काठमाडौँ– फ्रान्सेली शहर मार्सेइल धेरै कारणले चर्चामा छ । पछिल्लो दशक यो शहर फुटबल पारखीका लागि समेत परिचित छ । पुरातात्त्विक र सांस्कृतिक छवि बोकेको फ्रान्सको यो शहर बन्दरगाहको कारण औद्योगिक र व्यापारिक रूपले पनि महत्त्वपूर्ण मानिन्छ ।
केही समययता भने यो शहर बदनाम हुँदैछ । लागुऔषधको कारोबार बढ्दै जानु र यसैका कारण धेरैको ज्यानसमेत जान थालेपछि शहरलाई हेर्ने कतिपयको दृष्टिकोण नै फेरिएको हो । यस शहरको उत्तरी भागमा गत महिना लागुऔषधसँग जोडिएका आपराधिक घटना धेरै भए । प्राय: घटनामा बन्दुक प्रहार गरिएकाका समाचारहरू बाहिर आए । लगातार बढ्दै गएको लागु औषध कारोबार र झै–झगडाका कारण प्रहरी प्रशासन पनि आजित भइसकेको छ ।
रायिने नामका एक १४ वर्षीय युवकको गृष्ममा यसै खाले घटनामा परेर ज्यान गएपछि फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोनले दुईपटक त्यहाँको भ्रमण गरिसकेका छन् । अगस्टको मध्यमा सो दु:खद घटना भएपछि राष्ट्रपति माक्रोन सेप्टेम्बर र अक्टोबर गरी दुईपटक भ्रमणमा गएका थिए । दुवै भ्रमणमा उनले समस्या समाधानका लागि अर्बौँ डलर खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अर्को वर्षको सुरुवातमै हुने राष्ट्रपति निर्वाचनमा माक्रोनका सामु धेरै चुनौती छन् । यी सामाजिक र आर्थिक मुद्दालाई उनका विपक्षीले गतिलोसँग उठाउने निश्चित नै छ । विपक्षी दल र ती दलका समर्थकले अहिले नै ती मुद्दालाई अगाडि बढाउन शुरु गरिसकेका छन् ।
मार्सेइलका केही गरीब क्षेत्र छन् । युरोपका अन्य क्षेत्रको तुलनामा धेरै गरिबी रहेको क्षेत्रमा गरिबी, रङ्गभेद र आइसोलेसनका मुद्दा प्राथमिकताका साथ उठाइएका छन् । त्यो क्षेत्रमा जनजीवनमा नै समस्या परेको छ । स्वास्थ्य संयन्त्र खराब बनिरहेको छ । युवाहरू लागु औषध ओसारपसारमा सक्रिय छन् । गाँजा, भाङ र कोकिनको नसामा लट्ठ हुनेको जमात यत्रतत्र देख्न सकिन्छ ।
यसरी लागु औषधको विकराल अवस्थाको शिकार हुने एउटी प्रतिनिधि पात्र हुन्, फतिमा (नाम परिवर्तन) । उनका छोराको सन् २००९ तथा श्रीमानको सन् २०१० मा ज्यान गएको थियो । लागु औषध कारोबारीकै डरले उनी आफ्नो वास्तविक नाम बताउन चाहन्निन् । यसरी लागु औषध कारोवारीको विरुद्धमा आफ्नो वास्तविक परिचयसहित बोल्दा घरमा रहेका अन्य बालबच्चाको ज्यान नै असुरक्षित हुने जोखिममा पनि उनी छिन् ।
आफ्ना प्रियहरूको ज्यान गए पनि फतिमामा न्याय पाउने आशा मरिसकेको छ । १२ वर्षको अन्तरालमा आफूलाई सम्हालिरहेकी त छिन् । परन्तु, समय–समयमा आफ्नो श्रीमान् र छोराको यादले अझै सताइ नै रहन्छ ।
फतिमाका छोरा गोली लागेर ज्यान गुमाउँदा २२ वर्षका थिए । लागु औषध ओसारपसारमा संलग्न उनी कैयौँपटक जेल पनि पठाइएका थिए । उनलाई बारम्बार लागु औषध बेचिरहेको समयमा प्रहरीले पक्राउ गरेको थियो ।
सन् २००९ को जुनमा फतिमाका छोरा मारिए । आफ्नो लक्का जवान छोरा मारिएपछि बाबुलाई असह्य भयो । उनी छोराको हत्यारा पत्ता लगाउन लागिपरेका थिए ।
एक वर्ष पनि नहुँदै सन् २०१० को मेमा आफ्ना चार बच्चा लिन विद्यालय गएका श्रीमान् नफर्केपछि फतिमा बाहिर खोज्न निस्केकी थिइन् । श्रीमान् भेट्टाउँदा आफ्नै कारभित्र थिए । अवस्था यस्तो थियो कि, टाउको बाँकी रहे पनि शरीरका अन्य अङ्ग छिन्नभिन्न भइसकेका थिए ।
एकभन्दा कम समयको अन्तरालमा आफ्नो सबैभन्दा प्रिय दुई व्यक्तिलाई गुमाएकी फतिमा चार सन्तानको सुरक्षित जीवन र भविष्यका लागि दु:ख गरिरहेकी छिन् । उनले अहिलेसम्म न्याय पाएकी छैनन् । उनलाई यस कुरामा आशा पनि छैन । “म कतै मजाक गरिरहेको भए पनि या कतै काममा कटिबद्ध देखिए पनि मेरो मनमा एउटा कहिल्यै नपुरिने घाउ छ,’ आफ्नो पीडा सम्झँदै फतिमा भन्छिन् ।
उनी बाँकी रहेका सन्तानका लागि नै आफ्नो जीवन समर्पित गरेको बताउँछिन् ।
यो पीडा भोग्ने फतिमा एक्ली महिला होइनन् । उनका छिमेकीहरू पनि लागु औषध कारोबारीको आँखामा परेका छन् । कुनै पनि समय जो कोही युवा गोली खाएर मर्न सक्ने डरले अभिभावक भयभीत हुन थालेका छन् ।
पाँच वर्ष अघिको भन्दा मार्सेइलको अपराध दरमा कमी आएको प्रहरीको तथ्याङ्क छ । यद्यपि यस बीचमा एक्लोपनको वृद्धि भइरहेको छ भने गोली लागेर मारिने युवाको सङ्ख्या बढी हुन थालेको छ ।
१७ वर्षीय एमाइन केसास्की लागु औषध कारोबारले चरम गरिबीमा राहत दिएको बताउँछन् । उनी युवा लागु औषध कारोबारी अपराधी नभई परिस्थितिको शिकार भएको बताउँछन् । बेरोजगारी र गरीबीको शिकार भएपछि धेरै जना यो पेशा रोज्न बाध्य भएको उनको मत छ । अभावै अभावका बीचको जिन्दगीका कारण धेरैले गलत बाटो रोजेको उनी बताउँछन् ।
केसास्कीको दाजु २२ वर्षीय ब्राह्मिक पनि फतिमाका छोराजस्तै गोली लागेर मरेका थिए । सन् २०२० को डिसेम्बरमा जलेको शरीर भेट्टाइएको उनको हत्यामा संलग्न भएको आशङ्कामा चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
केसास्कीकै अनुसार दाजु लागु औषधमा संलग्न भएको अभिभावकले थाहा पाए पनि छोराप्रतिको सम्मानमा कमी आएन । राज्यले नै उत्तरी क्षेत्रमा बढ्दै गएको यो समस्यालाई बेवास्ता गरेका उनी बताउँछन् ।
मार्सेइलमा बसेर पत्रकारिता गरिरहेका फिलिप पोजुलले यसरी शिकार हुने धेरै जना उत्तरी अफ्रिकन समुदायको भएको बताउँछन् । उनकै विचारमा बेरोजगारी र यसपछि उत्पन्न भएको जीवनयापनको समस्याले उनीहरू यस्तो पेशामा आबद्ध भएका हुन् ।
पुजोलकै विचारमा उत्तरी क्षेत्रमा बासिन्दा माथि हुने भेदभाव नै एउटा समस्या हो । उनका अनुसार कतै रोजगारीका लागि पुगे पनि घर र ठेगाना भन्ने बित्तिकै खराब नजरले हेर्ने गरिन्छ । बासेनमा बस्ने २२ वर्षीय नासेर रिबोह लगातार कामको खोजी गरे पनि पाउन असमर्थ रहेको बताउँछन् । उनकै विचारमा यी सबै रङ्गभेदका कारण भएको हो ।
रोजगारदाताले कामको बारेमा बुझ्दै नबुझी तिरस्कार गर्ने गरेको उनी बताउँछन् । उनको गुनासोमा अन्य युवाको पनि स्वीकारोक्ति छ । उनी भन्छन्, “जति युवा छन्, उति मर्ने सम्भावना बढी छ ।”
उनकै विचारमा बेवास्ताको ककटेल रहेको मार्सेइलमा उनका एक साथीले पनि ज्यान गुमाएका थिए । जहाँ गरिबी, कमजोर शिक्षा, स्थानीय क्षेत्रमा विद्यालयको अभाव, सामुदायिक सेवाको अभाव र प्रहरीको कमजोर उपस्थिति छ । ती क्षेत्रमा यस्ता आपराधिक गतिविधि अझै बढी बढेका छन् । यी सबै त्यहाँको पर्याय बनेका छन् ।
रिबोहको विचारमा लागु औषध नियन्त्रणको सवालमा प्रहरीले रङ्गभेदी नीति लिएको छ । थुप्रै पटक निर्दोष उत्तरी अफ्रिकन गिरफ्तार भएका छन् । प्रहरीले वास्तविक दोषी पत्ता लगाउने प्रयास नगरेरै अश्वेतलाई लक्षित नै गर्ने गरेको उनको गुनासो छ । त्यस क्षेत्रका प्रहरी अधिकारी बाउचेस डी रोन शङ्का लागेको व्यक्तिलाई सोधपुछ गर्ने प्रहरीको अधिकारको उपयोग गरेको बताउँछन् ।
उनको विचारमा नियममा कुनै भेदभाव त छैन । तर, अन्य सामाजिक संरचनाको असर प्रहरीको मानसिकतामा पनि परेको भने साँचो हो । उनी यी यावत् समस्याको बावजूद लागु औषध समस्यामा लागी परेको बताउँछिन् ।
अगस्ट महिनामा १४ वर्षीय रायिनेको हत्या भएको केही समय पछि नै अन्य दुई जनाको ज्यान गएको थियो । यस लगत्तै राष्ट्रपति माक्रोनले त्यहाँ भ्रमण गरेका थिए । रायिने फ्रान्समा लागु औषधसँग सम्बन्धित घटनामा ज्यान गुमाउने सबैभन्दा कान्छा व्यक्ति थिए । यसपछि त्यहाँ भ्रमण गरेका माक्रोनले घटनाले आफूलाई स्तब्ध पारेको बताउँदै यो घटना देशकै दुर्भाग्य भएको सन्देश दिएका थिए ।
सरोकारवालाका अनुसार अहिले विभिन्न देशबाट त्यहाँ लागुऔषध ओसारपसार भइरहेको छ । यो ओसारपसारको केन्द्र पत्ता लगाउन प्रहरीले निरन्तर प्रयास गरे पनि पूर्ण सफलता हात लाग्न सकेको छैन । नजिक भने पुगेको जनाइन्छ ।
प्रहरी अधिकारीका अनुसार यस वर्ष ८ सय लागु औषधका डिलर प्रहरीले पक्राउ गरे । यो गिरफ्तारी गत वर्षभन्दा दुई गुणा बढी हो । यसले प्रहरीको सक्रियतालाई प्रमाणित गरेको छ । पत्रकार पुजोल नै भने लाग औषधको यो चेनमा युवालाई प्रयोग गर्दा सहज हुने भएकाले युवाहरूको प्रयोग गरिएको बताउँछन् ।
डिलरले ती युवालाई ऋण बोकाउँछन् । यसै कारण ती ऋण असुल गर्न एकले अर्कालाई मार्ने गरेका छन् । प्रहरीकै अनुसार उनीहरू ग्राहकको चाहे अनुसारको लक्ष्य राख्ने गरेका छन् । धेरै डिलरले युवालाई सुरुवाती दिनमा भाङको आदती बनाउने गरेका छन् । यसपछि कोकीनको व्यापार पनि उनीहरूबाटै गराउने गर्छन् ।
यसै व्यापारमा प्रत्येक २ सय हाते बन्दुक र २ सय ठूला बन्दुक पनि एक वर्षको बीचमा भित्रिने गरेका छन् । त्यहाँसम्म यो लैजाने क्रममा अन्तर्राष्ट्रिय क्षेत्रमा नै एउटा गिरोह सञ्चालित छ । गत अगस्टमै मार्सीलेका मेयर फ्रान्सेलन्फोले बजारमा चकलेट किन्नभन्दा हतियार किन्न सहज भएको प्रतिक्रिया दिएका थिए । उनले सरकारसँग बन्दुक नियन्त्रण नीति बनाउन अनुरोध गरेका थिए ।
गत सेप्टेम्बरमा राष्ट्रपति माक्रोनले यो समस्यालाई निराकरण गर्न स्थानीय तहमै पहल शुरु गर्नु पर्ने बताएका हुन् । यसको निरीक्षण गर्न अक्टोबरको अन्त्य र सन् २०२२ को फेब्रुअरीमा फेरि भ्रमण गर्ने जनाएका थिए । उनले धेरै जना पक्राउ भएकोमा प्रहरी प्रमुख कामलरीको प्रशंसा गरेका थिए ।
यसपछि नै राष्ट्रपतिले लागु औषध नियन्त्रणका लागि ३ देखि ४ अर्ब युरो खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
हामीले सोचेजस्तो युरोपका सबै भाग उत्तिकै सुन्दर छैनन् । संसारको समृद्धमध्येको एक देश फ्रान्सको यो कहालीलाग्दो अवस्था हाम्रा लागि अनपेक्षित हो । राष्ट्रपति माक्रोनको यो पछिल्लो प्रतिबद्धताले शायद अब त्यहाँको अवस्थामा सुधार हुनेछ ।
–एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया