काठमाडौँ– गीत या सङ्गीत सिकेकै कारण ज्यान जोखिममा परेको अवस्थाको कल्पना गरौँ त ! हो, अफगानिस्तानको राष्ट्रिय सङ्गीत प्रतिष्ठान (एनिम) का विद्यार्थीहरूले यही भोगिरहेका छन् ।
तालिवानले अफगानिस्तानमा कब्जा जमाएपछि सङ्गीतमा प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । सङ्गीत सिकाउने र बाजा बजाउने धेरै ठाउँका ढोका बन्द छन् । सङ्गीतका गतिविधि गुपचुप छन् । प्रशिक्षण स्थलहरू औपचारिक रूपमा बन्द छन् । घरमा लुकेर अभ्यास हुन थालेको छ, त्यो पनि बाजा नबजाई ।
हरेक विद्यार्थी आफूले सङ्गीत सिकेको कुरा सार्वजनिक भएमा कठोर सजाय कठोर हुने त्रासमा छ । तालिवानले कब्जामा लिनेबित्तिकै धेरै विद्यार्थीले घरमा रहेका वाद्यसामग्री र सङ्गीतम्बन्धी समाग्रीहरू विद्यालयमा बुझाएका छन् । उनीहरूलाई सत्ता पक्षका जो कोही पनि घरमा पसेर खानतलासी लिनसक्ने भय छ ।
अहिले यस्तै समस्यामा छ राजधानी काबुलमा डा. समासार्टले सञ्चालन गरेको एनिम । सन् १९९६ देखि २००१ को कठोर तालिवान शासनको समाप्तिसँगै डा.समासार्टले एनिममार्फत अफगानिस्तानमा सङ्गीतलाई पुनर्ताजगी दिने काम गरेका थिए ।
एनिमको सङ्गीत विद्यालयमा छात्रछात्रा एउटै कक्षा कोठामा राखिन्छन् । यस्तो काम अफगानिस्तानको सवालमा विरलै हो । त्यहाँ परम्परागत अफगान सङ्गीत र पश्चिमा सङ्गीत सिकाइन्छ । अनाथ र सडक बालबालिका प्राथमिकता पर्छन् । यहाँबाट ग्राजुएट हुने धेरै जना आफ्नो परिवारमा औपचारिक शिक्षा लिने पहिलो व्यक्ति हुन् ।
उक्त विद्यालयमा अफगानिस्तानको पहिलो महिला साङ्गीतिक ब्यान्ड जोहोरा पनि रहेको छ । जोहोराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा हजारौँ दर्शकका सामु प्रस्तुतिहरू दिइसकेको छ । जोहोरोका प्रस्तुतिमा सबैका लागि शिक्षामा जोड दिइएको हुन्छ । त्यो लोकप्रिय ब्यान्डका सबै सदस्य तालिवान शासनमा अनिश्चित साङ्गीतिक भविष्यका कारण चिन्तामा छन् ।
डा. समासार्टका अनुसार यो समय सङ्गीतका विद्यार्थीहरूको इच्छा, प्रेरणा र सपनामा ठूलो बज्रपात हो । उनी आफू भने गत जुलाईदेखि पारिवारिक भ्रमणको क्रममा अस्ट्रेलियामा छन् ।
उनले काबुलको हरेक घटनाबारे जानकारी लिइरहेका थिए । जुनसुकै समयमा आफ्ना कर्मचारी र विद्यार्थीमाथि आक्रमण हुनसक्ने भयले उनले विद्यालय बन्द गर्न लगाए । डा. समासार्ट शिक्षा र सङ्गीतबारे मात्र होइन जीवनबारे पनि आफ्ना विद्यार्थी चिन्तित भएको बताउँछन् ।
केही कर्मचारीले परबाट त्यो विद्यालय नियाल्ने गरेका छन् । उनीहरूले डा. समासार्टलाई नियमितरूपमा त्यहाँको परिस्थित जानकारी गराउँछन् । त्यसको क्याम्पस तालिवानको नियन्त्रणमा छ तर क्षतविक्षत भएको छैन । सङ्गीतयन्त्रहरू नष्ट गरेको कुरा सामाजिक सञ्जालमा आए पनि डा. समासार्टलाई उनका कर्मचारीले त्यो कुरा गलत हो भनेका छन् ।
अन्तर्राष्ट्रिय पहिचान भएका डा. समासार्टलाई तालिवानले खोजेको छ । उनका कर्मचारीले दिएको जानकारी अनुसार क्याम्पसमा उनको खोजी गरिएको छ । तालिवानीहरू उनको खोजी गर्दै तीन पटक घरमा पुगेका थिए ।
तालिवानीहरूले विद्यालयको साँचो मागेका छन् तर कर्मचारीले समासार्ट आइपुगेपछि उपलब्ध गराउने भनेका छन् । अहिले नै अफगानिस्तानमा सङ्गीतमा प्रतिबन्ध लागेको छैन तर पनि १९९६ मा तालिवान सत्तापछि सङ्गीतमाथि प्रतिबन्ध लागेको सम्झिँदै अहिले पनि यही नियति दोहरिने चिन्ता छ ।
त्यो समयमा कुनै साङ्गीतिक बाजा बजाउनेमाथि कोर्रा हान्ने र यन्त्र नष्ट गरिदिने सजाय हुने गरेको थियो । हाल तालिवानी अधिकारीहरूले आफूहरू आधुनिक र उदार रहेको बताउने गरेका छन् ।
तल्लो तहमा भने तालिवानीहरूको व्यवहार विगतको जस्तै कठोर छ । अहिले यसका थुप्रै उदाहरणहरू छन् । डा. समासार्ट विगतबाट पाठ लिएर तालिवान सुधारिनेमा आशावादी छन् परन्तु तल्लो तहमा भएको गतिविधिका कारण उनी चिन्तित छन् ।
सन् १९९० को गृहयुद्धको समयमा डा. समासार्ट भागेर मस्को पुगेका थिए । त्यहा १० वर्ष बिताएर अस्ट्रेलिया पुगे अनि सङ्गीतमा विद्यावारिधि गरे । अफगानिस्तान फर्केपछि उनलाई त्यहाँको शताब्दी पुरानो सङ्गीत जगेर्ना गर्न मन लाग्यो । उनी सन् २०१४ मा भएको एक आत्मघाती आक्रमण परेर घाइते भए, अहिले राम्रोसँग कान सुन्दैनन् ।
उनको अनुभवमा तालिवानको त्यो पाँच वर्षको सत्ता त्यहाँको सांस्कृतिक पुरातत्व क्षतविक्षत गर्न पर्याप्त थियो । उनको विचारमा त्यो पाँच वर्षको युवा पुस्ता र अफगान सङ्गीतबीच ठूला खाडल प¥यो । त्यो खाडल पुर्न उनले गरेको प्रयासले सार्थक रूप पाउँदै गरेको भए पनि फेरि तालिवानी शासनका कारण अफगानिस्तानको सङ्गीत सधैँका लागि पछि पर्ने सम्भावना बढेको छ ।
अफगानिस्तानमा भन्ने गरिएको ब्रेन ड्रेनको ज्वलन्त उदाहरण बनेका छन् डा. समासार्ट । विगतमा पनि तालिवानका कारण देश छाड्ने उनी नै एक शिक्षित व्यक्ति थिए । उनले १३ वर्षको बीचमा आफू सक्रिय रहेको तथा यसै सक्रियताका कारण युवाहरूमा ज्ञान, सिप र क्षमताको विकास भएको बताउने गरेका छन् । उनी अहिले पनि त्यहाँको घटनाबारे कुरा गर्दा भावविभोर हुन्छन् ।
आफू विदेशमा रहे पनि अफगानिस्तानमा रहेका सङ्गीतकर्मीमार्फत जोखिम मोलेरै भए पनि सङ्गीतलाई निरन्तरता दिने विश्वास उनलाई छ ।
सन् २००१ मा अफगानिस्तान तालिवानबाट स्वतन्त्र भएपछि पश्चिमा सङ्गीतको पनि विकास भएको थियो । अफगान र पश्चिमा सङ्गीतको मिश्रण त्यसै समय देखिन थाल्यो । पश्चिमी शैलीका रक ब्यान्ड स्थापना भए । रक र हिपप अफगानिस्तानमा लोकप्रिय हुन थाल्यो । मेटल सुन्नेहरूको पनि संख्या बढ्न थालेको थियो ।
ब्याङ रिङ ब्यान्डका एक सङ्गीतकर्मी पनि अहिले आफ्नो जिन्दगी जोखिममा परेको बताउँछन् । मेटल सङ्गीतको विकास गर्ने उनले अहिले आफूलाई फेसबुकबाट हटाएका छन् । यो ब्यान्डका सहकर्मीहरू पुराना दिन फर्कने छैनन् भन्नेमा छन् । सङ्गीतमाथि प्रतिबन्ध लगाउने इतिहास भएको तालिवानले पश्चिमा सङ्गीत र मेटललाई स्वीकार गर्छ भन्ने आशा छैन ।
सन् २००६ मा ट्रसभस बर्ड अफगानिस्तान पुगेका थिए । सोही समयमा उनले त्यहाँ रक सङ्गीतलाई बढवा दिने मेटल स्थापित गराए । उनको उपस्थितिको पाँच वर्षमा ‘ह्वाइट सिटी ब्यान्ड’ अफगानिस्तानका धेरै युवाका लागि औधी प्रिय बन्यो ।
सन् २०११ सम्ममा ‘ह्वाइट सिटी ब्यान्ड’ ले अमेरिकी दूतावासको सहयोगमा तीन वर्ष प्रदर्शन गरेको थियो । यस ब्यान्डले अरू ब्यान्डसँग सहकार्य गर्ने पनि जनाएको थियो ।
चिन्ता काबुल रक ब्यान्डमा पनि छ । काबुल रकका एक सदस्यका अनुसार तालिवान राजधानी प्रवेश हुने बित्तिकै रेडियो र टिभीले गीतसङ्गीत बन्द गरेका थिए ।
बर्डका अनुसार अहिले सय जना जति सङ्गीतकर्मीले अफगानिस्तान छाड्न चाहेका छन् । उनीहरूले सङ्गीत कर्ममात्रै होइन आफ्नो जीवन नै जोखिममा परेको ठानेका छन् ।
बर्डको सहयोगमा गत साता ६ जना पोल्यान्ड गए । बर्डले पश्चिमी मुलुकले सङ्गीतकर्मी, सञ्चारकर्मी र मानव अधिकारवादीलाई अविलम्ब भिसा दिनुपर्छ भन्ने आवाज उठाएका छन् ।
महिलामाथि कठोर मानिने तालिवान सत्ता महिला सङ्गीतकर्मीका लागि झन् कठिन हुनेछ । यही समस्यामा छ जोहोरा ब्यान्ड । सन् २०१९ मा जोहोरा विदेशमा समेत प्रभावशाली रहेको थियो ।
पर्सिएन लेखाइ र पश्चिमी सङ्गीतको संयोजनलाई प्राथमिकतामा राखेर जोहोरा ब्यान्ड स्थापित भएको थियो । महिलामात्रको यो ब्यान्डमा तीस जना छन् । एनिममा सङ्गीत सिकेका उनीहरूले २०१५ मा ब्यान्ड स्थापना गरेका हुन् । छोटो समयमा लोकप्रियता कमाएको यो ब्यान्डले क्विन सोयरा अवार्ड र फ्री म्युज अवार्ड पाएको थियो । सन् २०१८ मा लिबर्टे अवार्ड पाएको थियो ।
सन् २०१७ मा यो ब्यान्डले विश्वव्यापी भ्रमण गरेको थियो, वल्र्ड इकोनोमिक फोरममा आफ्नो कला प्रस्तुत गरेको थियो । सन् २०१९ मा ब्रिटिस म्युजियम र युनिभर्सिटी अफ अक्सफोर्डमा कला प्रस्तुत गरेको थियो ।
सन् २०१९ मा विश्वमा अफगान संस्कृतिको पहिचान गराउने उद्देश्यले जोहोराले सिड्नी र मेलबर्नमा प्रदर्शन गरेको थियो । अफगानिस्तान र अस्ट्रेलियाको सम्बन्धको ५० वर्ष पूरा भएको अवसरमा अफगान राजदूतावास र अस्ट्रेलिया सरकारको समन्वयमा जोहोराले प्रदर्शन गरेको थियो ।
लामो मिहिनेत र परिश्रमका कारण अफगान संस्कृतिको पुनर्जागरण मात्र भएको थिएन, गएको २० वर्षमा अफगानिस्तान सङ्गीतको नयाँ आयाम थपिएको थियो । अहिले त्यो साङ्गीतिक धरातल जोखिममा परेको छ ।
–एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया