विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन १६, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट १, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा

माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिह सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् ।

नयाँ दिल्लीमा रहँदा राष्ट्रपति सोलिहले नवनिर्वाचित भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ ।

उनले भारतीय प्रधानमन्त्री मोदीसँगको वार्तामा दुई देशबीच व्यापार साझेदारी, सुरक्षा तथा कोभिडपछिको अर्थतन्त्र सुधारका बिषयमा समीक्षा गर्ने बताइएको छ । माल्दिभ्सका उच्चस्तरीय पदाधिकारी तथा व्यापारिक क्षेत्रका प्रतिनिधिमण्डलसहितको टोलीले सोलिहलाई भ्रमणमा साथ दिनेछन् ।

“नजिकको साथी र सामुद्रिक छिमेकीलाई हार्दिक स्वागत छ १ माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिह आधिकारीक भ्रमणका लागि नयाँ दिल्ली आइपुग्नुभएको छ । भ्रमणलाई हाम्रा दुई देशबीचको अटल मित्रतालाई थप प्रगाढ बनाउन र बहुआयामिक साझेदारीलाई थप गति दिने अवसरका रूपमा लिइएको छ,” भारतीय विदेश मन्त्रालयद्वारा जारी ट्वीटर सन्देशमा भनिएको छ ।

नयाँ दिल्लीमा औपचारिक भेटवार्ताका अलावा राष्ट्रपति सोलिहले दिल्लीमा एक भारतीय व्यापारिक प्रतिनिधिमण्डलसँग छलफल गर्नेछन् । राष्ट्रपति सोलिह मुम्बई तथा महाराष्ट्रका अन्य प्रमुख स्थान र सहरको भ्रमण गर्नुका साथै कार्यक्रमहरूमा सहभागी हुनेछन् ।

माल्दिभ्स हिन्द महासागर क्षेत्रमा भारतको प्रमुख छिमेकी हो र यसले भारतको छिमेकी पहिलो नीतिमा विशेष स्थान दिएको छ । हालैका वर्षहरूमा यस साझेदारीमा सहयोगका सबै क्षेत्रमा तीव्र वृद्धि भएको छ।

राष्ट्रपति सोलिहले गत मार्चमा दुई वर्षमा भारतले माल्दिभ्सलाई कोभिड–१९ महामारीको सामना गर्न खोप, औषधिलगायतका अतिआवश्यक वस्तुका लागि गरेको सहयोगको लागि प्रसंशा गरेका थिए ।

अमेरिकामा फेरि गोलीकाण्ड

फ्लोरिडाको डाउनटाउन ओर्लान्डोमा भएको सामूहिक गोलीकाण्डमा ७ जना घाइते भएका छन् । घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । आक्रमणकारी अझै फरार छन् ।

स्थानीय समयअनुसार आइतबार बिहान २ बजे उक्त गोलीकाण्ड भएको ओरलान्डो प्रहरी प्रमुख इरिक डी स्मिथले जनाएका छन् ।

एक अज्ञात आक्रमणकारीले एउटा हाते बन्दुक निकालेर भीडमा गोली हानेका थिए । आक्रमणमा सात जना घाइते भएका सीएनएनले जनाएको छ ।

आक्रमणकारीबारे प्रहरीले थप केही जानकारी दिएको छैन । गैरसरकारी संस्था गन भ्वायलेन्स अर्काइभका अनुसार यो वर्ष कम्तीमा ३८१ जना घाइते भएका छन् ।

मस्कले निजी विमानस्थल निर्माण गर्ने

टेस्लाका प्रमुख तथा विश्वकै धनाढ्य एलोन मस्कले टेक्सासमा निजी विमानस्थल निर्माण गर्ने योजना बनाएका छन् ।

मस्कले टेक्सासस्थित अस्टिनको पूर्वमा बास्ट्रोप नजिकै विमानस्थल बनाउने भएका हुन् । स्पेसएक्स, टेस्ला र द बोरिङ कम्पनीलगायत मस्कका कम्पनीहरू पहिले नै टेक्सासमा स्थापना भएका छन् ।

तर, मस्कको निजी विमानस्थल बनाउने योजनाको आधिकारिक पुष्टि भएको छैन । यस कदमलाई विमानस्थल योजना कार्यमा राख्नुअघि एफएए र वातावरणीय क्लियरेन्सको स्वीकृति आवश्यक हुनेछ । बोरिङ कम्पनीले आफ्नो मुख्यालय पनि टेक्सासमा सारेको थियो ।

लिबियामा इन्धन बोकेको ट्रकमा विस्फोट

लिबियाको दक्षिणपश्चिममा सोमबार इन्धन बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको चिकित्सकहरूले बताएका छन् ।

विस्फोटको कारण भने अझै खुल्न सकेको छैन । उक्त ट्रक बेन्ट बयाह जिल्लास्थित पेट्रोल स्टेशनतर्फ जाँदै थियो। उक्त विस्फोटपछि नजिक रहेका कारहरूमा आगलागी भएको थियो र ठूलो भागदौड मच्चिएको थियो ।

दक्षिणी लिबियाको मुख्य शहर सेभाको एक अस्पतालका अधिकारीले एएफपीलाई छ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । सो अस्पतालमा ५० भन्दा बढी घाइतेहरू भर्ना गरिएको छ।

घाइतेहरूको अवस्था गम्भीर रहेको पनि बताइएको छ । अन्तरिम प्रधानमन्त्री अब्दुलहामिद दबेबाले ट्वीट गर्दै सरकारले घटना बारे अनुसन्धान थालेको बताएका छन् ।

‘हामीले घाइतेहरूलाई तत्काल प्रमुख अस्पतालमा लैजान क्राइसिस सेललाई निर्देशन दिएका छौं ।’ ट्विटमा लेखिएको छ । लिबियामा अफ्रिकाको सबैभन्दा ठूलो तेल भण्डार छ । तर छिमेकी देशहरूमा हुने इन्धन तस्करीले पम्पहरू प्रायः रित्तै रहने गर्दछन् ।

अमेरिकी राष्ट्रपतिलाई फेरि कोरोना भाइरस सङ्क्रमण

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फेरि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । छोटो समयपछि पुनः कोरोना भाइरसको सङ्क्रमण राष्ट्रपति बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनलाई नौ दिनपछि लगत्तै दोस्रो पटक कोभिड सङ्क्रमण देखा परेको चिकित्सकले पुष्टि गरेका थिए । त्यसलगत्तै उनी आइसोलेसनमा बसेका छन् ।

जुलाई २१ मा कोरोना भाइरस सङ्क्रमण भएका उनी आइसोलेसनबाट निस्किएलगत्तै आइतबार फेरि उनलाई सङ्क्रमण देखिएको थियो । केही दिन अघिमात्र आइसोलेसनबाट निस्किएका उनलाई परीक्षण गर्दा पुनः कोरोना भाइरस पोजेटिभ देखिएको ह्वाइट हाउसका चिकित्सक डा केभिन ओ कनरले जानकारी दिएका हुन् ।

डा कनरका अनुसार राष्ट्रपति बाइडेनलाई पुनः आइसोलसनमा बसेका छन् । तर उनको स्वास्थ्य अवस्था राम्रो रहेको डा कनरले बताएका छन् ।

उनले एक सूचनामा राष्ट्रपति बाइडेन पुनः आइसोलेसनमा बसेको र उनले जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्ने जानकारी दिइएको छ ।
७९ वर्षीय राष्ट्रपति बाइडेनले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको तर कुनै पनि लक्षण नदेखिएको बताएका छन् ।

उनले ट्वीट गर्दै आफू स्वस्थ रहेको तर अरुलाई कसैलाई असर नगरोस भनेर आफू जनस्वास्थ्यका मापदण्डहरु अपनाएर आइसोलेसनमा बसेको बताएका छन् ।

म्यानमारमा राष्ट्रिय सङ्कटकाल लम्बियो

म्यानमारका अधिकारीहरुले राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याएका छन् । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले सो निर्णय गरेको हो ।

सो काउन्सिलले म्यानमारमा हाल जारी रहेको सङ्कटकालीन अवस्था अरु छ महिना थपिएको जानकारी दिएको हो । सो काउन्सिलले यहाँ आम निर्वाचन गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि संकटकालीन अवस्था अरु छ महिना थप्नुपरेको जनाएको छ ।

म्यानमारको संविधानअनुसार यहाँ संकटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्दछ ।

यहाँका कार्यबाहक राष्ट्रपति यु मिन्त स्वेले गत वर्षको फेब्रुअरी १ मा एक वर्षका लागि सङ्कटकाल घोषणा गरेका थिए । त्यसपछि यही वर्षको जनवरी ३१ मा यहाँको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले सङ्कटकाल लम्ब्याएको थियो ।

म्यानमारमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सैनिकले सत्ता हत्याएको छ । यहाँको सैनिक सरकारले बहुदलीय प्रतिस्पर्धात्मक आम निर्वाचन गर्ने तयारी थालेको जनाएको छ ।

श्रीलंकामा इन्धन कारोबार गर्दा क्युआर कोडको व्यवस्था लागू

श्रीलङ्कामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत् भुक्तानी गर्ने व्यवस्था लागू गरिएको छ । इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएर क्युआर कोड प्राणाली लागू गरिएको हो ।

क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नपर्नेलगायतका फाइदा हुने सरकारी अधिकारीहरुले जनाएका छन् ।

देशभरीका सबै पेट्रोल पम्पहरुमा यो व्यवस्था गरिएको र उपभोक्तालाई पनि यस बारेमा जानकारी गराइएको उर्जा मन्त्री कन्चना विजेसेकेराले बताए ।

उनले इन्धन लिनका लागि पेट्रोल पम्पहरुमा भिडभाड नगर्न पनि उपभोक्तहरुलाई अनुरोध गरेका छन् । सरकारले उपभोक्तको चापका आधारमा हरेक पेट्रोल पम्पलाई इन्धनको कोटा निर्धाण गरेर कोटा अनुसारको इन्धन उपलब्ध गराएको छ ।

अफगानिस्तानलाई चार करोड अमेरिकी डलर मानवीय सहायता प्रदान

अफगानिस्तानले चार करोड अमेरिकी डलर बराबरको मानवीय सहायता प्राप्त गरेको छ । प्राप्त गरेको सो रकम देशको एक वाणिज्य बैंकमा जम्मा गरिएको केन्द्रीय बैंकले सोमबार एक विज्ञप्तिमार्फत जनाइएको छ ।

अफगानिस्तानलाई विभिन्न देश तथा संस्थाबाट प्राप्त मानवीय सहायता शृंखलाको एक भागको रूपमा चार करोड अमेरिकी डलर नगद अफगान राजधानी काबुल आइपुगेको र अफगानिस्तान इन्टरनेशनल बैंकमा हस्तान्तरण गरिएको ‘द अफगानिस्तान बैंक’ (डिबिए) ले जानकारी दिएको छ ।

अफगानिस्तानले सहयोग उपलब्ध गराउँदै आएका अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिँदै डीबीएले नगद सहयोग पारदर्शी रूपमा खर्च गरिने बताएको छ ।

युद्धग्रस्त देशलाई सम्भावित आर्थिक सङ्कटबाट रोक्न तथा अत्यावश्यक खाद्यान्न लगायतको सहयोगका लागि विदेशी दाताहरुले सहयोग गर्दै आएको बताइएको छ ।

भारतमा १६ हजार नयाँ सङ्क्रमित थपिए

बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १६ हजार चार सय ६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाखमा ३६ हजार दुई सय ७५ पुगेको छ । देशभर एक लाख ४३ हजार छ सय ७६ सक्रिय सङ्क्रमित छन् ।

यसैगरी १९ हजार छ सय ७३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३३ लाख ६५ हजारभन्दा बढी पुगेको छ ।

कोरोना सङ्क्रमणबाट ३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार तीन सय ९६ जनाको मृत्यु भएको छ ।

महामारी सुरु भएयता ८७ करोड ७५ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : ०४ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन