काठमाडौँ- बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्याको आरोपमा यही फागुन ४ गते १६ वर्षीय किशोर दिनेश भट्ट पक्राउ परे ।
माघ २१ गते भएको उक्त घटनाको अदालती प्रक्रिया अघि बढे पनि टुङ्गो लागिसकेको छैन । बालबालिका सम्बन्धी ऐनअनुसार उमेरका आधारमा घटनाका अभियुक्त दिनेश पनि ‘बालबालिका’ मा परे ।
गत कात्तिकमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीका १४ वर्षीय किशोर ३ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परे । त्यसअघि असोजमा बझाङको मस्टा गाउँपालिकाकी बालिका सम्झना विकको पनि नाबालकबाटै बलात्कारपछि हत्या भएको थियो ।
गत साउनमा मकवानपुरको कैलाश गाउँपालिकाकी ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षक एक किशोर पक्राउ परेका थिए ।
गत साउनदेखिका यी घटना बालकहरूले जघन्य अपराध गरेका केही उदाहारण हुन् । प्रहरी प्रधान कार्यालयको अभिलेखअनुसार नेपालमा गम्भीर प्रकृतिको अपराधमा १८ वर्षभन्दा कम उमेरका बालबालिका पनि संलग्न रहेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार हरेक वर्ष बलात्कार, हत्या, लागुऔषध, चोरी, साइबर अपरधाजजस्ता मुद्दामा ५ सयभन्दा बढी बालबालिका पक्राउ पर्ने गरेका छन् ।
यस्तो बालबालिका पक्राउको तथ्यांक
चालु आर्थिक वर्ष : ३८१ जना (माघ सम्म)
आर्थिक वर्ष २०७६/७७ : ६३७ जना
आर्थिक वर्ष २०७५/७६ : ९८७ जना
प्रहरीका अनुसार गत वर्ष पक्राउ परेका ६३७ जनामध्ये धेरैजसो गम्भीर प्रकृतिका अपराधमा मुछिएका थिए । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार ३६५ जना बलात्कार, ५७ जना चोरी, ५१ जना लागुऔषध र अन्य बालविवाह, अभद्र व्यवहार, कर्तव्य ज्यानलगायत घटनामा मुछिएका थिए ।
आर्थिक वर्ष २०७५/७६ मा पक्राउ परेका ९८७ बालबालिका मध्ये ३९० जना बलात्कारमा मुछिएका छन् । यसबाहेक अन्य घरेलु हिंसा, केही सार्वजनिक अपराध, चोरी, लागुऔषध, बालविवाहजस्ता घटनामा मुछिएका छन् ।
सुधार गृहमा ७७४ जना
कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार अहिले देशभरका ८ वटा बालसुधार गृहमा ७७४ जना बालबालिका रहेका छन् । जसमध्ये ७४८ जना बालक र २६ जना बालिका छन् ।
सबैभन्दा बढी बालसुधार गृह, मोरङमा १८६ जना बालक रहेका छन् । बालसुधार गृह, भक्तपुरमा १७२ जना र बाँकेमा १२३ जना बालक रहेका छन् ।
बालसुधार गृह कास्कीमा ८७ जना, रुपन्देहीमा ७९ जना, पर्सामा ५७ जना, डोटीमा ३८ र मकवानपुरमा ३२ जना रहेका छन् ।
राष्ट्रिय बाल अधिकार परिषद्को २०७७ को प्रतिवेदनअनुसार बाल सुधार गृहमा रहेका बालबालिकाहरू ३५ प्रकृतिका अपराधमा संलग्न देखिन्छन् । प्रतिवेदनअनुसार सुधार गृहमा रहेका बालकहरूमध्ये अधिकांश बलात्कारमा संलग्न देखिन्छन् ।
बलात्कारसम्बन्धी मुद्दाको २६५ वटा मुद्दामा २८३ जना बालक अभियुक्त छन्, ५ वटा मुद्दा बालिकामाथि छन् । बलात्कारको आरोपमा पक्राउ पर्ने बालकहरूमा १० देख १७ वर्ष उमेरका बढी देखिन्छ । पीडित अधिकांश बालबालिकाको उमेर १० वर्षभन्दा कम छ ।
अपराधमा बालबालिका किन संलग्न ?
प्रहरी अनुसन्धान अधिकारीहरूका अनुसार पछिल्लो समय सूचना प्रविधिमा बढेको बालबालिकाको पहुँचसँगै बालबालिका अपराधमा संलग्न हुने क्रम बढेको छ ।
प्रहरी प्रवक्ता कुँवर भन्छन्, ‘सूचना प्रविधिमा सहज पहुँचका कारण बालबालिकाहरू सामाजिक सञ्जालमा लुकीछिपी अश्लिल भिडियो हेर्न थाले । यसले उनीहरूलाई आपराधिक घटनामा संलग्न हुन प्रोत्साहन गरेको देखियो ।’
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल पनि सामाजिक सञ्जालको दुरुपयोग, सानै उमेरमा देखिएको परिपक्वता लगायतका कारणले बालबालिकाहरू गम्भीर प्रकृतिका अपराधमा संलग्न हुन थालेको बताउँछन् ।
मल्ल भन्छन्, ‘पहिलेका र अहिलेका बालबालिकामा परिपक्वतामा पनि फरक आएको छ । पहिलेका बच्चाको विकास र अहिलेको फरक छ । अहिलेका बालबालिका सानै उमेरमा परिपक्व हुँदै गएका छन् । सामाजिक सञ्जालको दुरुपयोगले अपराधजन्य सामग्रीमा झुकाव बढेको छ ।’
अहिलेका बालबालिकालाई नैतिक शिक्षाको पनि कमी भएको मल्लको तर्क छ । उनी भन्छन्, ‘अभिभावकको जिम्मेवारी लालनपालन गर्नेमा सीमित छ । अनुसाशन र उनीहरूमाथिको निगरानी घटेको छ ।’
मल्लका अनुसार अभिभावकहरू घरबाहिर काममा जाने र बालबालिकाहरू पनि स्वतन्त्र भएर बाहिर निस्कने भएकाले अपराधमा संलग्न भए पनि अभिभावक बेखबर रहन्छन् । समाजमा अनुशासनहीनता पनि बढ्दै गएको छ । बालबालिकाको अधिकारको कुरा हुन्छ तर अनुशासनको कुरा घटेको छ ।
कानूनी प्रक्रिया
बाल अधिकार सम्बन्धी ऐन २०७५ ले बालबालिकाले गर्ने अपराधलाई अपराध नभनेर ‘बालबिज्याइँ’ भनेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ मा बालबालिकालाई हुने सजायबारे यस्तो व्यवस्था छ ।
– कानुन बमोजिम कसुर ठहरिने कुनै काम गर्ने व्यक्तिको उमेर त्यस्तो काम गर्दाको बखत १० वर्ष पुगेको रहेनछ भने निजलाई कुनै सजाय हुने छैन ।
– १० वर्ष वा दश वर्षभन्दा माथि र १४ वर्षभन्दा कम उमेर भएको व्यक्तिलाई कैदको सजाय गर्दा बढीमा छ महिनासम्म वा कैद नगरी बढीमा एक वर्षसम्म सुधार गृहमा राख्न सकिनेछ ।
– १४ वर्ष वा १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरको व्यक्तिले कैदको सजाय हुने कुनै कसुर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको आधा सजाय हुनेछ ।
– १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरको व्यक्तिले कैदको सजाय हुने कुनै कसुर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको दुई तिहाई सजाय हुनेछ ।
कसुर ठहर भएका बालबालिकालाई सामान्य कारागारमा नपठाई बाल सुधार गृहमा पठाउनुपर्ने व्यवस्था छ ।
नियन्त्रणका उपाय
नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार बालबालिकालाई अपराधका घटनामा संलग्न हुन रोक्ने मुख्य जिम्मेवारी अभिभावकको हो ।
उनी भन्छन्, ‘गम्भीर किमिसका अपराधमा बालबालिकाको संलग्नता बढ्नु चिन्ताको विषय हो । यसमा मुख्यरूपमा अभिभावकले निगरानी बढाउनुपर्छ ।’
पूर्वडीआईजी हेमन्त मल्ल बालबालिकामा नैतिक शिक्षा आवश्यक रहेको बताउँछन् । प्रविधि र समाजका अनेक पक्षले बालबालिकालाई अपराधमा दुरुत्साहन गर्छ । बालबालिका बचाउन नैतिक शिक्षा बढाउन र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न आवश्यक छ । यसमा परिवारको भूमिका महत्वपूर्ण हुन्छ ।
विद्यालय र परिवारबीच पनि समन्वय आवश्यक हुने मल्लको भनाइ छ ।
प्रतिक्रिया