तस्बिर : तास

अन्तर्राष्ट्रिय

युक्रेनमाथि आक्रमण गर्न रुसलाई बेलारुसको साथ, बेलारुसी सैनिक पनि युक्रेन पसे

By खबरहब

March 01, 2022

काठमाडौंँ- रुसी आक्रमणमा सघाउन बेलारुसका सैनिक पनि युक्रेन प्रवेश गरेका छन् । युक्रेन सरकारले युक्रेनमा बेलारुसका सैनिक प्रवेश गरेको जानकारी दिएको हो ।

युक्रेनको संसद्ले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश जारी गर्दै ‘बेलारुसी फौज चेर्निहिभ क्षेत्रमा प्रवेश गरेको’ जनाएको छ । यस क्षेत्र बेलारुसको सीमानजिक युक्रेनको उत्तरी भेगमा पर्छ ।

यससँगै बेलारुस युक्रेनमाथि आक्रमण गर्ने दोश्रो राष्ट्र बनेको बेलायतको पत्रिका द मिररको अनलाइन संस्करणले जनाएको छ । यसअघि रुसी सेनाले बेलारुसको भूमि प्रयोग गर्दै युक्रेनको उत्तरी सीमाबाट आक्रमण थालेका थिए । यद्यपि बेलारुसका राष्ट्रपति अलेक्जाण्डर लुकासेन्कोले युक्रेनमा जारी आक्रमणमा आफ्ना सैनिकको सहभागिता नरहेको बताएका थिए ।

पछिल्ला केही दिनयता पश्चिमा मुलुकहरुले रुस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै बेलारुस र राष्ट्रपति लुकासेन्कोमाथि पनि आर्थिक प्रतिबन्धहरूको घोषणा गर्दै आइरहेका छन् ।