काठमाडौँ– न्यु योर्कको सडकबाट भियतनामको युद्ध मैदान अनि संसारकै शक्तिशाली देश अमेरिकाको शक्ति केन्द्रको कोरिडोरमा बलियो उपस्थिति । सारा जातीय अड्चन पार गर्दै कोलिन पावेल अमेरिकाको शीर्ष कूटनीतिज्ञ बन्न सफल भए ।
तिनै कोलिनको सफलताको पछाडि एक मुख्य व्यक्ति अल्मा जोन्सन पावेलको मुख्य भूमिका थियो ।
क्यान्सरसँग लडिरहेका ८४ वर्षीय कोलिन कोरोना भाइरसले थपिएको जटिलताका कारण यसै साता संसारबाट बिदा भए । देशको सैन्य प्रमुख तथा राज्यको एक मुख्य व्यक्ति भएकाले उनले आफ्नो जीवनमा संसारका धेरै उच्च पदस्थहरूसँग भेट गरेका थिए ।
एक दिन सञ्चारकर्मीले कुनै दिन तपाईंको संसारको सबैभन्दा महान् व्यक्ति को हो भनेर प्रश्न गर्दा आधा शताब्दीभन्दा बढी आफूलाई साथ दिएकी आफ्नी जीवन सङ्गिनी नै आफ्नो नजरमा सबैभन्दा महान् व्यक्ति हुन् भनेका थिए ।
एटलान्टास्थित एमोरी विश्वविद्यालयमा राजनीतिशास्त्रकी एसोसिएट प्रोफेसर आन्द्रा जिलेस्पीले पावेल दम्पतीले बिहेपछिको सहयात्रामा एकले अर्कोको हात थामेर संसारसामु उदाहरण प्रस्तुत गरेको जनाएकी छन् । उनले सन् १९९६ मा रिपब्लिक पार्टीको मतदान कोलिन पावेलको पक्षमा रहे पनि राष्ट्रपतिको दौडमा रहने कुरामा श्रीमतीले आपत्ति जनाएको कुरा उल्लेख गरेकी छिन् ।
आन्द्राले अल्माले उक्त समयमा प्राप्त गरेका घृणाभावयुक्त इमेल र अन्जान फोनहरूले सताउन थालेपछि उक्त कदम लिएको जनाएकी छिन्। अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति हुनु चानचुने कुरा थिएन । श्रीमतीको सल्लाहमा त्यो दौड त्याग्नुले कोलिनमा श्रीमतीप्रति रहेको आदरभाव प्रष्ट पारेको प्रतिक्रिया आन्द्राको छ ।
भियतनाम जानुअघि कोलिन पावेल २० वर्ष उमेरमा सिपाही थिएँ । लडाइँमा होमिएको देशको सैनिकको जीवनको अनिश्चितता बुझेर उनी कसैसँग पनि सम्बन्ध राख्न चाहँदैन थिए । यसैबकीच सन् १९६१ मा एउटा यस्तो दिन आयो जहाँबाट उनको जीवनले कोल्टे फेरेको थियो ।
कोलिनको आत्मवृत्तान्त ‘माई अमेरिकन जर्नी’ मा उल्लेख भएअनुसार उनका रूम मेट माइकल हेन्सबर्गले उनकी साथी एक महिलासँग चिनजानका कोलिनसँग प्रस्ताव राखेका थिए । कोलिन एक्लो जीवन बिताउन चाहन्थे र दोस्रो पटक नभेट्ने शर्तमा उनी ती महिलासँग भेट्न राजी भएका थिए । तिनै महिला थिइन् अल्मा जोन्सन ।
‘उनी हल्का खैरो कपाल, मायालाग्दो जिउडाल र सफा छाला भएकी थिइन् । उनको नजरको हेराइ पनि आकर्षित थियो,’ पहिलो भेटबारे कोलिनले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन् ।
सैनिकसँग भेट गर्न अल्मा जोन्सन डराएकी थिइन् तैपनि उनीहरूको भेट भएको थियो । यसपछि अर्को भेट अनिश्चित थियो । त्यस समयमा अल्मा बोस्टनमा अडियोलोजिस्टको रूपमा काम गर्थिन् ।
खासमा कोलिन र अल्मा पहिलो भेटमा नै प्रेममा परेका थिए । अल्मालाई त्यो वेस्टइन्डियन परिवारसँग घुलमिल हुन सक्दिनँ कि भन्नेमात्र चिन्ता थियो । उनी बर्मिङ्घममा हुर्किएकी थिइन् । कोलिन पावेलको परिवार जमैकाबाट न्यू योर्क आएको थियो ।
शान्त वातावरण मन पराउने अल्माको परिवार एकातिर थियो, अर्कोतिर पावेलको वेस्टन्डियन परिवार अन्य क्यारेबियन जस्तै रातभर रक सङ्गीतमा झुम्न मन पराउँथ्यो, नसुतेरै भए पनि पार्टी मनाउनु पर्ने ।
‘दक्षिणको शान्त संस्कारमा हुर्केकी एउटी केटीलाई बिस्तारै त्यो पार्टीको आवाज पनि मन पर्न थाल्यो,’ कोलिनले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन् । सुरुमै उनीहरू एक अर्काको व्यक्तित्वबाट प्रभावित थिए । उनीहरूका परिवार पनि एक अर्काप्रति आकर्षित हुन थाले ।
यी दुईको भेट भएको केही दिनपछि नै पावेल परिवार पनि अल्मालाई बुहारीको रूपमा स्वीकार गर्न इच्छुक भयो । अल्मा र कोलिनबीच भावना पनि मिल्थ्यो ।
अल्माले सेनामा रहेका आफ्नो नयाँ साथी कोलिनलाई भेट्न थालिन् । संयोग यस्तो थियो कि अल्माको परिवार उच्च खानदानी रहे पनि समानताको पक्षमा अडिग थियो । सन् १९६० मा ‘बर्मिङ्घम स्कुल अफ ब्ल्याक’ मा अल्माका बाबु प्रिन्सिपल थिए । त्यसै समयमा अमेरिकामा मानवअधिकार सम्बन्धी आन्दोलन चलेको थियो ।
सन् १९६२ को गृष्ममा राष्ट्रपति जोन एफ केनेडीले कोलिनलाई सल्लाहकारको रूपमा भियतनाम जान भने । यसै समयमा उनले अल्मासामु बिहेको प्रस्ताव राखे ।
कोलिनका बाबु भने अल्बामामा बढ्दै गएको जातीय द्वन्द्वले चिन्तित थिए । उनी कुनै हालतमा केटीको घरमा जाने पक्षमा थिएनन् । ‘तिमीले बर्मिङ्घममा मेरो लास भेट्ने छैनौ ।’ छोराको बिहेका लागि त्यहाँसम्म जाँदा आफ्नो ज्यान नै जाने चिन्ताले बाबु लुथर पावेलले आफ्नो छोरालाई उक्त व्यहोराको चिठ्ठी लेखेका थिए । उनले बधाईको सन्देश पठाउँछु भनेका थिए ।
कोलिन पावेल दक्ष सैनिक र कूटनीतिज्ञ त थिए नै उनको दाम्पत्य पनि उत्तिकै प्रेमिल थियो । सम्बन्ध विच्छेदको सम्भावना ५० प्रतिशत रहेको अमेरिकामा कोलिन र अल्माको आधा शताब्दीभन्दा लामो अटुट दाम्पत्य अमेरिकामा प्रेरणाको स्रोत हुन सक्छ ।
आफ्ना छोरीज्वाइँको सल्लाहमा लुथर छोराको बिहेमा गए । बर्मिङ्घमको पहिलो कंग्रेसनल क्रिस्चियन चर्चमा यी दुईको बिहे २५ अगस्ट १९६२ मा भयो । सांस्कृतिकरूपमा अल्मा र कोलिनको पारिवारिक स्थिति धेरै भिन्न थियो । छोराको बिहेको पार्टीमा रक्सी र सङ्गीत नभएकोमा लुथर अचम्ममा परेका थिए ।
कोलिनले न्यु योर्कको ‘सिटी कलेज’ मा अधिकृत प्रशिक्षण शिविरमा सुरुवाती दिन बिताएका थिए । सन् १९८९ मा राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा सेवा गरेपछि उनी चारतारे जर्नेल भएका थिए । यसै बीचमा उनी पहिलो अश्वेत ‘आर्मी चिफ अफ स्टाफ’ तथा ‘सेक्रेटरी अफ स्टेट’ भए ।
सैनिककी श्रीमती भएकाले सम्भावित चुनौतीका लागि अल्मा कहिल्यै तयार थिइनन् । अल्माले यसबीचमा आफूले अनुभव गरेका सबै कुरा धेरैपछि सार्वजनिक गरिन् । श्रीमानको भियतनाम प्रस्थान तथा अमेरिका फर्केपछिको व्यस्तताले उनलाई एकाङ्कीपन महसुस भएको थियो ।
‘उनी भियतनाम हुँदा हाम्रो छोरो जन्मिएको थियो ।
छोरो दुई साताको हुँदासम्म पनि उनले आफू बनेको पत्तै पाएका थिएनन् । उनी कम्बोडियाको सीमा छेउको जङ्गलमा थिए जहाँ सञ्चारको पर्याप्त सुविधा थिएन,’ आफ्नो छोरो जन्मिँदाको क्षण स्मरण गर्दै अल्माले भनेकी थिइन् ।
बिहेको केही वर्षसम्म अल्मालाई एक्लोपनको महसुस भएको थियो । माइकल, लिन्डा र अन्नामायरको जन्मपछि यिनलाई लिएर कोलिनको जहाँ सरुवा हुन्छन्, त्यही जाने क्रममा अल्मा अमेरिकाका धेरै ठाउँमा बसिन् ।
सैनिककी श्रीमती भएका कारण सबै सैनिकलाई आफ्नै परिवारझैँ ठान्थिन् । संसारका सबै सैनिकका श्रीमतीले छोराछोरी एक्लै हुर्काउँदाको अनुभव आफूले महसुस गर्न सक्ने उनले बताएकी छन् ।
उच्च पदस्थ अधिकारीका रूपमा लामो समय बिताएका कोलिनको जीवनमा इराकयुद्धको पक्षमा वकालत गरेका कारण दाग लाग्यो । जर्ज डब्ल्यु बुसको सुरक्षा सल्लाहकारका रूपमा उक्त युद्धमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोलिनले आफ्नो जिन्दगीमा दाग लागेको कुरा स्वीकार गरेका छन् ।
अमेरिकामा दाम्पत्य सम्बन्ध विच्छेदको सम्भावना ५० प्रतिशत रहने गर्छ । यसै अमेरिकामा आधा शताब्दीभन्दा लामो समय प्रेममय जीवन बाँचेका कोलिन र अल्मालाई प्रकृतिले छुट्ट्याइदिएको छ ।
विभिन्न उच्च ओहदामा रहेका कोलिनले सन् २००५ मा ‘सेक्रेटरी अफ स्टेट’ को पद त्यागेका थिए । परन्तु उनले सामाजिक गतिविधिमा आफूलाई सक्रिय राखे । उनले पछि ‘कोलिन पावेल स्कुल फर सिभिक एन्ड ग्लोबल लिडरसिप’ स्थापना गरे । यस स्कुलले गैरपक्षीय शिक्षा, प्रशिक्षण र अनुसन्धान गर्ने गरेको थियो ।
अल्मा पावेल पनि यसबीचमा निष्क्रिय रहिनन् । युवाहरूलाई सक्रिय राख्न अभियान चलाउने गरेको कुरा उनले आफ्ना दुई वटा पुस्तकमा लेखेकी छन् ।
अमेरिकी बच्चाहरूमा केन्द्रित रहेर उनले ‘अमेरिकाज प्रोमिस’ र ‘माई लिटल वागन’ नामका दुई पुस्तक लेखिन् । सन् २०१७ मा एक अन्तर्वार्ताको क्रममा अल्माले ‘अमेरिकाज प्रोमिस’ बारे बताएकी थिइन् । यस पुस्तकमा उनले सबै चरित्रको रूपमा जनावरलाई लिएकी छन् ।
अल्माले ‘अमेरिकाज प्रोमिस एलाइन्स’ को बोर्ड अफ डाइरेक्टरको नेतृत्व पनि गरिन् । यसै संस्थामार्फत शिक्षित र संस्कारयुक्त जीवनका लागि सहयोग गरिन् ।
सन् २०१३ मा कोलिनले आफूले जीवनभर आफ्नो देश अमेरिकाको हितलाई ध्यानमा राखेर काम गरेको र यसमा परिवारको पनि साथ रहेको बताएका थिए ।
अमेरिकामा दाम्पत्य सम्बन्ध विच्छेदको सम्भावना ५० प्रतिशत रहने गर्छ । यसै अमेरिकामा आधा शताब्दीभन्दा लामो समय प्रेममय जीवन बाँचेका कोलिन र अल्मालाई प्रकृतिले छुट्ट्याइदिएको छ ।
कोलिन केही वर्ष यता प्लाज्मा सेलको क्यान्सरको उपचार गराइरहेका थिए । पार्किन्सन्सले समेत पीडित उनले दुवै डोज कोरोना भ्याक्सिन लगाएका थिए तैपनि थुप्रै रोगका कारण उनको प्रतिरक्षा प्रणालीले काम गर्न छाडेको थियो ।
कोलिन पावेलको निधनमा थुप्रै अमेरिकीले शोक प्रकट गरेका छन् । उनलाई अमेरिकाले ‘राष्ट्रसेवक तथा उच्चस्तरको कूटनीतिक व्यक्तित्व’ भन्दै उनको निधनमा दुःख व्यक्त गरेको छ ।
शायद अमेरिकी समाजमा अल्मा र कोलिनको प्रेमकहानी आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनेर दीर्घकालीन स्मरणमा रहनेछ ।
–एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया