बैमौसमी वर्षाले अवरुद्ध भएका सात सडक अझै खुलेनन् | Khabarhub Khabarhub

बैमौसमी वर्षाले अवरुद्ध भएका सात सडक अझै खुलेनन्


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  कात्तिकको सुरुबाट भएको वर्षाका कारण अवरुद्ध सात सडक अझै खुल्न सकेका छैनन् ।

वर्षा सकिएकाले सडक विभागले मर्मतको काम अघि बढाइरहँदा आएको वर्षाले सडकमा रु एक अर्ब पाँच करोडको क्षति भएको छ । अझै पनि विवरण सङ्कलन भइरहकाले पूर्ण विवरण आउँदा बढ्न सक्ने बताइएको छ ।

वर्षाले गर्दा सुदूरपश्चिम र पूर्वमा सडकमा बढी असर गरेको छ । यस वर्ष वर्षा सुरु भएदेखि गत असोज मसान्तसम्ममा रु दुई अर्ब ३५ करोडको क्षति भएको विभागको तथ्याङ्क छ ।

यस वर्ष वर्षा सुरु भएयता मात्रै २४५ ठाउँमा सडक अवरुद्ध भएको विभागले जनाएको छ । कात्तिक १ गतेबाट १८ ठाउँमा सडक अवरुद्ध भएकामा मनाङ, बाजुरा र बझाङमा बढी असर पुगेको विभागका महानिर्देशक अर्जुनजङग थापाले बताए ।

उनका अनुसार मनाङमा अहिलेसम्म सडक अवरुद्ध भइरहे पनि खुलाउने गरी काम भइरहेको छ । उनले भने, ‘बझाङमा सडक खुलाउन बढी समय लाग्नसक्ने देखिएको छ ।’

पछिल्लो वर्षाका कारण महाकाली राजमार्ग ठाउँठाउँमा अवरुद्ध छ । कैलालीदेखि दार्चुलासम्म पहिरो आएर सडक बन्द भएको विभागले जनाएको छ । डडेलधुराको स्याउलेदेखि डोटीसम्म ठाउँठाउँमा सडकमा क्षति पुगेको छ । महानिर्देशक थापाले भने, ‘सेती नदीले सडक नामै नराखेर बगाएको छ ।’

धनगढी–सहजपुर–वुडर–स्याउेले,सतबाँझ–थाकतोली–दार्चुला– तिङ्कर सडक वर्षाका कारण केही दिनसम्म अवरुद्ध भएको थियो । अहिले सो सडक एकातर्फबाट खुलाइएको छ । बझाङको जालीबगर खण्डमा सडक नै भाँसिएकाले यातायात अवरुद्ध छ । तीन सय मिटर राजमार्ग नै बगेकाले अहिले प्राविधिक उपकरणसहित सडक खुलाउन काम भइरहेको जनाइएको छ ।

मध्यपहाडी राजमार्गको सतबाँझदेखि झुलाघाट सडकमा क्षतविक्षत रहेको विभागले जनाएको छ । साँफे–मार्तडी सडकमै तीन मिटर सडक बूढीगण्डकी नदीले बगाएको महानिर्देशक थापाले बताए ।

सो सडकको पारिबाट आएको पहिरो नदीमा गएर नदी थुनिएपछि सडक कटान भएको थियो । उक्त खण्डमा सुख्खा नभइ खुलाउन नसकिने अवस्था रहेको उनले बताए ।

बाजुराको ओमकोटमा अहिले सडक खोस्रिएर यातायात चलाउन लागिएको छ । उनले भने, ‘अहिले खुलाइएको ठाउँमा पनि ठूलो पानी परेपछि पुनः अवरुद्ध गर्नसक्छ ।’

बर्दियामा सतिघाटमा कर्णाली नदीको पुल रहेको थियो । सडकभन्दा दुई किमीमाथिबाट नै कणाली नदी गाउँतिर मोडिएको छ । माथिल्लो भागबाट नै कणार्लीलाई छेकेर पानी रोकिएपछि मात्रै सडक सञ्चालन हुनसक्ने बताइएको छ ।

यसवर्ष वर्षाका कारण सबैभन्दा बढी असर बेँसीशहर–चामे सडकमा पुगेको थियो । मनाङ पूरै सडक सञ्जालबाट अलग भएको थियो । भदौ महिनासम्म पनि सवारीसाधन मात्रै नभएर पैदलयात्रुलाई समेत आवतजावत् गर्न कठीन थियो । साढे दुई महिना लगाएर विभागले केही समय पहिले मात्रै सडक खुलाएको थियो । असारदेखि नै अवरुद्ध सडक दसैँअघि खोलिएको थियो । विभागले त्यहाँ रहेका पाँच काठे पुल बगाएकामा पुनः बनाएर यातायात चालू गरेको थियो । अहिले सडक र पुल पुनः क्षतिग्रस्त भएको महानिर्देशक थापाले बताए ।उनले भने, ‘अहिले पनि सडक खुलाउने काम भइरहेको छ, केही दिनमै खुल्नेछ ।’

सडक विभागले आफ्ना ३० डिभिजन कार्यालय, चार सङ्घीय सुपरिवेक्षण कार्यालय र आठ हेभी इक्युपमेन्ट कार्यालयमार्फत अवरुद्ध सडक खुलाइरहेको छ । विभागले वर्षा सुरु हुनु पहिले नै कुनकुन क्षेत्रमा बढी जोखिम अनुमान गरेर उपकरण राखेको उनले जानकारी दिए ।

विभागले बेवसाइटमा नै अवरुद्ध सडकका बारेमा नागरिकलाई जानकारी दिने गरेको उनले बताए ।  उनले भने, ‘कुन राजमार्ग कुन ठाउँमा, कति बजेबाट अवरुद्ध भएको र कहिलेसम्म खुल्ने भनी विवरण राख्ने गरिएको छ ।’

विभिन्न क्षेत्रबाट विभागले सडक बनाउँदा नै ध्यान नदिएका कारणले बर्सेनि वर्षाले सडकमा क्षति पुगेको बताउने गरेको छ । आइतबारको प्रतिनिधिसभा, विकास तथा प्रविधिसमितिको बैठकमा सांसदहरुले नदीको धेरै नजिकै र कम उचाइमा सडक बनाउदा क्षति भइरहेको बताएका थिए । माथिबाट आउने पहिराको समाधन नभए पनि नदीबाट केही दूरीमा सडक बनाउँदा क्षति कम हुने उनीहरुको भनाइ थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भने जथाभावी खोलिएका स्थानीय सडकका कारणले वर्षामा क्षति पुग्ने गरेको बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ३ : ३३ बजे

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार