा पूल निर्माणाका लागि २ अर्ब २७ करोड ३२ लाख ८६ हजार रकम बिनियोजन गरेकोमा ८७ करोड ७१ लाख २९ हजार रकम खर्च भएको छ । यो खर्च लक्ष्यको करिब ३९ प्रतिशतमात्रै हो ।

अन्य सार्वजनिक निर्माणका लागि ३ अर्ब २७ करोड ५० लाख २५ हजार बिनियोजन गरेकोमा ७० करोड ९२ लाख ९७ हजार खर्च भएको छ । यो खर्च लक्ष्यको करिब २२ प्रतिशत मात्रै हो ।

गैरआवासीय भवन निर्माण/खरिदका लागि छुट्याएको १ अर्ब १२ करोड ९२ लाख ५४ हजारमध्य ११ करोड ४ लाख २ हजार मात्र खर्च गरेको भएको छ । यो खर्च लक्ष्यको १० प्रतिशत भन्दा पनि कम हो ।

शून्य खर्चका शीर्षकहरू

महानगरले गत आर्थिक वर्षमा पशुपन्छी आहाराका लागि २० लाख रुपैयाँ छुट्याएको थियो । त्यो रकम खर्च भएको छैन ।

त्यस्तै कर्मचारी कल्याण कोषका लागि १२ लाख, वैदेशिक ऋण ब्याजका लागि २ करोड ९० लाख, गैरवितत्तीय संस्थानहरूलाई चालु सहायताका लागि ९ करोड ५० लाख रकम छुट्याए पनि खर्च भएको छैन ।

भइपरी आउने चालु खर्चका लागि २ लाख, पुँजीगत तर्फ १ अर्ब ४१ करोड ७२ लाख ८७ हजार, अन्य भाडाका लागि १ लाख, तटबन्ध तथा बाधनिर्माणका लागि छुट्याएको १ करोड रुपैयाँ खर्च भएको छैन ।

किन खर्च हुन सकेन बजेट ?

महानगरका प्रमुख शाक्यले खबरहबसँगको एक अन्तर्वार्तामा भौतिक पूर्वाधारतर्फ काम हुन नसक्नुमा खरिद प्रक्रिया मुख्य समस्या रहेको बताएका थिए ।

उनले भनेका थिए ‘असारमा बजेट पास गर्ने, साउनदेखि लागु हुने, खरिद प्रक्रिया भदौदेखि, टेन्डर गर्न चार महिना लाग्ने, एउटा उजुरी पर्‍यो भने सातआठ महिना लाग्ने, यस्तो छ हाम्रो अवस्था । एउटा आर्थिक वर्षमा यी प्रक्रिया पूरा गर्ने अनि काम अर्को वर्षमा गर्नुपर्ने अवस्था छ ।’

यिनै कारण समयमै भौतिक तथा पूर्वाधार निर्माणको काम हुन नसकेको मानन्धर बताउँछन् ।

‘गत आर्थिक वर्ष भौतिक पूर्वाधारमा ३५ प्रतिशत बजेट मात्र खर्च भयो,’ उनले भने, ‘प्राविधिक जनशक्तिको अभाव पनि छ, त्यसमाथि कोभिडले धेरै काम रोकियो ।’

खर्च नभएको बजेट फिर्ता हुन्छ

संघीय सरकारमार्फत ३ अर्ब २१ करोड ८० लाख, प्रदेश सरकारमार्फत ४ अर्ब ४० करोड ३३ लाख बजेट काठमाडौँ महानगरलाई आएको थियो । वित्त विभाग प्रमुख मान्धरका अनुसार महानगरले आफ्नो आन्तरिक स्रोतबाहेक प्रदेश र संघबाट आएको बजेटबाट आएर खर्च नभएको रकम फिर्ता गर्छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ३ : ४३ बजे

मैत्रीपूर्ण महिला फुटबलमा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं – अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको

जलथलमा मासिँदै दुर्लभ जीव र वनस्पतिहरु

झापा – ‘रुखहरुको जीवित संग्रहालय’ मानिएको दक्षिण झापाको जैविक विविधताले

आजका समाचार : तत्काल संसद् नखुल्ने, एमालेमा ‘झोले’ अभियान र सार्वजनिक यातायात ठप्प हुँदा सर्वसाधारणलाई सास्ती

राजावादीविरुद्ध एकजुट देखिएका शीर्ष नेताले संसद् खुलाउन जुटाउन सकेनन् सहमतिप्रमुख

सुदूरपश्चिम प्रदेशसभाबाट स्थानीय सेवाको गठनसम्बन्धी विधेयक पारित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन

इरानबाट इन्धन तस्करीको ठूलो गिरोह प्रहरी नियन्त्रणमा

एजेन्सी– इरानको गुप्तचर मन्त्रालयले आइतबार जनाएको अनुसार, उसले तीन प्रान्तमा