विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 8 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज भदौ १६ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

पूर्व सोभियत नेता गोर्बाचेभको अन्त्येष्टी शनिबार हुने

मंगलबार मस्कोमा मृत्यु भएका सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्तिम संस्कार शनिवार हुने रसियाली समाचार संस्थाहरुले जनाएका छन् ।

गोर्वाचेभको अन्त्येष्टि मस्कोको हाउस अफ युनियनभित्र रहेको प्रख्यात हल अफ कोलुम हुने उनकी छोरीको भनाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले जनाएका छन् । सन् १९५३ मा मृत्यु भएका जोसेफ स्टालिनको शव पनि सोही स्थानमा प्रदर्शनमा राखिएको थियो ।

गोर्बाचेभको शवलाई मस्कोको केन्द्रीय नोभोडेभिची कब्रिस्तानमा गाडिने गोर्बाचेभ फाउन्डेसनका प्रेस सचिव भ्लादिमिर पोल्याकोभलाई उद्धृत गर्दै तास समाचार समाचार संस्थाले जनाएको छ ।

१६औँ शताब्दीमा स्थापना भएको उक्त चिहानमा दर्जनौं उच्च पदस्थ राजनीतिज्ञ, कवि, राजपरिवार र बुद्धिजीवीहरूलाई गाडिएको छ । गोर्बाचेभका तत्कालीन राजनीतिक प्रतिस्प्रर्धी तथा रुसी प्रथम राष्ट्रपति बोरिस यल्सिनको शव गाडिएको छ ।

ताइवानले चीनको तटपारी अज्ञात ड्रोन खसाल्यो

ताइवानले आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न खोज्ने एउटा चालकरहित हवाई उपकरण ‘ड्रोन’ लाई खसालिदिएको छ । बिहीबार चिनियाँ तटपारी ताइवानी प्रशासनको नियन्त्रणमा रहेको टापुनजिक हवाई क्षेत्रमा प्रवेश गर्न खोज्ने अज्ञात गैरसैनिक ड्रोन खसालिएको ताइवानी सेनाले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ भूभागबाट आफ्नो भूमि, जल एवम् हवाई क्षेत्रमा हुने घुसपैठविरुद्ध कठोर कदम चाल्ने चेतावनी दिएपछि ताइवानी सेनाले पहिलो पटक ड्रोन खसालेको हो ।

चीनले लामो समयदेखि ताइवानमाथि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको । चीनले ताइवानलाई मूलभूमिसँग विलय गराउनका लागि बल प्रयोग गर्ने विकल्प खुला रहेको बताउने गरेको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले गत महिना ताइवानको भ्रमण गरेसँगै चीनले ताइवान आसपास सैन्य अभ्यास गरेको थियो ।

ताइवान सरकारले भने ताइवान स्ट्रेट क्षेत्रमा तनाव वा उत्तेजना बढाउने कुनै पनि गतिविधि नगर्ने बताउँदै आएको छ । यद्यपि पछिल्लो समय चिनियाँ लडाकु विमान, ड्रोन, युद्धपोतले ताइवानी हवाई एवम् जलक्षेत्रको उल्लङ्घन गर्न थालेपछि भने ताइवान चिढिएको बताइन्छ ।

चीनको सियामेन र च्यान्झोउ सहरको तटपारी रहेको ताइवानको प्रशासनमा रहेको किन्मेन टापु समूहको रक्षा कमाण्डका अनुसार उक्त ड्रोन लायन टापुमाथिको हवाई क्षेत्रमा प्रवेश गरेको थियो ।

सो टापुमा रहेका ताइवानी सुरक्षा बलले उक्त ड्रोनलाई चेतावनी दिएको जनाइएको छ । चेतावनीका बावजुद पनि उड्न नछाडेपछि उक्त ड्रोन खसालिएको र यसका भग्नावशेष समुद्रमा खसेको रोयटर्सले जनाएको छ ।

यसअघि ताइवानी राष्ट्रपति साई इङ वेनले चिनियाँ उत्तेजनाविरुद्ध ‘कठोर कदम’ चाल्न सेनालाई निर्देशन दिएकी थिइन् ।

इजरायलद्वारा सिरियामाथि क्षेप्यास्त्र प्रहार

इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको छ । बुधबार अबेर इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको हो । सो क्षेप्यास्त्र सिरियाको उत्तरी शहर अलेपोको एक विमानस्थलनजिकै प्रहार गरिएको जनाइएको छ ।

सिरियाली उत्तरी शहर अलेपोको एक विमानस्थल र त्यहाँ रहेको एक सैनिक क्याम्पमा सो क्षेप्यास्त्र हानिएको सिरियाली सेनाले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ ।

मध्यरातमा विमानस्थलनजिकै हानिएको सो क्षेप्यास्त्रले केही संरचनामा क्षति पुगेको बताइएको छ । त्यसको एक घण्टापछि सैनिक शिविरमा पनि सो हमला भएको सेनाको उक्त विज्ञप्तिमा जनाइएको छ ।

सिरियाली सैनिकले ती क्षेप्यास्त्रको प्रतिरक्षा गरेको जनाएको छ । तर कतिपय भौतिक संरचनामा सो आक्रमणबाट क्षति पुगेको भने सेनाले जनाएको छ ।

मानवीय क्षतिको विवरण भने प्राप्त नभएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

रुसद्वारा नोर्डस्ट्रिम १ पाइपलाइनमार्फत् युरोपतर्फ ग्यासको आपूर्ति ठप्प

रुसले नोर्डस्ट्रिम १ पाइपलाइनबाट युरोपतर्फ निर्यात हुने ग्यासको आपूर्ति पुनः ठप्प पारेको छ । रुसी सरकार सञ्चालित ग्यास कम्पनी गाजप्रोमले पाइपलाइनमा मर्मत गर्नुपर्ने भएकाले आगामी तीन दिनसम्मका लागि नोर्डस्ट्रिम १ बाट हुने आपूर्ति पूर्ण रुपमा ठप्प हुने जनाएको हो ।

यस पाइपलाइनबाट हुने आपूर्तिमा रुसले यसअघि नै उल्लेख्य कटौती गरिसकेको छ । पछिल्लो समय यस पाइपलाइनबाट नियमितभन्दा केबल २० प्रतिशतमात्रै ग्यास आपूर्ति हुँदै आएको बीबीसीले जनाएको छ । खराब उपकरणका कारण ग्यासको आपूर्ति घटाउनु परेको रुसले बताउँदै आएको छ ।

यसअघि गत जुलाई महिनामा पनि रुसले यस पाइपलाइनबाट हुने ग्यासको आपूर्ति १० दिनका लागि बन्द गरिदिएको थियो ।

रुसको सेन्ट पिटर्सबर्ग सहर नजिकबाट जर्मनीको उत्तर पूर्वी क्षेत्रसम्म पु¥याइएको यस पाइपलाइनबाट दैनिक १७ करोड घनमिटर ग्यास आपूर्ति हुँदै आएको थियो । सन् २०११ मा खुला गरिएको नोर्डस्ट्रिम १ पाइपलाइन बाल्टिक सागरमुनी बिछ्याइएको छ ।

यता जर्मनीका नियामक अधिकारीले भने तीन दिनसम्म रुसले ग्यासको आपूर्ति ठप्प पारेपनि कुनै असर नपर्ने टिप्पणी गरेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीका क्रममा क्लाउस मुलरले भने, ‘मलाई लाग्छ, हामी यसको सामना गर्न तयार छौँ ।’

‘आगामी शनिबार रुसले २० प्रतिशत क्षमतामा ग्यास आपूर्ति गर्छ भन्ने मेरो विश्वास छ तर यसै भन्न सकिने अवस्था भने छैन ।’ मुलरले भने ।

युरोपेली नेताहरुले रुसले उसैपनि चर्को रहेको ग्यासको मूल्यलाई अझ बढाउनका लागि विभिन्न बहानामा ग्यासको आपूर्तिमा बाधा उत्पन्न गरेको बताउने गरेका छन् ।

ग्यासको चर्को मूल्यका कारण युरोपेली महादेशका मुलुकहरुका नागरिकको खर्च बढेको बताइन्छ । आगामी हिउँदसम्म यस्तै रहे युरोपेली मुलुकका सरकारले अर्बौ डलर खर्चिने अवस्था आउन सक्ने बीबीसीले जनाएको छ ।

यसअघि गाजप्रोमले फ्रान्सेली ऊर्जा कम्पनी इग्नेलाई गरिँदै आएको ग्यासको आपूर्ति बन्द गरेको जनाएको थियो । त्यसपछि मंगलबार फ्रान्सेली उर्जा संक्रमणमन्त्री एगेस पानिए रुनासेले रुसले ग्यासलाई ‘युद्धको हतियारका रुपमा प्रयोग गरेको’ आरोप लगाएकी थिइन् ।

यद्यपि रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले भने यस्तो आरोपको खण्डन गरेका छन् । उनले युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि युरोपेली मुलुकले लगाएको प्रतिबन्धका कारण रुसी पूर्वाधारमा क्षति पुगेको र यसकारण युरोपले नै ग्यासको आपूर्तिमा बाधा उत्पन्न गरेको टिप्पणी गरेका छन् ।

उनले रुसमाथिको प्रतिबन्धका कारण उत्पन्न भएको ‘प्राविधिक समस्या’ ले गर्दा रुसले युरोपतर्फ ग्यासको आपूर्ति गर्न नसकेको जनाएका छन् । यद्यपि उनले के कस्तो समस्याका कारण यस्तो भएको हो भन्नेबारे केही नखुलाएको बीबीसीले उल्लेख गरेको छ ।

पछिल्लो पटक क्यानाडामा मर्मतका लागि पठाइएको पाइपलाइनमा प्रयोग हुने एउटा टर्बाइनका विषयमा रुस र युरोपेली मुलुकहरुबीच विवाद उत्पन्न भएको थियो । क्यानाडामा मर्मत गरी जर्मनी पु¥याइएको उक्त टर्बाइनलाई रुसले आफ्नो मुलुकमाथि प्रतिबन्ध लागेका कारण लैजान अस्वीकार गरेको थियो ।

यद्यपि जर्मनीले यसको खण्डन गर्दै आएको छ ।

यसै महिनाको सुरुमा जर्मनीका अर्थमन्त्री रोबर्ट हेबेकले पाइपलाइन पूर्ण क्षमतामा रहेको र यसमा रुसले भनेजस्तो कुनै प्राविधिक समस्या नरहेको स्पष्ट पारेका थिए ।

अमेरिकी सेनामा यौन दुव्र्यवहारका घटना बढे

अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना गत वर्ष १३ प्रतिशतले बढेको छ । सेना र नौसेनामा दुर्व्यवहारका घटना उल्लेखनीय ढंगले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । एक गोप्य सर्वेक्षणमा सो अवधिमा सेनामा काम गर्ने ३६ हजार जनाले अनावश्यक यौन सम्पर्कको अनुभव गरेका थिए ।

सेनामा यौन दुर्व्यवहारका घटना बढेपछि विज्ञहरूले सेप्टेम्बरको अन्त्यमा अमेरिकाले कम्तीमा १० हजार भर्ती गर्ने लक्ष्य गुमाउने भविष्यवाणी गरेका थिए । युवाहरु आक्रमणको जोखिममा रहने उनीहरूका अभिभावले विश्वास गरेमा निश्चित रूपमा भर्तीमा प्रभाव पर्न सक्ने बताइन्छ ।

यौन दुर्व्यवहारका घटना नियन्त्रण गर्न अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र सैन्य सेवा संघर्षरत रहे पनि सन् २००६ देखि झन्डै हरेक वर्ष दुर्व्यवहारका घटनामा वृद्धि भइरहेको बताइन्छ ।

जाडोसँगै कोभिड सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्नादर बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठनको अनुमान

विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ ।

हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको भन्दै तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिडका सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने जनाएको छ ।

यसका साथै कोभिडका सङ्क्रमितको मृत्यु दर तथा उनीहरु अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने पनि विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधनम ग्याब्रेसियसले जेनेभामा पत्रकारसँगको कुराकानीका क्रममा सो कुरा बताएका हुन् ।

उनले भनेका थिए, ‘हामीले अहिले कोरोना भाइरसको घट्दो दरका साथमा यसको स्वागत गरिरहेका छौँ तर अबका दिनमा आउने चिसो मौसममा भने यस सङ्क्रमणको असर अझ बढी देखिन सक्छ, हामी अहिलेदेखि नै यसका लागि तयार रहनुपर्दछ ।’

विश्वमा यसको सङ्क्रमणको पछिल्लो अवस्था हेर्दा घट्दै गएको तथ्याङ्कले देखाउँछ । साप्ताहिकरुपमा गरिने यसको गणनाअनुसार पछिल्लो हप्तामा यसको सङ्क्रमण ५३ लाख मानिसमा भएको देखिएको छ ।

यो सङ्ख्या यो भन्दा अघिल्लो हप्ताको तुलनामा नौ प्रतिशतले कम हो । त्यसैले अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको भनेर यसको स्वागत गरेर बस्नुभन्दा पनि आगामी जाडो मौसममा हुनसक्ने यसको असरलाई मध्यनजर गरेर सतर्कता अपनाउनुपर्ने महानिर्देशक ग्याब्रेसियसले बताएका छन् ।

जो बाइडेन र सी जिन्पिङबीच प्रत्यक्ष भेटवार्ताको तयारी

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिन्पिङबीच प्रत्यक्ष भेटवार्ता गराउने विषयमा तयारी सुरु भएको छ ।

अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी तथा अर्को अमेरिकी प्रतिनिधिमण्डलले पनि हालै ताइवानको भ्रमण गरेपछि चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला दुबै देशका राष्ट्रपतिलाई सशरीर एकैस्थानमा भौतिक रुपमा उपस्थित गराउन चिनियाँ एवम् अमेरिकी अधिकारी क्रियाशील रहेको प्राप्त समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेन र उनका चिनियाँ समकक्षी सीले एकअर्कालाई भेट्ने योजनामा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले बताएका छन् । अमेरिकी प्रशासन ह्वाइट हाउसले पनि राष्ट्रपतिद्वयको भावी बैठकबारे पुष्टि गरेको छ ।

ह्वाइट हाउसका अनुसार दुबै देशका नेताले भौतिकरूपमा भेटवार्ता गर्न सहमति जनाएका छन् । गत जुलाईमा राष्ट्रपतिद्वयबीच टेलिफोन वार्ता भएको थियो । संयोजक किर्बीले उनीहरूबीचको भेटवार्ताको मिति र समयबारे काम भइरहेको तर निष्कर्षमा नपुगको बताएका छन् ।

यसअघि अमेरिकी अधिकारीहरूको ताइवान भ्रमणको निन्दा गर्दै चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले ताइवान स्वतन्त्रता पृथकतावादी गतिविधि भएको उल्लेख गर्दै बाह्य हस्तक्षेपको विरोध गर्न बेइजिङ नडगमगाउने बताएका थिए । उनले अमेरिकी राजनीतिज्ञलाई एक चीन नीति पालना गर्न ग्रह गर्दै ताइवानसँगका सबै प्रकारका आधिकारिक अन्तरक्रिया बन्द हुनुपर्नेमा जोड दिएका छन् ।

गत महिना सभामुख पेलोसीले ताइपेइ पुगेर राष्ट्रपति साई इङ्ग वेनसँगको भेटवार्तामा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै विश्वभरि लोकतन्त्रको प्रवर्द्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरेकी थिइन् । साथै उनले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन् ।

कम्युनिष्ट शासित चीनले ताइवानमाथि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ भने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः एकीकरण गर्न सक्ने बताउँदै आएको छ ।

अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । उसले बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता पनि दिएको छ तर ताइवानसँग अनौपचारिक रक्षा सम्बन्धलाई कायम राखेको छ ।

चीनले ताइवानमाथि लगातार कूटनीतिक र सैन्य दबाब बढाउँदै आएको छ । बेइजिङमा कम्युनिस्ट शासन एकमात्र वैधानिक सरकार भएकोले टापु र मुख्य भूमि मिलेर एउटै चिनियाँ राष्ट्र बन्ने दाबीलाई राष्ट्रपति साइ इङ्ग वेनले समर्थन गर्न अस्वीकार गरेपछि चीनले सन् २०१६ मा ताइवानको सरकारसँगका सबै सम्पर्क विच्छेद गरेको हो ।

साउदी अरबमा सामाजिक सञ्जाल प्रयोगबाट देशलाई हानी पु¥याएको आरोपमा एक महिलालाई ४५ वर्षको जेल सजाय

साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पु¥याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको सामाजिक एकतामा बाधा पु¥याएको आरोपमा साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला नोराह बिन्त सईद अल–काहतानीलाई ४५ वर्षको काराबासको सजाय सुनाइएको वासिङटनस्थित मानव अधिकारवादी संस्था वाचडग डेमोक्रेसी फर अरब वल्र्डलाई उद्धृत गर्दै फक्स न्यूजले जनाएको छ ।

अल–काहतानीले अनलाइन के पोस्ट गरे वा उनको सुनुवाइ कहाँ भयो भन्ने बारेमा भने केही खुलाइएको छैन । उनले केवल आफ्नो विचार ट्विट गरेकी थिइन् । यसअघि पनि एक जना ३४ वर्षीया महिलालाई ट्विट गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो । उक्त घटनालाई लिएर अन्तर्राष्ट्रियस्तरमा विरोध भएको थियो ।

कोरोना अपडेट

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ । यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ ।

दक्षिण कोरिया र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बुधबार पनि अप्रत्यासित रूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार दक्षिण कोरियामा एक सय १२ , मलेसियामा छ जनाको र न्युजिल्याण्डमा दुई जनाको मृत्यु भएको छ । न्युजिल्याण्डमा १७ जनाको मृत्यु भएको थियो ।

दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । एकै दिन एक सय १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरियामा कोभिड लागेर ज्यान गुमानेको सङ्ख्या २६ हजार आठ सय ७६ पुगेको छ । हालै सार्वजनिक गरिएको विवरणअनुसार देशमा ८१ हजार पाँच सय ७३ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३३ लाख २७ हजार आठ सय ९७ पुगेको छ ।

न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ । पछिल्लो विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीहरूले देशका विभिन्न भागमा दुई हजार ६६ जना नयाँ बिरामी थपिएका बताएका छन् । त्यसअघि त्यहाँ दुई हजार दुई सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए । बिरामीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हाल न्युजिल्याण्डमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १७ लाख २६ हजार आठ सय २० रहेको छ भने यो रोगको सङ्क्रमणबाट एक हजार आठ सय ९५ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, मलेसियामा पछिल्लो विवरणअनुसार छ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय १६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । देशमा कुल ४७ लाख ८२ हजार छ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जेनेभामा पत्रकार सम्मेलन गरेर विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसका घटना र मृत्युको सङ्ख्या दक्षिणपूर्वी एशियाली देशमा बाहेक विश्वव्यापीरूपमा घटेको बताएको छ । गत साता संसारभर ४५ लाख नयाँ सङ्क्रमित थपिएका जनाउँदै उक्त विश्व संस्थाले विगतको तुलनामा त्यसमा १६ प्रतिशतले कमी आएको बताएको छ । सोही अवधिमा १३ प्रतिशतले मृत्युदर घटेको तथा १३ हजार पाँच सय जनाको कोभिडबाट मृत्यु भएको थियो ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उत्तरी गोलार्द्धमा शिशिर यामको शुरूवातसँगै कोभिड–१९ को अझ खतरनाक लहर आउनसक्ने चेतावनी दिएका छन् । उनले धनी देशहरूमा खोप लगाउनेहरूको सङ्ख्या कम रहेकामा चिन्ता पनि व्यक्त गरेका छन् ।

सिन्जियाङमा मानवअधिकार हननका गम्भीर घटना भए : राष्ट्रसंघ

संयुक्त राष्ट्रले चीनको सिनजियाङ क्षेत्रमा मानवअधिकार हननका गम्भीर घटना भएको जनाएको छ ।

बुधबार जारी गरिएको एक प्रतिवेदनमा संयुक्त राष्ट्रका मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले सरकारको आतंकवाद विरोधी र ‘अतिवाद विरोधी’ नीतिहरूको कार्यान्वयनका कारण सिनजियाङ क्षेत्रमा गम्भीर मानवअधिकार हनन् भएको दाबी गरिन् ।

पश्चिमी सिनजियाङमा दश लाखभन्दा बढी उइघुर र अन्य मुस्लिम अल्पसंख्यकलाई हिरासतमा राखेको बेइजिङमाथि आरोप लाग्दै आएको छ । अभियानकर्ताले बेइजिङमाथि नजरबन्द, जबरजस्ती श्रम र नसबन्दी, उइघुर धार्मिक र सांस्कृतिक स्थलहरूको विनाशलगायतका मानव अधिकार उल्लंघन गरेको अभियानकर्ताले आरोप लगाउँदै आएका छन् ।

चीनका अल्पसंख्यक जातीय मुसलमान उहीगुरको सिनजियाङ प्रान्तमा बाहुल्य छ। सिनजियाङको कुल जनसंख्याको झन्डै आधा प्रतिशत उहिगुरको छ । सिनजियाङका विभिन्न स्थानमा उहिगुर मुसलमानलाई विभिन्न शिविरमा थुनेर चरम यातना दिइएको छ । उइगर मुस्लिमहरूप्रति अपनाएको नीतिलाई लिएर विश्व समुदायले चीनको आलोचना गर्दै आएको छ ।

अमेरिकाको न्युयोर्क राज्यका विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध

अमेरिकाको न्युयोर्क राज्यका विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको छ । प्रसिद्ध टाइम्स स्क्वायर, न्यूयोर्क शहर र राज्यका अन्य सार्वजनिक स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् ।

न्युयोर्कको व्यवस्थापिकाले यस वर्षको सुरुमा संवेदनशील स्थानहरूमा बन्दुक राख्ने प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो र यो कानुन बिहीबारदेखि लागू भएको छ ।

कानुन पारित भएसँगै बार, पुस्तकालय, विद्यालय, सरकारी भवन र अस्पताललगायतका स्थानमा हतियार बोक्न निषेध गरिएको छ । प्रतिबन्धहरू कानुन प्रवर्तन अधिकारीहरूमा भने लागू हुने छैन ।

बन्दुकसँग सम्बन्धित आक्रमणका कारण अमेरिका बर्सेनि दर्जनौँ मानिसको मृत्यु हुने गरेको छ । बन्दुकको पहुँचमा कडाइ नहुँदा बन्दकजन्य हिंसाका घटनामा वृद्धि भएको विज्ञहरूले बताउँदै आएका छन् ।

यसैबीच वासिङ्टनमा दुई जना विद्यार्थी साथीलाई गोली हानेर घाइते बनाएको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ८ : ४१ बजे

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती

दमौली– जिल्लामा पहिलो पटक ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुरखेती

राजनीतिलाई निरन्तरता दिने पवित्र उद्देश्यले सदस्यता नवीकरण गरेकी हुँ : विद्यादेवी भण्डारी 

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका

आइतबार प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक पारित हुने

काठमाडौं– प्रतिनिधिसभाबाट आइतबार (भोलि) संघीय निजामती सेवा विधेयक–०८०  पारित हुने भएको

पूर्वराष्ट्रपति भण्डारीले गरिन् ओलीको प्रशंसा

 काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली ‘समृद्ध नेपाल,

पूर्वराष्ट्रपतिले भनिन्– मदनका सपना साकार पार्ने दिशामा अग्रसर नेतासँगै रहने छु  

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको मार्ग दर्शक सिद्धान्त ‘जनताको