विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जेठ १८, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन १, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

दक्षिण कोरियामा मतदान

दक्षिण कोरियामा बुधबार मतदान भएको छ । स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि मतदान भएको हो । निर्वाचनबाट नगर प्रमुखहरू, गभर्नरहरु र स्थानीय परिषद सदस्यहरू निर्वाचित हुनेछन भने सात जना सांसद पनि चयन हुनेछन् । स्थानीय समय अनुसार बिहान ६ बजे सुरु भएको मतदान बेलुका ६ बजेसम्म चलेको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन् ।

मतदानका लागि देशभरी १४ हजार ४६५ मतदान केन्द्रहरू तोकिएको पनि राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ । कोरोना भाइरसको महामारी फैलिइरहेको बेलामा पनि दक्षिण कोरियामा स्थानीय तथा संसदीय प्रतिनिधि चयनका लागि निर्वाचन भएको हो । कोरोना भाइरसबाट सङ्क्रमित भइ क्वारेन्टाइनमा बसेकाहरूलाई भने बेलुका ६:३० देखि ७:३० सम्म मतदानको व्यवस्था गरिएको जनाइएको छ ।

दिउसो अन्य मतदाताहरूको भिडभाड हुने भएकाले सङ्क्रमतिलाई छुट्टै समय तय गरिएको अधिकारीहरूले जनाएका छन् ।मतदानबाट १७ नगरका प्रमुख र प्रान्तीय गभर्नरहरु निर्वाचित हुनेछन भने २२६ जना स्थानीय परिषद्का प्रमुखहरू छनोट हुनेछन । त्यसैगरी नगरपरिषद् सदस्य र प्रान्तीय परिषद् सदस्य ८२४ जना र स्थानीय परिषद् सदस्य दुई हजार ९२७ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि यसअघि गत शुक्रबार र शनिबार पनि मतदान भएको थियो ।

रुसी सेनाद्वारा खेर्सनमा सम्पूर्ण सञ्चार माध्यम बन्द

रुसी सेनाले ओगटेको युक्रेनी सहर खेर्सनमा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन् । सहरको सम्पूर्ण सञ्चार सम्पर्क विच्छेद भएको र केबलहरू विच्छेद गरिएका विशेष सञ्चार र सूचना संरक्षणका लागि युक्रेनको राज्य सेवाले एक विज्ञप्तिमा भनेको छ । ‘यस क्षेत्रका बासिन्दाहरूलाई हाल युक्रेनी मोबाइल सञ्चार र इन्टरनेट पहुँचबिना नै छोडिएको छ । साथै, ल्यान्डलाइन फोन उपकरणहरू प्रयोग गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय फोन कल गर्ने कुनै माध्यम छैन’, राज्य सेवाले अगाडि भनेको छ ।

२४ फेब्रुअरीदेखि युक्रेनविरुद्ध हमला गरेको रुसी सेनाले पछिल्लो समय आफ्नो सम्पूर्ण शक्ति पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । दोनेत्स्क, लुहान्स्कलगायतका क्षेत्रमा रुसी फौज बढिरहेको छ । युद्ध अन्त्य गर्न यसअघि भइरहेका वार्ता प्रयास पनि आबद्ध भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू रुसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताउँदै आएका छन् । तर, क्रेमलिनले यसबारे खासै चासो देखाएको छैन ।

चीनको साङ्घाईमा कोभिड प्रतिबन्ध हटाइयो

दुई महिनाको प्रतिबन्धपछि चीनको सहर साङ्घाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र साङ्घाईमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड जनसंख्या भएको सहरका बासिन्दा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने भएका छन् । प्रतिबन्ध खुकुलो पारिए पनि चीनको शून्य कोभिड नीति भने कायमै छ । कोभिड सङ्क्रमणका केस घट्दै गएपछि सरकारले प्रतिबन्ध हटाएको हो । केही साताअघि सांघाई कोभिडको मुख्य हब बनेको थियो । दैनिक सङ्क्रमितको संख्या बढेपछि सरकारले दुई महिनाअघि लकडाउन घोषणा गरेको थियो ।

कोभिडका कारण केही सङ्क्रमितको मृत्यु हुन थालेपछि कोभिड नियन्त्रणबारे चिनियाँ सरकारको पहल र त्यहाँ विकसित खोपबारे पश्न उठ्न थालेको थियो । तर, सरकारले खोप नलगाएका वृद्धवृद्धाको मृत्यु भएको दाबी गरेको थियो । लामो समयदेखि लागेको प्रतिबन्ध हटेसँगै सर्वसाधारण र व्यवसायीहरू खुसी भएका छन् । त्यस्तै, प्रतिबन्ध हटाएकोमा साङ्घाई सरकारले पनि सन्तोष व्यक्त गरेको छ । ‘यो त्यो दिन हो जसलाई हामीले धेरै लामो समयदेखि सपना देखेका थियौं’, सांघाई सरकारका प्रवक्ता यिन जिनले पत्रकारहरूलाई भने ।

अमेरिकाको विद्यालयमा पुनः गोलिकाण्ड

अमेरिकाको विद्यालयमा फेरि बन्दुक हमला भएको छ । मंगलबार न्यु अर्लिन्सको हाईस्कुलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

मोरिस जेफ हाई स्कुलका स्नातकहरू भेला भएको दीक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यु अर्लियन्स प्रहरीले जनाएको छ । ।

गोली लागेर घाइते भएका तीनै जना व्यक्ति स्नातक समारोहमा भाग लिन त्यहाँ आएका प्रहरी प्रवक्ता ग्यारी सिटले बताए । गत मंगलबार टेक्सासको उभल्देस्थित रोब इलिमेन्ट्री स्कुलमा एक बन्दुकधारीले गोली चलाउँदा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो ।

अष्ट्रेलियामा मन्त्रिपरिषद् विस्तार

अष्ट्रेलियामा नयाँ मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले नयाँ मन्त्रपरिषद् विस्तार गरेका हुन् । लेबर पार्टीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा ३० जना मन्त्री भएका छन् । ती मध्ये १३ जना महिला रहेका छन् । आदिवासी समुदायको महिला तर्फबाट लिन्डा बर्नीले पहिलोपटक मन्त्रीको जिम्मेवारी सम्हालेकी छिन् । अष्ट्रेलियामा यसअघि आदिवासी समुदायबाट कुनै महिला मन्त्री बनेका थिएनन् ।

त्यसैगरी अष्ट्रेलियाको इतिहासमा अहिलेको मन्त्रिपरिषद्मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । अहिले एकै पटकमा मुस्लिम समुदायका दुई जना मन्त्री बनेका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एद हसिकअन्ना अलीले मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषद्मा सहभागी हुने ऐतिहासिक अवसर पाएका हुन् ।  त्यस्तै, उपप्रधानमन्त्रीको जिम्मेवारी समेत पाएका रिचार्ड मार्लेसले रक्षा मन्त्रालय सम्हाल्नेछन् भने क्लार ओनेइललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । अष्ट्रेलियाका नवनियुक्त मन्त्रीहरूलाई बुधबार सपथ खुवाइएको छ । 

लेबर पार्टीका नेता एन्थोनी अल्बानी नेतृत्वको मन्त्रिपरिषद्मा रहेका ३० जनालाई अष्ट्रेलियाका गभर्नर जनरल डेभिड हुर्लीले सपथ खुवाएका हुन् ।  राजधानी क्यानबेरामा रहेको गभरमेन्ट हाउसमा प्रधानमन्त्री अम्बानीको रोहबरमा उनले मन्त्रीहरूलाई सपथ खुवाएको जनाइएको छ । प्रधानमन्त्री अल्बानीले मन्त्रिपरिषद्को कोषाध्यक्षमा जिम चाल्मर्स, विदेश मन्त्रीमा पेन्नी वाङ र अर्थमन्त्रीमा काती गाल्लाघारलाई पहिलो दिन नै नियुक्त गरेका थिए । उनीहरु सबैले मे २३ मा नै सपथ लिएका थिए ।

लेबर पार्टीले एक्लै बहुमत ल्याएपछि प्रधानमन्त्री अल्बानीले एकल मन्त्रिपरिषद् गठन गरेका हुन् । देशका पाँच प्रदेशमा अझै पनि विदेशबाट आएका मत गणना भइरहेपनि बहुमत पुर्‍याउन आवश्यक पर्ने ७६ सिट जितिसकेकाले उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । लेबर पार्टीका नेता अल्बानी प्रधानमन्त्री भएको १० दिनपछि मात्रै मन्त्रपरिषद् गठन गरिएको हो । लेबर पार्टी यसअघि नौ वर्ष प्रतिपक्षमा रहेको थियो ।

सरकारी राजस्व बढाउन श्रीलङ्का सरकारद्वारा कर ऐन संशोधन गर्ने निर्णय

श्रीलङ्का सरकारले सरकारी राजस्वलाई सन् २०१९ को स्तरमा पुर्‍याउनका लागि करको दर बढाउन पाँचवटा कर ऐन संशोधन गर्ने निर्णय गरेको छ । करको दर वृद्धिमा मूल्य अभिवृद्धि करहरू लगायत समावेश हुने अपेक्षा गरिएको छ ।

आन्तरिक राजस्व ऐन, मूल्य अभिवृद्धि कर ऐन, दूरसञ्चार लेभी ऐन, सट्टेबाजी र गेमिङ लेवी ऐन जस्ता ऐनमा संशोधन गर्ने सरकारको निर्णय छ । यसअघि यस्ता ऐनका कारण सरकारी राजस्व लगभग २५ प्रतिशत घटेको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले बताएका छन् । मन्त्रिपरिषद्ले सरकारको राजस्व बढाउने उद्देश्यले ऐनहरुलाई परिमार्जन गर्न आवश्यक विधेयक तयार गर्ने प्रस्ताव स्वीकृत गरेको गुणवर्द्धनाको भनाइ छ । श्रीलङ्काका पूर्व अर्थमन्त्री अली साब्रीका अनुसार २०१९ को अन्त्यमा लागू गरिएको कर कटौतीपछि करिब १० लाख करदाता गुमेका छन् ।

भारतीय आर्थिक तथ्यांक सार्वजनिक

भारतको आर्थिक वृद्धिदर लगातार तीन त्रैमासिकमा सुस्ताएको तथ्यांक सार्वजनिक भएको छ । भारतको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा भारतमा जनवरी देखि मार्च महिनासम्मको त्रैमासिकमा भारतको अर्थतन्त्र केबल ४ दशमलब १ प्रतिशतले बढेको छ ।

भारतबाट प्रकाशित हुने बिजनेस स्ट्याण्डर्डले जनाएअनुसार यससँगै तथ्यांक कार्यालयले यसअघि प्रक्षेपण गरेको आर्थिक वर्ष २०२२ को समग्र आर्थिक वृद्धिदरलाई ८ दशमलब ८ प्रतिशतबाट घटाएर ८ दशमलब ७ प्रतिशत पुर्‍याएको छ । तथ्यांकअनुसार सन् २०२०–२१ मा भारतको अर्थतन्त्रमा ६ दशमलब ६ प्रतिशतको संकुचन उत्पन्न भएको छ । त्यस्तै, बढ्दो मुद्रास्फीति र उच्च ब्याजदरका कारण आगामी वर्ष पनि भारतको अर्थतन्त्रले गति लिन संघर्ष गर्नुपर्ने बिजनेस स्ट्याण्डर्डको समाचारमा उल्लेख छ । तथ्यांकअनुसार मार्चको त्रैमासिकमा भारतीय अर्थतन्त्रको कृषि क्षेत्रमा ४ दशमलब १ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, सार्वजनिक प्रशासन, रक्षा एवम् अन्य सेवाको खर्च ७ दशमलब ७ प्रतिशतले बढेको छ ।

भारतको उत्पादनमूलक क्षेत्र भने यो अवधिमा शून्य दशमलब २ प्रतिशतले संकुचित भएको समाचारमा उल्लेख छ ।त्यसैगरी मार्चको त्रैमासिकमा खानी तथा उत्खनन क्षेत्रमा ६ दशमलब ७ प्रतिशतको वृद्धि भएको तथ्यांकमा उल्लेख छ । निर्माण क्षेत्रमा पनि २ प्रतिशतको वृद्धि भएको जनाइएको छ । ‘आर्थिक वर्ष २०२२ को चौथो त्रैमासिकमा ४ दशमलब १ प्रतिशतले कूल ग्राहस्थ उत्पादन बढेको दृष्टान्तले ओमिक्रोन लहर, भारी निवेश खर्च र पछिल्लो वर्षयता केही क्षेत्रमा देखिएको उच्च आधारको प्रभाव देखाउँछ’ भारतको एचडीएफसी बैंककी प्रमुख अर्थशास्त्री साक्षी गुप्तालाई उद्धृत गर्दै बिजनेस स्ट्याण्डर्डले जनाएको छ ।

‘बढ्दो मुद्रास्फितिको दबाबसँगै आर्थिक वर्ष २०२३ मा उपभोगमा सुधार पनि अनिश्चितताको भुमरीमा देखिन्छ ।’ उनले भनिन् ।तथ्यांक कार्यालयको तथ्यांकअनुसार भारतको अर्थतन्त्र भारू १३५५ खर्ब ८ अर्बबाट बढेर भारू १४७३ खर्ब ६ अर्ब पुगेको छ ।

खानाको लडाईँका कारण मेगालोडोन सार्क लोप भएको वैज्ञानिक अनुमान

प्राग ऐतिहासिक खानाको लडाइँले मेगालोडोन सार्कको लोप भएको हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन् । महासागरको विशाल मेगालोडनको जीवाश्म दाँतहरूको अध्ययनले यो सुझाव दिन्छ कि यसले अर्को क्रूर शिकारी ठूलो सेतो सार्कसँग खानाको लागि प्रतिस्पर्धा गर्नुपर्ने थियो । ह्वेल र अन्य शिकारको लडाइले मेगालोडोनलाई तीस लाख वर्षअघि लोप हुनेतर्फ धकेलिएको हुनसक्ने शोधकर्ताहरूको भनाई छ ।

समुद्री तहको परिवर्तनलगायतका वातीवरणीय दबाबले पनि मेगालोडोनको लोपमा भूमिका खेलेको थियो । समुद्री सतहमा परिवर्तनका कारण वासस्थान गुमाउनेदेखि शिकारको कमी लोपका कारण भएको जनाइएको छ । धेरै वर्षअघि लोप भएको जनावरको खानेकुरा बुझ्नका लागि अन्तर्राष्ट्रिय अन्वेषकहरूले जीवित र मरेका सार्कहरूको दाँतका जिंक आइसोटोपलाई एउटा माध्यमको रूपमा प्रयोग गरेका थिए । जीवित सार्कमा देखिएको रासायनिक संकेत र मेगालोडोनको दाँतको १३ जिवाश्मले यो सुझाव दिएको छ कि खानेकुराको सञ्जालमा ठूला ह्वाइट सार्क र मेगालोडोनको समान स्थान थियो र सम्भवत उनीहरूले ह्वेल, डल्फिनएउटै खानेकुराका लागि संघर्ष गरेका थिए ।

जलवायु परिवर्तन र अन्य वातावरणीय दबाबसँगै खानेकुराको सङ्घर्षका कारण उनीहरूको लोप भएको हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ ।जर्मनीको जोहानेस गुटेनबर्ग युनिभर्सिटीका प्राध्यापक थोमस टुटकेनले भने, ‘दुबै जीवित हुँदा आधुनिक ठूलो सेतो सार्क र मेगालोडोन बीच समुद्रमा जलीय खाद्य स्रोतहरूमा प्रतिस्पर्धा थियो ।’नेचर कम्युनिकेसनमा प्रकाशित अनुसन्धानमा टिप्पणी गर्दै स्वान्सी युनिभर्सिटीकी क्याटालिना पिमिएन्टोले मेगालोडोनको थप रहस्य सुल्झाउन थप अध्ययन गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ८ : १४ बजे

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका

काभ्रेको पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे– काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा