उनान्सय वर्षको उमेरमा लगातार २६ दिन साइकल चलाएर रजत पदक जितेका जुड | Khabarhub Khabarhub

उनान्सय वर्षको उमेरमा लगातार २६ दिन साइकल चलाएर रजत पदक जितेका जुड

वृद्धवृद्धाको दैनिकी सहज बनाउन विशेष खाले साइकलदेखि रोबोटसम्मको विकास


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केनेथ जुड, उमेरमा ९९ वर्ष । यो उमेरमा पनि टुर डे फोर्समा साइकल चलाउनु चानचुने कुरा होइन । शताब्दीको नजिक पुगेका उनले गत महिना मात्र विश्वव्यापी एक साइकल रेसमा रजत पदक जिते । ५ हजारभन्दा बढी सहभागी रेसमा उप विजयी भएर उनले दुनियाँलाई आश्चर्यमा पारेका हुन् ।

दोस्रो स्थान पाउने क्रममा जुडले २६ दिनमा साइकलबाटै ३७७९ किलोमिटरको दूरी तय गरे । यो औसतमा प्रत्येक २४ घण्टामा ९० माइलभन्दा बढी हो । यो दूरी धेरै युवाका लागि एक दिनका लागि पनि कठिन मानिन्छ ।

लगातार २६ दिन यसरी साइकल चलाउनु त बहादुरीको नमूना नै हो । यसका लागि दैनिक रूपमा कार छाडेर साइकलको अभ्यास गरी रहेका उनी आफ्नो जिल्ला छाडेर टाढासम्म पनि जाने गरेका छन् ।

रोड वर्ल्ड फर सिनियरको आयोजना हुन थालेको पाँच वर्ष भइसकेको छ । यो स्पर्धामा नर्वे कम्पनी मोटीटेकले बनाएको स्टेशनरी बाइकमा प्रौढहरू यात्रा गर्ने गर्छन् । टिभी मनिटर जडान भएको यो अचम्मको साइकल हो । यो ल्यापटप या कम्प्युटरसँग सम्बन्धित हुन्छ । यात्रीले यो साइकलबाट यात्रा गरी रहँदा विभिन्न दृश्यहरू स्क्रिनमा देखिरहेका हुन्छन् ।

विभिन्न जिम  र घरमा पनि उच्च प्रविधिका साइकल धेरै अघिदेखि नै थिए । तर, मोटीटेकको यो प्रविधि भने वयोवृद्ध र मानसिक समस्या भएकामा लक्षित छ । यात्राका क्रममा त्यस स्थानको प्राकृतिक दृश्यको अवलोकन गर्ने तथा मानसिक र शारीरिक दुवै खाले अभ्यासका लागि उपयुक्त हुने ढङ्गले यो साइकलको डिजाइन गरिएको हो ।

उनीहरूको साथमा  केयर वर्कर पनि रहन सक्नेछन् । यसबाट उनीहरूले विभिन्न गीत सङ्गीत लगाएर म्युजिक थेरापी पनि गर्न सक्नेछन् ।

रोड वर्ल्ड फर सिनीयरलाई बेलायतमा त्यहाँका  साइक्लिङको आधिकारिक निकाय ब्रिटिस साइक्लिङले पनि अनुमति दिएको छ । यो इभेन्ट ६ सेप्टेम्बरदेखि १ अक्टोबरसम्म भएको थियो । यो समयमा सबैभन्दा धेरै दूरी तय गर्नेलाई नै उपाधिको दाबेदार मानिएको थियो ।

जुडको यो दोस्रो सहभागिता हो । सन् २०२० मा भएको यसै महोत्सवको अघिल्लो संस्करणमा उनी सातौँ स्थानमा रहेका थिए । दोस्रो विश्वयुद्धका पाइलट रहेका यिनले यसै रेसका लागि जनवरी महिनादेखि अभ्यास गरिरहेका थिए । आफूले गत वर्षभन्दा राम्रो गर्न चाहेको र प्रशिक्षणको क्रममा हरेक  दिन आफूले पार गरेको दूरीलाई ध्यान दिएको जुडले बताएका छन् ।

उनले राति अरू निदाइसकेपछि र बिहान कोही नउठ्दा पनि साइक्लिङ गरेको बताउँदै  आफ्नो कर्मचारीले चिया ल्याउँदा पनि चिसो भएको थाहा नै नपाएको बताए । आफू साइकलको गतिमा केन्द्रित हुँदा अन्य केही थाहा नै नपाएको अनुभव पनि उनको छ । यस क्रममा उनी कहिले योर्क सायर त कहिले कता पुग्ने गरेका थिए ।

लन्डनको केयर होमको संयोजन गरिरहेका लिन्डे रेनाउडकै विचारमा प्रौढहरूलाई बाल्यकालको संस्मरण गराउन सफल भएका कारण मोटीटेक साइकलको लोकप्रियता दिनदिनै बढिरहेको हो ।  रेनाउडकै विचारमा यो साइकल, मस्तिष्क, शरीर र आत्मकै लागि उपयुक्त हुन्छ । यसले दिलाउने संस्मरण यादगार हुने गरेको रेनाउड बताउँछन् ।

यो प्रतिस्पर्धात्मक  दुनियाँमा मान्छे यति धेरै व्यस्त भयो कि, आफ्नै छोराछोरीले पनि आमाबाबुका लागि पर्याप्त समय दिन छाडेका छन् । यस्तो अवस्थामा एक्लोपन र निराशाले मानिसमा पागलपन पनि बनाउने सम्भावना व्यापक रहेको छ  । यस कारण उनीहरूलाई रोमाञ्चित तुल्याउने र शारीरिक अभ्यासमा समेत संलग्न गराउने प्रविधिको आवश्यकता रहेको छ । सुरक्षित किसिमले उनीहरूलाई अभ्यास गराउनु अहिले धेरैका लागि चुनौती नै बनेको छ ।

संयुक्त राष्ट्र सङ्घको प्रतिवेदनअनुसार अहिले संसारका नौ प्रतिशत मानिसहरू ६५ वर्षभन्दा माथिका रहेका छन् । यो क्रम २०५० मा बढेर १६ प्रतिशत पुग्न सक्ने आँकलन छ । यसै कारण प्रौढकै लाग थप प्रविधिको विकास पनि भइरहेको छ ।

न्यु क्यासलमा रहेको बेलायतको नेसनल इनोभेसन सेन्टर फर एजीङ(निका)ले सामान ओसार्ने रोबोटको परीक्षण गरिरहेको छ । यसको प्रयोग गरे मानिसहरू सुपर मार्केटबाट घरसम्म सामान लैजान सक्छन् ।

२३ केजी सम्मको सामान बोक्ने यो रोबोट अप्ठेरो बाटोमा घुँडासम्मको उचाइमा जमिनबाट उठ्ने गर्छ  । यसमा जडान गरिएको क्यामरा मार्फत मालिकको पहिचान गर्छ । अनि केही फिट पछि लागेर हिँड्ने गर्छ । निकाका निर्देशक निकोला माल्मीरीनीले बताए अनुसार यो परम्परागत रोबोटभन्दा फरक किसिमको छ । यो कसैसँग बोल्दैन र कसैसँग कुरा गर्दैन । यो बफादार कुकुरले झैँ पछ्याइरहन्छ ।

जब मानिस रोकिएर कुरा गर्न थाल्छन् । यसले आइस ब्रेककै काम गर्छ । यस सवालमा पनि यो कुकुरकै जस्तो गर्ने गर्छ । एउटा परीक्षणले के देखाएको छ भने यो रोबोट बजारमा आएपछि प्रौढहरूमा धेरै हिँडडुल गर्ने आदत बसेको छ । उनीहरू सामान किन्न आफैँ पसल जान रुचाउँछन् ।

महामारी कालमा धेरै जना समय व्यतित गर्न र पारिवारिक व्यक्तिसँग सम्पर्कमा रहन जुम, स्काइफ र गुगल मिटमा व्यस्त भएको पाइयो ।

यसै कारण माइक्रोसफ्ट टिम पनि यी प्रविधिलाई सहजीकरण गर्न प्रौढलाई सहज बनाउने नयाँ प्रविधिको खोजीमा रहेको थियो । पाको उमेर भएका प्रौढलाई नै लक्षित गरेर नर्वेको कम्पनीले कम्प नामक स्क्रिन डिभाइस बनाएको छ । यसले सहजै भिडियो ग्रहण गर्ने गर्छ ।

यो सफ्टवेयरअनुसार आफ्ना प्रिय व्यक्ति उदाहरणका लागि नाति  या नातिनीको आइडीलाई सफ्टवेयरमा शेयर गरेपछि डेस्कटप, ल्यापटप या मोबाइल जे भए पनि अर्कोपटक सजिलै अनुहार देखिने गरी कल हुन्छ । यो डिभाइसले आफै फोटो पनि पठाउनेछ ।

अक्सफोर्ड विश्वविद्यालयमा प्राइमरी केयर हेल्थ साइन्सका प्राध्यापक ट्रीस ग्रीन हागालले आफ्नी सासूका लागि तीन वर्ष अगाडि नै यो डिभाइस किनेका थिए । हगालकै अनुसार उनकी सासू लन्डन सहरमा बस्छिन् र चाहेको समयमा आफ्नो परिवारसँग सहजै कुरा गर्ने गरेकी छिन् ।

उनले डिभाइस खोल्ने बित्तिकै नातिनी या नातिको फोटो देख्छिन् । उनीहरूसँग तत्काल सम्पर्क हुन्छ । भविष्यमा यो डिभाइस चिकित्सकसँग सम्पर्क गर्न सबैभन्दा उपयोगी हुने आशा गरिएको छ ।

च्यारीटी एज युकेका च्यारीटी डाइरेक्टर अब्राहम क्यारोलीन भने यो मानिससँग नै सम्पर्क जस्तो महसुस भने नहुने बताउँछन् । उनी यसले सबै काम गर्ने भए पनि यसले व्यक्तिसँग नै सम्पर्क गरे जस्तो नहुने बताउँछन् ।

उनको विचारमा बुढा पाकाहरूको चाहना प्रत्यक्ष सम्पर्क गरेर गफ गर्ने तथा अनुहार नजिकैबाट हेर्ने नै हुने गरेको छ । उनले नयाँ परिष्कृत प्रविधिहरू तयार भए पनि मानिस अगाडि भएर हाँसेको , जिउमा छोएको र गफ गरेको जस्ता भने नहुने प्रतिक्रिया दिएका छन् ।

जुड नै भने अहिले साइकल चलाउने क्रममा आराम गरिरहेका छन् । बढेको चिसो मौसमका कारण यो जाडो याममा उनी त्यति धेरै घरबाट बाहिर निस्कनेवाला छैनन् । तर, अर्को प्रतिस्पर्धामा जानका लागि स्प्रिङबाटै तयारी गर्ने उनको योजना छ ।

जीवनमा शताब्दीको यात्रा चानचुने होइन । यो यात्रा पार गर्ने जो कोही होस्, हाम्रा निम्ति पूजनीय हुन्छन् नै ।  केही महिनापछि जुड पनि शताब्दी क्लबमा आफूलाई सामेल गर्दैछन्  ।

बढ्दो प्राविधिक विकासले बुढेशकालको जीवन सहज बनाएको साँचो हो । यसका बाबजुद यो उमेरलाई पनि रोमाञ्चित र गतिशील बनाएर बाँचिरहेका जुड सायद संसारका धेरै जनाका लागि प्रेरणाका श्रोत हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ८ : ३९ बजे

अबुधाबीस्थित नेपाली दूतावासमा निर्यात प्रवर्द्धनबारे छलफल

काठमाडौं– आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको

तनहुँको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

तनहुँ– धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन

हुम्ला– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण

मेलनिया ट्रम्पले सुरु गरिन् प्रशासनिक जिम्मेवारी

न्युयोर्क – प्रथम अमेरिकी महिला मेलनिया ट्रम्पले प्रशासनिक जिम्मेवारीको सुरुवात

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र प्रहरी

झापा– सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र