बागलुङमा चुनावी सरगर्मी बढ्यो  | Khabarhub Khabarhub

बागलुङमा चुनावी सरगर्मी बढ्यो 


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १२ दिनपछि मतदान छ । दलहरू प्रचारमा होमिएका छन् । उम्मेदवार मतदातासामु पुगिरहेका छन् ।

दुई दिन मौन अवधि रहने भएकाले चुनावी प्रचारका लागि दलहरुसँग अब १० दिनमात्र बाँकी छन् । यो बीचमा प्रचारलाई अझ तीव्र पार्ने दलहरूले जनाएका छन् । सत्ता साझेदार दलको गठबन्धनले शनिबारदेखि जिल्लाभर चुनावी अभियान थालेको छ । मनोनयन फिर्ताको अवधिअघिसम्म अलमलमा देखिएको गठबन्धन एकढिक्का भएर प्रचारमा लागेको सम्बद्ध दलहरूले जनाएका छन् ।

वडा नं १४ नारायणस्थानमा शनिबार संयुक्त भेला तथा अन्तक्र्रियासँगै पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिकाको प्रचार अभियान सुरु गरेको नेपाली कांग्रेसका नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले जानकारी दिए । नगरका १४ वटै वडामा गठबन्धनका उम्मेदवारसँगै दलहरूको संयुक्त प्रचार र घरदैलो अभियान सञ्चालन हुने उनको भनाइ छ । गठबन्धनको उम्मेदवार परिचयसहित साझा प्रतिबद्धतापत्र आज सार्वजनिक गरिने भएको छ ।

गठबन्धनले काठेखोला गाउँपालिकामा पनि शनिबारदेखि चुनावी प्रचार अभियान सुरु गरेको छ । वडा नं ३ धम्जामा आयोजित चुनावी सभामा पाँच दलका जिल्लास्तरीय नेता सहभागी भएका थिए । काठेखोलामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु थापा अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक पुन चुनावी मैदानमा छन् । गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, बरेङ र निसीखोलामा पनि चुनावी अभियान तीव्र पारिएको गठबन्धनले जनाएको छ । जैमिनी नगरपालिकामा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको नेपाली कांग्रेस जैमिनी नगरका सभापति प्रेम सापकोटाले जानकारी दिए ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङ नगर समितिले पनि आज प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । बागलुङ नगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल छ । वडा तहको चुनावी अभियान पनि आजदेखि सुरु हुने एमाले नगर सचिव रामकृष्ण शर्माले जानकारी दिए ।

आ–आफ्नै हिसाबले प्रचारमा लागेका दल र उम्मेदवारले आजदेखि चुनावी अभियानलाई व्यवस्थित बनाउन लागेका हुन् । यसका लागि उनीहरुले वडागतरूपमा समयतालिका तयार गरेका छन् । मतदाता फकाउन स–साना भेला, सभादेखि घरदैलो अभियानमा दलहरु केन्द्रित छन् ।

यहाँका अरु स्थानीय तहमा पनि संयुक्त गठबन्धन र एमालेले चुनावी प्रचारलाई तीव्र पारेको छ । सत्ता साझेदार पाँच दल दशै स्थानीय तहमा गठबन्धन बनाएर चुनावमा होमिएका छन् । एमालेले पनि बागलुङ नगरपालिकामा राप्रपा र ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाको ‘विद्रोही समूह’सँग चुनावी तालमेल गरेको छ ।

गठबन्धनतर्फ कांग्रेसले बागलुङ, गलकोट नगरपालिकासहित काठेखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिका पाएको छ । नेकपा (माओवादी केन्द्र)ले ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिका, राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिका पाएको छ । एमालेले भने दशै स्थानीय तहको प्रमुखमा आफ्नै उम्मेदवार उठाएको छ । एमालेले तालमेलका कारण बागलुङ नगरपालिकाको उपप्रमुखमा राप्रपा र ढोरपाटन नगरपालिकाको उपप्रमुखमा राजमोको ‘विद्रोही समूह’लाई छाडेको छ।

जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले शनिबार उम्मेदवारलाई चुनाव चिह्न दिइएको बताए । ‘दल र उम्मेदवारले चुनाव चिह्न लिएर मतदाताकहाँ जाने, प्रचार गर्ने समय सुरु भएको छ’, उनले भने । निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकायलगायत भने चुनावको व्यवस्थापकीय तयारीमा जुटेका छन् । जिल्ला निर्वाचन अधिकारी रिजालले चुनावमा खटिने जनशक्तिको व्यवस्थापन, खटनपटन, तालिमसहित निर्वाचन आयोगले तोकेका काममा आफूहरु केन्द्रित रहेको बताए ।

उनका अनुसार मतपत्रसहित चुनावमा प्रयोग हुने ५९ प्रकारका सामग्री जिल्लामा आइसकेका छन् । ‘व्यवस्थापकीय तयारीको काम अहिले भइरहेको छ, मतदान केन्द्रमा चाहिने सामग्री पछि मतदान अधिकृतसँगै पुग्छन्’, उनले भने, ‘सुरक्षा प्रबन्धको काम सोही निकायबाटै भइरहेको छ ।’ जिल्लामा १०३ मतदानस्थल र २३० मतदान केन्द्र छन् । एक लाख ९३ हजार ६२५ मतदाता छन् । तीमध्ये महिला ९९ हजार ७२८ र पुरुष ९३ हजार ८९७ छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : २१ बजे

मानव-हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जनाको मृत्यु

बनियानी– झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

क्लब विश्वकप : समूह विजेता बन्दै इन्टर मिलान शीर्ष स्थानमा

काठमाडौं – तनावग्रस्त खेलमा रिभर प्लेटलाई २-० ले हराउँदै इन्टर

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

रामपुर– रामपुर बचत तथा ऋण सहकारी संस्थाले रामपुर नगरपालिका–३ रजघरास्थित

सहयोग प्याकेजसहित इरानलाई वार्तामा ल्याउने अमेरिकी योजना

वाशिङ्टन – अमेरिकाले इरानलाई वार्ताको टेबलमा ल्याउनका लागि थुप्रै सहयोगका