कोरोना उपचारमा दोहोरो शुल्क असुल्ने सीएमसीको दाउ, १० जनाले गरे उजुरी | Khabarhub Khabarhub

कोरोना उपचारमा दोहोरो शुल्क असुल्ने सीएमसीको दाउ, १० जनाले गरे उजुरी


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गरेको भनी चितवन मेडिकल कलेज (सीएमसी) दोहोरो शुल्क उठाउने धन्दामा लागेको छ । कोरोना संक्रमितसँग उपचार खर्च असुलेको सीएमसीले कोरोना संक्रमितको निःशुल्क उपचार गराएको भनी सरकारसँग पनि शोधभर्ना बापतको रकम माग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत निःशुल्क उपचार नपाउने बिरामीले उजुरी गर्नू भनेर सार्वजनिक रूपमा आह्वान गरेपछि अहिले बिरामीले भटाभट उजुरी गरेका छन् । सीएमसीविरुद्ध मंगलबारसम्म १० जनाले उजुरी गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

उनीहरूले प्रशासन कार्यालयमा सशरीर उपस्थित भएर र इमेलमार्फत उजुरी गरेका हुन् । पीडितहरूले उपचार गराउँदा सीएमसीलाई तिरेको पैसाको बिलसहित उजुरी गरेका छन् । उजुरी गर्नका लागि सिमरासम्मका पीडित चितवन आएका थिए ।

उक्त उजुरी प्रशासनले हुलाकमार्फत मन्त्रालयमा पठाएको छ । संक्रमितको निःशुल्क उपचार गर्ने विषयमा मन्त्रालय र कलेजबीच सम्झौता भएकाले बाँकी अनुसन्धान मन्त्रालयले नै गर्ने जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले बताए ।

‘मेडिकल कलेज र मन्त्रालय बीच मात्रै सम्झौता भएको हो । सम्झौता गर्दा हामी थिएनौं । के–के को लिने के–को नलिने भनेर हेर्न हामीसँग विज्ञ पनि छैनन्’, उनले भने, ‘हामीले उजुरी लियौं । अब मन्त्रालयमा पठाउँछौं । बाँकी अनुसन्धान माथिबाटै हुन्छ ।’

सीएमसीले २०७८ को वैशाख, जेठ र असारमा ९६६ संक्रमितको निःशुल्क उपचार गराएको भन्दै सरकारसँग १० करोड ९५ लाख आठ हजार रुपैयाँ शोधभर्ना बापत रकम माग गरेको छ । एउटा संक्रमितलाई आठ लाख ४० हजारसम्म छुट दिएको दाबी गरेको छ ।

प्रशासनले ९ माघमा सूचना निकालेर सीएमसीमा निःशुल्क उपचार भए/नभएको सम्बन्धमा सात दिनभित्र उजुरी गर्न आग्रह गरेको थियो । प्रशासनमा सिराहाका मनोज विष्ट, भरतपुर–२० की हिमालक्ष्मी भट्ट, भरतपुर–६ का कृष्णबहादुर भण्डारी, भरतपुर–१६ का हरिचन्द्र बानिया, खैरहनी–९ का भीमबहादुर क्षेत्री, जितपुर सिमराका केशव प्रसाद न्यौपाने, ठेगाना नखुलाइएका तेज प्रजापति र विष्णु श्रेष्ठलगायतले उजुरी गरेका छन् ।

सीएमसीले आफ्नो निःशुल्क उपचार गरेको भनी सरकारसँग उपचार रकम माग गरेको थाहा पाएपछि सीएमसीविरुद्ध उजुरी गर्न सिमरा जीतपुरका केशव न्यौपाने चितवन आए ।

सीएमसीमा १७ दिन उपचार गराएपछि कोरोना पोजेटिभ हुँदैमा अब अरूलाई नसर्ने र शरीरमा पनि थप समस्या नहुने चिकित्सकको सल्लाहपछि उनी घर फर्किएका थिए । उनले सीएमसीलाई उपचार खर्च बापत आठ लाख बुझाएका थिए ।

पैसा नतिर्दा आफूलाई सीएमसीले डिस्चार्ज नै नदिएको उनले स्मरण गरे । ‘उपचार खर्च नतिर्दासम्म मलाई डिस्चार्ज नै दिएको दिइएन । तिरेपछि मात्रै घर गएको हो । तर अहिले सीएमसीले निःशुल्क उपचार गरेको भनेर सरकारसँग पैसा मागेको रहेछ’, उनले भने ।

सीएमसीले भने कोरोना संक्रमण हुनुअघि र मुक्त भएपछिको मात्रै उपचार खर्च लिएको दाबी गरेको छ । केशवको उपचार गराए बापत सीएमसीले सरकारसँग दुई लाख ५५ हजार रुपैयाँ मागेको छ ।

भरतपुर महानगरपालिका–१२ का मानबहादुर रजाली मगर र उनकी श्रीमती टुकमाया रजाली मगर दुवैजना कोरोना संक्रमित भई सीएमसीमा उपचार गरे । झन्डै १० लाख खर्च भयो ।

तर, अस्पतालले निःशुल्क उपचार गरेको भनी आफ्नो नाममा रकम मागेको थाहा पाएपछि उनी पनि प्रशासनमा उजुरी दिन गए । सीएमसीले मानबहादुरको उपचार बापत १२ दिनको एक लाख ८० हजार र टुकमायाको उपचार बापत नौ दिनको एक लाख ३५ हजार मागेको छ ।

सरकारले कोरोना संक्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक दुई हजार, एचडियूमा बसेको ३५ सय र आइसियु तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजारमात्रै लिन पाउने व्यवस्था गरेको थियो । सीएमसीले भने एचडियूको प्रतिदिनको सात हजारसम्म लिएको छ ।
– न्यूज कारखानाबाट

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ६ : ३८ बजे

काभ्रेका सडक अवरुद्ध बस्तीमा खाद्यान्न पठाउन ड्रोनको प्रयोग

काभ्रे– गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी– गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५

आज विश्व बसोवास दिवस मनाइँदै

काठमाडौं– दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

काठमाडौं – स्पेनिस ला लिगको अङ्क तालिकामा बार्सिलोनाले अग्रता लिएको

घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी

लन्डन – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा चेल्सी र