नदी दोहनले जलचरको अस्तित्व सङ्कटमा | Khabarhub Khabarhub

नदी दोहनले जलचरको अस्तित्व सङ्कटमा


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– प्राकृतिक प्रकोप र मानवीय अतिक्रमणका कारण म्याग्दी क्षेत्र भएर बग्ने कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गा नदीमा रहेका जलचरको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ ।

विगत तीन वर्षदेखि यी जलाधार क्षेत्रमा गएको पहिरो, बाढी र अत्यधिक मात्रामा भएको नदीहरूको दोहनका कारण यी नदीमा रहेका जलचर लोप हुँदै गएका स्थानीयवासीले बताएका छन् । भगवान् विष्णुको प्रतीक मानेर पुजिने बहुमूल्य शिला शालिग्राम र जलचर प्राणीको वासस्थान मानिएको कालीगण्डकी नदीको नारच्याङ क्षेत्रबाट सदरमुकाम बेनीसम्मको क्षेत्रमा जलचर प्राणीको अस्तित्व लोप हुँदै गएको पाइएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन जलविद्युत् अयोजनाका कारण पानीको प्राकृतिक गुणमा परिवर्तन भई वातावरणीय असन्तुलन हुन थालेपछि जलचरको अस्तित्व सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । नारच्याङ जलचर र जङ्गली जनावरको बासस्थानका लागि अत्यन्त अनुकूल स्थान भएको ठाउँ भनेर चिनिन्छ । पछिल्लो समय यहाँका नदी तथा खोलाबाट विद्युत् आयोजना निर्माण गर्ने होडबाजी नै चलेकाले यहाँका जलचर सङ्कटमा परेका नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइमा कार्यरत शिव पुर्जाले बताए ।

नारच्याङमा १५७ मेगावाटका पाँचवटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । निर्माणाधीन अवस्थामा रहेका ती जलविद्युत् आयोजनाका स्रोत भनेका यहाँ रहेका नदी तथा खोला नै हुन् । त्यसैगरी बाढी, पहिरो र नदीजन्य वस्तुको अप्राकृतिक उत्खनन पनि जलचर नासिनुका मुख्य कारण रहेका वातावरण संरक्षणकर्मीले बताएका छन् ।

म्याग्दी नदी, कालीगण्डकी र रघुगंगा क्षेत्रमा गएका पहिरो र पहिरोसँगै विभिन्न स्थानबाट आएको बाढीले नदीको जलचक्र प्रणाली नै खल्वलाइदिएकाले जलचरको बासस्थान नास हुँदा उनीहरू लोप हुने अवस्थामा पुगेका वातावरण संरक्षणकर्मी श्रीराम सिग्देलले बताए । उनका अनुसार नदीमा आउने बाढीले नदीलाई धमिल्याइदिएर आहाराको अभाव गराइदिने मात्र होइन, त्यसले जलचरको अनुकूलन अवस्थालाई पनि क्षति पुर्‍याइदिने भएकाले त्यस ठाउँमा रहन सक्ने अवस्था नभएपछि जलचर तलतलतिर सर्दै जान्छन् ।

मानवीय अतिक्रमण र प्राकृतिक सम्पदाको दोहन पनि जलचर प्राणी नासिदै जानुको अर्को कारण हो ।

म्याग्दीका तीनवटै जलाधार क्षेत्रमा नदीजन्य वस्तुको चोरी निकासी बढेर गएको छ । नदीमा डोजर र स्काभेटरजस्ता भारी साधन प्रयोग गरेर जथाभावी नदीजन्य वस्तु निकाल्दा त्यसको असर जलचर प्राणीमा पनि परेको र उनीहरू नासिदै गएका वातावरण संरक्षणकर्मीको भनाइ छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : ४८ बजे

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू

दोधारा चाँदनी – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह

नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्ट नै मुख्य दोषी : विप्लव

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति

अर्थसंक्षेप : गत आवमा २ खर्ब ७७ अर्ब बढीको निर्यात, सरकारमाथि असन्तुष्ट वर्षमान र शेयर बजारमा उछाल

दुई तिहाइको सरकारले अर्थतन्त्र सुधार्न सकेन : वर्षमान पूर्व अर्थमन्त्री

‘असफाल्ट प्लान्ट’को प्रदूषणले बस्तीमा सास्ती

सिरहा– यहाँको धनगढीमाई नगरपालिका–३ बनौलीमा ‘बजरङ्गबली कन्स्ट्रक्सन’द्वारा सञ्चालित सडक निर्माणमा

मन्त्रीको दाबी- सुधार हुँदैछ वीरको स्थिति : सेवाग्राही भन्छन्- टिकट काट्ने लाइनमै बेथिति

काठमाडौं– टाउको दुखाइको समस्या लिएर वीर अस्पताल पुगेकी एक सेवाग्राही