तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

पाकिस्तानमा गहुँको उत्पादन अपेक्षा भन्दा कम, मूल्य आकासियो

By खबरहब

June 01, 2022

काठमाडौं– आर्थिक एवम् राजनीतिक संकटमा परेको पाकिस्तानमा गहुँको मूल्य आकासिएको छ ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न आपूर्ति चक्रमको समस्या र पूर्वी युरोपमा रुसले युक्रेनमाथि आक्रमण गरेसँगै पाकिस्तानमा गहुँको मूल्य बढेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसबाहेक पाकिस्तानमा यो वर्ष अपेक्षाभन्दा कम मात्र गहुँ उत्पादन हुने देखिएको जनाइएको छ । एएनआईका अनुसार पाकिस्तानले यो वर्ष २ करोड ८९ लाख मेट्रिक टन गहुँ उत्पादन गर्ने लक्ष्य लिएको छ ।

यद्यपि यथार्थमा भने पाकिस्तानले केबल २ करोड ६९ लाख मेट्रिक टन गहुँमात्र उत्पादन गर्ने अपेक्षा गरिएको एएनआईले जनाएको छ ।

मध्य मार्च महिनामा दक्षिण एसियामा देखा परेको तापलहर, मलको अव्यवस्था र सिँचाईका लागि पानीको अभावका कारण गहुँ उत्पादन घटेको बताइएको छ ।

यसबाहेक पाकिस्तान सरकारले कृषि क्षेत्रलाई उपलब्ध गराउँदै आएको अनुदानमा कटौती गरेका कारण पनि पाकिस्तानमा गहुँ उत्पादनमा प्रभाव परेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।