५ महिनादेखि खुला विश्वविद्यालय पदाधिकारीविहीन « Khabarhub

५ महिनादेखि खुला विश्वविद्यालय पदाधिकारीविहीन

तीन महिनाअघिको सिफारिस अलपत्र


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल खुला विश्वविद्यालय करिब पाँच महिनादेखि पदाधिकारीविहीन रहेको छ ।

तत्कालीन उपकुलपति प्राडा लेखनाथ शर्माको चार वर्षको कार्यकाल गत जेठ १७ गते पूरा भएपछि विश्वविद्यालयमा उपकुलपति छैनन् । विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका डीन प्राडा इन्द्रबहादुर कार्की निमित्त उपकुलपतिको जिम्मेवारीमा छन् ।

कुलसचिव (रजिस्ट्रार) पद पनि रिक्त छ । तत्कालीन रजिस्ट्रार सहप्रध्यापक कमल ढकालको चार वर्ष कार्यकाल गत जेठ २० गते पूरा भएको थियो ।

पदाधिकारी छनौट समितिले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गरेको तीन महिनाभन्दा बढी भएको छ तर नियुक्ति भएको छैन । छनौट समितिले गत असार अन्तिम साता पदाधिकारीका लागि नाम सिफारिस गरेको थियो ।

दुई डीनको पद पनि रिक्त छ । सामाजिकशास्त्र तथा शिक्षा शङ्कायका डीन प्राडा शीलु मानन्धर बज्रचार्य र व्यवस्थापन तथा कानून संकायका डीन प्राडा रामचन्द्र पौडेलको चार वर्षको कार्यकाल गत भदौ ८ गते पूरा भएको थियो ।

पदाधिकारी नहुँदा समस्या

निमित्त उपकुलपति प्राडा कार्कीका अनुसार मुख्य निकाय नै पदाधिकारीविहीन हुँदा विश्वविद्यालयको दैनिक कार्यसम्पादनमा असर परेको छ ।

कर्मचारीहरुले गत साउनदेखि लागु हुने गरी वृद्धि भएको तलब पाएका छैनन् । विभिन्न संकायका विद्यार्थीहरूको ट्रान्सक्रिप्ट रोकिएको छ ।

पदाधिकारी नहुँदा विश्वविद्यालयको कार्यकारी परिषद् अपूर्ण रहेको छ । परिषद्बाट हुनुपर्ने निर्णय रोकिएको छ ।

कार्यकारी परिषद्ले विश्वविद्यालयका लागि वित्तीय स्रोत जुटाउने; शिक्षक र कर्मचारी दरबन्दी स्वीकृतिको प्रक्रिया अघि बढाउने; विश्वविद्यालयको चलअचल सम्पत्तिको संरक्षण, नियन्त्रण र व्यवस्थापन तथा सञ्चालन गर्ने काम गर्छ ।

डीनको नियुक्ति पनि कार्यकारी परिषद्ले गर्छ ।

विश्वविद्यालयलाई कर्मचारीको पनि अभाव रहेको निमित्त उपकुलपति कार्कीले बताए । विद्यार्थीको चाप बढ्दै गएकोले कर्मचारीको आवश्यकता बढ्दै गएको छ ।

डीन नभएका शङ्कायमा आगामी मंसिरमा हुने परीक्षामा समेत असर पर्ने सम्भावना देखिएको उनको भनाइ छ ।

यस्तो छ नियुक्तिको व्यवस्था

नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ को दफा २२ अनुसार उपकुलपति र रजिस्ट्रारको नियुक्तिको सिफारिस गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र नेपाल सरकारद्वारा मनोनित एक जना महिला शिक्षाविद् रहेको सिफारिस समिति रहन्छ ।

उक्त समितिले पदाधिकारी नियुक्तिको सिफारिस शिक्षा मन्त्रालयमा बुझाउँछ । शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान्छ । मन्त्रिपरिषद्ले प्रस्ताव सदर गरेपछि उपकुलपति र रजिस्ट्रार नियुक्त हुने प्रावधान छ ।

प्राध्यापन वा अनुसन्धानको क्षेत्रमा कम्तीमा २० वर्ष काम गरेका ख्यातिप्राप्त शिक्षाविद् खुला विश्वविद्यालयको उपकुलपति नियुक्त हुन योग्य हुन्छ । यसैगरी प्राध्यापन वा अनुसन्धानको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको व्यक्ति कुल सचिव अर्थात रजिस्ट्रार नियुक्त हुन योग्य हुन्छ ।

सिफारिस विचाराधीन !

छनौट समितिले विश्वविद्यालयका लागि पदाधिकारी नियुक्तिको सिफारिस गरेको तीन महिनाभन्दा बढी भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारीका अनुसार छनौट समितिबाट सिफारिस भएका पदाधिकारीको नियुक्तिको प्रक्रिया विचाराधीन छ । नियुक्तिको विषयमा तत्काल केही भन्न सकिने अवस्था छैन ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ३ : २९ बजे

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार