अध्यादेश खारेज भएपछि पुरानो व्यवस्था जगाउनु पर्दैन ? | Khabarhub Khabarhub

अध्यादेश खारेज भएपछि पुरानो व्यवस्था जगाउनु पर्दैन ?


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्‍यो । अध्यादेश कार्यान्वयनबाट नेकपा (एमाले) फुटेर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बने ।

जारी भएको ४१ दिनपछि सरकारले संसद चलिरहेकै अवस्थामा यही असोज ११ गते उक्त अध्यादेश खारेज गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त अध्यादेश गत भदौ २३ गते प्रतिनिधिसभाको चालु अधिवेशनको पहिलो बैठकमा पेश गरेका थिए तर प्रतिनिधिसभाले स्वीकार वा अस्वीकार गरेको छैन ।

उक्त अध्यादेश छलफलका लागि टेबुल नभएकाले प्रतिस्थापन विधेयक पनि पेश भएको छैन । विपक्षी दल नेकपा एमालेले संसद चालु रहेको र संसदमा पेश भइसकेको अध्यदेश फिर्ता लिएर सरकारले असंवैधानिक काम गरेको आरोप लगाएको छ ।

तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकारले २०७७ वैशाख ८ गते राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेको थियो ।

यी दुई अध्यादेशका कारण सत्तारूढ दलभित्र विग्रहको स्थिति सिर्जना भएपछि र चौतर्फी चर्को विरोध भएपछि सरकारले वैशाख १२ गते दुवै अध्यादेश फिर्ता लिएको थियो । अध्यादेश फिर्ता गरेकै दिन सरकारले ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७’ जारी गरेको थियो ।

संसद अधिवेशन नचलेको अवस्थाका कारणले अध्यादेशबाटै ऐनको साविकको व्यवस्था जगाइएको थियो । पछि तत्कालीन कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले साविकको व्यवस्था जगाउने अध्यादेश प्रतिनिधिसभामा पेश गरेकी थिइन् । यो अध्यादेशले ‘खारेज भएका अध्यादेशले गरेको संशोधनको साटो तत्काल कायम रहेको व्यवस्था स्वतः जागेको मानिने’ व्यवस्था गरेको थियो ।

यसपालि सरकारले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज त गर्‍यो तर साविकको व्यवस्था जगाउन अर्को विधेयक पेश गरेको छैन ।

यस सम्बन्धमा जिज्ञासा राख्दा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका एक अधिकारीले अध्यादेश खारेज भएपछि कानूनको पुरानै प्रावधान जगाउने अभ्यास रहेको तर जगाउनै पर्छ भन्ने ठोस कानूनी प्रावधान नरहेको बताए ।

त्यसो भए साविकको व्यवस्था स्वतः जाग्यो त भन्ने जिज्ञासामा उनले भने, ‘कानूनी प्रक्रियाबाटै साविकको व्यवस्था जगाउने अभ्यास छ, ओली सरकारले त्यससम्बन्धी अध्यादेश जारी गरेको थियो, मेरो विचारमा त अहिले भ्याकुम (शून्य) छ ।’ साविकको व्यवस्था जगाउने विषयमा मन्त्रालयमा कुनै तयारी भएको जानकारी आफूलाई नभएको उनले बताए ।

मङ्गलबार आयोजित एक कार्यक्रममा विपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले सरकारले अध्यादेश फिर्ता लिएको भन्ने सूचना जारी गराए पनि साविकको व्यवस्था नजगाएको बताए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अध्यादेश खारेज भएपछि साविकको व्यवस्था जगाउन विधेयक ल्याउनै पर्ने बताए । संसद अधिवेशन चालु रहेकाले सरकारले विधेयक नै पेश गर्नुपर्ने उनले बताए । साविकको व्यवस्था जगाउने कानून नबनेसम्म के हुन्छ ?

खबरहबसँग कुरा गर्दै त्रिपाठीले भने, ‘शून्यको अवस्था हुन्छ, अध्यादेश खारेज भयो तर अध्यादेशले निष्क्रिय पारेको कानूनी प्रावधान सक्रिय पारिएको छैन ।’ उनले अध्यादेश बमोजिम भएका काम भने बदर नहुने बताए ।

उनले पूर्ववर्ती सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ मार्फत संवैधानिक निकायहरुमा गरेको नियुक्ति फिर्ता नभएको उदाहरण अघि सारे । ओली सरकारले यो अध्यादेश दोस्रो पटक जारी गरेको थियो ।
उक्त अध्यादेश पनि वर्तमान सरकारले फिर्ता गरेको थियो तर साविकको व्यवस्था जगाउने प्रक्रिया अघि बढाएको छैन ।

प्रतिनिधिसभा नियमावलीमा अध्यादेश पेश गर्ने, अस्वीकृत गर्ने तथा प्रतिस्थापन विधेयक पेश गर्ने सम्बन्धी प्रावधान छ तर साविकको व्यवस्था जगाउने सम्बन्धी प्रावधान छैन । नियमावलीको उक्त व्यवस्था स्मरण गराउँदा त्रिपाठीले कानूनी सिद्धान्तअनुसार साविकको व्यवस्था जगाउन अनिवार्य हुने बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : ०६ बजे

धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

म्याग्दी– धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु

कर्मचारी व्यवस्थापनमा मन्त्रालयले हस्तक्षेप गरेको समितिको गुनासो

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले कर्मचारी व्यवस्थापनमा वन

सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने

चौतारा– सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने  तयारी गरेको छ

बाढीपहिरो पीडितलाई सिजी इलेक्ट्रोनिक्सले ल्यायो ‘सहायता सेवा’  

काठमाडौं– सिजी इलेक्ट्रोनिक्सले बाढीपहिरो पीडितलाई ‘सहायता सेवा’ नामक कार्यक्रम सञ्चालनमा

बङ्गलादेशमा बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित

ढाका– भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण बङ्गलादेशको उत्तरी मैमनसिंह