विद्यालय तहमा नयाँ ‘लेटर ग्रेडिङ’ प्रणाली: विद्यार्थीलाई थप मेहनती बनाउनेमा शिक्षक विश्वस्त « Khabarhub

विद्यालय तहमा नयाँ ‘लेटर ग्रेडिङ’ प्रणाली: विद्यार्थीलाई थप मेहनती बनाउनेमा शिक्षक विश्वस्त


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तह (कक्षा १ देखि १२) सम्म लागू हुने गरी नयाँ लेटर ग्रेडिङ निर्देशिका जारी गरेको छ ।

निर्देशिका यसै शैक्षिक सत्रबाट लागू भए पनि सबै कक्षाहरुमा भने लागू नहुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दीपक शर्माका अनुसार यो निर्देशिका यस शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू भएका कक्षाहरुमा मात्र लागू हुनेछ ।

अन्य कक्षामा नयाँ पाठ्यक्रम लागू भएपछि मात्र यो निर्देशिका लागू हुने उनले बताए । एसईई परीक्षाको सन्दर्भमा भने राष्ट्रिय परीक्षा बोर्डले नै निर्णय गर्ने उनले बताए ।

एसईईमा यसअघि नै ग्रेडिङ प्रणाली लागू भइसकेकाले बोर्डले यस्तो खाले निर्देशिका लागू गर्ने विषयमा निर्णय गर्न सक्ने उनले बताए ।

‘शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तरलाई प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ शिक्षा मन्त्रालयले यो निर्देशिका जारी गरेको हो,’ उनले भने ।

निर्देशिका अनुसार विद्यार्थीहरुले एउटा कक्षा पास गरेर अर्काे कक्षामा अध्ययन गर्न प्रत्येक विषयको सैदान्तिक परीक्षामा कम्तिमा पनि ३५ प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ । उक्त अंक प्राप्त नगरेका विद्यार्थीहरुले माथिल्लो कक्षामा अध्ययन गर्न पाउने छैनन् ।

नयाँ ग्रेडिङ प्रणालीले विद्यार्थीहरुलाई थप मेहनती बनाउने र शैक्षिक गुणस्तरमा वृद्धि हुने शिक्षकहरूले विश्वास लिएका छन् ।

काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले लेटर ग्रेडिङ निर्देशिकाले विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि हुने धारणा राखे ।

यसअघिको ग्रेडिङ प्रणालीले विद्यार्थीहरुलाई अल्छि बनाएको बताउँदै उनले अब विद्यार्थीहरुले पास हुनको लागि पनि मेहनत गर्ने बताए ।

सैदान्तिक विषयमा मात्रै ३५ अंक ल्याउनुपर्ने बाध्यता भएपछि विद्यार्थी, शिक्षक र अभिभावकमा पनि जिम्मेवारी थपिएको उनको भनाइ छ ।

‘यो निर्देशिका लागू भएपछि विद्यार्थीहरुमा पढाईको केही दबाव पर्ने भए पनि यसले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा राम्रो भूमिका खेल्छ,’ उनले खबरहबसँग भने ।

त्यस्तै नक्सालस्थित नन्दी माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता काफ्ले पनि नयाँ ग्रेडिङ निर्देशिकाले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुर्‍याउने बताइन् ।

प्रधानाध्यापक काफ्लेले भनिन्, निर्देशिकाले शिक्षकलाई जिम्मेवार र विद्यार्थीलाई मेहनत गर्न बाध्य बनाएकाले शैक्षिक गुणस्तर वृद्धि हुनेमा म विश्वस्त छु ।’

उनका अनुसार ग्रेडिङ निर्देशिका लागु भएको एक/दुई वर्ष विद्यार्थी र शिक्षकहरुलाई स्वभाविक रुपमा प्रेसर पर्ने देखिए पनि दीर्घकालीन रुपमा सकारात्मक नतिजा दिनेछ ।

भविष्यमा राम्रो जनशक्ति उत्पादन गर्न पनि अहिले शैक्षिक प्रणालीलाई कसिलो बनाउन जरुरी रहेको उनले बताइन् । यो निर्देशिकाले विद्यार्थीलाई मात्र नभएर शिक्षकहरुलाई समेत मेहनती बनाउने उनले धारणा राखिन् ।

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले कक्षा कोठामा राम्रोसँग पढाउन सकियो भने मात्रै विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिने बताए ।

विद्यार्थीहरुलाई जे गरे पनि पास हुन्छु भन्ने मनोविज्ञान विकास गर्न दिनुहुन्न भन्ने कुरामा यो निर्देशिकाले केही सकारात्मक भूमिका खेलेको उनले बताए ।

मन्त्री फेरिएसँगै नीति निर्देशिका परिवर्तन गर्दा विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई मनोवैज्ञानिक रुपमा असर पुग्ने उनको भनाइ छ ।

भण्डारीका अनुसार यस्ता निर्देशिका ल्याउने र प्रणाली परिवर्तन गर्ने विषयमा विद्यार्थीहरुलाई पहिला नै जानकारी गराएर ल्याउनुपर्छ । जसले विद्यार्थीहरुलाई मानसिक रुपमा तयार पार्छ ।

निर्देशिका अनुसार कक्षा आठ, दश र बाह्र का विद्यार्थीले सबै विषयमा निर्देशिकाले तोके बमोजिम न्यूनतम ग्रेड पूरा गरेपछि मात्र सम्बन्धित निकायले मूल प्रमाणपत्र उपलब्ध गराउने छ ।

मूल प्रमाणपत्र प्राप्त गर्न विद्यार्थीहरुले सैदान्तिक विषयतर्फ कम्तिमा पनि ३५ र प्रयोगात्मक तर्फ कम्तिमा पनि ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ । अन्य कक्षाका विद्यार्थीहरुलाई विद्यालयले नै यो निर्देशिका प्रतिकूल नहुने गरी ग्रेड सिट उपलब्ध गराउन सक्छन् ।

निर्देशिका सकारात्मक छ: शिक्षाविद् कोइराला

शिक्षाविद् प्रा.डा विद्यानाथ कोइरालाले सरकारले जारी गरेको लेटर ग्रेडिङ निर्देशिका सकारात्मक रहेको बताए ।

यो निर्देशिकाले शिक्षकहरुलाई राम्रोसँग अध्यापन नगराए विद्यार्थीहरु फेल हुन्छन् भन्ने पहिलो सन्देश दिएको उनले बताए । त्यस्तै राम्रोसँग नपढे फेल भएर कक्षा दोह¥याउनुपर्छ भन्ने सन्देश विद्यार्थीहरुलाई पनि दिएको उनको भनाइ छ । नपढे पनि पास भइन्छ भन्ने विद्यार्थीहरुको मानसिकतालाई निर्देशिकाले पूर्णविराम लगाइदिएको उनले बताए ।

उनका अनुसार सैद्धान्तिक र प्रयोगात्मक विषयमा आएको अंकलाई जोडेर पास गराउने प्रणालीमा विद्यार्थीले सैदान्तिक विषयमा थोरै अंक प्राप्त गरे पनि पास हुने व्यवस्था थियो । तर, अब सैदान्तिक विषय र प्रयोगात्मक विषयमा छुट्टाछुट्टै नम्बर ल्याउनुपर्ने भएपछि विद्यार्थीहरुलाई मेहनत गर्न निर्देशिकाले बाध्य पारेको उनले बताए । यो निर्देशिकाले विद्यार्थीलाई पढ्न र शिक्षकलाई राम्रोसँग पढाउन बाध्य पारेको उनले बताए ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  १२ : ४८ बजे

विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर

ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको उद्‌घाटन

काठमाडौं– ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलले आज

क्यानडाको श्रम बजारमा सुधार

एजेन्सी – क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ओखलढुङ्गा– ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी

बजार अनुगमनमा विभाग थप सक्रिय

काठमाडौं– बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य,